STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

सडक पुगेपछि स्थानीयवासीको आयस्तरमा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

सडकले गाउँ जोडेपछि रम्भा गाउँपालिका–४ का स्थानीयवासीमा खुशियाली छाएको छ ।
स्थानीयवासीको सक्रियतामा वडा नं ४ को लोरेङ्ग गाउँमा सडक पुगेको छ । सडकको ट्र्याक यसअघि नै खोलिए पनि स्तरोन्नति गर्न नसक्दा सवारी साधन गाउँमा जान सकेका थिएन । 
सडक सञ्जालले पछाडि परेको यस गाउँमा हालसालै मात्र सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि अहिले साना तथा ठूला सवारी साधन जान थालेका छन् । साना सवारी साधन गुड्न मुस्किल पर्ने यस गाउँमा हिजोआज ठूलाठूला सवारी साधन गुड्न थालेपछि स्थानीयवासीमा खुशियाली छाएको हो । गाउँमा अहिले नियमित रुपमा जीप, ट्र्याक्टर, बस गुड्न थालेको देख्दा स्थानीयवासी दङ्ग छन् ।  
जिल्लाकै विकट र दुर्गम क्षेत्र रहेको लोरेङ्गमा स्थानीयवासीको सक्रियतामा गाउँपालिकाको सहयोगमा सडक विस्तार गरेपछि साना तथा ठूला सवारी साधन गुड्न थालेको हो । गाउँमा सवारी साधन गुड्न थालेपछि स्थानीयवासीमा खुशी र उमङ्ग छाएको स्थानीवासी विष्णु घर्ती मगर बताउनुहुन्छ । “यसअघि सदरमुकाम तानसेन, बुटवल आवतजावत गर्न गाउँदेखि करीब एक घण्टाको पैदल हिँडेर रामपुर आर्यभञ्ज्याङ सडकअन्तर्गत हुमिन बगैँचामा निस्कनु पथ्र्यो, अब यो समस्या सधैँका लागि हट्यो”, उहाँले भन्नुभयो ।
हुमिनको भिमाद लोरेङ्ग पाँडेकोट थुम्की बक्चौर सडक विस्तार तथा स्तरोन्नति गरेपछि हालै मात्र बस सेवा सञ्चालन भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रवीर सूर्यवंशीले बताउनुभयो । अहिले यहाँबाट बिहान ८ बजे बुटवल, ९ बजे सदरमुकाम तानसेनका लागि र तानसेनबाट दिउँसो ४ बजे तथा बुटवलबाट ३ बजे दुई वटा बस नियमित रुपमा छुट्ने गरेको उहाँले बताउनुभयो । “बस नियमित रुपमा सञ्चालन भएपछि सामान ओसारपसार गर्न र गन्तव्यस्थलसम्म पुग्न यात्रुलाई ठूलो सुविधा पुगेको छ”, उहाँले भन्नुभयो ।
गाउँमा सवारी साधन नपुग्दा गाउँघरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारमा लैजान निकै समस्या थियो । ज्याला दिएर मानिसले नै बोकेर सवारी साधन लाग्ने स्थानमा लैजाँदा लगानी नै नउठ्ने समस्या स्थानीयवासीले भोग्दै आएका थिए । तर सवारी साधन नियमित गुड्न थालेपछि यहाँका स्थानीयवासीको आयस्तरमा वृद्धि हुँदै गएको वडाध्यक्ष भोजबहादुर विकले बताउनुभयो । सडक स्तरोन्नति गरेपछि अहिले नियमित रुपमा गाउँमा बस सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
सडक विस्तार तथा स्तरोन्नतिका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु २० लाख रकम सहयोग गरेको थियो । यहाँका स्थानीयवासीले करीब दुई लाख बराबरको जनश्रमदान सहयोगसमेत गरेका थिए । गाउँपालिकाका पाँच वटै वडामा बस पु¥याउने कार्यक्रमअनुसार सडक स्तरोन्नति तथा मर्मतमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 
अब रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटको कार्यालयमा पुग्ने सडक स्तरोन्नति भइसकेको छ तर बस केही दिनमा नै उद्घाटन गरी नियमित सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडा नं ५ को फुरुङ्गदी गाउँमा पनि यसै आर्थिक वर्षमा सडक स्तरोन्नति गरेपछि बस पुगेको छ । गाउँपालिकाले यसै वर्षमा सबै वडामा सडक विस्तार तथा स्तरोन्नति गरेर बस सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ । सडक समस्याकै कारण यहाँबाट बसाइँ सरेर अन्यत्र जाने क्रम पनि छ । अब सडक सुधार भई नियमित यातायातका साधन गुड्न थालेपछि बसाइँसराइ रोकिने आशा लिएको छ ।
Categorized in

नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् । नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । ८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ । स्वर्गीय प्रथमाञ्जलि स्थापित (नाती दाई)को अन्तिम दाहसंस्कार जेठ २० गते सोमबार बिहान १० बजे काठमाडौंको शोभा भगवती घाटमा हुने जानकारी परिवार श्रोतले दिनुभएको छ ।
Categorized in

दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले  १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो । आँखा देख्न सकेको खुशीयालीमा घर पुगेर खसी काटेर खाएको उहाँको भनाइ थियो । सोही ठाउँकै सिर्जना विकले पनि करीब पाँच वर्षपछि आँखा देख्न पाउँदा खुशी भएको बताउनुभयो । आँखा  नदेख्दा सबैले हेप्ने र  दुःख दिने गर्दथे अब आँखा देख्ने भएपछि घरको कामदेखि अरुलाई सघाउनेसम्मका काम  गर्दै आएको विकले बताउनुभयो ।
 
उनीहरु जस्तै ६६३ जना पुनः संसार देख्न पाइएकामा  खुशी भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा धेरैले पुनः  संसार देख्न पाएका हुन् ।दुर्गम गाउँमा स्वास्थ्यकर्मी उपस्थिति नहुनाले उपचार गर्न नपाएका र अर्थाभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै उपचार गर्न पाउँदा खुशी भएको उक्त नगरपालिका–४ का बलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता खालका शिविर पहिले भएका थिएनन्, गाउँमा त झन् को पो आउँथ्यो र रु अहिले हाम्रा लालबहादुर महतरा प्रदेश सरकारमा पुग्नुभएकाले हामीलाई घर नजिकै उपचार गर्न सहज भएको  छ ।” अझै पनि दुर्गम गाउँमा आँखाका बिरामी भए पनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उहाँको भनाइ थियो ।
उक्त मन्त्रालयको सहयोगमा जिल्लाका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन् । अर्थाभाव भएका, अशक्त, र अपाङ्गता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको उक्त नगरपालिकाको स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिनुभयो । 
Categorized in

हटेन खानेपानीको सङ्कट

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् । 
सुनकोट गाउँमा दलित समुदाय बस्ने गर्दछन् । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा हतारिँदै आउँछन् । पानी भर्न त्यस ठाउँमा आउनै पर्छ । पानी भर्न आएकी ५० वर्षीय हरुदेवी भुल २०० दलित परिवार रहेको सुनकोटको हरेक घरमा नीलो जर्किन भएको बताइन् । “पानीका दुःखले यो इण्डियाबाट किनेर ल्याया हौं,” उनले डोटेली भाषामा भनिन् । 
सबै घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आउँदा सँगै जर्किन ल्याउँछन् । कसै–कसैको घरमा त पाँच÷छ वटा जर्किन हुन्छन् । गाउँभन्दा दश किलोमिटर टाढा असुर्पाबाट यस ट्याङ्कीमा पानी आउँछ । “दिनभर ट्याङ्कीमा पानी भरिन्छ, त्यसपछि दिउँसोको समयमा धारा खोलिन्छ,” उनी भन्छिन् – “हामी सबैले दिनको ५० लिटर अट्ने एक जर्किन पानी पाउँछौं ।”
दिनको ५० लिटर पानी पाए पनि उनीहरुलाई त्यो पर्याप्त छैन । गाउँभन्दा आधा किलोमिटर पर हिँडेर पल्लो गाउँमा पानी लिन जाने उनीहरुको दैनिकी नै भएको छ । मजदूरी गरेर गुजारा गर्ने उनीहरु बिहानै ४ बजे जर्किन लगेर पानी भर्न जान्छन् । “बिहानै उठेर पानी भर्न जान २ घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ,” नजीकै रहेका केटाकेटी देखाउँदै अर्की पानी भर्न आएकी इन्दिरादेवी भुलले भनिन् – “यिनीहरु सबै पानीका लागि जान्छन्, ५० लिटर त्यहाँबाट बोकेर ल्याउँछन् ।” 
 
