वडावासीलाई निःशुल्क रगत
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् । वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
उक्त सहमतिमा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदीश्वर पण्डित र वडा नं ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार रेडक्रसले वडा नं ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ ।
निःशुल्क रगत उपलब्ध गराएवापत वडाले प्रतिप्रिन्ट रु ८५० का दरले रेडक्रसलाई रकम उपलब्ध गराउनेछ । “रगत मानवतासँग जोडिएको विषय हो, वडावासी कसैले रगत अभाव भएर ज्यान गुमाउनु नपरोस् भन्ने हो”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “थारू समुदायलाई लाग्ने सिकलसेल ठूलो समस्या हो, यसका लागि पनि रगत चाहिन्छ । यसबाहेक सुत्केरी महिला, रक्तअल्पतालगायत अन्य रोगबाट ग्रसित बिरामीलाई रगत अभाव हुन नदिन यो कार्यक्रम ल्याएको हौँ ।”
रक्तसञ्चार केन्द्र टीकापुरले वर्षेनी एक हजार ४०० प्रिन्ट रगत आपूर्ति गर्ने गरेको छ ।
गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण
कैलालीको टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरी महिलालाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो । नगरपालिकाले १ नं वडाका १०० र अन्य वडाका ३०० गरी ४०० गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो । गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताउनुभयो । “गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ, आमाका लागि शान्त, सहज वातावरण पनि चाहिन्छ ।”
उपप्रमुख विष्टले भन्नुभयो, “यस वर्ष पोषण सामग्री वितरण ग¥यौँ, अर्को वर्ष आमासँग उपमेयर कार्यक्रम सञ्चालन हुनेछ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसँगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्कीजस्ता ज्ञानसमेत दिइएको बताउनुभयो । उहाँले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताउनुभयो । त्यसैगरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिकाले सुत्केरीका लागि आवश्यक रगत पनि निःशुल्क पाइने व्यवस्था मिलाएको छ ।
गर्भवती रश्मीला शाहले पोषणसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराबारे सचेत भएको बताउनुभयो । “हामीले खाना खाने तरिका नै गलत रहेछ”, शाहले भन्नुभयो, “हामी त सुत्केरी भएपछि टन्न खानुपर्छ सोच्थ्यौँ, गर्भावस्थादेखि नै ख्याल गर्नुपर्ने रहेछ ।”
Categorized in
दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
विकट गाउँका टोलटोलमा सौर्यबत्ती
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।
लोडसेडिङको बेला पनि गाउँमा पैदलयात्रा गर्नेलाई सहज र चोरी÷डकैतीका घटना नहोऊन् भन्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडकबत्ती जडान गरिएको उहाँले बताउनुभयो । सौर्यबत्ती जडान भएपछि लोडसेडिङको बेला पनि उज्यालो हुने भएको छ ।
साविक लुङ्खुदेउरालीका झण्डै एक दर्जन स्थानमा सडक बत्ती विस्तार गरिएको हो । एउटा बत्तीले ५० मिटर वरपर उज्यालो दिने बताइएको छ । लुङ्खुदेउरालीको एकपाटेमा रहेको वडा कार्यालय परिसर, स्वास्थ्यचौकी, महेन्द्रज्योति मावि, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल महाशिला, मिलनचोक–देउराली पदमार्गको प्रतीक्षालयलगायतका स्थानमा बत्ती विस्तार गरिएको उच्चैले बताउनुभयो ।
