रासायनिक मल नहुँदा किसान मारमा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार
दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गर्नुभयो । उहाँले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले पानीको समस्या थियो, अहिले मलको समस्या, धान ब्याड तयार छ मल छैन, कसरी रोपाइँ गर्ने रु” अहिले उहाँमात्र होइन यहाँका धेरै किसान रासायनिक मल नपाउँदा मर्कामा परेका छन् । उपमहानगरपालिका–१२ का किसान रामबहादुर घर्तीे पनि मल किन्नका लागि तुलसीपुर बजार आउने र रित्तै घर फकर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपटक धान उत्पादनमा कमी आउनेछ ।”
कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा लामो समयदेखि डिएपी मल नभएको बताउनुभयो । उहाँले मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको पनि बताउनुभयो । उहाँले डिएपी मल अहिले धेरै जिल्लामा नभएको र छिट्टै आपूर्ति हुनेगरी सरकारले पहल गरिरहेको छ भन्नुभयो ।
सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भएकाले पनि किसान मारमा परेका छन् । दाङमा हालसम्ममा ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले यहाँका किसान रोपाइँ गर्नमा व्यस्त छन् । जिल्लामा कूल ३९ हजार हेक्टर जमीनमा धानखेती हँुदै आएको छ ।
Categorized in
तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो ।
गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले लालपूर्जा हस्तान्तरण गर्नुभएको छ ।
लालपूर्जा प्राप्त गर्नेमा गाउँपालिका वडा नं १ का शान्त तामाङ, सन्देश तामाङ, मङ्गलसिंह तामाङ, मिङ्मार लामा, वडा नं २ का भीमबहादुर भुजेल, वडा नं ३ का जीतबहादुर खत्री, विन्दा सार्की, दिपेश बस्येल, राजु खत्री, मीनबहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन् ।
गाउँपालिकाले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्न वडा नं ३ का अध्यक्ष रामप्रसाद काफ्लेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्दा १९ सुकुम्वासी रहेको पहिचान गरेको थियो । संयोजक काफ्लेले गाउँपालिकाले यो वर्ष सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने योजना भए पनि कतिपय सुकुम्वासी सम्पर्कमा नआएकाले ११ सुकुम्वासीलाई मात्र वितरण गरेको र अन्यलाई पनि पुनः वितरण गर्ने बताउनुभयो ।
गाउँपालिकाले ११ सुकुम्वासीलाई विभिन्न ठाउँमा ठाउँअनुसार रु एक लाख ५० हजारका दरले एक÷एक रोपनीभन्दा बढी जग्गा भएको जग्गाधनी पूर्जा वितरण गरेको प्रमुख पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलले भूकम्पपछि आफ्नो जग्गा नभएका कारण पुनःनिर्माण गर्न नसकेका ती सुकुम्वासीलाई अब पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर स्थायी आवास निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
Categorized in
अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् ।
विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् । बागबजारबाट निकालिएको ¥यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासी प्रकाश जैरुले बताउनुभयो । अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका नि मेसु जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपिडी सेवा पूर्णरुपमा बन्द हुँदा आकस्मिक सेवासमेत प्रभावित बनेको छ । चार दिनदेखि अस्पतालको ओपिडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य छ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन् ।
डडेल्धुरा अमरगढी नगरपालिका–११ का रमेश खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपचारका लागि भारत लग्दै गर्दा बाटोमै मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा शव परीक्षण गर्दा मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गरेका थिए ।
Categorized in
वर्षापछि किसान खुशी
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार
