STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

काठमाडौँ महानगरभित्र दुई बसपार्क

Janjati Khabar | २०८० मङ्सिर १८, सोमबार


=काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् ।

जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उहाँको भनाइ थियो ।

मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भएर बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कबाट दैनिक झण्डै पाँच सय सार्वजनिक सवारी साधन देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका जनाउँदै महानगरभित्र एकमात्र बसपार्क रहेको उहाँले बताउनुभयो । “हामीले जडीबुटीको बसपार्कलाई मान्यता दिएका छैनौँ । महानगरको एकमात्र गोँगबुस्थित नयाँ बसपार्क मात्रै हो”, उहाँले भन्नुभयो ।

 प्रवक्ता मानन्धरले एउटै पालिकाभित्र धेरै बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमासमेत समस्या हुने भएकाले एक पालिका एक बसपार्कको नीति दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय कमपाले यत्रतत्र छरिएर रहेका सार्वजनिक बसलाई अनिवार्यरुपमा बसपार्क भित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको छ ।

 “काठमाडौँभित्रको ट्राफिक व्यवस्थापनलाई थप सहजता होस् भनेर महानगरले चक्रपथ वरपर सडकबाट जथाभावी छुट्ने सार्वजनिक सवारी साधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरेका हौँ”, प्रवक्ता मानन्धरले भन्नुभयो ।

 महानगरका यातायात विज्ञ जगतमान श्रेष्ठले कामपाको एक महानगर, एक बसपार्क नीति भएकाले जडीबुटीमा सञ्चालित बसपार्कलाई मान्यता नदिइएको बताउनुभयो । “अरनिको यातायातले केही वर्षका लागि व्यक्तिगत जग्गा भाडामा लिएर क्षणिक स्वार्थका लागि बसपार्क सञ्चालन गरेका छन् । उक्त बसपार्कलाई कामपाले मान्यता दिएको छैन”, उहाँले भन्नुभयो ।

पर्यटकका लागि छैन बसपार्क

 कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन ।
काठमाडौँको गोंगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क सञ्चालन हुँदा यहाँदेखि दुई किलोमिटर पर सोह्रखुट्टेको सडकबाट पर्यटक बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।
कोरोना महामारीका कारण नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारे पनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकीय बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् ।
टुरिस्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताउनुभयो । “विदेशी पर्यटक नेपालमा घुम्न आउने गरेका छन् । घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे उनीहरुमा अन्योलता छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म एउटा व्यवस्थित पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन ।”
टिवानका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनीले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरे पनि नेपालमा यो व्यवस्था नहुँदा विदेशी पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको बताउनुभयो । “मुलुककै राजधानीमा पर्यटकका लागि बसपार्क नहुँदा विश्वमा नेपालको पर्यटन व्यवसायबारे गलत सन्देश जान सक्छ”, उहाँले भन्नुभयो ।
हाल काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् ।
तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गर्ने गरेकामा महानगर र ट्राफिक प्रहरीले यस क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते कान्तिपथबाट पर्यटकीय सवारीसाधनको आवागमन हटाएर अस्थायी रुपमा सोह्रखुट्टेमा स्थानान्तरण गराएको थियो ।
सोह्रखुट्टेबाट सञ्चालित पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् ।
कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । “महानगरभित्र पर्यटक बसपार्क निर्माणका लागि आठ स्थानमा अध्ययन गरेर वजेट विनियोजन गरिसकिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि महानगर सधैँ तयार रहेको छ ।” –  रासस

Categorized in

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री गर्न नपाइने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १२, मंगलबार

काठमाडौं - मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ।

स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यसबारे जानकारी गराइएको छ। सूचनामा उल्लेख गरिएको छ, ‘सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ।’

विभागका प्रमुख रामप्रसाद पौडेलले २९ औँ महानगर दिवसको अवसर पारेर सो निर्णय गर्न लागिएको हो। ‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौँ। २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ,’ उनले भने।

ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ। सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त रहेको बताउँदै महानगरले दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने पनि विभागका प्रमुख पौडेलले जानकारी दिए।

Categorized in

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १२, मंगलबार

“विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”

मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रुपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको उहाँको भनाइ छ । उहाँका अनुसार केही समयपछि उहाँका अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन् ।