स्थानीय सरकार आएको २ वर्ष हुँदा समेत सुनकोटवासीको खानेपानीको समस्या सुल्झिएको छैन । “पहिलेको भन्दा त अलि सहज भएको छ पहिले टाढाबाट पानी ल्याउनुपथ्र्यो,” हरुदेवीले भनिन् – “मैले बिहे गरेर आउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भैसक्यो अझ पनि उस्तै छ ।” 
गाउँमै खानेपानीको ट्याङ्की त बनेको छ तर, यो पानी हाम्रो लागि पर्याप्त छैन, परिवर्तन भन्नाका लागि मात्र आए जस्तो छ,” उनले थपिन् । 
पानीमा जातीय विभेद
गाँउपालिकाको खानेपानी योजनामा जातीय विभेद पनि भएको देखिन्छ । चन्नरीदेवी भुल भन्छिन् – “दिनको एक जर्किन मात्र हामीले पानी पाउँछौं । त्यो पनि पानी आएको दिन मात्र । नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ ।” दुईसय घरधुरी रहेको दलित गाउँका नाउला पोखरी समेत सुकेका छन् । गाईगोरुलाई पानी खुवाउनदेखि लत्ताकपडाका साथै नुहाउनका लागि तीन÷चार घण्टाको पैदल दूरी हिँड्नुपर्ने भन्दै हरुदेवीले दुःखेसो पोखिन् । “हाम्रा भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ,” उनले भनिन् – “पानीका लागि धेरै करायौं, फेरि पनि कराउँदै छौं ।” 
गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्याङ्कीको पानी खोल्ने चौकीदार पौवा भुल बताउँछन् । “एरोडामा रहेको रिर्जभ ट्याङ्कीबाट पानी वितरणमा गल्ती हुन्छ,” उनले भने – “यता फुल गरेर खोलिँदैन, एरोडामा बढी खोलिन्छ ।”
खानेपानीको बिषयमा विवाद हुँदा खुकुरी प्रहार गरी कोटेलीमै २०७३ फागुन १ गते आइतबारका दिन एकजनाको हत्या भएको थियो । नवदुर्गा गाउँपालिकाको कोटेलीका शेरबहादुर साउदको स्थानीय भीमबहादुर भुलले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।  
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भुल र मृतक साउदको खानेपानीको विषयमा बिहान विवाद भएपछि दुबैजनाबीच कुटाकुट भएको थियो । सोही क्रममा भूलले  साउदमाथि खुकुरी प्रहार गरेका थिए । भूल र साउद छिमेकी थिए । मृतक साउदको घरमाथि र भुलको घर तल रहेको थियो । दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जान्छ । तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हँुदा घटना भएको प्रहरीले जानकारी दिएको छ । घटना भएको ३ वर्ष पुग्दा समेत यहाँको खानेपानीको समस्या उस्तै छ ।
गाउँपालिकाको सक्रियता 
गाउँपालिकाले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको बताएको छ । विगतकोे भन्दा धेरै समस्या सुल्झिसकेको वडा नं १ कोटेलीका वडाध्यक्ष भीम बोहोराले बताउनुभयो । “खानेपानीको समस्या विगतबाटै रहिआएको थियो,” उनले भने – “हामीले २० लाख छुट्याएर कोटेली बृहत् खानेपानी योजना सम्पन्न गर्दैछौ । योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र नजीकै डिप बोरिङको सुरुआत गर्ने योजनामा छौं ।” 
डिप बोरिङका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि १६ लाख छुट्याएको उहाँले बताउनुभयो । “अझै कोटेलीको दुई÷तीन वटा बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छ,” बोहरा भन्नुहुन्छ – “आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढी भन्दा बढी जोड रहन्छ ।”
Categorized in

रकम उठाएर कमैया बस्तीमा विद्यालय

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका छन् । सो भवनमा कार्यालय, पुस्तकालय र १०० जना अट्ने हल छ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले रु एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरिदिनुभएको हो । क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै रु ११ लाखभन्दा बढी रकम खर्च भएको छ । स्थानीयवासीले रु छ लाख बराबरको जनश्रमदान गरेका छन् । उहाँले विद्यालय भवन निर्माणका लागि रु ११ लाख १२ हजार सहयोग सङ्कलन भएको बताउनुभयो । “त्यो सबै रकम सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्कलन गरिएको हो ।” अध्यक्ष सुनारले भन्नुभयो, ‘‘हामीले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखमुनि राखेर पढाइरहेको देख्यौँ । सुदामाले प्रतिविद्यार्थी एक रुपैयाँ शुल्क लिएर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आउनुभएको थियो ।”
Categorized in

मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
 
साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर फुल, अल्लाहा रुदलजस्ता परम्परागत लोकप्रिय नाच अचेल लोप भएका छन् ।
यस्तै मिथिला क्षेत्रमा अति लोकप्रिय रहेका दिनाराम दिनाभद्री, सति बिहला, दुलहादयाल सिंह, विषहरा, राजा हरिचन्द्र जस्ता नाच पनि लोप भएका छन् । वर्षांैदेखि जङ्गली बादशाह नाच कम्पनीमा काम गर्दै आएका सप्तरीको हरिपुर–३ पोखरीयाका रामचन्द्र पासवान नाचबाट नै कमाएर आफ्ना सम्पूर्ण परिवारलाई पाल्दै आएका थिए । अचेल नाचको माग घट्न थालेपछि पासवान अरुको घरमा मजदूरी गरी आफ्ना परिवार पाल्दै आएका छन् ।
 
नाच कम्पनी बन्द हँुदा यस क्षेत्रका हजारौँ कलाकार रोजगारीका लागि विदेश तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय रहेका ती नाच बढ्दो महङ्गी, सिडी क्यासेट तथा तत्कालीन माओवादी द्वन्द्वकालदेखि नै प्रभावित भएको पासवान बताउनुहुन्छ ।
अहिले पनि विवाह तथा चाडबाडका अवसरमा ती नाच देखाइने गरिन्छ, पासवानले भन्नुभयो, “यस्ता परम्परागत र ऐतिहासिक नाचलाई राज्यले संरक्षण गर्नुपर्दछ ।” ती नाचको संरक्षणका लागि सरकारले स्थानीय तहमार्फत बजेट विनियोजन गर्नुपर्नेमा उनीहरुले जोड दिनुभयो । 
Categorized in

कम्प्युटरले विद्यार्थीको आकर्षण बढायो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि कम्प्युटरको माध्यमबाट पठनपाठन शुरु गरिएको प्रधानाध्यापक नायकले बताउनुभयो । विद्यालयमा कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि निकै रमाइलो लाग्नाका साथै कक्षामा बसिरहन मन लाग्ने गरेको कक्षा ४ की छात्रा रोजीका नायकले बताउनुभयो । कम्प्युटर शिक्षाका कारण सिकाइ उपलब्धिमा समेत सुधार भएको विद्यालयले जनाएको छ । विसं २०७३ मा ५१ प्रतिशत सिकाइ उपलब्धि रहेको उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५९ प्रतिशत पुगेको विद्यालयले जनाएको छ । कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकसमेत खुशी भएका छन् । बैतडीका १५ आधारभूत विद्यालयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा साझा शिक्षा इ–पाटीको सहयोगमा कम्प्युटरबाटै बढाउन थालिएको उक्त कार्यक्रमका एकाइ प्रमुख ऋषिराम बिमलीले बताउनुभयो ।
Categorized in

सफाइ अभियानमा स्थानीयवासी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

कैलालीका योग साधकहरुले शहर सफा राख्न सन्देश दिने उद्देश्यले डेढ वर्षअघि थालेकोे सफाइ अभियानमा स्थानीयवासीको सक्रियता बढ्न थालेको छ । योग साधकसँगै जनप्रतिनिधि, प्रहरी, कर्मचारी, शिक्षक, समाजसेबी र व्यापारीहरु सरसफाइ अभियानमा सहभागी हुन थालेका छन् ।  
योग साधकहरुले कैलाली जिल्लाका विभिन्न बजारमा प्रत्येक शनिबार सरसफाइ गर्दै आएका छन् । उनीहरूले शुरुका दिनमा विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुलाई पहिले सम्मान गर्ने र पछि अभियानमा सरिक गराउने गर्दै आएका थिए । 
 
