STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

५२ ट्याक्सी चालक ट्याक्सी चालक कारवाहीमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १८, शनिबार

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो । वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिनुभयो । “ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारवाही अभियानलाई तीव्रता दिएको हो”, उहाँले भन्नुभयो । महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले बताउनुभयो । महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ ।महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।
Categorized in

शहरीकरण र संरक्षणको अभावमा लोप भए पँधेरा र ढुङ्गेधारा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

 धु्रवसागर शर्मा गलेश्वर, १७ फागुन ९रासस० ः ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् । बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका बेनी नगरपालिका २ विमिराबोटका नारायण शर्माले बताउनुभयो । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका बेनी नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीले बताउनुभयो । म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो । ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाहरु बताउँछन् । “उकाली ओराली गर्दा आँत हरर्र हुन्थ्यो,” बेनपा २ का ८६ वर्षीय भीमप्रसाद शर्मा ९सापकोटा० ले भन्नुभयो – “त्यतिबेला अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला र रु” अब ‘गाउँ’ गाउँ जस्तै नरहेको र गाउँको मौलिकता नै हराएर कुरुप बनेको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । “न गाउँ गाउँ जस्तो रह्यो न त शहरको सुविधा नै गाउँले पाउन सक्यो,” धौलागिरि गाउँपालिकाको ताकमका ७६ वर्षीय बुद्धिप्रसाद सुवेदीले भन्नुभयो – “सम्पदा नासिए, संस्कृति मासियो, गाउँ अधकल्चो जस्तो भयो ।” पानी पँधेरो र ढुङ्गेधाराहरुसँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको बताउने साहित्यकार सुवेदीले गाउँको सभ्यताको शुरुआत नै यस्तै सम्पदाहरुबाट भएको ठान्नुहुन्छ । दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थियो । सुवेदीले पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उल्लेख गर्नुभयो । अहिले गाउँमा पँधेरा र ढुङ्गेधाराहरु मात्र होइन ढिकी, जाँतो ,पानीघट्ट, ओखल र कोलहरु पनि लोप भइसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरुप बनाउँदै लगेपछि गाउँवासीहरुमा अपनत्व र भ्रातृत्व भावमा पनि कमी देखिँदै गएको छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाँचिदै गएपछि एकाङ्कीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यापारी जस्ता बन्दै जान थालेका स्थानीय वयोवृद्धहरु बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा हराउँदै गएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका ६ वटै स्थानीय तहमा ‘एक घर एक धारा’ निर्माण अभियान सञ्चालन भइरहेको छ । घरघरमा धारा बनाउन थालेपछि कतै कतै मात्र भेटिने पँधेराहरु पनि प्रयोगविहीन अवस्थामा पुगेका गाउँलेहरुले बताएका छन् । “पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” बगरफाँटमा ७९ वर्षीय वेदप्रसाद शर्माले भन्नुभयो – “अब ती सबै परम्पराहरु एकादेशका कथा जस्तै भैसके ।” गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरुको विनाश हुने क्रम पनि शुरु भएको अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको भनाइ रहेको छ । “गाउँघरमा सडक पु¥याउन पाए अरु केही चाहिन्न भन्ने मानसिकताले गाउँलेहरुले ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरु पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवा जस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरुको संरक्षणमा ध्यानै दिएनन्,” आचार्यले भन्नुभयो – “गुमेका सम्पदाहरु त गुमे गुमे बचेका सम्पदाहरुको संरक्षणमा स्थानीय तहहरुले नै ध्यान दिन जरुरी छ ।” म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँमा रहेका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाहरुको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुभएको छ । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेराहरुको पुनःनिर्माण गरेर सन्ततिहरुका लागि सुरक्षित राख्ने प्रयास गरेको उहाँले बताउनुभयो । बेनपा–६ का अध्यक्ष बानियाँ जस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षणका लागि चासो राख्ने र त्यस्ता सम्पदाहरुलाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र सोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदाहरु आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवन पद्धति हेर्ने आँखिझ्याल सावित हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् । ( रासस )
Categorized in

