गर्मीका कारण विद्यालय बन्द हुने
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार
केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको बाणगङ्गा नगर शिक्षा अधिकृत खिमबहादुर जिसीले बताउनुभयो ।
Categorized in
बालश्रममुक्त बनाउन घरदैलो अभियान
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार
जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ ।
नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको हो । बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सरकारी सेवाबाट समेत बञ्चित गराउने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बालश्रममुक्त नगरको अभियानमा छौँ, कहीँकतै कसैले बालश्रमिक राखेको पाइए तत्कालै कारवाही हुनेछ ।”
प्रदेशमै पहिलो बालश्रममुक्त नगर बनाउनका लागि नगरपालिकाले श्रमिक बालबालिका राखिएको भनिएका घरमा पुगेर अहिलेको अवस्थाबारे बुझ्दै उनीहरुको अवस्थाका विषयमा छलफल गरिरहेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो । “बालश्रमिक राखेका घरमा पुगेर हामी उनीहरुको अवस्थाका बारेमा बुझ्दैछौँ”, उहाँले भन्नुभयो, “बालश्रमिक रहेका घरमा बालश्रमिक नराख्न कडाइपूर्वक निर्देशन दिँदैछौँ ।
दिपायल सिलगढी नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणाका लागि तीव्ररूपमा अभियान सञ्चालन गरिएको छ । नगर क्षेत्रभित्रका बालश्रमिकलाई शून्यमा झारेर प्रदेशकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउनका लागि विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिकाका समाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी यो नगरलाई प्रदेशको पहिलो बालश्रममुक्त नगर घोषणा गर्ने गरी काम गरिरहेका छौँ । यो अभियानमा श्रमिक बालबालिकाका अभिभावकलाई पनि साथ दिन आग्रह गरिएको छ ।” स्थानीयवासीका घरमा राखिएका बालबालिकालाई राख्ने अभिभावकले बालश्रमिक स्वीकार गर्न नमानेको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रकी अध्यक्ष देवकी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घरदैलोमै पुगेर बालश्रमिक नराख्न अनुरोध गर्दैछौँ, अटेर गर्ने घरधनीलाई कानूनबमोजिम सजाय हुनेछ ।”
पछिल्लो समय नगरपालिकाले प्रत्येक घरमा पुगेर बालश्रमिकको उद्धार तथा पुनःस्थापनाका लागि काम गरिरहेको छ । यसैगरी नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ ।
आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई नगरपालिकाले पढाउने भएको छ । अहिलेसम्म नगरपालिकाले २० बालश्रमिकलाई आवासीय खर्च व्यर्होेने गरी विद्यालयमा भर्ना गरिएको नगरपालिकाका समाजिक विकास अधिकृत जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपन्न भएर बालश्रमिक भएका चार शहीद स्मृति विद्यालय राजपुर र १६ सिलगढीमा रहेको शैलेश्वरी आवासीय माध्यामिक बिद्यालयमा आवासीय खर्च नगरपालिकाले व्यर्होने गरी हामीले भर्ना गरेका छौँ, अरुलाई पनि भर्ना गरिनेछ ।”
आफ्नै आर्थिक अवस्थाले अध्ययन गर्न सक्ने भएका परिवारको आयआर्जनमा राहत पुग्नेगरी नगरपालिकाले सहयोग गर्ने भएको छ । डोटीमा रहेका स्थानीय तहमा दिपायल सिलगढी नगरपालिका बालश्रम अन्त गर्नका लागि लागेको पहिलो स्थानीय तह हो ।
Categorized in
इन्धन खर्चको रकम बालबालिकालाई
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ ।
उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गर्नुभएको हो ।
सो क्रममा १४ विद्यालयका ४८ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयमा नै पुगेर रकम वितरण गर्दै आउनुभएको छ । बाँकी रहेका केही विद्यालयका विद्यार्थीहरुलाई छिट्टै वितरण गर्ने उहाँले बताउनुभयो । “गाउँकार्यपालिकाले मेरो लागि इन्धन खर्च भनेर २०७५ सालमा महिनाको रु २५ हजारका दरले तीन लाख छुट्याइएको थियो”, उहाँले भन्नुभयो, “उक्त रकम गाउँपालिकामा रहेको अपाङ्गता तथा बाबुआमा नभएको टुहुरा छात्र÷छात्रालाई प्रतिव्यक्ति ६ हजार २५० का दरले आफैँ सम्बन्धित विद्यालयमा पुगेर वितरण गरेकी छु ।”
