रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा विकास गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार
आलु खेतीमा आत्मनिर्भर बनाउन रामपुरमा आलु पकेट क्षेत्र विकास कार्यक्रम शुरु गरिएको छ । रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा चिनाउन रामपुर नगरपालिका–६ को कार्यालयले वडाका कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरी पकेट क्षेत्र विस्तार कार्यक्रम अगाडि बढाएको छ । वडाले गत वर्षदेखि नै आलु पकेट कार्यक्रम शुरु गरेको हो ।
यस वर्ष सबैजसो घरमा आलु लगाउन अभियान नै वडाले थालनी गरेको छ । कम्तीमा पनि एक कृषकले दुई रोपनी क्षेत्रफलमा आलु खेती गर्ने अभियान रहेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
“कृषकले उत्पादन गरेका आलुले बजार नपाएको खण्डमा लामो समयसम्म सुरक्षित साथ राख्न शीत भण्डारमा वडाले आफ्नै खर्चमा राख्ने व्यवस्था गर्नेछ, यहाँ उत्पादन भएको आलु अन्यत्र बजारमा पठाउने गरी रामपुर क्षेत्रलाई आलु ‘हब’का रुपमा चिनाउन यो कार्यक्रम थालनी गरेका हौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो ।
वडामा रहेका नदी किनारा आयआर्जन महिला कृषक समूह, कँडेलवारी कृषक समूह, तालपोखरा कृषक समूह, जनजागृति कृषक समूह, मिलीजुली कृषक समूह, राधाकृष्ण कृषक समूहलाई मागका आधारमा र ६८ कृषकलाई प्रतिव्यक्ति ५० किलोका दरले आलुको बीउ वितरण गरिएको वडा सचिव वासुदेव ढकालले बताउनुभयो ।
यस वर्ष दुई लाख ६१ हजारको लागतमा ६० क्विन्टल जनकदेव जातको आलुको बीउ खरीद गरी कृषकलाई वितरण गरिएको छ । जनकदेव जातको एक किलो आलुको बीउबाट १५ किलोसम्म उत्पादन लिन सकिन्छ । वडामा १५० रोपनीभन्दा बढी क्षेत्रफलमा आलु लगाउने कृषकले तयारी गरेका छन् । आलु खेतीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । आगामी वर्ष तीन सयभन्दा बढी रोपनी क्षेत्रफलमा आलु खेती गर्न कृषकलाई सहयोग गर्ने वडाले जनाएको छ ।
गत वर्ष वडा कार्यालयले जनजागृति कृषक महिला समूहलाई एक लाख, कँडेलबारी कृषक समूहलाई २५ हजार, नदी किनारा आयआर्जन कृषक समूहलाई २५ हजार, जनजागृति आयआर्जन कृषक समूहलाई ५० हजार, तालपोखरा कृषक समूहलाई २५ हजार, राधाकृष्ण तरकारी कृषक समूहलाई ५० हजार, मिलीजुली कृषक समूहलाई ५० हजार, मनकामना कृषक समूहलाई २५ हजार रकम बीउ खरीदको लागि प्रदान गरेको थियो ।
गत वर्ष वडामा करीब एक हजार क्विन्टल आलु उत्पादन भएको थियो । कृषि र पर्यटन विकासको नारा बोकेको वडाले विजयपुर कृषि सहकारी संस्थाको सहकार्यमा आलु पकेट क्षेत्र विकास कार्यक्रम गरेको छ । वडामा उत्पादन भएका आलुले बजार नपाएको खण्डमा सहकारीले बजार व्यवस्थापन गरिदिने सहकारीका अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताउनुभयो ।
“कृषकले आलु उत्पादन गरेमात्र भयो, सहकारीको सङ्कलन केन्द्र भवन छ, बजारीकरणको प्रबन्ध सहकारीले गर्नेछ”, उहाँले भन्नुभयो । आलुको उत्पादन बढाएर यो क्षेत्रलाई आलु हबका रुपमा चिनाउने, आलुबाटै कृषकलाई आत्मनिर्भर बनाउने वडाको योजना छ ।
वडालाई कृषिका रुपमा अगाडि बढाउन गत वर्ष कृषकलाई विभिन्न कृषिजन्य सामग्री, मल बीउ वितरण गरिएको र यस वर्ष आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ अनुदानमा आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि यो क्षेत्र ठूलो र समथर भूभाग रहेको, बजारीकरणका लागि सहज भएको हुँदा कृषकले आलु लगाएर राम्रो कमाई गर्न सक्ने कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।
रामपुर नगरपालिका क्षेत्रमा करीब एक हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको शाखाप्रमुख पाण्डेयले बताउनुभयो । उपभोक्ताले मन पराउने र उत्पादन राम्रो हुने भएकाले यस क्षेत्रमा जनकदेव, कार्डिनल जातको आलु कृषकले लगाउँदै आएका छन् ।
Categorized in
परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार
बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त सोमबार नियुक्त गर्नुभएको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ ।
दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताउनुभयो । संविधानसभा सदस्य दिनेशचन्द्र यादवले दुई पटक सांसद भइसक्नुभएका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको बताउनुभयो ।
बाँकेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने निर्णयले बाँकेवासीमा खुशीयाली थपेको उहाँले उल्लेख गर्नुभयो । “पार्टीले योगदान गरेको व्यक्तित्वलाई सम्झिएर अवसर दिएको छ, कम्युनिष्ट पार्टी बनाउनमा उहाँको ठूलो योगदान रहेको छ”, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेशसभा सदस्य आइपी खरेलले भन्नुभयो, “उहाँलाई प्रदेश प्रमुख बनाउने निर्णय बाँकेवासीका लागि खुशीको कुरा हो ।” रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सर्नुभएका परियार विसं २०५० पछि कोहलपुर आउनुभएको हो ।
उहाँ बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता मानिनुहुन्छ । तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म हुनुभएका परियार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा पर्नुभएको थियो ।
विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी हुनुभएको थियो । तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लाग्नुभएका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किनुभएको थियो । शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत हुनुभएको थियो । भारतमा काम गर्दै पढ्दै गर्नुभएका उहाँ एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्किनुभएको थियो । उहाँ केही समय रोल्पामा शिक्षक पनि हुनुभयो । उहाँले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गर्नुभएको थियोे ।
Categorized in
एकसय पन्ध्र परिवारका लागि एउटै धारा
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार
त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ ।
सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा रहेका उहाँले बताउनुभयो । बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ । अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीयवासी पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताउनुभयो ।
सबै गाउँको संयुक्त एक खानेपानीको धारा छ । दिनभरि सोही धारामा मानिसको लाइनले गर्दा पालो कुर्दाकुर्दै घण्टौँ समय लाग्ने गरेको उहाँको भनाइ छ । भूगोलका हिसाबले निकै दुर्गम मानिएको यहाँ पानीकै कारण स्थानीयवासी चिन्तित छन् । नगरपालिकाले बस्तीस्तरको योजना छान्दा आफ्नो गाउँको खानेपानी वर्षाँैदेखि छुटाउँदै आएको स्थानीयवासीको आरोप छ ।
खानेपानीकै अभावका कारण गाउँलेहरुले बसाइँ नै सार्ने अवस्था आएको स्थानीयवासी पवित्रा रोकायले बताउनुभयो । कसैले पानीको समस्याबारे कुरा उठाउँदा पनि नसुनेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । नगरपालिकाको बजेटबाट सो ठाउँमा खानेपानी ल्याउन नसकिने अवस्था रहेको बताइएको छ ।
Categorized in
तीन दिनदेखि विद्युत् अवरुद्ध
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार
उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् ।
विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताउनुभयो । “चाँडै विद्युत् आपूर्ति नियमित गर्ने प्रयासमा जुटेका छौँ”, उहाँले भन्नुभयो । बिजुली नहुँदा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित गरिमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाले सास्ती खेप्नु परिरहेको छ । “भत्ता वितरण गर्न समस्या भएको छ”, बैंकका प्रमुख श्याम थापाले भन्नुभयो ।
Categorized in
सुत्केरीलाई ‘रातो भाले’
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १७, शुक्रबार
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ ।
गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमितरूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।”
स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । “हामीले शुरुआती अवस्थामा पोषण झोलासहित गर्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ”, पुनले भन्नुभयो, “सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।” पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।
दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताउनुभयो । सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ”, प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।”
स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।
Categorized in
बिमितलाई औषधि पाउनै मुस्किल
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ८, बुधबार
आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लैजानुभयो । उहाँले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताउनुभयो ।
बिमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरीद गर्न बाध्य भएको बताउँदै आएका छन् । त्यस्तै नलगाड नगरपालिका–७ रामबहादुर गिरीले नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोश पोख्नुभयो ।
भेरी नगरपालिका–१ रिम्नाका हरिमान पुनले भन्नुभयो, “बीमा गरेका छौँ, यसैबाट काट्नुभन्दा यो रकम कहिले आउँछ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हुँदै आएको छु ।” बिमितहरु उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुमपश्चिम आठविसकोट नगरपालिका–६ का कालीबहादुर विकले बताउनुभयो ।
जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ । बीमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताउनुभयो । सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बीमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्दै आएका छन् ।
आठविसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठविसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममताले बताउनुभयो । बीमाको रकम महीनौँ पछि आउने भएकाले हामीलाई घाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आनाकानी गरेको बिरामीले बताएका छन् ।
Categorized in
रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार
दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताउनुभयो । उहाँले भन्नुभयो, “माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ।”
यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताउनुभयो । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुनेभएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ, अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताउनुभयो ।
Categorized in
फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार
दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो ।
तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका लागि फाराम भरेका ७०० ले समेत नयाँ धारा पाएका छैनन् । अहिले धारा नपाएपछि उपभोक्ता आक्रोसित भएका छन् । धारा जडानका लागि भन्दै गत बैशाखमा रु २५ हजार राजश्वसमेत बुझाई सकेको भए पनि अहिलेसम्म धारा जडान भएको छैन । नयाँ धारा जडानका लागि गत बैशाख १५ गतेभित्र राजश्व बुझाउन खानेपानीले अनुरोध गरेको भन्दै सोही आधारमा राजश्व बुझाइएको थियो ।
दुई वर्षअघि खोलिएको आवेदनमा ७०० जनाले फाराम भरेको भन्दै ती उपभोक्तालाई चाँडै तीजपछि धारा वितरण गर्ने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गत वर्ष फागुनमा आवेदन माग गरिएकाको भने अझै एक÷दुई वर्ष लाग्न सक्ने उहाँको भनाइ छ । अहिले खानेपानीको उपयुक्त स्रोत नहुँदा पनि धारा वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
“यही वर्षको साउनमा हामीले नयाँ धारा जडान गर्ने योजना बनाएका थियौँ”, उहाँले भन्नुभयो, “तर पर्याप्त वर्षा भएन, मुहान बढेनन्, त्यसैले पनि हामीले नयाँ धारा जडान गर्न सकेनौँ ।” अर्कोतर्फ कार्यसमितिको बैठक पनि नबसेकाले यस्तो समस्या भएको समेत उहाँको भनाइ छ । दुई महीनादेखि कार्यसमितिको बैठक बस्न नसकेको उहाँले बताउनुभयो । नयाँ धारा जडान गर्दा पानी पु¥याउन केही समस्या भए पनि फाराम भरेकालाई धारा भने जडान गर्ने उहाँले बताउनुभयो । नयाँ मुहानको व्यवस्था नहुँदासम्म धारा वितरण गर्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।
त्यसका लागि करीब रु ४०÷५० करोडको योजना पूरा भएको हुनुपर्ने उहाँको भनाइ छ । धारा दिने ठूलो कुरा नभई जडान गरेका धारामा नियमित पानी दिनु ठूलो कुरा हुने उहाँको भनाइ छ । उहाँले बबईको पानी लिफ्टिङ गरेर ल्याउनका लागि डिपिआर भइरहेकाले सोही योजनाको काम पूरा भएपछि मात्रै थप धारा जडान गर्न सकिने बताउनुभयो । अहिले तुलसीपुरमा छ हजार ५०० धारामा दैनिक खानेपानी प्रदान गरिँदै आइएको छ ।