हिमपातले यातायात , हवाई सेवा ठप्प

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो ।

जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो तापेर समय बिताइरहेका छन् । हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढोकेको छ भने सल्लेरी लगाएतको क्षेत्रमा हिउँ खेल्नेहरुको चहलपहल पनि बाक्लिएको छ । बिहीबार बिहान करीब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रत्यक्षदर्शी प्रेमबहादुर बस्नेतले बताउनुभयो । सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा करीब १० इञ्चभन्दा बढी हिउँ जमेको छ । जनजीवन कष्टकर निरन्तर भएको भारी हिमपातको कारण सडक यातायातदेखि पैदलयात्री समेतलाई समस्या भएको छ । अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न नसकेको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिनुभयो । ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्ला बाहिरका लागि छुटेको जीप तथा अन्य सवारी साधन सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन् । जिल्ला भित्रने अधिकांश सवारी साधन ओखलढुङ्गाको ठाडेभन्दा यता कट्न सकेका छैनन् । सडकको विभिन्न क्षेत्रमा बस तथा जीपहरु फसेर बसेका छन् । फसेको सवारी साधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इञ्चार्ज चौधरीले बताउँनुभयो । हवाई सेवा ठप्प सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा चिनिएको सोलुखुम्बुमा आज कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुई वटा मात्रै सञ्चालनमा रहेको छ । सञ्चालित विमानस्थलमा हिउँ जम्नाका साथै मौसम प्रतिकुलताको कारण उडान तथा अवतरण हुन नसकेको हो । तस्वीर उपलब्ध छ ।
Categorized in

विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ ।

महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन ।”

वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताउनुभयो । कार्यक्रममा मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको जानकारी गराइयो । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ ।

Categorized in

गर्भपतन गराउने बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

 सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले बताउनुभयो । “मानिसमा जनचेतना हुँदाहुँदै पनि चरम लापरवाही गर्ने गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “कतिपय महिलाले त वर्षमा दुई÷तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको पाइन्छ ।” “गर्भपतन गराउन औजर प्रयोग गर्नुपर्दा रक्तस्राव हुन सक्ने, पाठेघरमा सङ्क्रमण हुन सक्ने र पाठेघरमा प्वाल पर्न गएमा मानिसको मृत्युसमेत हुन सक्छ,” सूचना अधिकारी वाग्लेले भन्नुभयो, “तैपनि महिला शल्यक्रिया गर्न नै रुचाउँछन् । एक चक्की पिल्सले गर्भनिरोध हुन्न भन्ने भ्रम अझै महिलामा रहेका कारणले पनि गर्भपतन गराउने सङ्ख्या बढेको हो ।” उहाँले भन्नुभयो, “महीनावारी भएको पाँचदेखि निरन्तर एक महीनासम्म पिल्स चक्की खानुपर्छ । पछिल्लो समय गर्भपतन गराउन आउने २० वर्षमुनिका युवतीको सङ्ख्या नगण्य मात्रामा रहेको छ,” सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । अहिले अस्पतालमा २० वर्षमाथिका विवाहित महिला नै बढी मात्रामा गर्भपतन गराउन आउने गरेका छन् । गर्भपतन गराउन आउने महिलामा पहिलो स्थानमा आदिवासी जनजाति, दोस्रो स्थानमा दलित, तेस्रो स्थानमा ब्राह्मण क्षेत्री समुदायका महिला रहेको उक्त अस्पतालको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ३०२ को गर्भपतन गरिएकामा यस आवको साउनदेखि पुस मसान्तसम्म १५९ महिलाको गर्भपतन भइसकेको छ । (रासस)