गाउँपालिकाको झण्डै रु पाँच लाखको लागतमा बत्ती जडान गरेपछि स्थानीयवासीलाई सहज भएको छ । पछिल्लो समय धार्मिक एवं पर्यटकीय हिसाबले पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएका बेला सडकबत्ती जडान गरेपछि अझै सहज हुने भएको छ ।
एशियाकै ठूलो महाशिला, धुँवाकोट, चिसापानी, विभिन्न गुफा तथा गुम्बा र स्थानीय समुदायको संस्कृति यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षणका रूपमा रहेका छन् । यसअघि पर्वतको सदरमुकाम कुश्मा, दोस्रो व्यापारिक केन्द्र डिमुवा, वारीबेनीलगायतका बजारक्षेत्रमा पनि सौर्यबत्ती जडान गरिएको थियो । सौर्यबत्ती जडानपछि चोरी डकैतीलगायत गैरकानूनी क्रियाकलापमा कमी आएको प्रहरीले जनाएको छ ।
Categorized in
कम वर्षा कम रोपाइँ
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ ।
धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष करीब एक हजार खेतीयोग्य जमीनमा कृषकले अन्य बाली लगाएको कार्यालयको भनाइ छ । बढ्दो वैदेशिक रोजगारीसँगै शहरकेन्द्रित बसाइँसराइ र अलैँचीलगायतका विभिन्न बालीतर्फ किसान आकर्षित भएका कारण खेतीयोग्य जमीन घट्दै गएको प्राविधिक भट्टराईको भनाइ छ । केही वर्षयता कृषक परम्परागत धान बालीको सट्टा बढी प्रतिफल दिने अलैँची, रुद्राक्ष, सुन्तलालगायतका बाली लगाउनेतर्फ आकर्षित हुन थालेका छन् ।
गत वर्ष भोजपुरमा ३२ हजार मेट्रिकटन धान उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको ७०० हेक्टरमा हिउँदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउँमा वर्षे धान हुने गर्दछ । असार बित्न लागे पनि निरन्तर वर्षा नभएकाले गत वर्षको तुलनामा यो वर्ष कम मात्र रोपाइँ भएको कार्यालयको भनाइ छ । वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेती कम हुनसक्ने कार्यालयले जनाएको छ ।
लमजुङमा १३ प्रतिशत रोपाइँ
लमजुङ– पहाडी जिल्ला लमजुङमा पर्याप्त पानी नहुँदा १३ प्रतिशत मात्रै रोपाइँ भएको छ । खोलाको किनार र केही सिँचाइ भएको भेगबाहेक अन्य स्थानमा रोपाइँ हुन नसक्दा १३ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
गत वर्ष यस अवधिमा करीब ३० प्रतिशत धान रोपाइँ भइसकेको भए पनि यस वर्ष समयमा पर्याप्त पानी नभएको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । बेँसीशहर नगरपालिका–२ की किसान पार्वती खत्रीले भन्नुभयो, “गत वर्ष खहरेफाँटमा असारको १२ गतेभित्रै सबै रोपाइँ सकिन्थ्यो, तर अहिले असार सकिन लाग्दासमेत पानी राम्रोसँग नभएकाले रोपाइँ सकिएको छैन ।” यस फाँटमा गाउँका सबैको गरेर करीब ५०० रोपनीमा धानखेती गरिन्छ । अहिलेसम्म १० प्रतिशत मात्रै रोपाइँ भएको उहाँको भनाइ छ । सोही वडाका किसान नारायण खड्काले भन्नुभयो, “हाम्रो यो कटरेफाँटमा पानीको अभावमा रोपाइँ राम्रोसँग गर्न सकिएको छैन ।” खहरेखोलाबाट कुलो बनाएर पानी ल्याइएको र पानीको कुलो कहिले बिग्रिने कहिले पानी कम हुने हुँदा रोपाइँ ढिलो मात्रै भएन समस्यासमेत भएको उहाँको भनाइ छ । उहाँहरुको जस्तै जिल्लाका अधिकांश किसानको समस्या र भनाइ उस्तै छ ।
केही–केही भागमा जेठको अन्तिमबाट रोपाइँ शुरु गरे पनि अधिकांश भागमा रोपाइँ हुननसकेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले भन्नुभयो । उहाँले भन्नुभयो, “समयमा पानी नपर्दा गत वर्षको तुलनामा धानसमेत घट्ने सम्भावना छ ।”
