STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

काठमाडौंमा राति १ बजेसम्म देउसी–भैलो खेल्न पाइने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २४, शुक्रबार

काठमाडौं - काठमाडौं महानगर प्रमुख बालेन शाहले यो वर्ष राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले विगतमा कोभिड र सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय ९ बजेसम्म मात्रै तोकिएकोमा यो वर्ष राति १ बजेसम्म नै खेल्न अनुमति दिने बताएका हुन् ।

उनले यो वर्ष देउसी खेल्नेलाई प्रहरीले नै सुरक्षा दिनेसमेत जनाएका छन् ।

‘काठमाडौ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको मिलाएको छ,’ उनले भनेका छन्, ‘सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछु।’

उनले महानगरको निर्णय अनुसार नै नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोधसमेत गरेका छन् । विगतका वर्षहरुमा काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमाति दिइएको थियो ।

Categorized in

सडकमा भेटिने गाईबाच्छा काठमाडौं महानगरले काञ्जी हाउसमा राख्ने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

काठमाडौं— काठमाडौं महानगरपालिकाले भोलि देखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । 

बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत भोलि देखी महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएका छौं ।’ 

उनले सडकमा छाडिएका चौपाया सवारी दुर्घटनाको जोखिम भएको कारण जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको भन्दै लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका जानकारी दिए । 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ,’ उनले थप लेखेका छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, विजुली लगायत सुविधा प्रबन्ध गर्दैछौँ ।’ 

Categorized in

सद्भाव बिगार्ने सामग्री हटाउन टिकटकसँग सहयोग माग

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १९, आइतबार

काठमाडौं- सरकारले चर्चित भिडिओ सेयरिङ एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

‘अतः जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षा मूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

टिकटकका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।

टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।

Categorized in

पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १६, बिहिबार

काठमाडौं- सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ ।

सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए ।

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो ।

तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगन्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।

Categorized in

प्यालेस्टाइनको समर्थनमा ललितपुरमा प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १४, मंगलबार

काठमाडौं- प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ । 

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले, प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । 

