STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

हाँडिगाउँमा ‘तिसा मालेगु’ जात्रा सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १२, बुधबार

 

काठमाडौं - काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालेगु’ (गहना खोज्ने) जात्रा सम्पन्न भएको छ।

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।

उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन्। त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ। 

Categorized in

सेतो मच्छिन्द्रनाथको रथलाई असन पुर्‍याइयो, आज हनुमानढोका पुर्‌याइने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ५, बुधबार

काठमाडौं - काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरू भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

मंगलबार अपराह्न चार बजे तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइएको छ भने आज असनबाट हनुमानढोका पुर्‍याइने छ ।

सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ ।

सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

वैशाख ४ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ ।

चैत ५ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्‍याइन्छ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

Categorized in

बोडेमा सकियो म्ये प्वाः खनेगु जात्रा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३, सोमबार

बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो। 

बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध म्ये प्वाः खनेगु( जिब्रो छेड्ने) जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भरिएका थिए।

दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो। बीचमा जिब्रो छेड्न तयार भएका २८ वर्षीय सुजन वाग श्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे।

उनलाई बोडेबासीले जयजयकार गरे। त्यसपछि श्रेष्ठ पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिए। यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनायः कृष्णचन्द्र बाग श्रेष्ठ, नायः पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पःमा माइला भासिको श्रेष्ठ, यसअघि आठपटक जिब्रो छेडाएका जुजुभाई बाग श्रेष्ठ पनि मञ्चमा उक्लिए। 

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ रँ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा जिब्रो छेडिदिए। 

त्यसपछि सुजन सबैलाई नमस्कार र अभिभावदन गर्दै चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर निस्कए। त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दिलकृष्ण प्रजापतिसमेतले दोस्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरे। 

महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे। 

Categorized in

मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३, सोमबार

भक्तपुर— मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्।

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दालेआइतबार बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्। 

थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ। खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ। तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन्। 

यो जात्रामा आइतबार बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो। यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ। 

थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ। यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ। 

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ। जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ।

बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यः, हिचो द्यः, अजिमा द्यः, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ। 

परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यः, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ। खट जात्रा अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यः, क्वाछे द्यःमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ। बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाएको छ।

Categorized in

सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ ।

चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु गरिएको महानगरले जनाएको छ । यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।

अहिले सुन्धारा क्षेत्रका सार्वजनिक स्थलका भित्तामा चित्र बनाउने कार्य भइरहेको महानगरले जनाएको छ ।

सो क्षेत्रमा चित्र कोर्ने काम सकिएपछि त्रिपुरेश्वरस्थित रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोरिनेछन् ।

महानगरका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ ।

रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा विम्बित हुने चित्र कोरिने छ ।

मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभूषा, काठमाडौं चिनिने भौतिक सम्पदा हुनेछन् ।

Categorized in

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २९, बिहिबार

काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सृजना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिए ।

“जिल्ला प्रशासन कार्यालय काठमाडौंको आचारसंहिता बमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको हो”, उनले भने ।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे । ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उहाँको भनाइ छ ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनले दरबारमार्गलाई लामो समयदेखि २४ सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताए । महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा दुई सय व्यवसायी र छ हजार व्यक्तिले रोजगार पाएको उनको भनाइ छ ।

सहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जानसके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ ।

ठमेल र दरबारमार्गबाट सुरु भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई विस्तारै देशका विभिन्न सहरमा लगिने विश्वास उनले व्यक्त गरे । -रासस

Categorized in

असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २७, मंगलबार

काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् ।

यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ । यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

Categorized in

काठमाडौंमा घोडेजात्रा मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २७, मंगलबार

काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो। नेपाली सेनाले आयोजना गरेको घोडेजात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाललगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो। 

Categorized in

सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १८, आइतबार

सामुदायिकतर्फ नेपालको जेठो संस्था केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ  । हजारौंको संख्यामा सहभागी हुने सो भोज कार्यक्रमको जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको हो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

वटु टोलका विजय कुमार मानन्धरले बताएका अनुसार सो भोज सम्पन्न गर्न  करिव सय जना स्वयंसेवीहरु परिचालन गरिएको छ । 

एकदिने सो भोज कार्यक्रममा रक्तदान, हस्तकला र घरेलु अचारको स्टल, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल समेत देख्न सकिन्थ्यो । रक्तदान कार्यक्रमका संयोजक तथा संघका सहायक सचिव कृष्ण बहादुर मानन्धरले जनाए अनुसार कार्यक्रममा सन्चारकर्मि  उदेन न्हूसायमिले १०५ औं पटक रक्तदान गरेको दाबी गरेका छन् ।