यहाँका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले सुख्या २, सावित्री, लोकतन्त्रलगायतका उन्नतजातको धानका बीउ किसानले लगाउँदै आएको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार किसानहरूले लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउँदै आएका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर खेतीयोग्य जमीन रहे पनि १५ हजार हेक्टर क्षेक्रफलमा मात्रै धानखेती हुँदै आएको छ । रामधान, लोकतन्त्र, सुक्खा २ जिल्लाका किसानले बढी लगाउने गरेका छन् ।
जिल्लाका ठूला फाँटका रूपमा रहेका अलैंचेफाँट, अल्काटार, साइलीटार धमिलीकुवा, भलाखर्क, राइनासटार, रामचोकबेँसी, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सत्रसयफाँटलगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ । गत वर्ष जिल्लामा १४ हजार ४९१ हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४० हजार ५०० मेट्रिकटन धान उत्पादन भएको थियो ।
खेत बाँझै
डोटी– जिल्लाको दिपायल, पिपल्ला तथा आसपासका क्षेत्रमा लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा किसानका खेतहरु बाँझै छन् । अहिलेसम्म पनि रोपाइँ नहुँदा यो वर्ष धान उत्पादनमा कमी हुने तथा किसानलाई भोकमरी हुने चिन्ता बढेको छ ।
पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ त परै जाओस् धानको बीउसमेत राख्न नसकिएको दिपायलका स्थानीयवासी कलक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “असार सकिन लागिसक्यो, हामीले पानी नहुँदा बीउसमेत राख्न पाएका छैनौँ, कहिले पानी आउला र बीउ राखेर धान रोपौँला ।” जिल्लाका ग्रामीण क्षेत्रमा रोपिएको धान तथा लगाइएको मकैबाली लामो खडेरीका कारण सुकेका छन् । बाली सुक्न थालेपछि किसान निरास छन् ।
असारको २३ गतेसम्म जिल्लामा जम्मा ३० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कम्तीमा पनि ५० प्रतिशत रोपाइँ सकिनुपर्ने हो तर पानी नपर्दा रोपाइँ हुन सकेन, उत्पादन कमी हुने निश्चित छ ।” शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आर्दश गाउँपालिकालगायतका विभिन्न स्थानीय तहका अधिकांश वडाका खेतमा रोपाइँ हुन नसक्दा धेरै खेत बाँझै रहेको छ ।
कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि पानी नहुँदा मर्न थालेको तथा केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेको शिखर नगरपालिका–१ का स्थानीयवासी लोकबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको पानीको भरमा धानको बीउसम्म राख्न सकेका छौँ तर रोपाइँ कसरी गर्ने चिन्तामा परेका छौँ ।”
कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुटरूपमा जिल्लामा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । दिपायल सिलगढी नगर गाउँपालिका–४ गैराका ४५ वर्षीय वीरभान कामीले कुुलोमा पानी नआउँदा बीउसमेत राख्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले भन्नयो, “केहीले पानी आउला र बीउ राखौँला भनेर बसेका छौँ, पानी नपरे बीउ नराखेरै खेत बाँझै पर्ने भए ।’’ उहाँले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यसपटक धान उत्पादन राम्रो नहुने निश्चित भएको बताउनुभयो । त्यसैगरी जिल्लाकै अर्को शिखर नगरपालिका–१ सेरीका ४१ वर्षीय कमल ऐरले जसोतसो बीउ राखे पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसोतसो धानको बीउ त राखेका छौँ, पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौँ, उम्रिएको बीउ फुल्न थालिसक्यो पानी पर्ने छाँटकाँट छैन ।”
