STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

राजविराजमा हनुमानजयन्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले हनुमान मन्दिरमा आरती, हवन र पूजार्चना गर्नाका साथै सवा मनको बुनियाको भोग लगाएका छन् । पछिल्लो केही वर्षदेखि हनुमान मन्दिरमा हनुमान जयन्ती मनाउन थालिएको र वर्षेनी भक्तको सङ्ख्या वृद्धि भइरहेको मनोज मुन्धडाले बताउनुभयो । मुन्धडाका अनुसार पूजार्चना र भजनकीर्तनसँगै भक्तका निम्ति दिनभरि प्रसाद वितरणको व्यवस्था गरिएको छ । सामान्यतया सङ्कटमोचन हनुमानको पूजापाठ एवम् हनुमान चालिसा, मन्त्र र स्त्रोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने र भूतप्रेत पिशाचले दुःख नदिने जनविश्वास छ ।
Categorized in

धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा  आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा  आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँ र धुलोले उनीहरूलाई झन हैरान  बनाएको छ ।
निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको उदासीनताका कारण सडकमा उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै पसलमा राखिएका सामानमा समेत असर पारेकाले  ग्राहक पसलमा नआउने गरेको उपमहानगरपालिका–२ का साइकल व्यापारी गणेशप्रसाद भट्टको गुनासो थियो । उहाँले भन्नुभयो, “सडकको धुलोले स्वस्थ व्यक्ति पनि बिरामी भएको छ, धुलोले श्वासप्रश्वासमा समस्या भएकाले म स्वयम् पनि मेडिकल धाइरहेको छु ।”
निर्माण कम्पनीले सडकमा दैनिक तीन पटकसम्म पानी हाल्ने सहमति जनाए पनि अटेरी गरेको सर्वसाधारणको आरोप छ तर निर्माण कम्पनीले भने सहमति कार्यान्वयनमा रहेको जनाएको छ । निर्माण कार्य शुरु भएको लामो समय बितिसक्दा पनि हालसम्म थोरै मात्र काम भएको गुनासो गर्दै सो उमहानगरपालिका–१३ का व्यापारी चुन्नुराम चौधरीले भन्नुभयो, “नेपालको कानून दैवले जानून्जस्तै  भएको छ अझैसम्म समयमै काम नसिध्याउने  र लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको दायरामा ल्याइएको छैन ।” सडकमा धुलो धुवाँका कारण वारिको मान्छे पारि र पारिको मान्छे वारि नदेखिने अवस्था छ । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक निर्माणको सम्झौता अवधि सकिन करीब एक महीना मात्रै बाँकी रहँदा निर्माणको काम भने केही मात्र भएको छ । 
        
