तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १, शुक्रबार
–विमलबहादुर विष्ट
डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ ।
यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले कोललाई बेवास्ता गर्दै आएको केआइसिंह गाउँपालिकाका स्थानीय शिवराम कामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भनेको बेलामा जहाँ पनि तेल पाउन थालेको छ, दिनभरिको मेहनत लगाएर कसले कोल पेल्नु ?” अब तेलका लागि कोल लोप हँुदै गएकोप्रति भने यहाँका बूढापाका चिन्तित हुन थालेका छन् । डोटीलगायत पहाडी जिल्लामा विशेष गरी तोरी खेती गरिन्थ्यो । अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय इशवबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै बेला आधा जमीनमा तोरी लगाउने हाम्रो ठाउँमा पछिल्लो समय कोल विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि किसान तोरी खेती गर्न छोडेका हुन् ।” बजार तथा विद्युत् भएका ठाउँमा तेल पेल्ने आधुनिक मेशिन अर्थात् मिल आएपछि यहाँका परम्परागत कोल विस्थापित भएको कतिपयको बुझाइ छ ।
विगतको समयमा डोटी जिल्लामा मात्रै सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक दुई वटा कोल पनि विस्तारै लोप हुँदै जाने क्रममा रहेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको हो ।” (रासस)
Categorized in
सामान्य सेवा लिन दिनहुँ धाउनुपर्ने बाध्यता
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।
सरकारले पशुसेवा कार्यालयमार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरबाट आउनुभएका आमखुरा विश्वकर्माले बताउनुभयो । आफूले एउटा बोका बन्ध्याकरण गराउनका लागि करीब तीन किलोमिटर बाटो दैनिक हिँडेर तीन दिनसम्म पशुसेवा कार्यालय धाउँदासमेत सेवा नपाएको गुनासो गर्दै उहाँले कहिले प्राविधिकको अभाव त कहिले कार्यालयमा औषधि तथा उपकरण नभएको भन्दै पशुसेवा कार्यालयले आफूलाई फर्काएको बताउनुभयो ।
आफूले पालेको भैँसीलाई कृत्रिम गर्भधान गराउन उक्त कार्यालय धाउँदा सेवा नपाएको घोडाघोडी नगरपालिका–२ साडेपानीका कृषक जयबहादुर विष्टले बताउनुभयो । यहाँ औषधि र उपकरण केही छैन तपाईं नगरपालिकाअन्तर्गत रहेको पशुसेवा कार्यालयमा जानुस् भनेर पठाउने गरेको र नगरपालिकामा रहेको पशु शाखामा पुग्दा पशुसेवा केन्द्रमा जानुस् भनेर दुःख मात्र दिने गरेको गुनासो विष्टको थियो ।
पशुसेवा केन्द्रमा कर्मचारी अभावले गर्दा किसानले निकै समस्यामा भोग्नुुपरेको घोडाघोडी नगरपालिका पशु स्वास्थ्य प्रमुख छत्रा न्युरेले बताउनुभयो । पहिले आफूहरुले महीनामा ३५ देखि ४० सम्म पशुको कृत्रिम गर्भधान गर्ने गरेकामा अहिले मुस्किलले १० देखि १५ वटा पशुको कृत्रिम गर्भधान गर्ने गरेको उहाँको भनाइ थियो ।
नौ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालय र नगरपालिकाअन्तर्गतको पशु स्वास्थ्य शाखा दुवै कार्यालय हेर्ने एक मात्र कर्मचारी रहेकाले किसानलाई सेवा प्रदान गर्न समस्या हुने गरेको छ ।
Categorized in
मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार
वारी है, खोला नी हौ पारी है खोला
बिचैमा दोभान हौ देशै रमाइलो
हासेर नी हौँ पनि, बोलेर नी हौँ
बिताउन जोवन, लङ्घा मजुले।।।
पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ ।
मुख्य गरेर धनकुट्टा तथा मोरङको ज्यामिरे, बुधबारे, केराबारी तथा पथरी, लेटाङ क्षेत्रका मगरमा लोकप्रिय रहेको हुर्रा नृत्य पन्ध्र वर्षदेखि उदयपुरमा पनि भित्रिन पुगेपछि यतिखेर उदयपुरका मगरजातीहरु हुर्रा नाचको संरक्षण तथा प्रचारप्रसारको अभियानमा जुटेको जिल्लाका मगरयुवाहरु बताउँछन् ।
जिल्ला मगर सङ्घ उदयपुरका अध्यक्ष भक्तबहादुर बुर्जामगरका अनुसार २०६० सालमा पहिलो पटक उदयपुरमा पूर्वेली मगरमाझ लोकप्रिय रहेको हुर्रानाच उदयपुरको मुर्कचीमा भित्रिएपछि त्यहाँ पनि यो लोकप्रिय बन्दै गएको हो ।
अहिले हुर्रा नृत्य उदयपुरको मुर्कची, जिल्लाको सदरमुकाम गाईघाट, साउने, खाँबु, बासबोटे, कटारी, सिद्धिपुर, पाँबु, नामेटार, रामेटार, रौता मलबासे क्षेत्रमा व्यापक लोकप्रिय बन्दै गएपछि मगरका विभिन्न सङ्घसंस्था तथा युवा यसको संरक्षण अभियानमा लागेको कुरा जिल्ला मगर सङ्घका प्रतिनिधि बताउँछन् ।
जिल्ला मगर सांस्कृतिक सङ्घ उदयपुरका अध्यक्ष दलबहादुर मगरका अनुसार हुर्रा नाच पूर्वेली मगरको पहिचना भएका कारण उदयपुरमा पनि यसको संरक्षण अभियानमा आफूहरु जुटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका पस्श्चिमे मगरहरु कौडा नृत्यले चिनिन्छन् भने पूर्बेली मगर हुर्रानाच र सोरठी नाचले चिनिन्छन्, यसमा पनि हुर्रानाच पन्ध्र वर्ष अगाडिमात्र उदयपुरमा भित्रिएकाले यसको संरक्षणमा सङ्घ अहिले लागिपरेको छ ।”
मगर समुदायका बाहुल्य रहेका उदयपुरका विभिन्न स्थानीय तहमा सङ्घले हुर्रानाच संरक्षण र प्रचारप्रसार अभियानलाई तीव्रता दिदैँ आएको अध्यक्ष मगरले बताउनुभयो । विशेषगरी माघेसङ्क्रान्ति पर्वलगायत विवाह, मगरजातिका धार्मिक तथा सांस्कृतिक कार्य, पास्नी, छेवर व्रतबन्धआदिमा हुर्रानृत्य प्रदर्शन गर्ने गर्छन् ।
नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष तथा विज्ञ केशव खपाङ्गी मगरका अनुसार हुर्रानाच पूर्वको धनकुटा मुढेवासबाट उत्पति भई प्रचलनमा आएको छ । विसं १८३० दशकतिर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खाली मगर फौज प्रयोग गरेर पूर्वी क्षेत्र एकीकरण गरेपछि धनकुटाको मुढेवासमा मगरफौजलाई बसोबास गराएका थिए । त्यसैवेला देखि हुर्रानाचको शुरुवात भएको अध्यक्ष मगरले बताउनुभयो । मगर भाषामा हुर्र भनेको कोदाली भएका कारण दिनभर मुढेवासका मगरले कोदाली खन्ने र खेतीपाती गर्ने तथा बेलुकी गलेपछि कोदाली बिसाएर हुर्रानाच गर्ने वा कोदाली बिसाएर गीत गाउने र नृत्य गर्ने प्रचलनको शुरु भएपछि पूर्वको धनकुटास्थित मुढेवासबाट पहिलो पटक हुर्रानाचको प्रारम्भ भएको उहाँले बताउनुभयो ।
त्यसपछि धनुकेटेली मगर मोरङको केराबारी, भलुवा, पथरीतिर बसाइँ सर्ने क्रमसँगै हुर्रानाच अहिले मोरङ क्षेत्रमा पनि यो नृत्य विस्तार भएको छ । विसं २०६० मा पहिलोपटक जिल्ला मगरसङ्घ उदयपुरको आयोजनामा माघेसङ्क्रान्तिमा उदयपुर जिल्लाको रौताको मुर्कचीमा यो हुर्रा नाचको आयोजना गरिएको जिल्ला मगर सङ्घका जिल्ला सदस्य ईश्वर रानामगरले बताउनुहुन्छ ।
त्यसपछि जिल्ला मगर सङ्घको नेतृत्व र अगुवाइमा नै प्रत्येक वर्षको माघेसङ्क्रान्तिसहित विभिन्न मगर जातिको सांस्कृतिक पर्व, धार्मिक पर्वसहित विवाह पास्नी छेवरमा समेत अहिले हुर्रानृत्य आयोजना गरिने गरेको रानामगरले बताउनुभयो ।
मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो वेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्यालीसहित बाध्य बादनमा सामूहिक नृत्य गरिने नृत्य नै हुर्रानृत्यको रुपमा रहेको रौतामुर्कुची उच्चमाविका प्राचार्य खड्ग थापामगरले बताउनुभयो ।
हुर्रा नाचमा मगर युवा तथा युवतीबीच संयोगान्त वा वियोगान्त रसमा आधारित मायापिरतीका कुरा जोडेर गीत बनाई सामूहिक रुपमा यो नृत्य गर्ने गरिएको तथा यो नृत्य आधा घण्टा एक घण्टा हुँदै दिनभर वा रातभरसमेत लामो समयसम्म नृत्य गर्न सकिने प्राचार्य थापामगर बताउनुहुन्छ ।
यस्ता भाकाले आफ्नो देश रमाइलो भएको र मगर भाषामा लङ्घामजुले भनेको आफ्नै गाउँ रमाइलो हुन्छ भनेर गाउँघर रमाइलो भन्दै गीत गाएर सामूहिक नृत्य गरिने नृत्य नै हुर्रा नृत्य भएका प्राचार्य खड्ग थापामगर बताउनुहुन्छ ।
जिल्ला मगर संस्कृतिक सङ्घले अहिले उदयपुर जिल्लाका मगर जातिमा हुर्रानृत्य संरक्षण र प्रचारप्रसार अभियानमा जोड दिन थालेपछि यो नृत्य सामान्य विवाह, व्रतबन्ध, पास्नीदेखि माघेसङ्क्रान्ति तथा विभिन्न दशैँ, तिहारजस्ता धार्मिक पर्वमा समेत हुर्रानृत्य प्रस्तुत र आयोजना हुने गरेको मगर सङ्घका प्रतिनिधि बताउँछन् ।
Categorized in
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार
रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।
वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ । समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ ।
फागुन÷चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउनुहुन्छ । “गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्, गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ”, उहाँले भन्नुभयो ।
तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ । कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ ।
नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताउनुभयो । हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उहाँले बताउनुभयो । “गुराँस फूलले वनैभरि ढाकेको देख्दा नआऊँ भने पनि मनले पटक्कै मान्दैन, हरेक वर्ष गुराँस फूल फुलेकै हेर्न मात्र भए पनि रेसुङ्गा वनमा आइरहेको हुन्छु” उहाँले भन्नुभयो ।
अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउनुहुन्छ । पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ । केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ ।
ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ । यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ । यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ । रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ ।
भकारी नबुनेसम्म पुग्दैन खान साँभm र बिहान
रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँभm र बिहान हातमुख जोर्ने अर्को उपाय छैन । उमेर ढल्किँदै गयो तर जोश जाँगर युवावस्थाकै जस्तै नगरिकन साँझ बिहान उहाँको घरको चुल्होमा आगो बल्दैन । बुढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उहाँ बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य हुनुुहुन्छ ।