जिल्लाका अन्य स्थानीय तहहरु बडीकेदार, बोगटान, जोरायल, सायल, पूर्वीचौकी, आर्दश, केआईसिंहलगायतका गाउँपालिकामा रोपाइँ भए पनि पानी नपर्दा रोपो सुक्दै जान थालेको स्थानीयवासी बताउँछन् । सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी जमीनमा सिँचाइ कुलो नहुँदा आकाशे खेतीको भरमा रोपाइँ गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार डोटीमा कूल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिकटन धान फलेको थियो । अघिल्लो वर्ष जिल्लामा २।१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो ।
Categorized in
खुलामञ्चमा हिलो र धुलोले यात्रुलाई सास्ती
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार
राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।
पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।
खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ । खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ । बसपार्कमा बनेको पानीको पोखरीले बस चढ्न जानसमेत मुस्किल हुने गरेको यात्रु रामसिंह विश्वकर्माले गुनासो गर्नुभयो ।
बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडकमा आई राष्ट्रियसभा गृहअघिसम्म धुलो उड्ने गरेको छ । यो मार्गमा हिँड्ने याात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अवस्था छ । मास्क नबोक्ने यात्रुले रुमालले मुख नाक छोपेर हिँडेको देखिन्छ । महिला यात्रुले भने सलले नाक मुख छोपेर हिँड्ने गरेका छन् ।
राजधानीको महत्वपूर्ण स्थानमा रहेको बसपार्कसमेत सरोकार भएका निकायले व्यवस्थित गर्न नसक्दा राष्ट्रिय अन्तरराष्ट्रियरुपमा राम्रो सन्देश नजाने यात्रु रमिला महर्जनको भनाइ छ । बसपार्क रहेको महानगरपालिका– २८ कार्यालयले भने पुरानो बसपार्क व्यवस्थित गर्ने काम केन्द्रीयकरण भएकाले समस्या आइरहेको जनाएको छ ।
वडाध्यक्ष भाइराम खड्गी पुरानो बसपार्कसम्बन्धी जन गुनासो धेरै आएकाले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउनुहुन्छ । “पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजान्छ, अव्यवस्थित संरचनालाई व्यवस्थित पनि गर्दैन गुनासो जति वडा कार्यालयमा आउँछ, असार २९ गते बस्ने नगरसभा बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउँछु”, उहाँले भन्नुभयो ।
पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ । यहाँ ढलसमेत व्यवस्थित नगरिएकाले कहिले त ढलको कुलो नै बग्ने गरेको छ । बसपार्क अव्यवस्थित हुँदा दृष्टिविहीन, अपाङ्गता लगायतलाई समस्या हुने गरेको छ । वीर अस्पतालअघिबाट निजी सवारी साधन सडक झैँ गरी पुरानो बसपार्कमा छिर्न दिँदा पनि यहाँ यात्रुले असुरक्षित अनुभव गर्ने गरेका छन् ।
बसपार्कमा बाहिर जाने आउने बस कुर्ने हो तर यहाँ सडक झैँ गरी निजी सवारी तछाडमछाड गरेर दौडिन्छन् । यसलाई व्यवस्थित ट्र««ाफिक प्रहरीले पनि चासो देखाएको छैन । भ्यू टावर निर्माण कछुवा गतिमा रहेकाले पनि पुरानो बसपार्कको समस्या छिट्टै समाधान हुन नसक्ने वडा कार्यालयले जनाएको छ । भ्यू टावर निर्माणसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाले पनि काम हुने नहुने निश्चित छैन । यसैले गर्दा खुलामञ्चमा अस्थायी भनी सञ्चालनमा रहेको बसपार्क व्यवस्थित गरिनुपर्ने वडाध्यक्ष खड्गी बताउनुहुन्छ ।
Categorized in
कोदो रोप्न थाले उत्तरी रसुवाका किसान
