STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने तयारीमा मेयर्स फोरम

Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार

काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरिएको छ ।

बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको छैटौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।

नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको उनले जानकारी दिए । 

यस्तै, काठमाडौं उपत्यकामा स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरिएको मेयर महर्जनले बताए ।

Categorized in

ललितपुरको ललितमण्डप पुनःनिर्माण हुने

Janjati Khabar – Janjati Khabar | २०८० पौष १९, बिहिबार

ललितपुर, १९ पुस : विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो । हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ । इतिहास झल्कने गरी ललितमण्डप पुनःनिर्माण हुनेछ ।” हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ । सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललितमण्डपको महत्व विशेष भएको उहाँको भनाइ छ । हाल जावलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ । जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको एतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ । ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुनःनिर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “पुनःनिर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ । उहाँले निर्माणका लागि चासो देखाउनुभएको छ । ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ ।”

 

Categorized in

बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं- कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् ।

मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर आफैँले यसको छानबिन थालेका हुन् ।

स्रोतका अनुसार कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरु छानबिनमा तानिएका हुन् ।

सो स्वास्थ्य प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकोमा यसवर्ष सहायता बन्द भएको थियो । सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर साहले नै यसबारे छानबिन थालेका हुन् ।

‘एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’

१९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे बोल्न नमिल्ने बताए । ‘मेयरसा'बले नै छानबिन अघि बढाउनुभएको छ’, उनले भने, ‘छानबिन नसकी यसबारे केही भन्न मिल्दैन ।’

Categorized in

नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को ‘त्यःछिंत्यः’ कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को संयुक्त आयोजनामा ‘त्यःछिंत्यः’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा खुसिबुँ पहिक्वःमा सम्पन्न भएको हो । 

प्रमुख अतिथि रानामगरले कार्यक्रममा आएर आफूले पनि नेपालभाषा र खानाको मौलिक नाम थाहा पाएको र आफ्नो संस्कृति रक्षाको निम्ति नेवाः देय् दबू १६ र १७ वडाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।

नेवाः देय् दबू १६ वडाका अध्यक्ष सानुराजा महर्जनको सभापतित्व र १७ वडाका अध्यक्ष बाबुराजा महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुली, प्रदेशसभा सदस्य बसन्त मानन्धर र नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूलाई पनि अतिथिको रूपमा निमत्याईएको थियो । 

उक्त कार्यक्रममा अवसरमा राखिएको यःमरि, वः, समय्बजि, चतांमरि र नेवाः टिपिकल खाजाको स्टलले थप रौनक थपेको थियो ।

कार्यक्रमका अध्यक्ष सानुराजा महर्जनले स्वागत मन्तव्यको राख्नुहुँदै कार्यक्रमको मुख्य उद्देश्य नेवाः मौलिकतालाई जोगाउने र प्रवद्र्धन गर्ने रहेको बताउनुभयो ।

रचना महर्जन र मञ्जिल महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक बाबुराजा महर्जनले सबैको साथ र सहयोग भएमा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताउँदै कार्यक्रमको समापन गर्नुभयो ।

Categorized in

ललितपुरको भिरिन्ची कलेजमा आइसिटी मेला

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष १२, बिहिबार

ललितपुर कुमारीपाटी स्थित भिरिञ्ची कलेजले आयोजना गरेको पुस १२ गतेदेखि १४ गतेसम्म तीन दिने आईसीटी मेला ४.० को ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले विहिबार एक समारोह बीच उदघाटन गर्नु भएको छ। बिहीबारदेखि सुरू भएको सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । 

भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको आईसीटी मेला इच्छुक सबैले निःशुल्क अवलोकन गर्न सकिने  छ । सो मेलामा भिरिञ्ची कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमा राखिने छ ।

कलेजले जानकारी दिए अनुसार कलेजको पाठ्यक्रममै ट्रेनिङ र मेन्टरसीपको विषय समावेश गरिएको छ । त्यसैका आधार पढ्दै सिक्दै गरेको ज्ञान विद्यार्थीले परियोजना उपयोग गर्छन् । प्रोजेक्टका लागि आवश्यक पर्ने सबै फन्डिङ कलेजले गर्छ । 

यस वर्षको आईसीटी मेलामा नयाँ अवधारणामा नयाँ प्रोजेक्टहरू प्रदर्शनीमा राखिने कुरा भिरिञ्ची कलेजका एकेडेमीक को-अर्डिनेटर रोशन केसीले बताउनु भयो । 

कलेजले यस वर्षएआई, रोबोटिक्स र आईओटीका परियोजनामा फोकस गरेको छ । मेलामा मानवीय रोबोट, रोबो सकर, ग्रीन हाउस, टार्गेट सुटिङ, सनेक सर्भिलेन्स रोबोट, सोलार ट्रयाकिङ, ट्राफिक लाइट र फेस रिकग्निसन सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शन हुने उहाँको भनाइ छ ।