विकले दुईदेखि तीन दिनको समय लगाएर एउटा भकारी सिध्याउने गर्नुहुन्छ । एक भकारीको मूल्य आकारअनुसार रु दुई हजारदेखि पाँच हजारसम्म पर्छ । यही भकारी बिक्रीबाट उहाँको घरमा चुल्होमा आगो बल्छ । गाउँघरमा धान राख्न प्रयोग हुने भकारी कृषकले खोजीखोजी खरीद गर्ने हँुदा बिक्री गर्न खासै समस्या नभएको उहाँ बताउनुहुन्छ । “सधैँ गाउँघर छिमेकमा सबै भकारी खपत हुँदैन, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुगेर बिक्री गर्ने गरिरहेको छु”, विकले भन्नुभयो ।
उहाँले पाल्पाका विभिन्न गाउँपालिका तथा नगरपालिका, स्याङ्जा, तनहुँलगायतका जिल्लामा भकारी बोकेर बिक्रीका लागि घरघरमा पुग्नुहुन्छ । भकारीबाट राम्रो कमाइ हुने भएपछि विकले अरु सामग्रीलाई भन्दा भकारी निर्माणलाई जोड दिनुभएको छ । “एउटा भकारीबाट रु पाँच हजारसम्म कमाउन सकिन्छ, अरु सानासाना सामग्रीको तुलनामा यसबाट प्रशस्त कमाउन सकिने हुँदा भकारी बनाउन भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो । विकले १३ वर्षको उमेरदेखि नै डोको, भकारी, डालालगायतका सामग्री बनाउँदै आउनुभएको हो ।
घरमै बसीबसी बाउबाजेबाट सीप सिक्नु भएका विकले उमेर ढल्कँदै जाँदा पनि निरन्तरता दिइरहनुभएको छ । उहाँले गाउँघरमा बाँस खरीद गरेर ग्राहकको मागअनुसार विभिन्न खालका सामग्री बनाउनुहुन्छ । यो उमेरसम्म आइपुग्दा पनि आफैँ बाँसको चोया काढेर विभिन्न सामग्री बनाउनुहुन्छ । यस व्यवसायबाट जीवन धान्न सजिलो भएको उहाँ बताउनुहुन्छ । आफूले सक्दासम्म यो व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ ।
Categorized in
घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २९, बुधबार
दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् ।
विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो ।
विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि कालिका नगरपालिका–११ र १२ नम्बर वडाका १६ जना छात्रा र १४ जना छात्र चेपाङ विद्यार्थी अध्ययन गराउँदै आएको छ । गत वैशाखसम्म सपना भिजेज सोसल इम्प्याक्ट सौराहामार्फत विद्यालयका चेपाङ विद्यार्थीलाई खाजाको व्यवस्था भए पनि अहिले ती विद्यार्थीले खाजा खान पाएका छैनन् ।
सो छात्रावास सञ्चालन गर्न समस्या देखा परेसँगै उनीहरु बिदाको बेलामा घर गएर फर्केर आउन नमान्ने गरेको विद्यालयका प्रधानध्यापक भीमप्रसाद खनालले बताउनुभयो । सिप्रर्दी ट्रेडिङ प्रालिले चेपाङ विद्यार्थीका लागि मासिक रु ८० हजार आर्थिक सहयोग गरे पनि त्यो रकमले ३० जनालाई पर्याप्त नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य गोकुल पन्तले बताउनुभयो । विद्यालयका अङ्ग्रेजी विषयका शिक्षिका गङ्गा खनालले चेपाङ विद्यार्थीको पढाइ राम्रो रहेको जानकारी दिनुभयो ।
कक्षा ७ मा अध्ययरत कोपिला चेपाङले सिरक, खेलकूद सामग्री र टेलिभिजनलगायतका सामग्रीको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै अर्का कक्षा ८ मा पढ्ने चेपाङ छात्र अविन चेपाङले व्यवस्थित भान्छा र दिवा खाजाको पनि व्यवस्था नभएपछि घर फर्किने मनस्थितिमा पुगेको बताउनुभयो ।
Categorized in
सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २९, बुधबार