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार
तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्कोतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइ क्षेत्रमा शनिबारबाट कोदोरोपण शुरू भएको किसानले बताएका छन् । उत्तरी रसुवाको गोल्जुङ, चिलिमे तथा थुमनको बेँसी क्षेत्रमा छोमरूङ जातको धान न्यून रूपले उत्पादन हुने गरेको र चिसोपानीमा उत्पादन भएको रातो धानको चामलबाट पकाएको भात स्वादिलो हुने भएबाट स्थानीयवासीले आफ्नो खेतको उब्जाएको धानलाई चाडपर्वमा मात्र अधिकतम उपयोग गर्ने गरेको गोल्जुङका मिलन तामाङले जानकारी दिनुभयो ।
यसैगरी दक्षिणी रसुवाको धैवुङ, भोर्ले लहरेपौवा, डाँडागाँउ, ठूलोगाउँ, सरमथली र यार्साको प्राय स्थानमा धान उत्पादन हुने गरेको छ । निरन्तर वर्षा भर्खरै मात्र शुरू भएकाले अब धान रोपाइँका लागि पानीको मूल कतिखेर फुट्छ भन्ने पर्खाइमा रहेको किसानको भनाइ छ ।
पहिरेबेँसी, कैदलटार, वेत्रावती, कुडुले, सत्तरी, जलजले, लामासोती, कप्तलीटारका ठाउँमा समथर भू–भाग भए पनि अन्य स्थानका अधिकांश खेत भिरालो धरातलमा भएकाले पर्याप्त पानीको मात्रा नपुग्ने र उत्पादनसमेत कम हुने भएकाले रसुवा जिल्लाले झण्डै आधाजसो खाद्यान्नमा परनिर्भर हुुनुपर्ने बाध्यता रहेको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार रसुवा जिल्लामा अक्सर बसोबास गर्नेको सङ्ख्या ४३ हजार रहेको छ ।
दक्षिणी रसुवाको पहिरेबेँसीमा भुन्टे, कुडुलेफाँटको खुमलचार धानको चामल स्वादिष्ट मानिने भए पनि खेती गर्ने किसानको मेहनत अत्यन्तै कमी हुँदै गएको स्थानीयवासीको भनाइ छ । रसुवा जिल्ला राजधानी काठमाडौँबाट नजिक नेपाल–चीन जोड्ने रसुवागढी नाका भएको र व्यापारी व्यवसायीको चहलपहलले खाद्यान्न बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । रसुवाको खेतीयोग्य जमीन भने १२ हजार हेक्टर रहेको कृषि तथ्याङ्कले देखाएको छ ।
–
Categorized in
कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार
काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो ।
उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारण आवतजावतमा प्रभावित भएका कारण एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले बालुवा निकालेको स्थानका रूपमा लखः तीर्थलाई स्थानीयवासीले पवित्रस्थलका रूपमा लिन्छन् ।
Categorized in
दिवा खाजा कार्यक्रम बन्द भएपछि बालबालिका प्रभावित
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार
दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत पाँच वर्षीया सरिताकुमारी रामको दैनिकी विद्यालयको पढाइमा नै बित्ने गर्दथ्यो ।
पर्साको छिपहरमाई गाउँपालिका¬–५ भीस्वास्थित जयमङ्गल माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई दिवा खाज कार्यक्रम बन्द भएपछि ठूलो असर परेको छ । उनी मात्र होइन, यो कार्यक्रम बन्द भएपछि विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकामा ठूलो असर परेको हो । विद्यालय जान प्रोत्साहनका लागि दिइने ‘दिवा खाजा’ कार्यक्रम यही असार १५ बाट अचानक रोकिदिएपछि सो विद्यालयका ३६० बालबालिका प्रभावित भएका छन् ।
सङ्घीय सरकारले पर्सामा चालू आर्थिक वर्ष ९२०७५÷०७६० देखि स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ५ सम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम लागू भएपछि जिल्लामा विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । तर सो गाउँपालिकाले अचानक यो कार्यक्रम बन्द गर्न निर्देशन दिएपछि हाल सो विद्यालयका बालबालिका प्रभावित भएका हुन् ।