पतञ्जली योग समितिको आयोजनामा प्रत्येक शनिबार साढे ५ देखि साढे ७ बजेसम्म योग साधकहरुले बजार क्षेत्रका लम्की, चिसापानी टीकापुर, जोशीपुर बजारका फोहर सङ्कलन गर्दै आएका हुन् । करीब एक सय योगकर्मीले बजार सफाइ अभियान थालेकाले स्थानीय सरकारलाई समेत फोहर व्यवस्थापनमा लाग्नुुपर्ने बाध्यता भएको छ । “शुरुका केही हप्ता योग गर्नेहरु मात्र सहभागी हुन्थ्याँै, अहिले जनप्रतिनिधिलगायत हरेक सामाजिक व्यक्तित्व र कर्मचारी पनि हाम्रो अभियानमा सहभागी हुनुहुन्छ”, पतञ्जलि योग कैलाली महिला समितिकी सल्लाहकार गीता गिरीले भन्नुभयो, “हप्ताको एक दिन त्यो पनि दुई घण्टा सामाजका लागि काम गरौँ भन्ने सन्देश दिन डेढ वर्षदेखि यो अभियान चलाएका हौँ ।”
यो अभियान थालेपछि स्थानीय सरकार पनि खुशी हुनाका साथै जनप्रतिनिधिहरु हातेमालो गर्न आएकाले आफूहरूका लागि सहज भएको हो । “सबैले अनुुसरण गरून् भन्ने हाम्रो उद्देश्य हो”, राष्ट्रिय योग प्रशिक्षक दीर्घराज गिरीले भन्नुभयो, “अभियान थालेपछि व्यापारीले जथाभाबी फोहर फाल्न छाडेका छन् भने टीकापुर नगरपालिकाले शनिबार अनिवार्य फोहर उठाउने गर्दै आएको छ ।” योग साधकहरु गाउँका बस्तीमा पनि जाने तयारीमा छन् । योग साधकहरुको अनुरोधमा स्थानीय निकायहरूले फोहर सङ्कलन गर्न चोकचोकमा डस्टबिन राख्न थालेका छन् । सङ्कलन भएको फोहरको कन्टेनर भरिएपछि तुरुन्त हटाउने आश्वासन स्थानीय सरकार प्रमुखहरुले दिएका छन् । 
योग साधकको अभियानपछि आफ्नो टोल आफैँ सफा राखौँ भनी स्थानीय महिलाहरु पनि सरसफाइ कार्यमा अग्रसर हुन थालेका छन् । स्वयंसेविका चन्द्रावती शर्माले भन्नुभयो, “हामीले टोल टोलमा गएर आ–आफ्नो स्थान सफा राख्न महिलाहरुलाई आग्रह गर्दै आएका छौँ”, उहाँले टीकापुर नगरपालिकामा मात्रै ३१ वटा टोलमा सरसफाइ समन्वय समिति गठन भएको जानकारी दिनुभयो । 
लम्की बजार क्षेत्रमा दैनिक १०, टीकापुरमा १८, जोशीपुरमा पाँच, जानकीमा तीन टन फोहोर सङ्कलन हुने गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भन्नुभयो, “पालो मिलाएर फोहर उठाउने गरेका छौँ । जनशक्ति कम छ । नगरवासी सबैले सघाएमा फोहर व्यवस्थापन गर्न कठिन छैन ।” लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले विभिन्न समूह, योग साधकहरु, प्रहरी, सशस्त्र प्रहरीलगायत सङ्घसंस्थाले पनि पटक पटक सरसफाइ अभियान चलाएर नगर सफा राख्न सघाएको बताउनुभयो ।
Categorized in