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।
पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ ।
दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा परेका छन् । गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ ।
इ–रिक्सा चालक भवानी खरेल भन्नुहन्छ, “अस्पतालको जग्गा धेरै छ तर शव राख्ने ठाउँ साँघुरो छ, यसलाई व्यवस्थित गर्नुपर्छ, बेवारिसे शव राख्ने स्थान छुट्टै हुन्ुपर्छ । बुद्धचोकमै शवगृह हँुदा चोक नै गन्हाउने गरेकाले चोकमा बस्न नसकिने, नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।”
गन्धले गर्दा रिक्सा चालकलाई समस्या हुने गरेको तथा यात्रुलाई सेवा दिन पनि गाह्रो भइरहेको उहाँले बताउनुभयो । अस्पतालले नगरवासीको समस्या बुझेर यसको छिटो व्यवस्थापन र बुद्धचोकभन्दा अन्यत्र सार्नुपर्ने उहाँको सुझाव छ ।
बेवारिसे शव सडेर गल्ने हँुदा गन्ध आउने गरेको अस्पताल नजिक मेडिकल सञ्चालन गरिरहेका औषधि व्यवसायी मधुसुधन चौधरीको गुनासो छ । यसको गन्धले बिरामी नै पर्ने गरेको तथा नाक थुनेर सेवा दिनुपरेको उहाँ बताउनुहुन्छ ।
बेवारिसे शवलाई समयमा पहिचान गर्न प्रहरीले ढिलासुस्ती गर्नाले पनि शव धेरै दिन राख्दा गन्ध आउने गरेको उहाँको बुझाइ छ । नजिकै रहेको लामिछाने मःम रेष्टुरेण्टका सञ्चालक पवित्रा लामिछानेले शवगृहको गन्धले होटलमा आउने ग्राहक पनि फर्कने गरेको गुनासो गर्नुहुन्छ ।
सकेसम्म शवघर बजारभन्दा टाढा सार्न स्थानीयवासीको माग छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा अनन्त शर्माले शवगृहले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैलाई असर गरेको स्वीकार गर्दै वैज्ञानिक दृष्टिले पनि अहिले भएको शवगृहको स्थान उपयुक्त नभएको बताउनुहुन्छ ।
खासगरी वेवारिसे शवको ७२ घण्टासम्म पनि अनुसन्धान चल्ने र प्रहरीको निगरानीमा हुने भएकाले अस्पताललाई समेत गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । रामग्राम नगरपालिकाले पनि बेवारिसे शवको व्यवस्थापन समयमै नगर्दा बजार नै दुर्गन्ध हुने गरेको अस्पतालले जनाएको छ ।
Categorized in
‘फड्को’ः कर्णालीको प्रतिविम्ब
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको स्पष्ट बोध गराउँछ ।
नाटकमा देखिएको विवाह खस भाषा, वेषभूषा र त्यहाँको जनजीविकाले एकैचोटी दर्शकको ध्यान तान्दछ । कण्ठ ९घाँटी०मा लाटको माला, जीउमा डौठो ओढेर चोली गाबुन लगाएकी महिला, त्यस्तै शिरमा टोपी, ठेटुवाको भोटी ९दौरा० जँगेलो ९सुरुवाल०, पाखाको कोट लगाएका पुरुषसहित नेपथ्याबाट मञ्चमा एक हुल जन्ती र डौडाको पहिरनमा दमाहा भिरेको बाजा टोली दमाहा, सहनाई, ट्याम्को, झ्याली बजाउँदै निस्कन्छ ।
त्यसले अवशेषका रुपमा रहेको विद्यमान एवं तत्कालीन कर्णालीको खस संस्कृति र सभ्यताको झल्को दिलाउँदछ । राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रहरी व्यायमशालामा आज मञ्चन गरिएको नाटक ‘फड्को’सँग सम्बन्धित रैथाने कलाकारको खसभाषी संवादले दर्शकदिर्घालाई अनौठो मात्र लागेन, उनीहरुको अभिनयले कथाको आवश्यक घडीमा प्रयोग गरिएको शब्द ‘आत्तु’ ९ढोग गरेँ० र ‘ऐवात्तु’ ९भाग्यमानी÷चिरञ्जीवी हुनु० ले सबै क्षेत्रका दर्शकलाई दुवै शब्दको अर्थ बुझ्न उत्प्रेरित गरायो ।
