STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

छ बस्ती पहिरो जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो । पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् । चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । स्थानीयवासीका गाई तथा चौँरी गोठ पहिरोले बगाएको छ । यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिनुभयो । पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । उहाँका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् । “हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ”, योङहाङले भन्नुभयो “निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।” गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताउनुभयो । उहाँले पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयवासीको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उहाँले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौँ स्थानीयवासी घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन् । घटनास्थलतर्फ गएको प्रहरी टोली घटनास्थलबाट फर्किएपछि वास्तविक अवस्था पत्ता लाग्ने पौडेलले जानकारी दिनुभयो ।
Categorized in

सौर्यबत्ती वितरण अभियान

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ । निस्दी ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी २ सहलकोटमा पनि वितरण गरेको छ । सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका सौर्यबत्ती प्रदान गरिएको स्थानीयवासी गगनसिं दर्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नम्बर ५ सरकारको ९० प्रतिशत अनुदानमा सौर्यबत्ती प्रदान गरिएको हो । प्रदेश नम्बर ५ सरकारले निस्दी गाउँपालिका पाल्पा जिल्लाको विकट भेक भएको र तत्कालै विद्युत् सेवा विस्तारका निम्ति समस्या भएकाले हाल सौर्यबत्ती प्रदान गरिएको प्रदेशसभा सदस्य युवराज खनालले जानकारी दिनुभयो । निस्दीका केही स्थानमा सामुदायिक विद्युतीकरणको काम पनि हुँदै गरेको जानकारी दिँदै उहाँले त्यस क्षेत्रका नागरिक न्यून आयस्तरका भएकाले सौर्यबत्तीको माग समेत बढेको बताउनुभयो । निस्दी २, ६ , ७ लगायत क्षेत्रमा सौर्यबत्ती वितरण कार्यक्रम रहेको उहाँको भनाइ थियो । निस्दीकै केही भेकमा खम्बामार्फत बालिने सौर्यबत्तीसमेत प्रदान गर्ने योजना रहेको प्रदेशसभा सदस्य खनालले बताउनुभयो ।
Categorized in

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् । आकाशे पानीको भर परेका सुर्खेतका किसान रोपाइँका लागि ब्याड राख्ने तयारीमा जुटेका छन् । सुर्खेत कर्णाली प्रदेशमै बढी धान उत्पादन हुने जिल्ला हो । यहाँ ५४ हजार १५२ मेट्रिकटन धान उत्पादन हुने तथ्याङ्क छ । कर्णालीमा सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको छ । हिमाली क्षेत्र भएकाले जुम्लामा चैतबाटै धान रोप्न शुरु हुन्छ । अन्य जिल्लामा रोपाइँ अझै शुरु हुनसकेको छैन । कृषि निर्देशनालयका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले बीउ राख्न पाएका छैनन् । खोलाका आसपास र सिचाइँ हुने जमीनमा मात्र रोपाइँ सम्पन्न भएका हुन् । कृषि निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख टेकबहादुर शाहीले केही उच्च पहाडी जिल्लाको तुलनामा सुर्खेतमा ढिला गरी वर्षा शुरु भएको बताउनुभयो । “आकाशे पानीको भर पर्ने किसानले अब ब्याड राख्न शुरु गर्दैछन्”, उहाँले भन्नुभयो, “गत वर्ष जेठ दोस्रो साता नै खेत जोतिसकेका थिए, यही समयमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।” यस वर्ष ढिला रोपाइँ शुरु हुँदा उत्पादनमा ह्रास आउन सक्ने उहाँको अनुमान छ । कर्णाली प्रदेशमा सिँचाइयोग्य ६८ हजार ३३५ हेक्टरमध्ये २६ प्रतिशत मात्र खेतीयोग्य जमीन छ । खडेरीका कारण कर्णालीका सात प्रतिशत किसानले मात्र बीउ राख्न पाएको निर्देशनालयले जनाएको छ ।
Categorized in

सडक मर्मत नभएको कारण स्थानीय आक्रोशित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