सुरुको समयमा दैसाः टोलले स्वयम्भू भोज कार्यक्रमलाई व्यवस्थापन गर्दै आएको भएपनि चालिसको दसकदेखि अरु टोलले पनि सहकार्य गरेको छ । परम्परागत महत्त्वको स्वयम्भू भोज कार्यक्रमको लागि विभिन्न टोलले आआफ्नै जिम्मेवारी बहन गरेको हुन्छ । 

यो वर्ष स्वयम्भू भोज कार्यक्रमसँगै वि सं २०१० माघ १० गते देवीदास मानन्धरको संयोजकत्वमा गठन भएको केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस पनि मनाइएको छ । कार्यक्रममा समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट भएका खेलाडी, नवविवाहित दम्पती तथा विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई पनि सम्मान गरिएको छ ।

सोही क्रममा बनेपाका मोहनलाल खिं मानन्धरको स्मृतिमा स्थापना गरिएको कोषले यो वर्ष डा. भगवानदास मानन्धरलाई नगद ५० हजारसहित पुरस्कृत गरिएको छ । नेपालको राष्ट्रिय संवत् नेपाल संवत्लाई अन्तर्राष्ट्रियकरण गर्न कम्प्युटर प्रविधिसँग जोड्नको लागि योगदान गरेबापत उहाँलाई पुरस्कृत गरिएको बताइएको छ । त्यस्तै, फर्पिङको हरिशंखर जात्रा सञ्चालन गर्दै आएका दक्षिणकाली नगरपालिकाका सुरेन्द्र मानन्धरलाई नगद २५ सहित सोही कोषबाट पुरस्कार प्रदान गरिएको छ । कोषलाई काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मानन्धरका बुवा संस्कृति अध्येता स्व. ज्ञानकाजी मानन्धरले स्थापना गरेका हुन् ।

त्यस्तै, ६ दसक भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई नगद ५० हजारसहित बेखा नारायण देव कुमारी राष्ट्रिय प्रतिभा पुरस्कार दिइएको छ । प्रा. डा. जगदीश नारायण मानन्धरलेले स्थापना गरेको कोषबाट यो वर्ष संस्थागततर्फ पुरस्कार हस्तान्तरण गरिएको हो ।

त्यस्तै, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक तथा समाजसेवी रघुवर भक्त मानन्धरले प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार विभिन्न विधामा विद्यावारिधी सकाएका डा. राजु, डा. राजभाइ र डा. विनिता मानन्धरलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा द्वारिका नारायण–हिरादेवीको नाउँमा मातृभाषा प्रवद्र्धनार्थ स्थापना गरिएको सलिंचा मचा नेवाः पुरस्कार विभिन्न स्कूलमा अध्ययनरत संवीद र रोनिमा मानन्धरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मानविकी संकाय अन्तर्गत स्नातकोत्तर तह नेपालभाषा विषयमा उत्कृष्ट भएका अनिल स्थापितलाई सत्यतारा सम्मान दिइएको छ । एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

यो वर्ष विपन्न अभिभावकको पहिचान गरी समुदायभित्रका २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गुहेश्वरी राज मानन्धर र भिमदेव मथुरा कुमारीले रत्नचुडामणि शिक्षा कोषमार्फत रामेछापस्थित मानन्धर सेवा समाजलाई नगद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, रामेछापको सुनापाती गाउँपालिका, काभ्रेको बनेपा नगरपालिका, दक्षिणकाली नगरपालिका, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू, बाँकेको नेपालगञ्ज, सुनसरीको इटहरी, मकवानपुरको हेटौंडा, पर्साको वीरगन्ज, चितवनको रत्ननगर, स्याङ्जाको क्याक्मे, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका ठाउँमा सघन बसोबास गर्दै आएको टोललाई प्रतिनिधित्व गरि मानन्धरहरू सहभागी थिए । संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।

समाचार स्रोत - केके मानन्धर

Categorized in

सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १४, बुधबार

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए।

रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे।

'हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय शहरहरूलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,' उपप्रधानमन्त्री लामिछानेले भने, 'रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदि यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरि बन्द गर्न सकिन्छ।'

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरूले जिज्ञासा राखेका थिए। 

Categorized in

Pages