विवरण सङ्कलनका क्रममा २६६ जनाको विवरण प्राप्त भएको र त्यसमा पनि प्राथमिकताका आधारमा छनोट गर्दा ४८ जनाको विवरण लिएर रकम वितरण गर्दै आएको बर्तौलाले बताउनुभयो ।
Categorized in
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित हुनुभएको छ । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित हुनुभएको छ । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष राणाले रासससँग कुरा गर्दै ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताउनुभयो । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गर्नुभयो ।
Categorized in
दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार
घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भन्नुभयो, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।”
पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली बलेपछि स्थानीयवासीमा खुशीको सीमा छैन । तुम्बेवा–४ का रोशन लावतीले भन्नुभयो, “यत्ति चाँडै बिजुली आउँछ भन्ने मैले सोचेको पनि थिइँन । साँच्चै प्रयत्न गर्दा विकासले फड्को मार्नेरहेछ भन्ने मलाई अनुभूति भएको छ ।” गत वर्ष मात्रै निर्माण थालिएको विद्युतीकरणको कार्य पूरा भई तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारमा बिजुली बलेपछि स्थानीयवासीमा खुसी छाएको हो ।
तुम्बेवा यही ठाउँ हो, जहाँ खडेरीले गत वर्ष कुनै अन्नबाली फलेन । प्रदेश सरकारले तुम्बेवा गाउँपालिकासँग साझेदारी गरेर यहाँको वडा नं १, २ र ३ का कृषकलाई प्रतिपरिवार रु सात हजार ५०० राहत उपलब्ध गरायो । यस वर्ष पनि पानी नपर्दा मकैका बिरुवा सुक्न थालिसकेका छन् । यहाँ खानेपानीको हाहाकार अझै विद्यमान छ । प्रदेश सरकारकै लगानीमा खरीद गरिएको ट्याङ्करले खानेपानी वितरण गर्दै आए पनि त्यो पर्याप्त छैन । खानेपानी अभाव, उत्पादन शून्यता र खडेरीले पीडित स्थानीय बसाइँ सर्ने क्रम तीब्र छ । यही तुम्बेवामा तमोर पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्न तथा स्थानीयवासीलाई अँध्यारोबाट मुक्त गर्न राष्ट्रिय प्रसारणलाइनको विद्युत् जडान गरिएको हो ।
दुर्गम यस स्थानमा शनिबारबाट सञ्चालनमा आएको विद्युत्को प्रदेश नं १ आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको हो । शनिबार तुम्बेवा–३ स्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा आङ्बोले स्वीच खोलेर बत्ती उद्घाटन गर्नुभयो । कार्यक्रमको स्टेजअघि चार बल्बमा बत्ती बलेपछि उपस्थित सयौँ स्थानीयवासीले तालीद्वारा स्वागत गर्दै खुशीयाली मनाए ।
यसरी खुशी मनाउनेमध्येका एक तुम्बेवा–१ का राजकुमार भण्डारीले बत्ती बाल्ने लामो समयसम्मको धोको पूरा भएको बताउनुभयो । बिजुलीको उद्घाटन गर्दै मन्त्री आङ्बोले तीनै तहका सरकारको पहलमा आगामी एक वर्ष आठ महीनाभित्र तुम्बेवा गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार सम्पन्न गरिने जानकारी दिनुभयो । “तुम्बेवाका पाँच वटै वडामा विद्युत् विस्तारका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ” मन्त्री आङ्बोले भन्नुभयो, “सबै पक्षको निरन्तर खबरदारीबाट निर्धारित समयमै यो गाउँपालिकालाई अँध्यारोबाट मुक्त गर्नुपर्छ ।” यहाँका सबै वडामा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण इलाम तथा जोरसल्ले ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेका छन् । वडा नं १, २ र ३ मा सहकारी संस्थाको माध्यमबाट तथा वडा नं ४ र ५ मा प्राधिकरणमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्र पाँचथरका प्राविधिक प्रमुख सनोज यादवका अनुसार काबेली कोरिडोरको फिदिम–४ स्थित सवस्टेशनबाट यासोक हुँदै तुम्बेवामा ११ केभी विद्युत् विस्तार गरिएको हो । तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारसहित तुम्बेवाका वडा नं ४ र ५ मा विद्युत् विस्तारको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पाथीभरा कन्स्ट्रक्सन प्रालिले विद्युतीकरणको ठेक्का लिएर कार्य गरिरहेको छ । दुर्गम यस क्षेत्रमा शनिबार मात्रै ५० बढी घरमा बिजुली बलेको छ । यही साता २०० घरमा बिजुली बल्ने यादवले जानकारी दिनुभयो । रु दुई करोड ५० लाखमा बोलपत्रमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको उहाँले बताउनुभयो ।