Categorized in

मारुनी नाच जोगाउँदै स्थानीय सरकार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात् मारुनी नाच डडेल्धुरामा लोप हुने अवस्थामा छ । समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै मारुनी नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुर्सुङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुर्सुङ्गे एकपछि अर्को गर्दै फेरिन सक्छ ।  गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुखियालाई रौरा भनिन्छ ।
मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिँगारपटार गरी महिलाको कपडा एवम् गहना लगाइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । मारुनी नाचमा विशेषगरी पुरुषले गीत गाउने, नाच्ने र  मादल बजाउने गरे तापनि महिलाले नाचसम्बन्धी अन्य व्यवस्थापकीय कार्य गर्छन् । 
मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाई मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ र  लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।
मादलका तालमा नाचिने मारुनी नाच जिल्लामा लोपोन्मुख अवस्थामा छ । डडेल्धुराको आलीताल गाउँपालिकाको वडा नं ८ मा रहेको बस्ती डोलामा यो नाच अहिले पनि देख्न पाइन्छ ।  नयाँ पुस्ताले यसलाई बिर्सिरहेको प्रति यहाँका बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् । “बूढापाकासँगै  मारुनी पनि जान लागेको छ, यसको संरक्षणका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पहल गर्नुपर्छ”, स्थानीयवासी वृद्ध कर्णबहादुर थापा मगरले बताउनुभयो । 
पहिले र  अहिलेको मारुनी नाचमा भिन्नता आएकामा पनि यहाँका युवा पुस्ता चिन्तित छ । बूढापाकाबाट सिकिएको परम्परालाई जोगाउन सरकार तथा सरोकार पक्षको दायित्व रहेको उनीहरुको भनाइ छ । मगर समुदायमा मारुनी नाच लोप भइनसकेको तर प्रायः लोप हुने अवस्थामा पुगेको स्थानीयवासी युवक लक्ष्मण डाला मगरले बताउनुभयो । पहिले मारुनी नाचमा दश÷बाह्र  मादल, चार÷पाँच झ्याली, दश÷बाह्र मुरली, बीस÷पच्चीस जना मुरसिङा बज्दा तथा झ्याम झ्याम गरेर आलिताल उपत्यका थर्कने गरेकामा अहिलेका युवाहरु कलासंस्कृति जगेर्ना गर्नुभन्दा पनि अन्यत्रै लागेकाले ती सबै लोप हुने अवस्थामा पुगेको गाला मगरले गुनासो गर्नुभयो । 
गाउँपालिकाको डोला गाउँमा वर्षौँपछि नाचिएको मारुनी नाच लोप हुने अवस्थामा पुगेको थियो । स्थानीय सरकार आइसकेपछि गाँउपालिकाको आयोजनामा डोला गाउँमा मारुनी नाच आयोजना भएको छ । मारुनी नाचको परम्परालाई कायमै राखी लोप हुनबाट जोगाउनका लागि गाउँपालिकाले योजना ल्याई पहल गर्र्ने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । समाजको पहिचान गराउने परम्पराको जगेर्नाका लागि वडा कार्यालयबाट पहल भइरहेको आलिताल – ८ का वडाध्यक्ष गाणेशबहादुर थापा मगरले बताउनुभयो । “पहिचानसँग जोडिएको रीति संस्कृतिलाई संरक्षण गरी लोप  हुनबाट जोगाउनका लागि युवाहरु अग्रसर हुनुपर्छ” वडाध्यक्ष मगरले बताउनुभयो । 
Categorized in

आलेख ः छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ ।
  छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् । 
टोलीले छलिया नृत्य देखाए वापत विवाह, व्रतबन्ध र अन्य कार्यक्रममा रु १० हजारदेखि रु २५ हजारसम्म लिने गर्छ । आम्दानी दश जनामा बाँड्दा हरेकलाई थोरै मात्र हात पर्छ ।  महीनामा दुईदेखि तीन वटासम्म छलिया नृत्य देखाउने माग आउने गरेको दमाई बताउनुहुन्छ ।
 
पहिला विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यका लागि मात्रै छलिया नृत्य देखाउने माग आउने गथ्र्यो । दमाईले भन्नुभयो – “हाल यसको क्षेत्र विस्तार भएको छ । राजनीतिक र सांस्कृतिक समारोहमा माग छ तर, दाम छैन ।”
 
उहाँले भन्नुभयो – “कुनैमा निःशुल्क छलिया नाच देखाउने माग हुन्छ । कुनैमा खाना खर्च दिएर विदा गरिन्छ । यसरी जीविका चलाउन सकिँदैन ।” 
 