यस बाहेक पुराना प्रोजेक्टहरूलाई समेत थप सुधार गर्दै प्रदर्शनीमा राखिने छ । करिब २५ प्रोजेक्ट प्रदर्शनीमा हुने कलेजले जनाएको छ । यस वर्ष प्रोजेक्ट प्रदर्शनीमा सहभागी हुन अन्य कलेजलाई आग्रह गरेपनि समय व्यवस्ताले सहभागी हुन नसकेको कुरा एकेडेमीक को-अर्डिनेटर के सि बताउनु हुन्छ। 

आईसीटी मेला हुनुभन्दा अगाडि गत हप्ता कलेजले प्रिइभेन्टको रूपमा मेन्टरसीपसहित २ दिने युआईयुएक्स  प्रतियोगिता समेत सञ्चालन गरेको थियो । यसमा अन्य कलेजका विद्यार्थी पनि सहभागी भएका थिए । आईसीटीमा करियर बनाउने इच्छुकलाई आईसीटी मेला उपयोगी हुने कुरामा कलेज विश्वश्त छ ।

Categorized in

चुनिखेलमा यःमरि महोत्सव र नेपालभाषाको कविता गोष्ठी

Janjati Khabar – Janjati Khabar | २०८० पौष १०, मंगलबार

काठमाडौं - यःमरि पूर्णिमा ११४४ को उपलक्षयमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. १३ को आयोजनामा चुनिखेलमा "यःमरि महोत्सव" भइरहेको छ । चुनिखेल १३ वडा कार्यालय परिसरमा भइरहेको "यःमरि महोत्सव"को अवसरमा आज मंगलबार एक कवि गोष्ठी सम्पन्न भएको छ ।

नेपालभाषाका कवयित्रीहरू आबद्ध संस्था 'कविताया लाय्‌कू'का कवियत्रीहरू रजनी मिला, सविना महर्जन, रेहेना नकःमि, मिमला शर्मा राजोपाध्याय र बिना नेमकूलले कवि गोष्ठीमा कविता वाचन गरेका थिए । गोष्ठीमा कवि स्नेह साय्‌मिका साथै बुढानिलकण्ठ नगरपालिकाया उपप्रप्रमुख अनिता लामाले पनि नेपालभाषामै कविता गरेका थिए । साथै, नेपाल टेलिभिजनया प्रबन्धक फुलमान बलले पनि गोष्ठीमा कविता पाठ गरेका थिए ।

चुनिखेल वडा नं. ३ का वडाध्यक्ष तिकेशनारायण श्रेष्ठले गोष्ठी संचालन गर्दै आफ्नो वडामा नेवार म्युजियम बनाउने योजना रहेको जानकारी समेत दिनुभयो ।

महोत्सवमा नेवार सरसामान, बाजागाजाका साथै नेवार खानाको स्टल राखिएको छ ।

पाँचदिने महोत्सवको समापन भोलि बुधबार हुँदैछ ।

 

Categorized in

यःमरि पूर्णिमा मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८० पौष १०, मंगलबार

काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन् । 

‘यः’ को अर्थ नेपालभाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ ।

Categorized in

फेन्सी व्यवसायीको सडक महोत्सव सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८० पौष ९, सोमबार

काठमाडौं - फेन्सी व्यवसायी संघ नेपालले ‘नयाँबजार फलफूलचोक सडक महोत्सव’ भव्यताका साथ सम्पन्न गरेको छ । 

काठमाडौं क्षेत्र नं ७ ‘क’का प्रदेश सभासद् बसन्त मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सव १० हजार बढी दर्शकले अवलोकन गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा विभिन्न किसिमका झाँकी, मौलिक खानाका साथै फेन्सी सामानका स्टलहरू राखिएको थियो । 

संस्थाका सल्लाहकार चित्र भुजेलले संचालन गर्नुभएको महोत्सवको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

फेन्सी व्यवसायी संघले रक्तदान, प्राकृतिक तथा दैवी विपत्तीमा परेकाहरूलाई सहयोग, जनचेतनामुलक सरसफाई जस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ । 

Categorized in

चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गरिने

Janjati Khabar – Janjati Khabar | २०८० पौष ६, शुक्रबार

काठमाडौँ - काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।

विद्यालयले फरक–फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक(फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

परिपत्र विपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख गरेका छन् ।

Categorized in

काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने

Janjati Khabar – Janjati Khabar | २०८० पौष ६, शुक्रबार

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन् ।

'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,'  सूचनामा भनिएको छ, 'शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।' 

यस्तै, विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत आह्वान गरेको छ ।

Categorized in

Pages