कोभिड(१९ महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्कँदैछ । विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभइ चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरुमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ । उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुरदरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै सङ्ख्यामा पर्यटक पुगेका छन् । पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ ।

हस्तकलाका सामान खरिद बिक्रीको लागि अहिले उपयुक्त समय पनि हो । असोज, कात्तिक र मङ्सिर महिनामा बढी विदेशी आउने भएकाले उनीहरुले सामान खरिद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ । वसन्तपुरमा दैनिक रु १५ देखि २० हजार व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान बिक्री हुने गरेको बताउनुभयो । “कोभिडपछि अझै बजार लिइसकेको छैन । पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन । पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्”, व्यवसायी सिटौलाले भन्नुभयो ।

सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आउनुभएको छ । उक्त स्थानमा धेरै सङ्ख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ । दैनिक मानिसको भिडभाड भइरहन्छ । विदेशी पर्यटकले विशेषगरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन् । बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्नेगरेको व्यवसायीले बताए ।

व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुख्र्यौली पेसाको अस्तित्वनै समाप्त हुने होकी भन्ने व्यवसायी सिटौलाको चिन्ता छ । उहाँले भन्नुभयो, “छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन् । विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने होकी भन्ने चिन्ता छ ।” सिटौलाको पसलमा रु पाँच सयदेखि १५ हजारसम्मका हस्तकलाका सामान छन् ।

सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आउनुभएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन । व्यापार राम्रो भएका बेला कहिलेकाहीँ दैनिक रु १५ हजारसम्म आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकाल भन्दा त धेरै राम्रो छ । सिजनमा राम्रो व्यापार हुन्छ । अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन् ।” कार्कीको पसलमा रु पाँच सयदेखि १२ हजारसम्मका सामान छन् । विदेशीले ‘सिङ्गिङ बल’, मालालगायतका सामग्री बढी रुचाउन्छन् ।

प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले समान किन्ने गरेको व्यावसायीले बताएका छन् । कोभिड पहिले दैनिक रु २० हजारसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहनुभएको छ ।

वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ । सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ । होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ ।

झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गर्नुहुन्छ । पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “व्यापार काम चलाउ मात्रै छ । पर्यटक आए पनि सामान किन्दैनन् । नेपालीले नै बढी किन्छन् । आशातित रुपमा सिजन मै व्यापार छैन ।”

भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन । “कहिले हुन्छ, कहिले हुँदैन । भएको बेला रु पाँच हजारदेखि १० हजार कमाइ हुन्छ । पर्यटक आएका छन् तर बिक्री भने खासै छैन”, उहाँले भन्नुभयो, “तामाङको पसलबाट उपभोक्ताले माने, मुकुण्डोलगायतका सामान बढी लैजान्छन् ।”

वसन्तपुरमा सामान खरिद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताउनुभयो । “वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ”, भाउजु रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आउनुभएकी श्रेष्ठले भन्नुभयो, “पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौँ ।”

 वसन्तपुरका व्यवसायी मात्रै होइन प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन । विगत १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आउनुभएका मनाङ ह्याण्डिक्राफ्टका सञ्चाल वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडपूर्व व्यापार राम्रै थियो । अहिले भाडा तिर्नसमेत समस्या छ । पर्यटक आउँछन् सामान हेर्छन् जान्छन् । नेपालीले फाट्टफुट्ट किन्छन् ।” ठमेलमा विगत २२ वर्षदेखि व्यापार गर्दै आउनुभएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाउनुभयो । उहाँ ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन बिक्री गर्दै आउनुभएको छ । ठमेलमा बुद्धिष्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताउनुभयो । – रासस

Categorized in

पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने प्रविधि सञ्चालनमा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौं- बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।

जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट  सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायa महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए । 

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण नहुने बताए । उनले यसका लागि जनप्रतिनिधिहरूले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताए ।

Categorized in

काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १०, आइतबार

काठमाडौँ, पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।  
विसं २०७२  वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ । 
महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ ९शाक्य० का अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकीन हुन्छ । 
विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो । उक्त सम्पदा पुनः निर्माणका लागि २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय ग¥यो । यसको चार दिनपछि अर्थात् ज्येष्ठ २९ गते महानगरपालिका र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भयो ।
सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई रु ५० लाख प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ९ गते रु ५ करोड र २०७८ असार १६ गते रु एक करोड उपलब्ध गरायो ।
क्षति भएको उक्त सम्पदा पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराइएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनःनिर्माण समितिको संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गर्नुभएको छ ।   
पुनःनिर्माणका क्रममा भएको भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।