बिजुली बलेपछि स्थानीयवासीमा आधारभूत सेवा प्राप्त हुने विश्वास बढेको छ । खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा खानेपानी पु¥याउन रु ४५ करोडको लागतमा तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजना सञ्चालनका लागि पनि विद्युत् अनिवार्य थियो । निर्माणकार्य करीब ४० प्रतिशत पूरा भएको यो आयोजना विद्युत् विस्तारसँगै द्रुतगतिमा निर्माण हुने विश्वास लिइएको तुम्बेवा गाँउपालिका–३ का वडाध्यक्ष कमल थापाको भनाइ छ । “बिजुली बलेपछि अब खानेपानी आउँछ भन्ने आशा पलाएको छ । युवाहरु पनि विद्युत्मा आधारित उद्योग, व्यवसायमा जोडिनेछन्”, स्थानीयवासी खेमबहादुर खत्रीले भन्नुभयो “बसाइँसराइले गाउँ नै रित्तो हुने अवस्था शायद अब नहोला ।”
तुम्बेवाका सामाजिक अगुवा देवेन्द्र खत्रीले विद्युत् विकासको पूर्वाधार र स्थानीयवासीको अनिवार्य आवश्यकता विषय भए पनि सुगम ठाउँमै विद्युत् विस्तार हुन नसकिरहेको अवस्थामा तुम्बेवामा बिजुली बल्नु ‘ठूलो परिवर्तन’ भएको संज्ञा दिनुभयो । खत्रीले गाउँपालिकाका सबै वडामा चाँडोभन्दा चाँडो विद्युत् विस्तार गर्न र खानेपानी आयोजना पूरा गर्न आफूहरु सक्रिय रहेको बताउनुभयो ।
Categorized in
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २५, शनिबार
– लक्ष्मी गारु
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।
भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।
नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।
सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।
नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकोले पनि धार्मिक महत्व छ, गणेश देवताका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास छ”, प्रा डा श्रेष्ठ भन्नुभयो ।
नेवार समुदाय कला संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् । नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।
धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै भर्खरै गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलन रहेको छ ।
यस दिन शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ ।
यस दिन किसानले खेतबारीमा काम गर्दैनन् । एकाबिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुती रहेको पाइन्छ ।
Categorized in
माडीमा चक्लाबन्दी खेती शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार
प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको रकमसमेत उनीहरुलाई पनि शेयर सदस्य बनाएर वितरण गरिने जानकारी दिनुभयो ।
चक्लाबन्दी खेतीका लागि जमीन मिलाएर धानको बीउ राख्न शुरु गरिएको छ । पौडेलले आज दुई क्विन्टल राधा ४ जातको धानको बीउ राखिएको बताउनुभयो । सहकारीले बीउ राख्नका लागि राधा ४ र सावित्रीको १०÷१० क्विण्टल खरीद गरिसकेको छ । केही दिनभित्र बीउ राखिसक्ने जनाइएको छ ।
धान लगाइने जमीनमा यसपछि गहुँ र मकै लगाइँदैछ । सोही क्षेत्रमा चार कट्ठा दश धुर जमीनमा तरकारी खेतीका लागि ग्रिन हाउस निर्माण गरिँदैछ ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार यस प्रदेशको चितवनको माडी र सिन्धुलीको दुधौलीमा चक्लाबन्दी खेती शुरु गरिएको हो । प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमीन चक्लाबन्दी गर्न रु २५ लाख, विभिन्न कृषि औजार खरीद गर्न रु ६५ लाख, सहकारी खेती शीर्षकमा रु ६ लाख अनुदान दिने श्रेष्ठले जानकारी दिनुभयो । यससँगै ग्रिन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले रु २५ लाख उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो ।
चक्लाबन्दी खेती गर्दा मेशिनरी उपकरण प्रयोग गरेर ठूला गरामा आधुनिक खेती गरिन्छ । जसले लागत मूल्य घटाउने श्रेष्ठको भनाइ छ । सो क्षेत्रमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले दुई पटक पुगेर कृषकलाई उत्साहसमेत थप्नुभएको स्थानीयवासीले जनाएका छन् । कृषकलाई गोलबन्द गर्दै सहकारीलाई विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।
