झापामा अङ्गीकृत नागरिकता लिने घटे
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार
झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४र७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो ।
अघिल्लो आवकोे तुलनामा २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३६२ ले कमी भएको छ । विगत दुई आवको तुलना गर्दा झापामा नागरिकता र राहदानी लिनेहरु घटेका छन् । आव २०७५र७६ मा १५ हजार २८८ जनाले र २०७४र७५ मा १६ हजार ५४९ जनाले नागरिकता लिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो । यो सङ्ख्या अघिल्लो आवको भन्दा एक हजार २६१ ले कमी हो । आव २०७५र७६ मा १२ हजार ८३२ जनाले र २०७४र७५ मा १३ हजार ०७६ जनाले राहदानी लिएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २४४ ले कमी हो ।
प्लस टू पास गरेर बाहिर अध्ययनका लागि जाने विद्यार्थी र वैदेशिक रोजगारमा जाने युवायुवतीका कारण राहदानी लिने बढेको सहायक पोखरेलले बताउनुभयो ।
Categorized in
दमकमा १९ जनामा डेंगु
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार
झापाको दमकमा १९ जनाम डेंगु सङ्क्रमण भएको पाइएको छ ।
यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो ।
दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उहाँले बताउनुभयो । दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको उहाँले जानकारी दिनुभयो ।
अहिले वर्षा भइरहँदा लामखुट्टेले पारेका अण्डा पानी बगाएर लाने भएकाले डेंगुको जोखिम कम हुने पनि प्रमुख अर्यालले बताउनुभयो । वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने उहाँले बताउनुभयो ।
Categorized in
सिँचाइबाट तीन हजार लाभान्वित
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार
तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
उक्त नहरको पानीबाट सिँचित हुने त्यस क्षेत्रको ४३५ हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न हुँदा त्यस क्षेत्रका बासिन्दा खुशी भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार पुनःनिर्माण गर्न बाँकी २० प्रतिशत काम सम्पन्नपश्चात आउँदो वर्षमा त्यस क्षेत्रका सबै जग्गामा धान रोपाइँ हुने लक्ष्य राखिएको छ । करीब ३०÷३५ वर्षअघि निर्माण गरिएको उक्त नहरको ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध हुँदा नहरमा पानी सञ्चालन गर्न नसकेपछि विगत केही वर्षयता त्यसक्षेत्रका बासिन्दाले धानखेती गर्नबाट बञ्चित हुँदै आएका थिए ।
करीब रु २० करोड अनुमान लागत रहेको उक्त आयोजनाको रायमाझी कन्ट्रक्सन प्रालिले २०७२ मङ्सिर १८ ठेक्का सम्झौता गरी रु १३ करोड १७ लाखमा ठेक्का लिई पुनःनिर्माणकार्य थालेको हो । २०७६ जेठ ३० भित्र पुनःनिर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि गत आवमा कात्तिकबाट पुनःनिर्माणको काम थालिएकाले समयावधिमा सम्पन्न गर्न नसकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख पूर्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साउनमा निर्माणकार्य थाल्नुपर्ने प्रावधान रहे पनि साउनदेखि कृषकलाई खेत रोप्नका लागि पानी आवश्यक पर्ने र निर्माणकार्य गर्दा पानी बिथोलिने भएकाले कात्तिकबाट मात्रै निर्माणको काम शुरु गरिने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । दोस्रोपटक २०७६ पुस मसान्तसम्मका लागि म्याद थप प्रस्ताव भएकामा हाललाई २०७६ भदौ १८ सम्म निर्माण सम्पन्न गर्ने गरी गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृत गरे पनि साउनदेखि काम गर्न नमिल्ने भएकाले कात्तिकबाट काम थालेर पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उक्त नहरको हालसम्म नौ मिटर पक्की नहर निर्माण, डेढ÷डेढ मिटरको पानी तार्ने दुई आरसिसी पक्की डुढ, १८८ मिटर, १२६ मिटरका दुई स्टिल साइफन र पहिरो रोक्नका लागि तारजालीको ग्याबिन लगाउने कार्य सम्पन्न भएको छ । उक्त नहरमा आवतजावत गर्न सहज बनाउने उद्देश्यले १६ किलोमिटर दूरीसम्म सडक पहुँचमार्ग पु¥याइएको छ, उहाँले भन्नुभयो ।
