STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

Janjati Khabar | २०८० आश्विन १०, बुधबार

काठमाडौँ, १० असोजकाठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।

   सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।”

    वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको छ ।”

    अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताउनुभयो । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उहाँले जानकारी दिनुभयो ।

    सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ पुरिएको देखिएको उहाँले बताउनुभयो । वैकल्पिक सुरुङभित्र पनि बालुवा छिरेको जस्तो देखिएको र यदी त्यसो भएमा सफा गर्न समय लाग्ने उहाँको भनाइ छ । पहिले सुरुङ बन्द गर्दा सबै गेट राम्ररी राखिएको छ । तिनलाई उपकरणबाट चलाउन सकिन्छ भन्ने अपेक्षा आयोजनाको रहेको थियो । तिनलाई वर्षा रोकिएपछि सजिलै चलाउन सकिने छन् भन्ने भए पनि अहिलेको क्षतिले त्यो अवस्था नभएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

    उहाँका अनुसार अहिले गेट नम्बर १ र ९ पुरिएको अवस्थामा छन् । उहाँले भन्नुभयो, “हेडवर्क डाइभर्सन सुरुङभित्र पनि केही छिरेको हुनसक्ने र त्यसो हुँदा समय लाग्नसक्ने देखिएको छ ।” दुई वर्षसम्म आयोजनाले अस्थायी रुपमा नै पानी चलाएको थियो । लगानीको प्रतिफल आउँदा नआउँदै फेरि क्षति पुगेको छ । सरकारले अस्थायी रुपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्णय भएपछि अस्थायी रुपमा चलाउन तयारी गरिनेछ ।”

Categorized in

ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

Categorized in

हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौँ  - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ ।  इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । यसलाई येँयाः पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । 

१२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्वः द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

Categorized in

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

Janjati Khabar | २०८० आश्विन ८, सोमबार

काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् ।     काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 
महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उहाँको भनाइ छ ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई  ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको उहाँको भनाइ छ । सबै पाहुनाहरु मङ्गलबार आइपुग्नुहुनेछ ।
जात्राको शुरूको दिन दिव्गत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । सो दिन बढी भीडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ । उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा  महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ । जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ ।
असोज १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध९इन्द्रचोक० र मखन क्षेत्रमा सवारी निषेध गरिएकोे छ । कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।
जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

Categorized in

तलेजु दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरमा

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ७, आइतबार

 

भक्तपुर - पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आएका छन्। भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह यहाँ आएका हुन्। स्थानीयहरूले शाहलाई विशेष सम्मान गर्दै नेपालको झण्डासहित भव्य स्वागत गरेका थिए।

पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरूको भीड लागेको थियो। स्वागतका क्रममा समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ, देश बचाउ'लगायतका नारा लगाएका थिए।

शाहले भक्तपुरको दरबार क्षेत्रको अवलोकन गर्नुको साथै तलेजु भवानीको दर्शन गरेका थिए। 

Categorized in

द्रुत बस सेवा सञ्चालन शुभारम्भ

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ३, बुधबार

काठमाडौँ– काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ ।

संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ ।

द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताएका छन् ।

उनले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरि निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासंग छलफल गर्ने जानकारी दिए । त्यस्तै मन्त्री ज्वालाले दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई सुव्यवस्थीत गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने धारणा राखे । उनले यातायात कार्यालयमा अनलाईन सेवालाई देशव्यापी बनाउदै सहज रुपमा सेवा प्रदान गर्ने गरि काम अघि बढेको जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायात सहज नहुँदा निजी यातायातलाई प्रयोग गर्नुपरेको भन्दै यस क्षेत्रलाई व्यवस्थित गर्दै सहज बनाउनुपर्ने बताए । उनले सार्वजनिक सेवाको सुधारको कामलाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले साना गाडीको संख्या बढ्दा सडक व्यवस्थापनमा चुनौति देखिने भन्दै सार्वजनिक यातायातमा आकर्षण बढाउनुपर्ने बताए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौ उपत्यकामा देखिएको यातायात व्यवस्थापनको चूनौतिलाई समाधान गर्नुपर्ने बताएका छन् । उनले सार्वजनिक सेवाप्रति आकर्षित गर्ने कामलाई दिगो बनाउनुपर्ने बताए ।

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछन् । सो समयमा रेड मार्किङ गरेको सडकमा द्रुत बस बाहेक अन्य सवारी साधन गुड्न नपाउने यातायात कार्यालयले जनाएको छ ।

द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो । समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।

Categorized in

काठमाडौं-भक्तपुर सडकमा डेडिकेटेड लेन

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २, मंगलबार

काठमाडौं- काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने  योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाउने कार्य भइरहेको बताए ।

विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । उनले दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको पनि जानकारी दिए ।

केही ठाउँमा दिउँसो पनि काम भइरहेको छ । अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ ।

सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । सुरुमा दुई वटा बस चल्ने जनाइएको छ । बुधबार रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ  । उक्त लेनमा अन्य गाडी रोक्नु हुँदैन, द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उनले बताए ।

ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रुत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भटृले बताए ।

Categorized in

मनाइयो गणेश चतुर्थी पर्व

Janjati Khabar | २०८० आश्विन २, मंगलबार

काठमार्डौँ, प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।
   
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका ९तीजको व्रत० पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउनुहुन्छ । यस अवसरमा आजै गणेश रथयात्रा पनि गरिने जनाइएको छ ।  

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व यस वर्ष मङ्गलबार नै परेको छ ।

यस पर्वका अवसरमा आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्छन् । यसवर्ष तिथिको घटबढका कारण ऋषिपञ्चमी पर्व पनि आजै परेको छ । आज गणेशको पूजा, आराधना गरेपछि आजै महिलाले खोला, नदी, ताल, तलाउमा विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गर्ने गर्छन् । रासस

Categorized in

गोकर्णेश्वर मेलाको तयारी पूरा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २७, बुधबार

काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।

यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते बिहीबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि लागि मंगलबारदेखि तयारी गरिएको छ । उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए । मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ ।

मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यस दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्छ । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको जानकारी पनि उनले दिए । मेलाका लागि बिहीबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

यस अवसरमा रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यस दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस दिन घर घरमा पवित्र कुश भित्रा्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसै दिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

Categorized in

काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २६, मंगलबार

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनलगायतका छन् । 

साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ । 

आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ । 

महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा  सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ । 

Categorized in

Pages