तीमध्ये एउटा धाराको सहारा १५ घरपरिवारले लिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले अघि सारेको ‘एक घर, एक धारा’ को अवधारणालाई अघि बढाउनका लागि तुलसीपुरमा अझै थप १५ हजार धारा वितरण गर्नुपर्ने आवश्यकता रहेकोसमेत अध्यक्ष ओलीको भनाइ छ । यो समस्या समाधान गर्न पातुखोलामा हाइड्याम निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
Categorized in
टोल सुरक्षामा गाउँलेको गस्ती
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार
चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् ।
चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगार्इंले बताउनुभयो । उहाँका अनुसार गस्ती शुरु गरिएपछि चोरीका घटनामा समेत नियन्त्रण आएको छ । गस्ती शुरु गरिएपछि सिङ्गो टोलवासीले राहत पाएको उहाँले बताउनुभयो । गस्ती प्रभावकारी बनाउन स्थानीयले प्रहरी र वडा कार्यालयको समन्वयमा काम अगाडि बढाएको बजगाईंले बताउनुभयो ।
गस्तीलाई निरन्तरता दिने सोच बनाइएको बताउनुहँुदै उहाँले बस्तीको सुरक्षा आफैँ गर्न यस्तो अभियान शुरु गरिएको जानकारी दिनुभयो । गस्तीका क्रममा हुन सक्ने आपराधिक कार्य नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । टोलका युवासँग समन्वय गरस् राति दैनिक १० बजेदेखि बिहानसम्म समूह बनाएर गाउँको गस्ती कार्य शुरु गर्ने गरिआएका छन् ।
गस्तीमा क्रममा टोलमा रातिपख हिँडडुल गर्ने शङ्कास्पद लागेकालाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै मदिरा सेवन गरी टोलमा होहल्ला गर्नेलाई पनि सम्झाइबुझाइ त्यस्तो नगर्न परामर्शसमेत दिँदै आएको जवेगुले बतानुभयो । विकास मार्ग टोलमा करीब १०० घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनहुँजसो घरायसी समान चोरी हुँदै आएको थियो ।
Categorized in
‘जङ्कफुड’मा प्रतिबन्ध
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार
बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् ।
सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिनुभयो । शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् ।
“विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामी एकमत भएका हाँै ।” वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीयवासी बताउँछन् ।
विभिन्न परियोजनाले अग्र्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताउनुभयो । बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ । उहाँका अनुसार यो अभियानलाई सबैतिर लागू गरिनेछ ।
हरेक बारमा फरक खाजा
जङ्कफुडको विकल्पसहित बारअनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ । निर्णयानुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मङ्गलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमुल खाजाका रुपमा प्रयोग गर्नुपर्नेछ ।
गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो । किरातीले भन्नुभयो, “कुन क्षेत्रमा कुन समयमा आत्मनिर्भर बन्न सक्छौँ, सोहीअनुसार बाह्य आयतलाई हामी रोक्दै जान्छौँ ।” सोही गाउँपालिकाभित्र काम गर्ने गैरसरकारी संस्था जिफाउण्डेशनसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना निर्माण गरी समृद्ध गाउँपालिका निर्माणको अभियानलाई अगाडि बढाउने योजना बनाएको बताइन्छ ।
जिल्लाको निकै दुर्गम मानिने उक्त गाउँपालिकामा साविक तीन गाविस मिलाएर पाँच वडा कायम गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले समेत छोएको सो गाउँपालिका कृषिसँगै पर्यटनमा समेत उत्तिकै सम्भावना बोकेको छ । त्यस क्षेत्रमा विशेषगरी अलैँची, किबी, चिराइतोलगायतको खेती गर्न सकिन्छ भने यसैलाई जोडेर पर्यटन प्रवद्र्धनको सम्भावना भएको पर्यटन व्यवसायी लिकराम कुलुङले बताउनुभयो । “यस गाउँपालिकाभित्र पाँचपोखरी, साल्पापोखरीलगायतका धार्मिक मान्यतासहितको तालतलैयासहित हिमालसमेत छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाभित्रको हिमाल, ताल, जडीबुटी र कृषिलाई व्यवस्थित बनाउने हो भने अरु केही गर्नुपर्दैन ।”
Categorized in
Pages