फलामखानी सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट  व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा  फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गर्नुएकामा  आफ्नो  क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुशी भएका हुन् ।  “फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ तर सरकारले व्यावसायिक उत्पादन गर्न लागेकामा हामी धेरै खुशी छौँ,” हुप्सेकोट गाउँपालिका–४ का रुक्माङगत भुर्तेलले भन्नुभयो, “खानी सञ्चालनमा आउँदा  यहाँ अन्य सुविधा थपिएला, बाटो राम्रो होला भन्ने लागेको छ ।”
फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निक्कै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधान चल्ने गरेका छन् । यस क्षेत्रमा खानेपानीको पनि निक्कै समस्या छ । धौवादी आसपासका धेरै क्षेत्रमा  अझै राष्ट्रिय  प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् । “फलाम खानी छ भन्ने मात्र थियो, पाँच÷छ वर्षसम्म यत्तिकै रहँदा उत्खनन हुन्छ–हँुदैन भन्ने अन्यौलमा थियौँ, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्नेभन्ने सुन्दा  हामी खुशी छौँ,” हुप्सेकोटका झविलाल राना मगरले भन्नुभयो, “अब यो पहाडमा विकास हुने आशा जागेको छ ।” 
विसं ०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्व पश्चिम राजमार्गदेखि करीब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलामखानी छ । यहाँको १० किलोमिटर आसपासका क्षेत्रसम्म फलामखानी  रहेको जनाइएको छ ।  धौवादीको फलामखानी  अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी  भएको भूगर्भविद्ले बताएका छन् ।
नीति तथा कार्यक्रममा  फलाम खानी परेसँगै झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशासमेत  जागेको छ । सरकारले फलामखानीबाट फलाम उत्पादन गर्ने भन्ने कुरा थाहा पाउँदा रुम्सीका पूर्णबहादुर आलेलाई गाउँमै रोजगार पाइएला भन्ने आश छ । फलामखानीसम्म पुग्ने सडक अहिले निर्माण भइरहेको छ । पहिलो चरणमा सडक विभागले झ्यालबासदेखि करीब चार किलोमिटरको ट्र्याक खोल्ने काम अघिल्लो वर्ष नै गरेको थियो ।  करीब रु ६ करोडको बजेटमा ट्र्याक खोलिएको थियो । अहिले पनि यस क्षेत्रमा रु पाँच करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्र्याक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायत कामहरु सञ्चालन गर्न लागिएको सडक विभागका सबइञ्जिनीयर नवीन पाण्डेले बताउनुभयो । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 
Categorized in

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ । 
    जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिका–२ पातीचौर बजारमा पसल सञ्चालन गरिएको छ । 
स्थानीय घरेलु तथा साना उद्योगीद्वारा उत्पादित वस्तु अल्लो तथा ढाकाको कपडा, जुत्ता, कोट, ज्वारीकोट, साडी, सिस्नो धुलो, लप्सी तथा अदुवाको अचार, क्याण्डी, बाँसका मुडालगायतका तयारी सामग्री र कृषकद्वारा उत्पादित तरकारी, मह, स्थानीय खसीबोका तथा कुखुरालगायतको एकीकृत बिक्री वितरण गरी कृषकलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले पसल सञ्चालन गरिएको हो । 
गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र स्थानीय मोदी गाउँपालिकाको सहयोगमा सो गृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमीको बाहुल्यता रहेको छ । उनीहरुले व्यावसायिक रुपमा विभिन्न वस्तु उत्पादन गर्दै आएका छन् । अल्लो उत्पादनको प्रसस्त सम्भावना रहेको मोदीमा उत्पादित अल्लोका तयारी सामग्री, ढाका, विभिन्न जडीबुटी, फलफूललगायतका सामग्री बिक्री वितरणका लागि उद्यमी तथा कृषकलाई सहज होस् भनेर सौगातगृह सञ्चालन गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । 
मोदी गाउँपालिकाले उद्यमीको प्रवद्र्धनका लागि अघिल्लो आर्थिक वर्षमा रु २० लाख र चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको थियो । सोही रकमले उद्यमीलाई व्यावसायिक सीप विकासका लागि तालीम, प्रविधि र मेशिन सहयोग गरेपछि घरेलु तथा लघु उद्यममा स्थानीयको आकर्षण बढेको गाउँपालिकाका लघु उद्यम शाखा संयोजक सीता शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँपालिकाभित्र ३०० भन्दा बढीको सङ्ख्यामा सक्रिय उद्यमी रहेका छन् । 
  गाउँपालिकाका कुना कुनामा उत्पादित वस्तु सौगातगृहमा ल्याएर छाडेपछि उद्यमीले तत्काल ५० प्रतिशत रकम पाउने र बिक्री भइसकेपछि सत्प्रतिशत रकम पाउने भएकाले सहज हुने भएको छ । मोदी गाउँपालिकाभित्रको उत्पादनलाई पहिलो प्राथमिकता दिने र त्यहाँको उत्पादनले नपुगेमा अन्य क्षेत्रमा उत्पादित सामग्री खरीद गरेर बिक्री गरिने सञ्चालक चन्द्र विकले जानकारी दिनुभयो । 
   यसैबीच उक्त सौगातगृहको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आइतबार उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अब निर्वाहमुखी उद्यमलाई व्यावसायिक बनाइने गरी सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । मुग्लिन, पोखरा विमानस्थल र राम्दीमा तीनवटा यस्तै कोसेली घर सञ्चालन गरिने र त्यसका लागि सरकारले रु ६० लाख विनियोजन गरेको उहाँले बताउनुभयो । 
Categorized in

Pages