छलिया नृत्य देखाएर मात्रै जीविका नचल्ने भएकाले धेरैले सिलाइ पेशा अङ्गाल्दै आएका छन् । यसबाट परिवारको खर्च जेनतेन धानिन्छ । सिलाइ पेशा पहिला दमाई समुदायसँग मात्रै थियो । अहिले अन्य समुदायले पनि यो पेशा अपनाउन थालेपछि यसबाट समेत दमाई समुदाय विमुख हुन पुगेको छ । पुस्तौंदेखि छलिया नृत्य पिंढी दर पिंढीमा हस्तान्तरण हँुदै आएको छ ।
  सुदूरपश्चिम प्रदेशको लोकनृत्यका रुपमा रहेकोे छलिया नृत्यका नर्तकहरुको कमाइ गतिलो नहुँदा धेरैले पेशा छाडेका हुन् । पुस्तौंदेखि छलिया नृत्य दमाई, आउजीलगायतका दलित समुदायले देखाउँदै आएका छन् ।
 पहिले पहिले यो नृत्य देखाउँदा नर्तकहरुले पारिश्रमिकका रुपमा खसी, बोका, गाई, भैंसी र केही बक्सिसका रुपमा नगद पाउने गर्थे । अहिले परिवर्तित समयानुसार पारिश्रमिकका रुपमा उनीहरुले नगद पाउन थाले तर त्यो ज्यादै थोरै हुन्छ । करे दमाईले भन्नुभयो – “न्यून पारिश्रमिकले पेशा चलाउन निकै मुश्किल छ ।”
यथेष्ट कमाइ नहुने भएपछि युवा पिंढीले छलिया नृत्य सिक्न नाइँनास्ति गर्न थालेका छन् । उनीहरु छलियाको विकल्पका रुपमा अन्य पेशा रोज्न थालेका छन् । छलिया नृत्य देखाउने दलित समुदायकै हुने भएकाले जातीय विभेदसमेत हुने गरेको छ । 
“विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यक्रममा अहिले पनि एक छेउमै बसेर नृत्य देखाउनु पर्दछ,” करेले भन्नुभयो – “भान्सामा छुन मिल्दैन । खाना खाने ठाउँमा जान दिइँदैन ।  टाढैबाट खाना र पानी थाप्नु पर्दछ ।”
 
आम्दानी थोरै, त्यसमाथि जातीय विभेद । त्यसै भएर पछिल्लो पुस्ता छलिया नृत्य कला सिक्न रुचि देखाउन छाडेको उहाँको भनाइ छ । छलिया नृत्यमा प्रयोग हुने दमाहा, झ्याली, बिगुल, तुरी, नागफनी, मसकविन, मिजुरा सहनाई लगायतका बाजासमेत अर्थाभावले खरिद गर्न नसक्दा धेरैले भारतको कुमाउँबाट भाडामा ल्याएर बजाउने गरेका छन् ।
बाजा किन्नसमेत धेरै पैसा लाग्ने भएकाले बाजा खरिद गरिदिन रकमको जोहो गरिदिन नगरपालिकासँग माग गर्दै आएपनि आफूहरुले अहिलेसम्म त्यस्तो सहयोग नपाएको दुःखेसो हर्क बहादुर टमटाले पोख्नुभयो । 
सुदूरपश्चिमको प्राचीन लोकनृत्य छलिया जोगाउन स्थानीय बासिन्दा सँगै प्रदेश सरकारले चासो देखाउनु पर्ने यहाँका संस्कृतिका जानकारहरु बताउँछन् ।  छलिया नर्तकहरुको  जीविकोपार्जन सुनिश्चित गर्न सकिए यसप्रतिको आकर्षण बनाइराख्न सकिन्छ । 
प्राचीन कालमा ढाल, तरबारले लडिने युद्धको प्रतीकका रुपमा छलिया नृत्यलाई लिने गरिन्छ । यो नृत्य खस राजाको शासन कालदेखि अस्तित्वमा आएको विश्वास गरिन्छ ।  
दशौं शताव्दीदेखि अस्तित्वमा आएको भनिएको छलियाको शाब्दिक अर्थ छलकपट हो । प्राचीन कालमा युद्धमा सहभागी  सैनिकले छलकपट गरी युद्ध जित्न जुन कला अपनाउँछन् कालान्तरमा त्यसलाई नृत्यका रुपमा प्रस्तुत गर्न थालिएको हो । युद्ध जितेपछि राजमहलमा मात्रै सैनिकहरुको हौसला बढाउन वीरताको वर्णनसँगसँगै देखाइने नृत्य विस्तारै वाह्य समाजका लागि खुला गरिएको डोटेली संस्कृतिका जानकार सेवानिवृत शिक्षक धर्मानन्द जोशी बताउनुहुन्छ ।
 