लामो समयपछि डोटीको दिपायलमा वर्षा शुरु भएको छ । यहाँका ग्रामीण क्षेत्रमा केही दिन पहिलेदेखि वर्षा भइरहे पनि दिपायलमा भने अहिलेसम्म वर्षा भएको थिएन । शनिबार बिहानदेखि दिपायल तथा आसपासका क्षेत्रमा मुसल्धारे पानी परेपछि यहाँका किसान निकै हर्षित भएका छन् ।
वर्षा नहुँदा खडेरीले दिपायल, पिपल्ला, कुल्पोते, सुनगडालगायतका क्षेत्रका किसानले धानको बीउसमेत राख्न पाएका थिएनन् । वर्षाले खेतमा पानी भरिएपछि किसान बीउ राख्न पाउने आशमा खुशी भएको दिपायल गैराका किसान लालबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपर्दा धानको बीउ राख्न नपाएर खेत बाझै हुन्छ कि भन्ने पीरमा थियौँ, बल्ल पानी शुरु भयो, अब बीउ राखेर रोपाइँ गर्छौँ”, लगातारको वर्षाका कारण यहाँका स्थानीयहरु बिहानदेखि घरबाहिर निस्किन सकिरहेका छैनन् ।
त्यस्तै खडेरीले यहाँका किसानले लगाएका मकैबाली पानी नपर्दा सुक्न थालेका थिए । पानी पर्न थालेपछि सुक्न लागेका मकैसमेत जागेर आउनेमा किसान खुशी भएका छन् । दिपायल क्षेत्रमा वर्षा भएपछि यहाँका किसानहरु बिहानैदेखि मुसलधारे पानीमै भिजेर भए पनि आ–आफना खेतमा धानको बीउ राख्न थालेका छन् ।
यता लगातारको वर्षाका कारण यहाँबाट तराई जाने तथा तराईबाट अछाम, बाजुरा जानका लागि आएका गाडी दिपायलको पिपल्ला बजारमा थन्किएका छन् । वर्षाका कारण यहाँका खोलानालामा उच्च बाढी आएका कारण सबैलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलले खोलानालामा उच्च बाढी आएकाले घरबाहिर ननिस्कन तथा खोला छेउमा नजान सबैलाई आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयपछि दिपायल तथा आसपासको क्षेत्रमा वर्षासँगै बाढी आएको छ, सबैले सर्तक अपनाउनुपर्ने बेला आएको छ ।”
त्यस्तै बाढीपहिरोको उच्च जोखिममा रहेका यहाँका २२ स्थानमा उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । जिल्लाका विभिन्न २२ स्थानलाई दैवी प्रकोपका हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घसंस्थाले उक्त क्षेत्रमा विगत केही दिन यतादेखि सतर्कताका लागि कार्य गरिरहेका छन् । ती ठाउँहरुमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल ९क्याड्रे० कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा पहिचान भएका विभिन्न २२ प्रकोपको उच्च जोखिम भएका समुदायमा प्रतिसमुदायका १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो । डोटीमा बाढीपहिरोमा परी चालू आर्थिक वर्षमा मात्रै नौको ज्यान गइसकेको छ ।
Categorized in
रामपुरमा पहिराका कारण बिरामीलाई अन्यत्र लैजान समस्या
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार
लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हँुदै कास्की पोखरा तथा नवलपुर हँुदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको छ ।
जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ । यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिनुभयो ।
ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गर्नुभयो । “पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।”
रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडाँंै लैजाँदै गर्दा पहिराले रोकिनुपरेको रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताउनुभयो । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करीब तीन घण्टा रोकिनुपरेको उहाँले बताउनुभयो । सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नहुँदा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा नै करीब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताउनुभयो ।
Categorized in
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार
निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।
तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताउनुभयो । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताउनुभयो ।
स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउनुहुन्छ । विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए । स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउनुहुन्छ ।
नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताउनुभयो ।
नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।
बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।
Categorized in
द्वन्द्वले उजाडिएको डोटीको छेडा गाउँ
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार
डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच भिडन्त भएर केही स्थानीयवासी मारिए । बारीमा काम गरिरहेका उनीहरुको अनाहकमा ज्यान गएपछि बाँचेकाहरुले उक्त गाउँ छोडेका कारण सुनसान भएको हो । उक्त घटना घटेको १७ वर्ष भयो ।
विसं २०५८ फागुन ४ गते अछाम जिल्ला सदरमुकाम हानेपछि माओवादी नेता कार्यकर्ता छेडा गाउँ जम्मा हुने क्रममै थिए । उक्त सुइँको नेपाली सेना पायो । विसं २०५९ वैशाख १९ गते एकाएक गोली चल्न शुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाहा भएन । स्थानीयवासी उक्त घटनामा १०० को हाराहारीमा माओवादी मारिएको अनुमान गर्छन् ।
“माओवादीले त यसरी सेना आएर एकाएक आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्,” स्थानीयवासी रोजबहादुर कलेलले भन्नुभयो – “माओवादी त सुरक्षित बसेको महशुस गर्दै थिए । सेनाले आएर एकाएक गोली हाने । माओवादीले तयारी समेत गर्न पाएनन् । कति मरे मरे, अत्तो पत्तो छैन ।” सेना गइसकेपछि माओवादी कार्यकर्ताहरु फेरि आएर आफ्ना घाइते कार्यकर्ताहरुलाई बोकेर लगेको र मृतकहरुलाई हतार हतारमा गाडेको कलेलले बताउनुभयो ।
“लासहरु राम्रोसँग गाडिएका थिएनन्, पछि स्याल र कुकुरले तानेर निकाले,” कलेलले भन्नुभयो – “लामो समयसम्म गाउँ नै गन्हाइरह्यो । स्थानीयवासीलाई बस्न समेत समस्या भयो ।” अहिले पनि मान्छेका हड्डीहरु देखिने गरेको गाउँलेहरु बताउँछन् । घटना अघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका कतिपय तराईतिर बसाइ सरेर गएको स्थानियवासी लालबहादुर मन्नीले बताउनुभयो ।
उहाँका अनुसार उक्त गाउँमा अहिले जम्मा तीन परिवार मात्रै छन् । अहिले उक्त गाउँ करीब करीब खण्डहर जस्तै बनेको छ । खेतीयोग्य जमिन बाँझा भएका कारण जताततै रुख र बोट बिरुवा मात्रै उम्र्रिएका छन् ।
बिहान करीब ११ बजे लहरैका खेतमा गोरु जोतेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको आशङ्कामा सेनाले समात्यो । उक्त घटनामा माओवादीको आरोपमा मारिनेमा ७० वर्षीय रणवहादुर चन्द र ६५ वर्षीय दलबहादुर चन्द पनि थिए । गोरु किन्न भनेर आएका बर्छैन पुड्केपानी गाउँका डबलबहादुर सार्कीले पनि सोही घटनामा मारिनु प¥यो । “उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाइ भइरहेको थियो,” त्यो दिन सम्झदै अर्का स्थानीयवासी चक्र मटेनीले भन्नुभयो – “त्यही बेला सेनाले आएर हामीलाई समात्यो ।” सेनाको गोलीबाट २५ वर्षीय लालबहादुर चन्द र १८ वर्षीय टेकबहादुर चन्दको प्राणान्त भयो ।
हलो जोत्दै गफिँदै गरेका छ जना स्थानीयवासीमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उहाँलाई पनि सेनाले लामबद्ध हुन लगायो । “ल तिमिहरु भाग, ज्यान बचाउ भनेका हुन्, सेनाले,” चक्र भन्नुहुन्छ – “तर हामीले ‘हामी माओवादी होइनौं यही गाउँका मान्छे हौं, भागेर कहाँ जाउँ’ भन्दा आमा छोएर गाली गर्दै गोली कुटे ।” हात, मुख र घाँटीमा गोली लागेका चक्रले त्यसपछि के भयो भन्ने आफूले थाहा नपाएको बताउनुभयो । राति करीब ८ बजे होस खुलेपछि आफू नजीकैको दुम्सीको ओडारमा गएर बसेको उहाँ सम्झनुुहुन्छ । उपचारका क्रममा करीब दुई लाख रुपैयाँ खर्च भएको चक्रको भनाइ छ । “मैले कतैबाट कुनै राहत पाइनँ,” उहाँले भन्नुभयो – “पटक पटक गाविस र जिल्ला धाएँ तर, कसैले मेरो पीडा सुनेन ।” छेडा घटनाको कारण त्रासले भागेका स्थानीय बासिन्दाका घरहरु अहिले धमाधम भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । खेतीपाती पनि कसैले गर्दैन । पूरै गाउँ जङ्गलै जङ्गलले ढाकेको छ ।
