सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै काठमाडौं महानगर
Janjati Khabar – Janjati Khabar | २०८० माघ ७, आइतबार
काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।
उनकाअनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्खा, पानपराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ ।
'विद्यालय, मठमन्दिर, प्रतीक्षालय, अस्पताललगायत सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका सुर्तीजन्य पदार्थहरू नियन्त्रणमा लिएका छौं,' उनले भने, 'यस्तै सार्वजनिक स्थानमा सेवन गर्नेलाई समेत कारवाही गरिरहेका छौं ।' सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी ऐनले सार्वजनिक स्थलको परिभाषा किटान गरेको छ ।
उक्त कानुनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ एक सय मिटरसम्म बेच्न र प्रयोग गर्न निषेध गरेको छ ।
यसअघि महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । मंसिर २९ गते उच्च अदालत पाटनले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
Categorized inकाठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन
Janjati Khabar – Janjati Khabar | २०८० माघ ७, आइतबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिनुभयो ।
अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक एक सय ५० कामदार महानगरकै विभिन्न काममा खटिएको उहाँको भनाइ छ । आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको उहाँले जानकारी दिनुभयो ।
“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भन्नुभयो, “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो ।” उहाँका अनुसार महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ ।
यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् । चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ ।
आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ । रासस
Categorized inसेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न
Janjati Khabar – Janjati Khabar | २०८० माघ ४, बिहिबार
काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को महास्नान आज विहिवार सम्पन्न भएको छ ।
आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो ।
सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा ‘धलिं लुइगु’ भन्ने गरिन्छ ।
स्थानीय नेवार भाषामा दहिलाई ‘धौ’ भनिन्छ भने धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो ।
सेतो मच्छिन्द्रनाथको महास्नानको लागि काठमाडौंको भचाखुसि नदीबाट पवित्र जल ल्याइन्छ । र सोही जलमा दुध, दहि आदि समेत राखेर पंचामृतले स्नान गराइन्छ ।
मच्छिन्द्रनाथको महास्नानको क्रममा वसन्तपुरकी कुमारी पनि जनबहालमा उपस्थित गराइएको थियो ।
यो विधि सम्पन्न भएसँगै सेतो मच्छिन्द्रनाथलाई पुरुष र महिलालाई दुवैको जन्मदेखि गरिने सम्पूर्ण दशकर्म पनि गर्ने गरिन्छ ।
यसपछि भने जनबहालमा मछिन्द्रनाथको ‘लंपू छायेगु’ सुरु हुन्छ । ‘लंपू छायेगु’ भनी मछिन्द्रनाथको मूर्तिमा आवश्यक मर्मत गरी रंगरोगन इत्यादि पनि गरिन्छ ।
महास्नानसँगै सेतो मच्छिन्द्रनाथको रथजात्राको तयारी औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीले शिव, बौद्ध धर्माबलम्वीहरुले आर्याअवलोकितेश्वर, स्थानीय नेवार समाजले जनबहाःद्यःको साथमा करुणामय र विभिन्न नामले पुकार्ने गरिन्छ ।
तस्बिर ः विशाल राजभण्डारी
Categorized inकाठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा
Janjati Khabar – Janjati Khabar | २०८० माघ २, मंगलबार
काठमाडौं- काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् ।
मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन ।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यससम्बन्धी अध्ययनका आधारमा काठमाडौं उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेका छन् । तिनको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौं उपत्यकामा विद्यालय, अस्पताल र सरकारी भवन गरी ५३ वटा भवन संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र त्यसको प्राथमिकतामा राखी पुननिर्माण गर्नुपर्ने देखाएको छ,’ श्रेष्ठले भने ।
ती पूर्वाधार पुननिर्माणका लागि करिब ३ अरब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । जसमा ३२ वटा विद्यालय भवनको लागि एक अरब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख रुपैयाँ र ४ वटा सडक पुलको लागि १ अरब ७ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ ।
तीमध्ये पनि काठमाडौं महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारीलाई प्राथमिकतामा राखेको जानकारी गराइन । उनले भूकप्प लगायतका जोखिमबाट जोगिनलाई संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । डङ्गोलले देशैभरिका विद्यालयहरूलाई भूकम्पको जोखिममुक्त गराउन रेट्रोफिटिङको कार्य सुरु गर्नुपर्ने बताइन् ।
’काठमाडौं महानगरपालिकाको विद्यालय मात्र नभएर देशैभरिका विद्यालयलाई भूकम्पको जोखिमबाट बचाउनको लागि रेट्रोफिटिङको काम हामीले थाल्नुपर्ने छ। त्यसका लागि स्थानीय सरकारको स्रोतले मात्र नपुग्न सक्छ । महानगर र अन्य पालीकाको स्रोत हेर्ने हो भनेपनि अवस्था फरक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर हामीले भूकम्पलगायतका विपद्बाट थेग्ने संरचना निर्माण गर्न विद्यालयबाट सुरु गरौँ,’ डङ्गोलले भनिन् ।
Categorized inमेलम्ची उद्घाटनमा बालेनको व्यंग्य– 'एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार'
Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । बालेनले, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् ।
उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्ट लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’
उनले आफूहरू आलोचना मात्र नगर्ने भन्दै बाह्रै महिना पानी ल्याउन दीर्घकालीन उपाय खोज्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर ।’
Categorized in
आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु
Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार
काठमाडौँ - आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ ।
सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन्। सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर पानी पिउँदै उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र यादव, सञ्चारमन्त्री रेखा शर्मा, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो। गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।
Categorized inमाघी मनाउने भीड टुँडिखेलमा अनियन्त्रित हुँदा आठजना घाइते
Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार
काठमाडौं- काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेको भीड अनियन्त्रित भएको हो ।
त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।
राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
सोमबार टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।
Categorized inकाठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण
Janjati Khabar – Janjati Khabar | २०८० पौष २९, आइतबार
काठमाडौं- वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ ।
पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् ।
जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ ।
मेलम्ची खोलाबाट गत बुधबारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिबार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ ।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । काठमाडौंमा मेलम्चीको पानी आउन अव भौतिक रूपमा समस्या नभए पनि यसअघिको निर्माण व्यवसायी सीएमसीले स्थानीय ठेकेदार र व्यवसायीलाई रकम तिर्न बाँकी रहेकोले सो समस्या समाधान गर्न बाँकी रहेको छ ।
मेलम्ची खानेपानी काठमाडौंमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ । बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटकपटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोपछि काठमाडौंमा मेलम्चीको पानी नियमित रूपमा आउन सकिरहेको छैन ।
अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौं आएसँगै वर्षातमा रोकिएको थियो । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।
Categorized inसुरु भयो काठमाडौँ महानगरको नगरसभा
Janjati Khabar – Janjati Khabar | २०८० पौष २९, आइतबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ ।
आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।
महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।
Categorized inललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठ नियुक्त
Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार
काठमाडौं- गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।
त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।
मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
Categorized in