विशेषगरी विद्यालय बाहिर रहेका बालबालिकालाई आकर्षित गर्न सरकारले लागू गरेको यो कार्यक्रमबाट विद्यालयप्रति बालबालिकाको आकर्षण बढ्दै गएको थियो । तर गाउँपालिकाले उक्त कार्यक्रम बन्द गरेपछि बालबालिका निरास भएको सो विद्यालयका खाजा संयोजक पुनीलाल साहले बताउनुभयो ।
गाउँपालिकाले शुरुमा फागुन र वैशाख महीना गरी दुई किस्ता रकम निकासा गरे पनि असार १५ बाट सो कार्यक्रम स्थगन गर्ने निर्देशन दिएको स्वीकार्दै सो विद्यालयका प्रधानाध्यापक शिवशङ्कर सिंहले राससलाई भन्नुभयो, “खाजा व्यवस्थापन समिति पारदर्शी नदेखिएको र रकममा हिनामिना भएको तथ्य फेला परेपछि गाउँपालिकाले सो कार्यक्रम रोकेको हो । उहाँले अहिलेसम्म सो कार्यक्रमको नाउँमा रु चार लाख निकासा भएको बताउनुभयो ।
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार साह कानुले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको बताउनुभयो तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश साहले गाउँपालिकाले बाँकी किस्ताको रकम निकासा नगरेकाले यो कार्यक्रम बन्द गरिएको स्पष्ट पार्नुभयो ।
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका ९० विद्यालय, पोखरीया नगरपालिकाका २४, सखुवाप्रसौनी गाउँपालिकाका २९, जिराभवानी गाउँपालिकाका २३, पटेर्वासुगौली गाउँपालिकाको २४, जगरनाथपुर गाउँपालिकाको ३० र पर्सागढी नगरपालिकाको ३० विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको छ ।
यसैगरी ठोरी गाउँपालिकाको २१, छिपहरमाई गाउँपालिकाको ११ र पकहामैनपुर गाउँपालिकाको छ वटा विद्यालयमा पनि सो कार्यक्रम लागू भएको छ । बहुदरमाई गाउँपालिका तथा विन्दवासिनी, धोवनी र कालिकामाई गाउँपालिकामा हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नहँुदा सो दुई वटा विद्यालयमा उक्त कार्यक्रम लागू हुन नसकेको सम्बन्धित गाउँपालिकाले बताएका छन् ।
अधिकांश विद्यालयमा खाजा कार्यक्रमको रकममा हिनामिना भएको, बालबालिकालाई गुणस्तरहीन खाजा दिने गरेको र बालबालिकाको खाजामा शिक्षकको रजाइँ हुने गरेका कारण कतिपय स्थानीय तहका जनप्रतिनिधि सो कार्यक्रमप्रति असन्तुष्ट देखिएका छन् ।
सरकारले विद्यालयगत तथ्याङ्कका आधारमा प्रति विद्यार्थी दैनिक रु १५ का दरले विद्यालय सञ्चालन रहेका दिन गणना गरी बढीमा १८० दिनसम्मको रकम पर्साका सबै स्थानीय तहलाई उपलब्ध गराइसकेको छ । तर कतिपय स्थानीय तहले सो कार्यक्रम सञ्चालन नै गर्न नसकेकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेको छ भने कतिपयले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
सरकारले वीरगञ्ज महानगरपालिका बाहेक सबै स्थानीय तहमा विद्यार्थीको सङ्ख्याको आधारमा १८० दिनको एकमुष्ठ रु एक करोडदेखि डेढ करोडसम्म पठाइसकिएको भए पनि सो रकममा जनप्रतिनिधिको गिद्धे दृष्टि परेकाले अधिकांश विद्यालयमा यो कार्यक्रम हालसम्म कार्यान्वयनमा आउन सकेको नसकेको अभिवावक शेषमन पडितको गुनासो छ ।
सरकारले स्थानीय तहमा पठाएको रकम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा गठित खाजा व्यवस्थापन समितिले गुणस्तरहीन तथा सस्तो खाजा दिएर सो रकममा व्यापक हिनामिनासमेत गरेको बताइएको छ ।