“छलियालाई तरबारबाजीको नृत्यका रुपमा समेत लिन सकिन्छ,” उहाँले भन्नुभयो – “सङ्गीतको धूनमा क्रमबद्ध तरीकाले तरबार र ढालको कलाबाजी यस नृत्यमा देखाउने गरिन्छ । यस नृत्यको विशेषता नै प्राचीन युद्ध कौशलको प्रदर्शन हो ।” 
छलिया नृत्यमा तरबारबाजीको रोमाञ्चकारी खेल प्रस्तुत गरिन्छ । नृत्य हेर्नेहरुलाई साँच्चिकै युद्ध भैरहेको हो कि प्रतीत हुन्छ । नृत्य गर्नेहरुको अनुहारमा उग्रभाव रहन्छ । कलाकार युद्धमा सहभागी योद्धा झै लाग्छ । यस नृत्यमा परम्परागत वाद्ययन्त्रहरुको प्रयोग हुने गरेको छ । छलिया नृत्यमा परम्परागत पहिरनमा सजिएर दुई जनाले तरवारबाजी गर्ने, पाँचदेखि नौजनाले गीत गाउँदै वाद्यवादन बजाउने गर्दछन् । भारतका कुमाउँ गढवाल लगायतका क्षेत्रमा समेत छलिया नृत्य लोकप्रिय रहेको छ ।
                                                                                                              दमाहा, तुरी, नागफनी, मसकविन, झयाली लगायतका बाजाहरु पहिला युद्धका बेला सैनिकको मनोबल उच्च राख्न प्रयोग हुने गर्थे । नर्तकहरुले तरबारबाजी देखाउँदा लगाउने पोशाक पनि युद्धमा सहभागी सैनिककै जस्तो देखिने भएकाले दर्शक रोमाञ्चित हुन्छ । छलिया नृत्यमा युद्ध लड्दाका बेला देखाइने कलाबाजी, वाद्यवादनको समायोजनसँगै वीरविरङ्गनाहरुको जीवनीमा आधारित वीरताका गीतहरु गाइन्छ ।
यस नृत्यले इतिहासको झल्को दिने भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको राघवप्रसाद अवस्थी बताउनुहुन्छ  । “नयाँ पिँढीलाई यसको महत्व दर्शाई सुदूरपश्चिमको इतिहासबारे जानकारी दिन सकिन्छ,” उहाँले भन्नुभयो । समयको प्रवाहसँगै  यस नृत्यले व्यावसायिक रुप धारण गरेपछि नृत्यको मौलिकता, कलाबाजी र गीत समेत परिवर्तन भई विकृत बन्न थालेका छन् । 
Categorized in

स्थानीय सरकारप्रति गुनासो

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५÷७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारद्वारा सम्पादित काममा सार्वजनिक चासोका विषयमा ढिलासुस्ती, शाखा प्रमुख कार्यालयमा भेट नहुनु, आयोजनास्थलमा होर्डिङबोर्ड नहँुदा स्थानीय बासिन्दा समस्या खेप्न बाध्य भएको गुनासो गरेका छन् । तिनाउ दोभानकी मथुरा भट्टराईले गाउँपालिकाभित्र प्रशस्त सम्भावना रहे पनि यहाँका युवाले अवसर प्राप्त गर्नबाट बञ्चित हुनुपरेको बताउनुभयो । स्थानीय बासिन्दा शिव पाण्डेयका अनुसार यहाँ बालबालिका उच्च शिक्षा हासिल गर्नभन्दा चालक बन्ने लर्को छ । उनीहरुलाई प्राविधिक शिक्षातर्फ लगाउन आवश्यक रहेको छ । दोभानकी नैन क्षेत्रीले महिला कमजोर रहेकाले बजेट कमी हुँदा महिलामुखी कार्यक्रम तय गर्न चुनौती भएको बताउनुभयो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्ती ‘वसन्त’ले सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले चुनाव जितेपछि पाँच वर्षसम्म जे गरे पनि हुन्छ भन्ने मान्यतालाई तोडेर जनताप्रति उत्तरदायी हुन सार्वजनिक सुनुवाइले सहयोग गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाभित्रका नागरिकले उठाएका सवाल महत्वपूर्ण रहेकाले, प्राथमिकताका आधारमा समधानमा चासो रहने बताउनुभयो । उहाँले गाउँसभा र कार्यपालिकाको बैठकले जनचासोका विषय समधान गर्ने गरी गाउँपालिका लागेको बताउनुभयो । गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पेनरुले जनशक्ति अभावले व्यवस्थापन चुस्तदुरुत बनाउन चुनौती रहेको बताउनुभयो । नागरिकहरुले वडापत्र राम्रोसँग अध्ययन नगरी गाउँपालिकामा अपुग कागज ल्याएर आउँदा फर्किएका छन् । कार्यक्रममा स्थानीय बासिन्दा महेन्द्र पाण्डेय, लक्ष्मी बस्याल, लालबहादुर थापा, टीकाराम भण्डारी, लालबहादुर दर्लामी, भवानी न्यौपाने र दिलकुमारी रोकाले स्थानीय सकारका गुनासा बढेकाले त्यसको समधानका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
Categorized in