कार्यक्रममा सहभागीहरूले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

Categorized in

६२ औं बिराट सम्मेलनमा मल्ल के. सुन्दरलाई सम्मान

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १४, मंगलबार

भक्तपुर । बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ६२ औं साहित्य सम्मेलन बीच नेवाः अग्रज साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख रुपियाँ नगद सहित सम्मान गरेको छ । यो वर्ष मात्रै स्थापना भएको बिराट पूर्ण पुरस्कारको एक लाख रुपियाँ र नगद प्रदान गरी मल्ल के. सुन्दरलाई सम्मान गरेको हो । बिराटका सल्लाहकार स्वर्गीय पूर्ण बैद्यको स्मृतिमा स्थापित कोषबाट पहिलोपल्ट यो पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि कवि डा. योगेन्द्र प्रधानले मल्ललाई सम्मानपत्र प्रदान गर्नु भएको थियो भने दाता मिरा शाक्य वैद्यले एक लाख रुपियाँ नगद प्रदान गर्नु भएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्व मल्ल के. सुन्दरले हामीले अगाडि सारिरहेको पाइलो जातीय पहिचानका लागि हो कोहीं ब्यक्तिलाई पुरस्कृत गर्न र गराउनको लागि होइन भन्नुभयो ।
    प्रमुख अतिथि डा. योगेन्द्र प्रधानले कार्यक्रम उद्घाटन गर्नु हुँदै समय नआएकाले जातीय पहिचान र बर्चश्वको लागि राम्रो र नराम्रो कार्यहरु पनि भइरहेको हो भन्नु हुँदै यूरोपका एक दुई वटा देश बाहेक संसारमै उत्कृष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक स्थितिमा नेपाल पुगिसकेको बताउनु हुँदै त्यसलाई बम, बारुद र बन्दुकले नै पतन गरेको बताउनु भयो । नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःले एकांकी नाटक र ख्यालः विधा अत्यन्तै दुर्लभ हुन पुगेकाले त्यसको उत्थानको लागि पहल गर्नुपर्ने कुरा बताउनु भयो । बिराटका सल्लाहकार त्रिरत्न शाक्यले नेपालभाषा साहित्य क्षेत्रमा पंचायती कालदेखि अहिलेसम्म निरन्तर जारी संस्था बिराट गुथि मात्रै भएको उल्लेख गर्नुभयो । प्रत्येक वर्ष कौलाथ्व द्धादसिका दिन हुने बिराटको बैसठीऔं साहित्यिक कार्यक्रममा सविना महर्जन, बद्री बेदना, हरिगोबिन्द भोमी, रमेश मानन्धर, ओमनरहरि श्रेष्ठ, अर्जुन महर्जन, बाबुकाजी सुवाल, जितेन्द्र रसिक, सकुन्तला महर्जन, ज्ञानीरत्न बज्राचार्य, सुवर्ण गोपाली, सुरेश प्रधान, किरणकेन रंजित, महर्जन रत्न, निमला शर्मा, दिलकुमारी डंगोल, रिता महर्जन ऋतु, जीवनपति श्रेष्ठ, रेणु श्रेष्ठले रचना वाचन गर्नु भएको थियो भने मूल्यांकन समितिले जितेन्द्र रसिकको कविता प्रथम, दिलकुमारी डंगोलको कविता दुतिय र ज्ञानेन्द्ररत्न बज्राचार्यको कविता तृतीय घोषणा गरी क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद सहितको पुरस्कार प्रदान गरेको थियो । कथा तर्फ बद्री बेदना प्रथम, रेणु श्रेष्ठ दुतीय र लक्ष्मीचन्द्र बज्राचार्य तृतीय हुन पुगेको थियो ।
    कार्यक्रममा नेपाल संवत ११४२ र ११४३ सालमा उत्कृष्ट अंक ल्याई नेपालभाषा विषय लिएर एम ए पास गर्नु हुने क्रमशः राकेशमान मास्के र अनिल स्थापितलाई पनि सम्मान गरेको थियो । एसइई परीक्षामा उत्कृष्ट अंग ल्याएर नेपालभाषा विषयमा उत्तीर्ण गर्न सफल आदर्श मावि लाय्कू मध्यपुर थिमिका निकेश बसी श्रेष्ठलाई बिराट पदक प्रदान गरेको थियो ।

Categorized in

काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै

Janjati Khabar | २०८० कार्तिक १३, सोमबार

काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिनुभयो ।  उहाँका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ ।
अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए । तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए ।     यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए । मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली गाउँपालिकामा एक÷एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको बिरामीलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक तथा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

लामखुट्टेले बसोबास गर्नसक्ने सवारी साधन थगन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामग्री, मठ–मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्न तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ ।

Categorized in

काठमाडौंमा भूकम्पको धक्का महसुस

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ५, आइतबार

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

 

Categorized in

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौं - दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए ।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

Categorized in

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौं - ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए । महालक्ष्मी नगरपालिका क्षेत्रमा लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको र लाइन लामो हुँदा उपभोक्ताहरुबाट ट्रिपिङलगायतका गुनासो आउन गरेको उल्लेख गर्दै घिसिङले यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए ।

उनले भने, “आन्तरिक रुपमा विद्युत् खपत बढाउन प्रणाली सुधार भइरहेको छ, यसका लागि धेरै लगानी गरिरहेका छौँ, नगरपालिकातर्फबाट जग्गा उपलब्ध गराएमा लुभु क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन पनि स्थापना गर्नेछौँ ।”

नगर प्रमुख श्रेष्ठले मुल सडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने बताए । सडक बत्ती कार्यक्रमलाई थप विस्तार गर्न लागिएको श्रेष्ठले उल्लेख गरे ।

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि रु दुई करोड १६ लाखमा ठेक्का सम्झौता भएको थियो । कुल लागतमध्ये प्राधिकरणले रु ८६ लाख र नगरपालिकाले रु एक करोड ३० लाख लागत साझेदारी गरेका छन् । बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरुलाई प्रयोग गरिएको छ ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन् । ‘स्ट्रिट लाइट’ले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि नगरको रात्रिकालीन सौन्दर्यता बढाउने छ । नगरपालिकाले सडक बत्तीको महसुल तिर्नेे छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ ।

सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ ।

प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

Categorized in

Pages