टिचिङ हस्पिटलको कम्पाउण्डभित्रका दुईवटा फार्मेसीमा महानगरले लगायो ताला
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १८, शुक्रबार
काठमाडौं – काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल((टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ।
अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए।
उनले भने, ‘हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ।’ भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ।
ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताए।’
Categorized inसगरमाथा आरोहणमा कीर्तिमान बनाएकी श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १४, सोमबार
काठमाडौं - एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो ।
वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
Categorized inसडक मर्मत समयमै नसकाएपछि सडक डिभिजन कार्यालयलाई बालेनको धुलो उपहार
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १३, आइतबार
काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडक विभागलाई १ ट्रक धुलो उपहार पठाएका छन् । उक्त धुलो विभागको गेटैमा खन्याइएको छ । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई भने दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् ।
कलङ्कीदेखि महाराजगन्जसम्मको बाटो सुधार र मर्मत नहुँदा विगत १५ वर्षदेखि जनताले सास्ती खेप्नु परेको र महानगरले गाली खानुपरेको भन्दै महासेठलाई दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा बालेनले गरेका हुन् ।
सडक विभागलाई उपहार भन्दै विभागको गेटैमा १ ट्रक धुलो थुपार्नुको कारण भने अर्कै छ । न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा क्यारिजवे घटाउन महानगरले पिच कटर प्रयोग गरी सडक कटिङ गरिरहेको बेला सडक डिभिजन कार्यालयले आफ्नो अनुमतिबिना सडक काटेको भन्दै सडक कटर समेत कब्जा गरेपछि बालेनले यस्तो कदम चालेका हुन् ।
सडक विभागले भने एक विज्ञप्ति नै निकालि यसको विरोध गर्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । विभागले वालेनको शैलीलाई अराजक समेत भनेको छ ।
Categorized inआज काठमाडौंको तापक्रम यो वर्षकै बढी
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १२, शनिबार
काठमाडौं - काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” महाशाखाका मौसमविद् अधिकारीले भने ।
यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाले शुक्रबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस थियो ।
शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने सो क्षेत्रको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार भैरहवाको ३९.९, जनकपुरको ३८.८, दिपायलको ३८.०, वीरेन्द्रनगरको ३७.६, बिराटनगरको ३७.७, सीमराको ३७.७, धरानको ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
Categorized inपूर्वराजा ज्ञानेन्द्र शाह पाटन दरबारमा
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्।
उनले हिरण्यगर्भ महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे।
उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए।
Categorized inएभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३०, आइतबार
एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । उनकी श्रीमति प्रदिता राज राजकर्णिकारको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । मुटुसम्बन्धी समस्याका कारण राति एक बजेर छत्तिस मिनेट जाँदा राजकर्णिकारको निधन भएको हो । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । पशुपतिमा प्रदिता राज राजकर्णिकारलाई श्रद्धाञ्जली प्रकट गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, मिडिया एलाइन्सका प्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकार पशुपति पुगेका थिए । स्वर्गीय प्रदिता राज राजकर्णिकार की एक छोरी सम्बृद्धि राजकर्णिकार छिन ।
Categorized inआजदेखि काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २९, शनिबार
काठमाडौं - आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ ।
त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
यसैगरी, सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमन्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ ।
त्यस्तै, जेठ २ गतदेखि ४ गतेसम्म थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
त्यसैगरी, बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
Categorized inकोटेश्वरको जाम हटाउन फ्लाइओभर सुरूङमार्ग निर्माण गरिने
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २२, शनिबार
काठमाडौं - अत्यधिक सवारी चापका कारण खेप्नुपरेको जामको मारलाई हटाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ । ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’का रूपमा यस्तो संरचना बन्न लागेको हो ।
यसको निम्ति जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको तयारी गरिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए ।
अत्यधिक सवारी चापका कारण कोटेश्वर चोकमा हरेक दिन लामो जाम हुने गरेको र त्यही समस्या समाधान गर्न जाइकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको हो । जाइकाले यो आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।
६६५ मिटर लामो हुने फ्लाइओभर काठमाडौं तीनकुने सुविधानगरको बागमती खोलाको पुल नजिकैबाट सुरू हुनेछ । तीनकुने तर्फको उक्त फ्लाइओभर तीनकुने पार्क नजिकै रहेको भैरव मन्दिर भएको ठाउँसम्म रहने छ भने सिधै जडीबुटी पुगिने ६१० मिटर लामो सुरूङ विमानस्थल मुनिबाट बनाइनेछ । संवेदनशील क्षेत्र विमानस्थलमा बनाउनुपर्ने भएकोले रातीराती मात्र काम गरी ६ वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ ।
Categorized inकाठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २२, शनिबार
काठमाडौं- काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ।
शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ।
इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ।

काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुँदै
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २२, शनिबार
काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।
यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।