छेडा घटनामा मारिएका लालबहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी थिइन् । उनी बूढी सासूआमा र एक वर्षको छोरोसँगै बस्दै आएकी थिएन् । गस्तीमा गएका शाही सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घरमा घेरा हाल्यो । निर्मलालाई ढोका खोलेर बाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले बाहिर आउने हिम्मत गरिनन् । “निर्मला घरभित्रै थिइन्, उनी, सानो बाबु पनि सँगै थियो,” चक्र भन्नुहुन्छ – “उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।” विसं २०६१ साल असोजमा भएको यो घटनामा छोरा प्रकाश पनि घाइते भए । उनलाई सेनाले उपचारका लागि काठमाडौं लग्यो । हाल उनी शहीद स्मृति विद्यालय सुर्खेतमा अध्ययन गरिरहेको चक्रले बताउनुभयो । घरमा सहारा दिने कोही नभएपछि निर्मलाका छोरा सुर्खेतमा पढिरहेको स्थानियवासी बताउँछन् । निर्मला लगायतका छेडा घटना पीडितलाई कहिले र कसले राहत दिने भन्ने कुरो अन्योलमै छ ।
स्थानीयवासी मुना मटेनीले भन्नुभयो – “आफू सानै उमेरको भएकाले पहिले गोली चल्दा त मन्दिर भत्काउन लागेका हुन् भन्ने सोचेकी थिएँ तर, जब अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि मान्छे मार्दै रहेछन् भनेर थाहा पाएँ ।”
प्रशस्त मात्रामा उब्जनी हुने र सम्म परेको जमीन भएको उक्त ठाउँमा पुनः बस्ती बसाल्न पहल गरिनुपर्ने स्थानियवासी बताउँछन् ।
Categorized in
चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार
आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहाँले बताउनुभयो । उहाँजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा पोख्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको रु पाँच लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको बुद्धेले बताउनुभयो । उहाँहरू जस्तै जाजरकोटका ४०० हलियाले घर निर्माण गरी आनन्दसँग बस्न पाएको बताएका छन् ।
प्रतिपरिवारलाई रु दुई लाख जग्गा किन्न र रु तीन लाख २५ हजार घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो । अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धेले बताउनुभयो । पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताउनुभयो ।
जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि किनै खुशी भएका छन् । जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताउनुभयो ।
Categorized in
‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको १५०आँै हप्ता
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ ।
दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन उहाँ तुलसीपुर आउने गर्नुहुन्छ । सफाइ कार्यक्रममा एक घण्टा खट्नुहुन्छ र फेरि पैदलै हिँडेर घर फर्किनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो शहर सफा स्वच्छ र हरियाली हुन्छ भने हप्तामा एक दिन समय किन नदिने रु”
उहाँको यो निरन्तरता गएको तीन वर्षदेखि हो । तुलसीपुरमा सञ्चालन भएको ‘क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर’ नागरिक सरसफाइ अभियानमामा उहाँको यो निरन्तर सक्रियता देखेर अरु सहभागीलाई पनि ठूलो प्रेरणा मिलेको छ ।
ज्येष्ठ नागरिकको हकहित तथा अधिकारको प्रवद्र्धनमा विगत लामो समयदेखि सक्रिय रहनुभएका अधिकारी सरसफाइ अभियानमा पनि निकै सक्रिय हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तुलसीपुर बजार सफा भएको छ तर यति मात्र भएर हुँदैन, यसलाई हरियालीमार्फत रमणीय र सुन्दर शहर बनाउनुपर्छ ।”
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ का टोपबहादुर महतराको सक्रियता पनि यस्तै उदाहरणीय नै छ । उहाँ पनि विगत लामो समयदेखि सधैँ यो अभियानमा सहभागी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरसफाइ अभियानले नगरलाई स्वच्छ, हराभरा राख्न मद्दत पुगेको भए पनि यतिमा नै सीमित हुनुहुँदैन ।”
विगतका दिनमा सरसफाइ शुरु गर्दा आफूहरुले धेरैको भनाइ खानु परेको उहाँको अनुभव छ । “अभियानको शुरुआत गर्दा स्थानीयले हामीलाई राम्रो मानेनन्, कतिले त हाम्रो कामका लागि सडकमा आएजस्तो पनि गरे, तर अहिले अभियानलाई सहयोग गर्छौं भन्दा खुशी लाग्छ”, महतरा भन्नुहुन्छ ।