Categorized in

ललितपुरमा आकाशेपुल अभाव

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५÷२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ । सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।” एक दशकयता सडकमा सवारी साधनको सङ्ख्या बढेसँगै सडक काट्न थप गाहे भइरहेको उहाँको भनाइ छ । सवारी साधनको चाप बढिरहँदा पनि आकाशेपुल बन्न नसक्दा महर्जनजस्तै सबै महानगरवासी हैरान छन् । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा कतै पनि आकाशेपुल छैन । आकाशेपुलको अभावमा पैदलयात्रु धेरै समय कुरेर ‘जेब्राक्रसिङ’ बाट बाटो काट्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई बाटो काट्न झनै कठिन छ । झम्सिखेलका जीवराम थापामगर पनि आकाशेपुल नहुँदा बाटो काट्न पर्ने स्थानमा हिँड्नसमेत नसक्ने अवस्था रहेको बताउनुहुन्छ । पैसठ्ठी वर्षीय उहाँ चार दशकदेखि यहाँ बस्दै आउनुभएको हो । केही वर्ष पहिलेसम्म सजिलै सडक वारपार गर्न सकिए पनि अहिले कठिन भएको उहाँको भनाइ छ । आकाशेपुल ठाउँठाउँमा नहुँदा १५÷१६ वर्षका ठिटाठिटीलाई समेत एक्लै सडक पारी पठाउन नसकिएको थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आकाशेपुल नहुँदा हामी बूढापाका र केटाकेटीलाई बाटोमा हिँड्न पनि गाहे भयो ।” केही वर्षमा सवारीसाधनको चाप ह्वात्तै बढेको महानगरवासी बताउँछन् । चाप बढे पनि बाटो पार गर्नका लागि महानगरपालिकाले आकाशे पुल निर्माण गरेको छैन । महानगरपालिकाका भित्री र व्यस्त सडकमा बाटो काट्नका लागि लामो समयसम्म कुर्नुपरेको स्थानीयवासीको गुनासो छ । चालकले ‘जेब्राक्रसिङ’ मा समेत पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको पैदलयात्रु बताउँछन् । महानगरपालिकामा अहिलेसम्म पुल्चोक, ग्वार्खो र बागडोल गरेर तीन ठाउँमा मात्रै आकाशेपुल छन् । ग्वार्खो र बागडोलमा चक्रपथ सडक विस्तारका क्रममा चिनियाँ निर्माण कम्पनीले पुल निर्माण गरेको थियो । मुख्य सडकमा भने पुल्चोक एक ठाउँमा मात्रै आकाशेपुल निर्माण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भित्री शहरका धेरै ठाउँमा आकाशेपुल आवश्यक भए पनि हामीले निर्माण गर्न सकेका छैनौँ ।” महानगरपालिकाको लगनखेल, मङ्गलबजार, कुपण्डोल, जावलाखेललगायत स्थानमा आकाशेपुल बढी आवश्यक रहेको प्रवक्ता महर्जनको भनाइ छ । महानगरपालिकाले चालू आवमा आकाशेपुल निर्माणका लागि बजेट नछुट्ट्याएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “चालू आवमा योजना बनाएर आगामी वर्ष काम गर्ने योजना छ ।” महानगरपालिकाले पैदलयात्रु र सवारीसाधन दुवैको चाप बढी भएका ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन शुरु भएको बताएको छ । आकाशेपुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० को काम भइरहेको प्रवक्ता महर्जन बताउनुहुन्छ । कुपण्डोल, अल्का अस्पताल, पाटन अस्पताल अगाडिलगायत ठाउँमा आकाशेपुल बढी आवश्यक भएकाले अध्ययन भइरहेको उहाँ जानकारी दिनुहुन्छ । अस्पताल अगाडि र चक्रपथका चोकमा आकाशे पुल बढी आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले चक्रपथको यस सडकखण्ड हस्तान्तरण गरेपछि सरकारले विभिन्न छ स्थानमा आकाशे पुल निर्माण गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । प्रवक्ता महर्जन भन्नुहुन्छ “यो वर्ष अध्ययन सकिएपछि आगामी वर्ष योजनामा पर्नेछ ।” उपत्यकाका सवारी साधनको चाप बढी हुने थापाथलीमा ‘फ्लाई ओभर’ का लागि जापानी सहयोग संस्था९जाइका० ले अध्ययन गरिरहेको छ । सो पुल थापाथलीबाट त्रिपुरेश्वर, माइतीघर र कुपण्डोलसम्म हुने बताइएको छ । ( रासस ) –––
Categorized in

भक्तपुरलगायत उपत्यकामा हिमपात

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हँुदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिनुभयो । हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताउनुभयो । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । बाह्र वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।
Categorized in

दिपायल दरबारको संरक्षण गरिन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १५, बुधबार

–बिमलबहादुर बिष्ट दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ । राष्ट्रियस्तरको सम्पदाका रुपमा सूचीकृत उक्त दरबारको स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक सङ्ग्रहालयका रुपमा स्थापित गर्ने उद्देश्यले दरबारको संरक्षण तथा सम्वद्र्धन गर्न लागिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार भग्नावशेष अवस्थामा छ, हामी यसको संरक्षण र सम्वद्र्धन गरेर नमूना सङ्ग्रहालय बनाउने छौँ ।” उक्त दरबार झण्डै १५ औँ शताब्दीतिर निर्माण भएको हुनसक्ने अनुमान छ । सो ठाउँमा दुई भग्नावशेष दरबार भवन र भैरव मन्दिर रहेका छन् । दरबार क्षेत्रको जमीन भित्रभित्रैबाट सेती नदीमा नुहाउन जाने गुफासमेत छ । डोटी गौणाको केन्द्र, तत्पश्चात् साविकको संरचनामा क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, वासुधाराजस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । उक्त दरबारमा ११ फिटभन्दा लामो ढुङ्गाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुङ्गा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भइसकेका स्थानीयवासी बताउँछन् । संरक्षण नहुँदा उक्त दरबार क्षेत्र अहिले कहाली लाग्दो अवस्था छ । भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि हालै स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ । तत्कालका लागि नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरबारको भग्नावशेष अवस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काममा अगाडि बढाइने पुरातत्व विभागका सव–इञ्जिनीयर गोविन्द अधिकारीले बताउनुभयो । ( रासस )
Categorized in

काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

– प्रकाश सिलवाल निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी ९संस्थागत० विद्यालय रहेकामा ९१ वटा मात्र सामुदायिक विद्यालय छन् । निजी विद्यालयलाई नयाँ अनुमति दिँदै जाने हो भने सामुदायिक विद्यालय थप सुक्ने खतरा देखिएपछि अनुमति रोक्का गरिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विगतमा आवेदन दिएको एक विद्यालयलाई बाहेक अन्य आवेदन दिने कुनै पनि निजी विद्यालयलाई अनुमति नदिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी शैक्षिक सत्रदेखि कक्षा १ मा नयाँ विद्यार्थी भर्ना गर्ने गरी माग गरिएका आवेदनलाई अस्वीकृत गरिएको छ र अब हामी निजी विद्यालयलाई नियमन गर्न लाग्नेछौँ ।” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते गठन भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गत माघ १ गते समाजवादोन्मुख मुलुकको परिकल्पना अनुकूल शिक्षामा रुपान्तरणका लागि निजी विद्यालयको व्यापारीकरण अन्त्य गर्न सुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा सङ्घीय शिक्षा ऐन ल्याउन सरकारले मस्यौदा तयार गरेको छ शिक्षा क्षेत्रका नागरिक समाजले संविधानमा मर्मअनुसार शिक्षाको मौलिक अधिकार स्थापित हुने गरी कानून ल्याउन आवाज उठाउँदै आएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का महासचिव राजेन्द्र बानियाँले नक्साङ्कन र जोनिङ नगरेसम्म महानगरमा नयाँ निजी विद्यालय अनुमति नदिइनु उचित भए पनि मुलुकका अन्य स्थानमा रोक्का गर्न नपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले उच्चस्तरीय शिक्षा आयोगले प्रतिवेदन तयार गर्दा भने आफूहरुसँग परामर्श नगरी सम्पत्तिको अधिकारमाथि धावा बोलिएको जिकिर गर्नुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई नेपाल०ले ‘शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि शिक्षा सरोकारवालासँग सुझाव सङ्कलन गरी राजनीतिक दलका नेता र सांसदलाई सार्वजनिक शिक्षा सुदृढीकरण गराउने कानून बनाउन दबाब दिन थालेको छ । अभियानले आज राष्ट्रियसभाका सदस्य बद्री पाण्डे, प्रतिनिधिसभाका शिक्षा तथा स्वास्थ्य समितिका सदस्यद्वय मनकुमारी जिसी र नमिता चौधरीलगायत विज्ञसँग सो मस्यौदाका विषयमा छलफल गरेको थियो । सांसदले शिक्षा र स्वास्थ्य राज्यकै दायित्व भएकाले यसको जिम्मेवारी पूर्णरुपमा सरकारले लिनुपर्नेमा जोड दिँदै विधेयकमा आवश्यक संशोधन गर्न प्रतिबद्धता व्यक्त गरेको एनसिई नेपालका महासचिव डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले निजी विद्यालयको अस्तित्वलाई यथावत् राख्ने प्रकारको कानून ल्याइए उच्चस्तरीय शिक्षा आयोगको सिफारिश र सरकारको समाजवादोन्मुख नीतिको प्रतिबद्धताको औचित्य नहुने बताउनुभयो । ( रासस)
Categorized in

गौशाला र ठमेलबाट सडक बालबालिकाको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । कुलत तथा दुव्र्यसनमा लागेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय बालबालिकाहरुको उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनःस्थापना केन्द्रको सहकार्यमा उनीहरुलाई उद्धार गरेको हो । गएराति उद्धार गरिएका उनीहरुलाई सोभर रिकभरी पुनःस्थापना केन्द्र जोरपाटीमा राखिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । कतिपय बालबालिका अहिले पठनपाठन र सीप सिक्न थालेका छन् ।  
Categorized in

Pages