विवाहमा जन्तीलाई स्वागत गर्दा गाइने मागल, रत्यौलीका रुपमा रातभरि महिलाले गाउने झोडा गीतले दर्शकलाई बुझ्न गाह्रो त भएकै थियो । यद्यपि त्यसले दुलाहा र दुलहीको दीर्घजीवन र प्रगतिको कामना गरिरहेको आशय उनीहरुले बुझिरहेका थिए । तत्कालीन सभ्यता र संस्कृतिसँग जोडिएको यो संस्कार साविकको कर्णालीमा अहिले पनि भेट्न सकिन्छ ।
कथाले अनमेल विवाहलाई पूर्ण निरुत्साहित र अन्तरजातीय विवाहलाई उत्साहित गरेको पाइन्छ । जहाँ बाहुन छोरा विकास रिजाल र मगरको छोरी पवित्रा मगरबीच विवाह हुन्छ । विवाहित पवित्राको नागरिकता माइतीमै बनिसकेकाले जिल्ला प्रशासन कार्यालय रारामा पुगेर उनी आफ्नो राष्ट्रिय परिचयपत्रमा पतिको थर कायम गर्न कुनै प्रमाणबिना नै सुब्बासाबलाई अनुरोध गर्छिन् ।
प्रमाणबिना थर कायम गर्न गाह्रो हुँदा सुब्बासाबले प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहअनुसार वडापालिकाको वेबसाइट हेरेर पवित्राको थर कायम गरिन्छ । पवित्रालगायत अर्को एकजनालाई सेवा प्रवाह गर्न ढिलो हुन्छ । सेवा प्रवाहमा ढिलो हुँदा उनीहरु दुवै सेवाग्राहीलाई प्रशासन प्रमुखले क्षतिपूर्ति दिएर पठाउनुहुन्छ ।
नाटकको मध्याह्नमा एकातिर अन्तरजातीय र अर्कोतिर उमेर पुगेका केटाकेटीबीचको विवाहलाई सन्दर्भ बनाएर कार्यालय समयमा दुई पात्र ९कार्यालय सहयोगी रामप्रसाद र सुब्बासाब० बीचको एउटा संवाद हुन्छ । जसमा सुब्बासाब भन्नुहुन्छ, “हेर त रामप्रसाद १ अब हाम्मा ठौर हिँड्न नजानेको केटी र हिँड्न बिर्सेको बुढोबीच विवाह भएर यामराजले सम्बन्धविच्छेद गर्ने संस्कृतिको अन्त्य भएको छ ।”
नाटक काल्पनिकभन्दा यथार्थवादी धारमा मुखरित छ । यसले जमुना हिल्सा–द्रुतमार्ग, हिल्सा–रारा से–फोक्सुण्डो–मुस्ताङ हुँदै पूर्व ताप्लेजुङ जोड्ने हिमालयन ग्रेट ट्रेल, ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’को उद्देश्यलाई सङ्घ तथा प्रदेश सरकार प्रमुखले जवाफदेहिताका साथ पूरा गर्न नैतिक जिम्मेवारीको बोध गराएको छ भने अर्कोतर्फ सिंजामा खस संस्कृतिसँग सम्बन्धित विश्वविद्यालयको अपरिहार्यता देखाएको छ ।
जल, जङ्गल, जडीबुटी, कला, साहित्य, संस्कृति, भाषा, सभ्यता र मौलिकताले सम्पन्न कर्णाली अब त्यही स्थितिमा होइन, फड्को मारेर अघि बढ्ने होडमा रहेको नाटकले सन्देश दिन्छ । मुस्कानसहितको सेवा प्रवाह, सेवा प्रवाहमा ढिलाइ भए सेवाग्राहीलाई क्षतिपूर्ति, विद्युतीय हाजिरी, डिजिटल नागरिक बडापत्र, नागरिकलाई वडा तहबाटै वेबसाइटमा सूचना हेर्ने व्यवस्थाले वर्तमान कर्णालीको डिजिटल नीतिको प्रवद्र्धन गर्दछ ।
नाटकले तत्कालीन खस राज्यको वास्तविक इतिहास र आजको सूचना तथा प्रविधिलाई संयोजन गरेर उत्तर आधुनिककतातर्फ फड्को मार्ने जमर्को गरिरहेको वस्तुगत अवस्थालाई प्रतिविम्बित गर्दछ । मूलतः मुलुकले लिएको विकास नीति, लक्ष्य र निर्विवाद कर्णाली प्रदेशको मर्मलाई पक्रेको छ । यसले ‘जनमुखी प्रशासन, सन्तुलित विकास, मानव अधिकारमुखी न्याय, समृद्ध नेपाल, सुखी नेपाली’ नारा पूरा गर्ने परिकल्पना गरेको छ ।