केही महीनाअघि ३० जना सदस्यबाट दर्ता भएको सहकारीमा जग्गाधनीलाई समेत सदस्य बनाइनेछ । माडी नगरपालिका–८ का अध्यक्ष कृष्णराज अधिकारीले कृषकका जमीनलाई चक्लाबन्दी गरी खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने बताउनुभयो ।
माडी नगरपालिकाले समेत तरकारी खेतीका लागि रु पाँच लाख दिने आश्वासन दिएको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको यस कार्यक्रममा आवश्यक सहयोग नगरपालिकाबाट हुने बताउनुभयो । माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती शुरु भएसँगै यसले अन्य कृषकलाई पनि ज्ञान र सीप आदानप्रदानमा सहयोग पुग्ने ढकालको भनाइ छ ।
Categorized in
गाउँको विद्यालयमा कम्प्युटर शिक्षा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार
बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् ।
कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।”
कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुन्छ । वार्षिक रुपमा ५० अङ्कको लिखित र ५० अङ्कको प्रयोगात्मक परीक्षा हुन्छ ।
विद्यार्थीले रुचिपूर्वक कम्प्युटर विषय पढ्ने, सिक्ने गर्छन् । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । शिक्षकले कम्प्युटर र ‘स्मार्ट बोर्ड’बाट विद्यार्थीलाई पढाउँछन् । कक्षागत रुपमा पढाउने विषय पनि फरक छन् ।
कम्प्युटर विषयमा विद्यार्थीको आकर्षण बढेपछि थप कम्प्युटर र सन्दर्भ सामग्रीको खाँचो रहेको शिक्षक गौतमले बताउनुभयो । विद्यार्थीको पढाइ अनुगमन पनि कम्प्युटरबाटै हुन्छ । “हरेक विद्यार्थीसँग पुग्नु पर्दैन”, कम्प्युटर शिक्षक गौतमले भन्नुभयो, “अगाडिको कम्प्युटरबाट सिकाउन, गल्ती भए सच्चाउन सकिन्छ ।”
विद्यार्थीले पढ्ने बेला गरेका गतिविधि पनि कम्प्युटरबाटै निगरानी हुने गर्छ । कम्प्युटरमा पढाइभन्दा बाहेक अनावश्यक काममा विद्यार्थी भुल्न पाउँदैनन् । विद्युतीय पुस्तकालयका रुपमा पनि कम्प्युटर कक्षाको प्रयोग हुँदै आएको छ ।
विभिन्न विषयका पुस्तक तथा अन्य सन्दर्भ सामग्री कम्प्युटरबाटै पढ्न पाइने व्यवस्था छ । शिक्षकदेखि सबै व्यवस्थापनका काम विद्यालय आफैँले गर्दै आएको छ । कम्प्युटर कक्ष स्थापनाका लागि ‘एडुटिच नेपाल’ले रु दश लाख बराबरको उपकरण र फर्निचर उपलब्ध गराएको थियो ।
विद्यालयमा आधुनिक र प्राविधिक विषयको पढाइलाई जोड दिइनुपर्ने वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । “पुस्तक मात्र पढाएर हुँदैन, विद्यार्थीलाई सीपयुक्त बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कम्प्युटर विषयको पढाइले गाउँका विद्यार्थीलाई पनि प्रतिस्पर्धी हुन सघाएको छ ।”
राज्य तहबाटै कम्प्युटरलगायतका प्राविधिक विषयको पठनपाठनमा विशेष योजना ल्याउनुपर्ने उहाँको भनाइ छ । जिल्लाका अन्य विद्यालयमा पनि कम्प्युटर शिक्षाको पढाइ हुन्छ । कतिपय विद्यालयमा दक्ष शिक्षकको अभावमा कम्प्युटर शिक्षा प्रभावहीन छ ।
Categorized in
विद्यालयलाई सौर्यबत्ती
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार
जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै स्थानीय सरकार आएको अनुभूति दिलाउन बत्ती वितरण गरेको हो ।
Categorized in
बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार
बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ ।
बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो ।
बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका अभिभावकहरुलाई पनि सिकाउनका लागि यो अभियान थालिएको उपप्रमुख बमले बताउनुभयो ।
प्रत्येक वडामा २५ देखि ३० जना किशोरी सम्मिलित किशोरीवृत्त गठन गरेर बालविवाह न्यूनीकरणका लागि झण्डा राख्ने कार्य भइरहेको जनाइएको छ । बालविवाहले पार्ने असरका बारेमा स्वयं किशोरीहरु चनाखो नहुँदा समस्या समाधान नहुने भएकाले किशोरीहरुकै सक्रियतामा पहिलो चरणमा एक हजार घरमा हरियो झण्डा राखिएको किशोरीवृत्तमा आबद्ध हरिना साउँदले बताउनुभयो । यो अभियानले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।
Categorized in
Pages