Categorized in

महिला तथा युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर ८, शुक्रबार

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वाहालि पुचःले बताएको छ । सोही क्रममा उद्‌घाेषण, संस्थागत संरचना सम्बन्धिकाे ज्ञान र सिलसिला मिलाएर अाकर्षक ढंगले बोल्ने शैली सिकाउन एक हप्ते तालिम सञ्चालन गरेको हो । सञ्चारकर्मी केके मानन्धरले तालिम कार्यक्रममा सहजिकरण गरिरहेका छन् ।

तालिम कार्यक्रमलाई उद्‌घाटन गर्ने क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानिय महिला तथा युवाहरुको सीप, क्षमता र दक्षता अभिवृद्धि गराउनुपर्नेमा जाेड दिएका छन् । अमूर्त सम्पदालाई परिस्कृत गरी पर्यटनसँग जाेडेर स्थानियबासीकाे अायअार्जनकाे माध्यम बनाउनकाे लागि तालिम कार्यक्रमले टेवा दिने उनकाे भनाइ थियाे ।

त्यस्तै, तालिम कार्यक्रमका संयाेजक रविकुमार डंगाेलले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए । माैलिक हकअधिकारकाे विषय, प्रशासनीक व्यवहार र प्रस्तुति शैलीकाे लागि पनि सिलसिला मिलाएर बोल्ने क्षमता अावश्यक रहेकाे कुरा उनले बताए ।

बालाजुदेखि ४ किलाेमिटरकाे दूरीमा अवस्थित ग्रामसेवा माध्यमिक विद्यालयकाे सभाहलमा मंसीर ५ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम मंसीर ११ गते साेमबार समापन हुनेछ । प्रत्येक दिन दुई घण्टाको दरले भइरहेको तालिम कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।

धमाथू नेवाः ग्वाहालि पुचः सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्न स्थापना गरिएको समूह हाे । काठमाडौं महानगरपालिकाका विभिन्न टाेल, कीर्तिपुर, भक्तपुरको मध्यपुर थिमि, ललितपुर महानगरपालिकामा पनि ग्वहालि पुचःका शाखाहरू छन् । समुदायभित्र काेहीकसैलाई समस्या पर्दा सामुहिक रूपमा सहयाेग गर्ने, स्थानिय भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनकाे क्षेत्रमा समूहले काम गर्दै आएकाे छ ।

Categorized in

भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

काठमाडौं- ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।

मंसिर ७ गते (भोलि) काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवागमनमा असहजता हुन सक्ने सूचनामा उल्लेख छ ।

‘...अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनु हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ । 

ट्राफिक प्रहरीले भोलि सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्ट’ गर्न सक्ने भन्दै सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

Categorized in

छठका लागि रानीपोखरी नखुल्ने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २, शनिबार

काठमाडौं - २०७२ सालको भूकम्पका कारण बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन । यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

छठका लागि आवश्यक शान्तिसुरक्षाको प्रबन्ध समेत महानगरले मिलाउने उहाँले बताउनुभयो ।

Categorized in

काठमाडौँमा छठ पर्वको तयारी सुरु

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३०, बिहिबार

 

काठमाडौं - उपत्यकाका विभिन्न स्थानमा रहेका नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, गौरीघाट, नागपोखरी, गहनापोखरी, ललितपुरकाे कुपण्डोल लगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिवारसम्म सबै काम सकिने बताए । उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए ।

उनले भने, ‘टेण्ट हाल्न शुरु भएको छ, शनिवारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ । छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौँ ।’

त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताउनु भयो । उहाँले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताए ।

उनले भने, ‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ । २० प्रतिशत काम शनिवारसम्म सकिन्छ । कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ । तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ ।’

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरेको उनकाे भनाइ छ ।

Categorized in

आज दिनभर रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुला रहने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २९, बुधबार

काठमाडौँ - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खेलेको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । “सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ”, पाण्डेले भने ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो ।

भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

Categorized in

Pages