तत्कालीन शक्तिशाली खस राज्य अहिले आएर अर्कैको मुख ताक्नुपर्ने बिडम्वनालाई नाटकले व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेको छ । नाटक महोत्सवमा नेपालका ख्यातिप्राप्त नाट्य तथा रङ्गकर्मी अभि सुवेदी, अनुप बराल, रमेशरञ्जन झा, राजन खतिवडा, प्रभाकर शर्मा, वीरेन्द्र हमालसहित रङ्गकर्मी सांसद तथा नाट्यविज्ञ प्राध्यापकको सहभागिता रहेको थियो । फागुन २३ गतेदेखि शुरु भएको रारा राष्ट्रिय नाटकको महाकुम्भमा हजारौँ दर्शकको भीड छ ।
फड्को नाटक अवलोकनकर्ता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कला र संस्कृतिको केन्द्र कर्णालीको निधारमा लेखिएको गरीबी र अभावसाथै यो प्रदेशको परिभाषा बदल्न नाटकले जोड दिएको बताउनुभयो । “मुलुक सम्पन्न गर्न यो प्रदेशको विशेष भूमिका छ”, कानूनमन्त्री भण्डारीले भन्नुभयो, “प्रदेश सरकार कर्णालीलाई नेपालको मोडल प्रदेश बनाउने होडमा छ ।”
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले भाषा, संस्कृति र प्रकृतिले सम्पन्न कर्णाली प्रदेशको वास्तविकतालाई नाटकले उजागर गरेको बताउनुभयो । उहाँले यहाँको सामाजिक यथार्थतालाई चित्रण गरी सकारात्मक सन्देश दिएको भन्दै फड्को नाटकका रङ्गकर्मीप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
कर्णाली खस संस्कृति मञ्च, जुम्लाका प्रतिनिधि दीपेन्द्र उपाध्यायले कर्णालीको भाषा, संस्कृति र पर्यटनलाई उजागर गर्ने मुख्य उद्देश्यले नाटक तयार गरिएको बताउनुभयो । थुप्रै अभावका बीचबाट तयार गरिएको नाटकमा विज्ञद्वारा औँल्याइएका रिक्ततालाई आगामी अवसरमा फूलबुट्टा भरेर दर्शकलाई पूर्ण सन्तुष्टि दिने उहाँको भनाइ थियो । अठार कलाकार सहभागी उक्त नाटकको निर्देशन रन्नीबहादुर घर्तीले गर्नुभएको थियो ।
Categorized in
घरबाटै पानी बोकेर विद्यालयमा
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् ।
जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो ।
भोगौलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर विद्यालयसम्म पर्न नसकेको उहाँको भनाइ छ । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घरजाने गरेको रोकायाले बताउनुभयो ।
विद्यार्थीले बोतलमा बोकेर ल्याएको पानी नपुग्ने भएका कारण आधा पढेर विद्यार्थी घर जाने गरेका छन् । विद्यालयमा खाजा खाने समयमा बेला कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गरेका छन् । यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको छ ।
खानेपानी नभएकै कारण शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेको प्रध्यानाध्यापक रोकायाले बताउनुभयो । गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि गर्मीको बेला अपुग हुने गर्दछ । विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रयास गरे पनि अहिलेसम्म व्यवस्था गर्न नसकिएको प्रध्यानाध्यापक रोकायाले बताउनुभयो ।