पानी शुद्ध पार्ने सिमेन्टका फिल्टर

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

कञ्चनपुरको जोनापुरका महिला विपन्न परिवारलाई वितरण गर्न दातृ निकायको सहयोगमा तयार गरिएका पानी शुद्ध पार्ने सिमेन्टका फिल्टरमा पानी भर्दै । विपन्न परिवारका सय जनालाई सिमेन्टका फिल्डर उपलब्ध गराइएको छ ।
Categorized in

बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले आवश्यक समन्वय गर्दै आवश्यक तयारी गर्न सहमत भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न गर्न सबै निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने बताउँदै जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लान स्थानीय बासिन्दाले सक्रिय हुनुपर्ने औँल्याउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्केट जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै जात्रालाई शान्तिपूर्ण बनाउन सम्बन्धित सरोकारवालाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षमा भएका कमजोरीलाई समीक्षा गर्दै आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाउने बताउनुभयो । गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनमा देखिएका कमी–कमजोरी कसैले पनि दोह¥याउन नहुनेमा सचेत रहनुपर्ने आँैल्याउँदै गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत् प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अगुवा अनन्त धौभडेललगायतले गुठी संस्थान र भैरव नाइकेले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै शुरु गर्न सके जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्दत पुग्ने बताउनुभयो । बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नपाका प्रमुख प्रजापतिको संयोजकत्वमा ११ जनाको विशेष कार्यदल गठन गर्ने, भक्तपुर नपाले माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने र नगरवासीलाई विभिन्न गतिविधिमार्फत् शान्तिपूर्ण रुपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने, नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने सहमति भएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बिधत संस्थाले समयमै शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाले जात्रा सञ्चालन हुने क्षेत्रमा आ–आफ्ना तार तथा लठ्ठा व्यवस्थित गर्ने र भक्तपुर नपाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा ¥याली तथा सभा गर्ने भएका छन् ।
Categorized in