नहरमा लामो समयदेखि पानी चलाउन नसक्दा धानखेती प्रभावित हुँदै आएपछि यस वर्षदेखि खेत रोप्न पाउँदा स्थानीय कृषक खुशी भएका छन् । कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पुनःनिर्माण सम्पन्नपश्चात त्यस क्षेत्रका सबै क्षेत्रफलमा धान रोप्न सक्नेछन् ।” पुनःनिर्माण गर्न बाँकी रहेको २० प्रतिशतमा करीब एक हजार शाखा नहरको मुख निर्माण, पात दुई वटा छान्ने संरचना र शाखा नहर १२ पुनःनिर्माण गर्नुपर्ने रहेको कार्यालयका इञ्जिनीयर दिवाकरप्रसाद मण्डलले बताउनुभयो ।
उक्त आयोजनाको ९२ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भएको सो कार्यालयले जनाएको छ ।
Categorized in
कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार
दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।
बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा दुई स्थानीय तहका चार विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पिसविनका संयोजक टेकबहादुर थापाले बताउनुभयो ।
कम्प्युटर सञ्चालन हुनेमा जिल्लाकै नमूना विद्यालयका रूपमा रहेको नौबिसस्थित भानोदय मावि, गाँज्रास्थित मालिका मावि, डोगडीस्थित मष्टेश्वरी मावि र बाह्रबिसस्थित सिङ्गाडा माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बद्ध विद्यालयले जनाएको छ ।
यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यतासमेत हटेको छ । बाजुरामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ ।
स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको भानोदय माविका प्राचार्य मनवीर खातीले बताउनुभयो । विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थी रवीन्द्र बुढाले बताउनुभयो ।
विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने नौबिसकी रुक्मिणी जोशीको भनाइ थियो । दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट एक हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ ।
Categorized in
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार
सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार
कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बुधबार नै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
प्रभावित क्षेत्रमा पुगेको सरकारले बाढीले पारेको क्षतिको अवलोकन गरेको थियो । अवलोकनपश्चात डुबानमा परेका भू–भागका नागरिकलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उद्धारमा खटिएको ६५ प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।
बाढीबाट वीरेन्द्रनगर–९ सुर्खेतका नौ घर डुबानमा, वडा नं १० स्थित देउती कृषि फार्म, एक बाच्छी र दुई गाई, ५०० कुखुरा, बङ्गुर, भाँडावर्तन, खाद्यान्नलगायत बाढीले बगाएर क्षति पु¥याएको प्रहरीले जनाएको छ । त्यसैगरी, नगरपालिकाको १२ वडास्थित अम्मरबहादुर तारामी मगरको मौरी ५० घार र ओमप्रसाद शर्माको ३० मौरी घार पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही वडाका प्रतिमान कामीको डेढ कठ्ठा खेत, चक्रबहादुर गुरुङको भे१ह ३४२० नंको एक अटो ५० मिटर तल बीच खोलामा पुरिएर झण्डै रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ । बाढीले सुर्खेतकै भेरीगङ्गा नगरपालिका अमिलाचौरका टीकाराम बस्यालको एकतले ढुङगा–माटोले बनेको घरमा क्षति पुग्दा रु एक लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ ।
Categorized in
उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार
प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोका कारण त्यहाँ पग्ने बाटो अवरुद्ध भएकाले खाद्यान्न अभावका कारण स्थानीय जनता भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न तत्काल सात दिनका लागि पुग्ने ७०० क्विन्टल चामललगायत दाल, नुन र खानेतेल हेलिकप्टरमार्फत पठाउने भएको हो ।
साथै बैठकले उक्त दुई गाउँपालिका पुग्ने अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सङ्घीय निकायसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले बाढीपहिरोबाट मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । प्रदेश सरकारले बेपत्ता व्यक्तिको उद्धार र खोजीकार्यलाई तदारुकताकासाथ अगाडि बढाउने निर्णयसमेत गरेको छ ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई राहत र पुनःस्थापना गर्न सम्बन्धित निकायको समन्वय र सहकार्यमा प्रभावकारी ढङ्गबाट कार्य अगाडि बढाउने भएको छ । अविरल वर्षा अझ केही दिन रहनसक्ने भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट सार्वजनिकरूपमा जानकारी भएकाले यसबाट पर्न सक्ने विपद्लाई ध्यानमा राखी सुरक्षित स्थानमा सर्न र सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ । प्रदेशमा यस वर्ष आएको बाढीपहिरो र डुबानबाट २९ जनाको मृत्यु, आठ बेपत्ता र २१ घाइते भएका छन् ।