विद्यालयमा सफा खानेपानी नहँुदा विद्यार्थीको सरसफाइ र दिवा खाजामा प्रभाव परेको छ । पानी अभावले गर्दा विद्यालयमा भएका दुई शौचालय पनि प्रयोगविहीन भएका छन् । सानो आधारभूत विद्यालय भए पनि छात्राछात्रको शौचालयको छुट्टाछट्टै रुपमा निर्माण गरिएको छ । अभिभावकका मनमुटावका कारण विद्यालयमा खानेपानी पु¥याउन नसकिएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयमा भएका डेक्स, बेञ्च पनि जीर्ण अवस्थामा छन् । गर्मीको समयमा पानीको हाहाकार हुने गरेको छ । प्रध्यानाध्यापक रोकायाले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकैको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउँदै पानी खान गएका विद्यार्थी कक्षामा ढिलो आउने गरेकाले पुन कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अत्याधिक वन फँडानी र वनजङ्गलको संरक्षण नहुँदा उक्त क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलानालाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि त्यस क्षेत्रका विद्यालय तथा बासिन्दालाई खानेपानीको समस्या वर्षेनी बढ्दै गएको छ ।
बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहाँका बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र बस्तुभाउलाई खुवाउन पनि समस्या हुने गरेको छ ।
शिक्षकले तलब पाएनन्
जुम्ला पातारासी गाउँपालिकाका शिक्षकले पाँच महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । शिक्षक तलब माग्दै सोमबार पातारासी गाउँपालिकामा पुगेका थिए ।
गाउँपालिका पुगेका शिक्षकले ज्ञापनपत्र बुझाउँदै अबको एक हप्ताभित्र स्थानीय तहले तलब भत्ता नदिए विद्यार्थीसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । समयमै तलब भत्ता निकासा नहुँदा शिक्षकलाई समस्या भएको नेपाल शिक्षक महासङ्घ पातारासी गाउँ समितिका सचिव चुडाराज न्यौपानेले जानकारी दिनुभयो ।
विभिन्न माग राख्दै गाउँपालिकालाई ध्यानाकर्षण गरिएको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले शिक्षक दरबन्दीका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने, कात्तिकदेखि फागुनसम्मको रकम निकासा भएकाले समयमै तलब उपलब्ध गराउन माग गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
तलब माग्दै गाउँपालिका पुगेका शिक्षक तथा सचिव न्यौपानेले गाउँगाउँमा स्थानीय सरकार आएपछि सेवा प्रवाहमा पहिलेको भन्दा झनै ढिलाइ भएको बताउनुभयो ।
Categorized in
आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार
प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।
महोत्सवको समापनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले आदिवासी जनजातिको पहिचान स्थापित गराउन भूमिका खेलेको बताउनुभयो । नुवाकोटमा ७० प्रतिशत जनजातिको बाहुल्य छ । यहाँ तामाङ, मगर, भुजेल, माझी, राई, गुरुङ, नेवार, शेर्पा, ह्योल्मो, बराम, कुमाल, दनुवार, घले र बलामी समुदाय गरी १४ आदिवासी जनजाति छन् ।
Categorized in
हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार
पछिल्लो क महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।
चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।
मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० वटा भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्याङ्ग्रा मरेका छन् ।
घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्याङ्ग्रा र चाँैरी गाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताउनुभयो ।
उहाँका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो । घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो ।
Categorized in
Pages