थली–साँखु सडकखण्डमा पीच नगरेको कारण स्थानीय बासिन्दाले विरोध गरि सडक अवरुद्ध गरेका छन् । संघर्ष समितिले कागेश्वरी मनोहरा नगरपालिकां सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दाले आइतवार पनि सडक अवरुद्ध गरेको हो । आज भन्दा अगाडिको दिनमा जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिका दुबै तत्काल सडकमा भएको हिलो हटाएर सरसफाई गरेर एकहफ्ता भित्र सडक गे्रडिङ गरि आवतजावत सहज गर्न र छिटोभन्दा छिटो सडक निर्माणको नितिं सडक बोर्डमा पहल गरेर सहमति भएको हो । तीन बुँदे सहमति पछि स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएको थियो । तर, अहिलेसम्म पनि सहमति अनुसार काम भएको छैन । सलम्बुटार, इन्द्रायणी, नयाँपाटी, डाँछी, थली संगैैको सडकमा ठुल ठुला खाल्डो भएको छ । पानी परेपछि सडकमा हिड्न लाई एकदम समस्या भइरहेको छ । दिनदिनै आवजावत गर्ने गाडि चालक र हिड्ने यात्रीलाई स्थानीय सरकार बाट सडक मर्मत हुन नसकेकोले गर्दा यात्रुहरुले एकदमै सास्ती भोग्नु परिहेको छ । सडक निर्माण भएको चार वर्ष भइसक्दा पनि सडक निर्माणको काम पुरा नभएको कारणले गर्दा पनि स्थानीय बासिन्दा आक्रोशित भएको हो । ११ किलोमिटरभन्दा लामो सडकखण्ड निर्माणको लागि पाचँ ठेकेदार कम्पनीले जिम्मा लिएको हो । तर पनि सडक निर्माण काममा केहि पनि उपलब्दि भइरहेको छैन ।
Categorized in

स्वास्थ्य शिविरमा चार सय लाभान्वित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० बढीले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित गरी शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् । शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक संस्थाका विभागीय प्रमुख भोजराज फुयाँलले जानकारी दिनुभयो । उक्त शिविर दृष्टि आँखा अस्पताल र अञ्जली हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच र भिडियो एक्स–रे गरिनुका साथै औषधि साथै चस्मा निःशुल्क वितरण गरिएको बताइएको छ । ग्रामीण क्षेत्रमा रहेका पिछडिएका र निम्न आयस्तर भएकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारका शिविर सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख देवेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
Categorized in

घरघरमा बाहुनधाराको खानेपानी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ७, शनिबार

खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताउनुभयो । “सिँचाइको त कुरै छाडौँ खानेपानीसमेत नहुँदा दैनिकी कष्टकर बनेको थियो”, उहाँले भन्नुभयो, “अहिले योजना सम्पन्न भई गाउँमै खानेपानी पुगेपछि घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।” वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख र गत आवमा रु सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब रु दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताउनुभयो । चौवन्नमध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक रु दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
Categorized in

राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ६, शुक्रबार

कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महीनाको शुरुमा मनाइने ‘सिरुवा और’ ले पर्वको समाप्त भन्ने बुझिन्छ । राजवंशी समुदायले असार महीनाको प्रत्येक बिहीबार यो पर्व मनाउने गर्दछन् । यो पर्व मनाउने क्रममा राजवंशी समुदायका श्रद्धालुले स्थानीय भाषामा ‘बिर्ना झुटी’ भनिने एक प्रकारको घाँसलाई देउताको रूपमा स्थापना गरेर पूजापाठ गर्ने गर्दछन् । बिर्ना झुटीलाई मध्यभागमा राखेर श्रद्धालुहरु वरिपरि बस्छन् र शङ्खनाद गर्दै बिर्ना झुटीलाई पूजा गरिन्छ । पूजाका लागि यस मौसममा उत्पादन हुने फलफूल आँप, लिची, अठिया केरा, काँक्रा र राजवंशी भाषाको डोहा ९वडहर० फल तथा उसिना चामल, दूध, दही आदि सामग्री प्रसादको रुपमा चढाई पूजा गरिन्छ । पूजापश्चात प्रसादको रुपमा खीर, फलफूल वितरण गरिन्छ । यो पर्व लोक कथनसँग सम्बन्धित रहेकाले पर्वसँग जोडिएको लोक कथावाचन र श्रवण गर्ने गरिन्छ । स्थानीय जानकार व्यक्तिले पर्वको शुरुआतसँग जोडिएको कथावाचन गर्ने प्रचलन छ । पूजाको क्रममा मौलिक भाकाको गीतसमेत गाउने गरिन्छ भने समापनको क्रममा पूजास्थलको मध्यभागमा स्थापना गरिएको बिर्ना झुटीलाई उचाल्ने र थेचार्ने गरिन्छ । यसरी बिर्नाको मुठालाई माथि उठाउने तल राख्ने कार्यले समुदायमा सुख, शान्ति कायम भई सुस्वास्थ्य हुने विश्वास रहेको छ । यस कार्यमा समुदायका पुरुषको सहभागिता रहने गरेको छ । परापूर्वकालदेखि कृषिलाई मूल पेशाको रूपमा अङ्गालेको यो समुदायले कृषिलाई पूजनीय बनाएकाले पूजा गर्ने गरिएको हो । यस पर्वमा गरिने पूजाले समुदायमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरी धनसम्पत्तिको अहमता त्याग्नु र आफ्नो शरीरको ध्यान दिनुपर्ने पर्वको मान्यता रहेको पूर्वराज्यमन्त्री एवं राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले बताउनुभयो । किंवदन्तीअनुसार यो पर्वले भगवान् श्रीकृष्णको समेत पूजा गरिएको सो समुदायका सरोज राजवंशीले बताउनुभयो । पूजापश्चात सुखली दुखली ९धनी र गरीब० दुई दिदीबहिनीसँग सम्बन्धित कथावाचनपश्चात बेर्नालाई सबै महिलाले माथि उठाउने र तल राख्ने प्रकिया गरी पूजा समाप्त गरिन्छ । समितिका अध्यक्ष राजवंशीले यो समुदाय भाषा, वेषभूषा र संस्कृतिमा धनी रहेको बताउँदै कसैको प्रलोभनमा नपरी आधुनिकतासँगसँगै संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष उपसादेवी राजवंशीले समुदायको भाषा संस्कृतिबाट मुलुकको समृद्धि झल्किने बताउँदै युवापुस्तालाई आ–आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । नेपालको विविधतायुक्त जातजाति र भाषाभाषीका अनगिन्ती पर्वहरु लोपको सङ्घारमा रहेको अवस्थामा राजवंशी समुदायको लोथापोथासहित अन्य समुदायका मौलिक चाडपर्वलाई संरक्षण र संवद्र्धन गर्नसके त्यसले प्रदेश र देशको सांस्कृतिक समृद्धिमा टेवा पु¥याउने छ । मोरङ जिल्लामा ५० हजार कोच राजवंशीको बसोबास छ । सो अवसरमा राजवंशी युवायुवती आफ्नो भाषाको गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।
Categorized in

कृषकलाई बोका वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक÷एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका वितरण गरिएको छ । उहाँका अनुसार बोका वितरणका लागि कार्यालयले सूचना प्रकाशित गरेको थियो । “अनुदानमा बोका वितरणका लागि प्रस्ताव आह्वान गरेका थियाँै, प्रस्ताव हाल्ने कृषकलाई बोका वितरण गरेका हाँै”, श्रेष्ठले भन्नुभयो ।
Categorized in

लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना विद्यालयमा पठनपाठन गराइरहेका छन् । लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहनुभएका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समुदायले प्रयोग गर्ने भाषा किन नहोस्, त्यो राज्यको सम्पदा हो । तसर्थ यसको संरक्षण गर्ने प्रमुख दायित्व पनि राज्यकै हो । राज्यस्तरबाट प्रभावकारी ढङ्गले संरक्षण हुन नसक्दा कतिपय भाषा हराएर जाने अवस्थामा पुगेका छन् । सरकारले लिम्बू भषालाई योग्ताको भाषा बनाउनुपर्छ ।” लिम्बू भाषालाई सरकारले योग्यताको भाषा नबनाए पनि लिम्बू भाषासेवीको पहलमा विसं २०६७ देखि कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन हुँदै आएको छ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका अनुसार हालसम्ममा २८० विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेका छन् । कक्षा ११ र १२ उतीर्ण गरेका एक विद्यार्थी दीपक नेम्वाङ भन्नुहुन्छ, “आफ्नो भाषा र लिपिलाई जोगाउन भाषा अति आश्यक छ । आफ्नो मातृभाषा र लिपिलाई प्राथमिता दिनुपर्छ भनेर भाषा अध्ययन गरिरहेको छु ।” लिम्बू भाषा पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको सत्यहाङ्मा मावि, कुम्मायक गाउँपालिकाका–१ मा रहेको पृथ्वी मावि र इलामको लारुम्बा–२ मा रहेको सरस्वती माविमा कक्षा ११ र १२ मा पठनपाठन भइरहेको छ । जिल्लाका विभिन्न विद्यालयमा कक्षा १ देखि ७ सम्मसमेत लिम्बू भाषा पठनपाठन भइरहेको छ । लिम्बू भाषा लिम्बू समुदायका लागि मात्र नभएर अन्य समुदायका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् । लिम्बू भाषामा बिद्यार्थीले राम्रो अङ्कसमेत प्राप्त गरिरहेका छन् । सत्यहाङमा माविका लिम्बू भाषा शिक्षक एसबी लिम्बू भन्नुहुन्छ, “पाँचथरमा ४१ प्रतिशतभन्दा बढी लिम्बू जातिको बसोवास रहेकाले प्रायः गरेर लिम्बू भाषा उपलब्धिमूलक रहेको छ । यसलाई वैधानिकता दिनतर्फ सरकार अगाडि बढ्नुपर्छ ।” नेपालको संविधान, २०७२ को धारा ३१ को शिक्षासम्बन्धी हकको उपधारा ५ ले नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम मातृभाषामा शिक्षा पाउने र शैक्षिक संस्था खोल्ने हक दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मातृभाषामा शिक्षा दिने विद्यालयलाई अनुमति दिने र नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई छ । फाल्गुनन्द गाउँपालिकाले भने लिम्बू भाषा पठनपाठन गराउन आठ शिक्षक नियुक्त गरेको छ । एक तामइग ९तामाङ० भाषाको शिक्षक नियुक्त गरेर पठनपाठन शुरु गरेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ८७ हजार ३०० छ भने तीन लाख ४१ हजारभन्दा बढीले लिम्बू भाषामा बोल्ने गर्दछन् ।
Categorized in

समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् ।
लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा बचत समूह खुलेको र तिनले भनेको बखत सस्तो तथा विनाधितोमा कर्जा दिन थालेपछि गरीबको गर्जो टर्न थालेको बताउनुहुन्छ ।
गाउँमा ‘कृषि बँधुवा मजदुर हरवा, चरवा, कोदर्वा न्यूनीकरण कार्यक्रम’ अन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाको आयोजनामा लागू भएको ‘कृषि बँधुवा मजदुर हरवा, चरवा, कोदर्वा न्यूनीकरण कार्यक्रम’ अन्तर्गत नै गाउँगाउँमा बचत समूह खुलेको उहाँले बताउनुभयो ।
राजा हरिसिंदेव हरवा चरवा समूहका अध्यक्ष सुनितादेवी मुखियाले संस्थाबाट विनाधितो ऋण लिएर खुद्रा व्यापार गरी आफ्नो सानो गरीब परिवारलाई पाली छोराछोरीलाई विद्यालय पठाइरहेको बताउनुभयो । उक्त संस्थामा गरीबीको रेखामुनि रहेका महिला आवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत सञ्चालित आयआर्जनका काम र क्षमता विकास तालीममा सहभागी भएपछि दलित तथा विपन्न वर्गका व्यक्तिको जीवनशैलीमा निकै परिर्वतन आएको पाइन्छ । केही वर्ष पहिलेसम्म गाउँमा नौलो मानिस आउँदा घरको ढोका थुनेर लुक्ने गाउँपालिकाका अधिकांश महिला अहिले त्यस्ता मानिससँग गाउँका समस्या लिएर निर्धक्कसँग बहस गर्न थालेका छन् ।
“कृषि बँधुवा मजदुर न्यूनीकरण कार्यक्रमले नै मेरो आनीबानीमा समेत परिर्वतन ल्याएको हो”, गाउँकै बाबाडिहबार हरवा चरवा समूहका सदस्यसमेत रहनुभएकी जामोदेवी रामले भन्नुभयो, “नत्र नौलो मानिसअगाडि उभिएर आफ्नो नाम भन्न कहाँबाट सक्नु रु कि त ढोका थुनेर लुक्थेँ कि भाग्थेँ ।”
Categorized in

Pages