सरकारले सशर्त अनुदानअन्तर्गत स्थानीय तहमा पठाएको दिवा खाजा कार्यक्रमको रकममा कर्मचारी, जनप्रतिनिधि र विद्यालय शिक्षकबीच कमिसनको कुरा नमिल्दा कतिपय विद्यालयमा यो कार्यक्रम लागू हुन नसकेको देखिन्छ । छिपहरमाई गाउँपालिकाले सो कार्यक्रम बन्द गरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । सो विद्यालय असार २९ देखि एक महीनाका लागि गर्मी बिदा दिने भएकाले सो रकममा व्यापक हिनामिना हुने अनुमान स्थानीवासीको छ ।
“विद्यालयमा खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेका थिए”, शिक्षकहरु भन्छन्, “यो कार्यक्रमको सकारात्मक प्रभाव परेको देखिन्छ, अहिले दिवा खाजाको कार्यक्रम रोक्दा यहाँ ठूलो असर पुगेको छ ।” खाजा कार्यक्रमले बीचमा विद्यालय छाड्ने समस्या कम हुँदै गएको दाबी उनीहरुको छ । पर्सा जिल्लामा ३५७ विद्यालय छन् ।
Categorized in
साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार
६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् ।
जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष बित्न नपाउँदै उपभोग गर्न नमिल्ने खानेपानी आयोजना बनिरहेको बताउँदै अध्यक्ष रानाले भन्नुभयो, “कुवा निर्माण गरेको ६० वर्षको समय पार गरे पनि उपभोक्ताले उपभोग गरिरहेको जिल्लाकै एक मात्र आयोजना होला भन्ने मलाई लागिरहेको छ ।”
तत्कालीन अञ्चलाधीशको पहलमा विसं २०१६ मा उक्त कुवा निर्माण भएको बताउँदै ७० वर्षीय डोइलीवीर रानाले भन्नुभयो, “उक्त कुवामा प्रयोग भएको सिमेन्ट, इँटा, बालुवालगायतका सामग्री ढुवानी गर्नलाई मैदे गाउँवासीले श्रमदान गर्नुपरेको थियो, त्यतिबेला सिमेन्ट यहाँ पाइँदैन्थ्यो, नुन लिन नेपालगञ्ज जाँदा नुनसँगै प्रतिव्यक्तिले चार÷चार माना सिमेन्ट, रावतगाउँमा बनेको इँटा र पिपेबाट बालुवा ढुवानी गरेका थियौँ ।”
कुवा निर्माण गर्दा इँटाको पर्खामा चुन, इँटाको धुलो र सिमेन्टको प्रयोग गरिएको रानाले बताउनुभयो । विसं २०१६ मा निर्माण गरिएको कुवालाई २०४४ तिर युनिसेफको आर्थिक सहयोगमा सिमेन्ट प्लाष्टर गरिएको थियो ।
हालसम्म कुवाको पानी उपभोग गर्ने मैदेगाउँका ६२ घरधुरी सङ्ख्या रहेको नैनबहादुर रानाले जानकारी दिनुभयो । पानीको स्रोत निकै कम रहेको भए तापनि कुवाको पानी खानुको विकल्प नभएको नैनबहादुरको भनाइ छ । एडिबीको आर्थिक सहयोगमा ड्रिल्पीमार्फत विसं २०६७÷६८ मा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि मैदेवासी कुवाको पानी पिउन बाध्य भएका छौँ, नैनबहादुरले भन्नुभयो ।
६० वर्ष पहिलेदेखि मैदेवासीले पिउँदै आएको कुवाको पानीको स्रोतलाई घट्न नदिन मुहान वरिपरि वृक्षरोपण गर्नुपर्ने, कुवालाई संरक्षण गर्न घेरबार, त्यसको पुनःनिर्माणमा जोड दिनुपर्ने मैदेवासीले माग राख्दै आएका छन् ।
Categorized in
डिपबोरिङ सञ्चालनमा आउन सकेन
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार
मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।
सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुु¥याई उत्पादन वृद्धि हुने थियो । राष्ट्रिय प्रसारण लाइन पुुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ ।
नेपाल विद्युुत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पुु¥याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुुपर्ने हुन्छ ।
आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताउनुभयो । बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ ।
Categorized in
Pages