क्लिन तुलसीपुर ग्रिन तुलसीपुरको १५० औँ हप्ताको समीक्षा गरियो । कार्यक्रममा सहभागी र वक्ताले अभियानले आम नागरिकमा सरसफाइप्रति जागरण ल्याएकाले अब यसलाई सबै वडामा विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । उनीहरुले सरसफाइमा कडाइ गर्न उपमहानगरपालिकालाई पनि सुझाव दिएका छन् ।
लाइन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसीले अब तुलसीपुर उपमहानगरपालिकाले जुन घर वा टोलमा फोहर छ त्यहाँ सरसफाइ स्टीकर टाँस गर्न सुझाव दिनुभयो । उहाँले बजारमा कहाँ फोहर छ, कहाँ सुधार गर्नुपर्छ, अनुगमन टोली गठन गरेर अनुगमन कार्य अघि बढ्नुपर्छ, उहाँ भन्नुहुन्छ ।
अध्यक्ष केसी भन्नुहुन्छ, “अहिले पनि बजारमा लुकिछिपी फोहर फाल्ने, बजारका सडकमा लामो समयदेखि ढुङ्गा गिट्टी थुपार्ने काम भइरहेको छ, यसलाई उपमहानगरपालिकाले कानूनी दायरामा ल्याउनुपर्छ ।”
त्यसैगरी सरसफाइ अभियानमा लामो समयदेखि निरन्तर लागि रहनु भएका तुलसीपुर– ७ का ४६ वर्षीय ईश्वरी गैरेले यो अभियान शुरु हुनुभन्दा पहिलेको अवस्थाको चित्रण गर्दै अभियानका कारण आएको जागरण र परिवर्तनको प्रशंसा गर्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले तुलसीपुर बजारलाई सफा र सुन्दर नगरी बनाउन आफूहरुले शुरु गरेको यो अभियानलाई सार्थक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसपटक उपमहानगरपालिकाको १९ वटै वडामा सम्बन्धित वडाध्यक्षसँग समन्वय गरेर सरसफाइ र वृक्षरोपण कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
यस अभियानका अभियन्ता विमल रिजालले आफू वाग्मती सरसफाइ अभियानबाट प्रभावित भएर तुलसीपुरलाई सुन्दर सफा र हरियाली शहर बनाउन यो अभियान शुरु भएको बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भएको बेला आफैँले यसको थालनी गरेको र हाल यस अभियानमा जिल्लाका उद्योग वाणिज्य सङ्घले पनि सहयोग गरेको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सरसफाइ अभियानमा निरन्तर रुपमा लागिरहने व्यक्ति, सङ्घ, संस्थाका प्रतिनिधिलाई अनुकूल समय मिलाएर सम्मान गरिने जानकारी दिनुभयो । उहाँले यो अभियानले नागरिकमा मनोवैज्ञानिक प्रभाव पारेको बताउँदै राम्रो कामका लागि सबैको एकता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष विमल रिजालको अगुवाइमा विसं २०७३ भदौ ७ गते यो अभियान तुलसीपुरको अरनिको मैदानमा सरसफाइ र राष्ट्रिय समाचार समिति दाङ कार्यालयको प्राङ्गणमा पाँच वटा बिरुवा रोपेर शुरु भएको थियो । यहाँका धेरै सङ्घ संस्थासँग सहकार्य गरी तुलसीपुर उद्योग वाणिज्य सङ्घले ५० हप्तासम्मको कार्यक्रम सञ्चालन गरेको थियो । ५१ औँ हप्तामा तुलसीपुरमा एक विशेष कार्यक्रम गरी सुन्तली, धुर्मुस फाउण्डेशनका सीताराम कट्टेलको उपस्थितिमा यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
तुलसीपुर बजार क्षेत्रबाट दैनिक २० देखि २२ टनसम्म फोहर उत्पादन हुने गरेको तुलसीपुर उपमहानगरपालिकाका वातावरण शाखाले जनाएको छ । फोहर बोक्ने सवारीसाधन पर्याप्त नहुँदा दैनिक पाँचदेखि पाँच टन फोहर उठ्न नसकेको वातावरण शाखाका खेमकान्त पाण्डेले जानकारी दिनुभयो ।
स्थायीरुपमा फोहर विर्सजन गर्ने ठाउँ नहुँदा हाल तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्याउली बजारको कुकुने भजनामा विर्सजन गरिँदै आइएको छ ।
Categorized in
बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् ।
चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उहाँलाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले राससलाई जानकारी दिनुभयो ।
“भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राख्नुभएको छ, उहाँ को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उहाँलाई हामी सानैदेखि चिन्छौँ”, संयोजक लामाले भन्नुभयो ।
स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ ।
भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ ।
Categorized in
Pages