Categorized in
मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ८, बुधबार
ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् ।
पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारी चार दिनदेखि विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका हुन् । गाउँपालिका वडा नं ३ घुरुङ्गामा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न नदिएपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको आयोजनाले जनाएको छ । गाउँपालिका वडा नं २ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युत्का तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका छैनन् ।
प्रसारण लाइनको एउटा पोलमा रहेको बिग्रेको कण्डक्टर मर्मत हुन नसक्दा चार दिनदेखि उत्पादन ठप्प भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताउनुभयो । “प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प छ”, प्रबन्ध निर्देशक कोइरालाले भन्नुभयो, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैन बालेर विद्युत्गृह कुर्दै आएका छन्”, वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ ।
एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यहोर्न बाध्य भएको आयोजनाले जनाएको छ । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाको जिकिर छ । प्रसारण लाइन सञ्चालनमा आएको वर्षौँपछि त्यसको नजिक घर बनाउने र अहिले अवरोध गर्ने कार्य भएको प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ । आयोजनाले ११ वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको थियो ।
आयोजनामा आएको समस्याका बारेमा गाउँपालिकामा दुवै पक्ष बीचमा छलफल गर्न आग्रह गरिएको र सहमति नभएमा प्रशासनले हस्तक्षेप गरेर पनि विद्युत् उत्पादन सञ्चालन गराइने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे ढकालले बताउनुभयो । प्रसारण लाइन स्थानान्तरण गर्नका लागि जमीन पनि नदिने, रुख काट्नसमेत अवरोध भएकाले समस्या भोग्दै आएको आयोजनाले जनाएको छ । प्रसारण लाइन वरपरका बाँस हटाउन खोज्दासमेत स्थानीयवासीले एउटा बाँसको रु ५०० सम्म माग गर्दै आएका छन् ।
Categorized in
ठेकेदारको बहानाबाजीले पुल बनेन, स्थानीयवासीलाई सास्ती
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार
तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ । निर्माण कार्य शुरु गरेको वर्षौं बितिसक्दा पनि डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन ।
सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नु पर्ने थियो तर, पुलको निर्माण कार्य १० प्रतिशत पनि भएको छैन । सुस्त गतिमा हुँदैआएको निर्माण कार्य पूर्ण रुपमा रोकिएको छ । मूल्य अभिवृद्धि करसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव ४०० मिटर लामो उक्त आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको हो ।
पुल निर्माण हुने समयावधि समाप्त भएर पन्ध्र महिना बितिसक्दा पनि पुलका दायाँ र बायाँ पिल्लर उठाइएको छैन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो – “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु रु काटेको सडक गाडी नचल्दा दिनहूँ बिग्रिन र भत्किन थालेको छ ।”
पुल निर्माणमा ढिलाइ हुनाको कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा पुलको जगमै समस्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार पिल्लरको जगमा चट्टान भेटिए पछि डिएमसी मेसिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनु पर्ने भएका कारण ढिलाइ भएको हो । डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताउनुभयो । उहाँले भन्नुभयो – “तत्काल काम शुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौं । तोकिएको अवधिमा काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।”
लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि शुरु गराएको र निर्माता कम्पनीले लापर्वाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेसिन आइसकेकाले अब छिट्टै काम शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “फाउण्डेशनको काममा मात्रै समस्या देखिएको हो । फाउण्डेसनको काम सकियो भने अरु काम सजिलै सँग बढ्छ ।”
शुरुमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँ नयाँ बहाना खोज्न थालेको छ । जगमा चट्टान भेटिएको र उक्त चट्टान डिएमसी मेसिनले काट्न नसकेपछि बोर पाइलिङ्ग मेसिन ल्याउनु पर्ने भन्दै केही समय लम्ब्यायो । बोर पाइलिङ्ग मेसिन नेपालमा छैन । फेरि थप समय माग्यो । बोर पाइलिङ्ग मेसिन नेपाल आइसक्यो । अहिले मेसिन ठूलो भएका कारण निर्माण स्थलसम्म ल्याउन समस्या भइरहेको भन्ने सुनिन आएको छ । पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ला भन्ने कुरामा स्थानीयवासीहरु विश्वस्त हुन सकेका छैनन् । “कहिले के भन्छ कहिले के भन्छ, यिनीहरुका बहाना मात्रै हुन्,” शिखर नगरपालिका वडा नं १० का स्थानीयवासी इन्द्रबहादुर बलायरले भन्नुभयो – “अब काम शुरु भएपछि मात्रै विश्वास लाग्छ, बहाना धेरै भए ।” यस्तै आशङ्का व्यक्त गर्नुहुन्छ शिखर नगरपालिका वडा नं ११ का अर्का स्थानीयवासी शेरबहादुर बोहरा पनि । उहाँ भन्नुहुन्छ – “यो सबै बहाना मात्रै हो । काम शुरु हुन्छ भन्ने त धेरै पटक सुन्यौं तर, काम शुरु कहिल्यै हुँदैन ।”
पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर २०७५ पुस मसान्तसम्मका लागि बढाइएको थियो । पुनः म्याद थपिए पनि काम शुरु हुनसकेको छैन । यति हुँदा पनि ठेकेदार कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । यही कारण सम्बन्धित निकायले कानमा तेल हालेर बसेको स्थानीयवासीको आरोप छ । सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजनाहरु अलपत्र परेका खबरहरु यस अघि पनि आएका थिए । कम्पनीमाथि कुनै कारवाही नहुँदा बाँकी काम लथालिङ्ग बनेको स्थानयवासी बताउँछन् । अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका स्थानीयवासी पुरानो क्षेत्रीय सदरमुकाम दीपायल तथा छिमेकी जिल्ला डडेल्धुराको कोराल खोला भएर जाने आउने गरिरहेका छन् ।
Categorized in
प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार
पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो ।
स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन् । स्वास्थ्य केन्द्रले स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ ।
हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिनुभयो । सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँ आउने गरेका छन् ।
लामो समयदेखि नसाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका तनहुँ ब्यास नगरपालिकाका ४० वर्षीय रमेश सिग्देल सेन्टरमा उपचार सेवा लिएपछि निको भएको बताउनुहुन्छ । “पहिले नसाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो ।” उहाँले भन्नुभयो, “विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरँे, अहिले निको भएको छ ।” उहाँले हाल विदेशी डाक्टरको सल्लाहमा घाँटीको नसाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताउनुभयो ।
उहाँजस्तै थुप्रै बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीँबाट सेवा दिने गरेको छ ।
केन्द्रमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताउनुभयो । उहाँका अनुसार टेलिमेडिसिन सेवाअन्तर्गत एकै महीनामा तीन हजार १०० बिरामीले सेवा लिएको तथ्याङ्कसमेत छ ।
बेलायतमा रहेका नेपालीको सङ्घठन चार भञ्ज्याङ तमु समाज युकेको पहलमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथमिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवा दिनका लागि सेन्टरको स्थापना गरिएको थियो । यस केन्द्रमा टेलिमेडिसिन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विशेषज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजना गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको छ ।
Categorized in
Pages