बगरखेतीको भरमा बाढीपीडित

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय निर्मलादेवी रानाले भन्नुभयो, “अहिले त्यही नदीको बगरको परिश्रमले बाँचेका छौँ ।” बाढीका बेला सामान्य राहतबाहेक सरकारबाट कुनै सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । “वन छेउछाउमा ओत लागेर बसे पनि दैनिकी बगरमा तरकारी फलाएर बेच्नेछ”, रानाले भन्नुभयो, “सडकको समस्याले तरकारी अन्यत्र निर्यात गर्न सकिरहेका छैनौँ ।” निर्मलादेवी जस्तै राना थारु बाहुल्य रहेको डाँगाजाइका प्रायः स्थानीयवासीको आम्दानीको स्रोत नै बगरखेती रहेको छ । कञ्चनपुरकै भौगोलिकरुपले विकट क्षेत्रमा पर्ने उक्त क्षेत्रमा अझै पनि सडक सञ्जाल विस्तार हुन सकेको छैन । दोदा नदीमा तीन वर्षअघि निर्माण शुरु भएको पक्की पुल नबन्दा यहाँका स्थानीयवासी बढी मारमा छन् । तीनतिर बगर र उत्तरतर्फ सामुदायिक वन छ । रानाले भन्नुभयो, “वर्षात्का बेला त बैलगाडामा बिरामी अस्पताल पु¥याउन पनि सकिँदैन ।” केही वर्षअघि विभिन्न दाताले गाउँमा तरकारी उत्पादनका लागि तालीम दिएपछि यहाँका अधिकांश स्थानीयवासी बगरखेतीतर्फ व्यावसायिकरुपमा लागेका हुन् । “हाम्रो त रोजगारीको प्रमुखस्थल नै नदीको बगर हो”, मधोवरदेवी रानाले भन्नुभयो, “बगरमा राम्रोसित मेहनत गरे रु एक लाखभन्दा बढी वार्षिक बचत गर्न सकिन्छ ।” सरकारी पहुँचभन्दा टाढा रहेको उक्त गाउँमा वडा कार्यालय, निमावी तहको विद्यालय र स्वास्थ्य क्लिनिकबाहेक अरु केही पनि छैन । “एक किलो चामल किन्न परे पनि घण्टौँ हिँडेर पसल जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “बगरमा फलाएको तरकारीसमेत बिक्रीका लागि बाहिर लग्नसक्ने अवस्था छैन ।” उत्पादित तरकारी गाउँमै खपत गर्नुपर्ने अवस्था तरकारी किसानमाझ रहेको छ । “गाउँमै फेरीको व्यापार जस्तै तरकारी डुलाउँदै बिक्री गर्छौं”, उहाँले भन्नुभयो, “तरकारीको कमाइले परिवारको छाक टरेको छ ।” बाढीले डेढ बिघा जमीन कटान गरेर लगेपछि सामुदायिक वनमा कच्ची घर बनाएर परिवारसहित बस्दै आएका मधोवरदेवीले बगरको कमाइले नै छोरा छोरीलाई स्नातकसम्मको अध्ययन गराइरहेको बताउनुभयो । त्यसैगरी लालझाडी गाउँपालिका– ४ का वडा सदस्य गर्भु रानाले किसानको बाहुल्यता रहेको डाँगा जाइको सुविधाका लागि कृषि सडक हुनुपर्ने बताउनुभयो । “बाढीबाट विस्थापित ३०० परिवारमध्ये अधिकांश जङ्गलमै बस्छन्”, उहाँले भन्नुभयो, “बगरका भरमा स्थानीयले जोहो गरे पनि यहाँको प्रमुख समस्या नै सडक सञ्जाल विस्तार हुन नसक्नु हो ।” उहाँले बाढीपीडितलाई पुनःस्थापनाका लागि पहल सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in

बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले भन्नुभयो, “ निर्माणको काम ९० प्रतिशत पूरा भएकाले वैशाखको अन्तिम सम्ममा बसपार्क सञ्चालनमा आउने छ । नगर विकास कोषको रु ९ करोड ऋण सहयोगमा विसं २०७४ वैशाखदेखि शुरु भएको सो बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ । शुरुको करीब दुई महिनासम्म जग्गा विवादका कारण अवरुद्ध भएको निर्माण कार्य जनप्रतिनिधिहरुको पहलमा समाधान भएपछि निर्माण कार्यले तीब्रता पाएको इन्जिनियर योगीले जानकारी दिनुभयो । आवश्यक सबै संरचनाहरु निर्माण भएपनि अहिले रङ लगाउने, मार्वल विछ्याउने काम भैरहेको निर्माण कम्पनीका विजय वोगटीले जानकारी दिनुभयो । बसपार्क नजिकै रहेको अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका वडा नं ६ रजौरास्थित कमल पोखरी सामुदायिक वनको जग्गामा सारेपछि सो क्षेत्रमा बसपार्कको निर्माण थालिएको हो । झन्डै साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक बसपार्कमा तीन सयभन्दा बढी सवारी साधनलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता छ । बसपार्कभित्र आधुनिक यात्रु प्रतिक्षालयसँगै भवन, शौचालय, पार्क र पक्की सडक निर्माण गरिएको पनि इन्जिनियर योगीले जानकारी दिनुभयो । उहाँका अनुसार वसपार्कभित्र ५२ ओटा व्यावसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका संरचना पनि निर्माण गरिएको छ भने महिला तथा शिशुहरुका लागि स्तनपान कक्षको छुट्टै व्यवस्था गरिएको छ । यसअघिको बसपार्क सानो, फोहोर, दुर्घन्ध र धुलोयुक्त भएकाले यात्रुहरु सास्ती खेप्न बाध्य भएका थिए । यसका साथै रातको समयमा बसपार्क असुरक्षित हँुदै आएको पनि थियो । बसपार्क निर्माणको म्याद असार महिनासम्म भएपनि वैशाख अन्तिमसम्ममा हन्तान्तरण गर्ने तयारी भैरहेको निर्माण कम्पनीले जनाएको छ । आधुनिक बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका बस व्यवसायी प्रकाश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– “भौतिक पूर्वाधार सहितको सुविधायुक्त बसपार्क नहुँदा आफूसहित यहाँका बस व्यावासायीले निकै सास्ती खेप्नुपरेको र बस लगायतका सवारी साधनहरु अन्यत्रै पार्किङ्ग गर्दा रातको समयमा असुरक्षा बढ्ने र यात्रुलाई पनि असजिलो हने गरेको थियो ।” तुलसीपुर–काठमाडौँ बस चालकको काम गर्दै आउनुभएका भुपेन्द्र भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले टाढाको दूरीबाट गाडी चलाएर आउनुपर्ने, गाडी पार्किङ्गका लागि साहुको घर खोज्नुपर्ने वाध्यता रहेकोमा अब त्यस्तो समस्या हट्ने भएकोले खुशी लागेको बताउनुभयो । राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले आधुनिक वसपार्क सञ्चालनमा आएपछि जथाभावी रुपमा गाडी राख्नुपर्ने वाध्यता हट्ने र यसले शहर पनि व्यवस्थित र सफा हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भौतिक पूर्वाधारयुक्त बसपार्क नहुँदा घाम पानी तथा रातको समयमा यात्रुहरुले निकै सास्ती भोग्नुपर्ने पिडाको पनि अब अन्त्य हुने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जग्गाको विवादका कारण निर्माण सुरु हुन नसकेको आधुनिक वसपार्क निर्माणको कामलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकता राखेको बताउनुभयो । उक्त बसपार्क निर्माणको कार्यलाई चुनावी एजेण्डा नै बनाउनुभएका उहाँले पनि आफू सफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– “यसले नगरको सुन्दरता बढाएको छ र नागरिकलाई सुविधा प्रदान गर्ने तथा तुलसीपुर बजारलाई व्यवस्थित गर्न पनि सहयोग पु¥याउने छ ।”
Categorized in

मध्यपुरथिमिमा फोटो प्रदर्शनी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

मध्यपुरथिमि नगरपालिका–३ सानोठिमीस्थित खेल मैदानमा आज वृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको २३आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय समाचार समिति ९रासस०का पत्रकारहरु रत्न श्रेष्ठ, रमेश गिरी र नवीन पौडेल तथा न्यूज अफका जगत प्रजापतिलगायतले विभिन्न समयमा खिचेका तस्बीर प्रदर्शनीमा राखिएका छन् । नगरपालिका भित्र सञ्चालित विकास निर्माणका काम, सम्पदा एवं विभिन्न ऐतिहासिक धरोहरको पुनःनिर्माण, जिर्णोद्वार, विभिन्न जात्रा एवं पर्व, विभिन्न कार्यक्रम लगायतका १६० तस्बीर प्रर्दशनीमा राखिएको फोटो प्रदर्शनीका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । प्रदर्शनीमा यसअघि नै राससमा प्रयोग भइसकेका ७० प्रतिशत तस्बीर रहेको श्रेष्ठले जानकारी दिनुभयो । फोटो प्रदर्शनीको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सर्वसाधारणलगायतले अवलोकन गर्नुभएको थियो । रासस
Categorized in

Pages