काठमाडौँ महानगरका पसल बिहान १० बजेसम्म खुल्ने
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
विजयरत्न असंबरे
काठमाडौं – काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनुपर्ने सुझाव पनि वडाध्यक्षहरुले दिएका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
‘कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा २ सय २१ लाई सेवा दिएको छ,’ शाक्यले भने, ‘१०२ नं. मा सम्पर्क गरेर सेवा लिन सकिने सो एम्बुलेन्सले १ सय ७६ जनालाई निशुल्क सेवा दिएको छ । त्यसैगरी यो अवधिमा दिउँसो १५ सय ३३ र रात्रीमा ८ सय ४५ जनालाई सेवा दिएको छ भने ५ जना प्रसूतिका विरामीलाई सेवा दिएको छ ।’
प्रमुख शाक्यले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निशुल्क सेवा दिएको पनि जानकारी दिएका थिए । लकडाउन अवधीभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएको जानकारी शाक्यले दिए ।
त्यसैगरी प्रमुख शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले विकृतिमा न्यूनिकरण भएको भन्दै कोरोना विरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नुनपर्ने प्रष्ट पारे । ‘कोषबाट पठाइएको रकमबाट आफैं खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरुलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला ।’
बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ । त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लानुपर्नेमा जोड दिएका थिए ।
बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
Categorized in
काठमाडौं १७ वडामा २०० वटा सडक बत्ती जडान
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार
काठमाडौं – काठमाडौं महानगरपालिका १७ वडाका विभिन्न क्षेत्रमा सडक–बत्ती जडान गरिएको छ ।
वागमती प्रदेशले ‘बाग्मती प्रदेश पूर्वाधार साझेदारी’अन्तर्गत आफ्ना सम्पूर्ण निर्वाचन क्षेत्रहरुको लागि सडक–बत्ती वितरण गरेको हो ।
वागमती प्रदेश निर्वाचन क्षेत्र ७ (क) का सांसद वसन्त मानन्धरले जनजाति खबरलाई दिएको जानकारीअनुसार १७ वडाका लागि २०० वटा सडक बत्ती प्राप्त भएको थियो ।
वडाका विभिन्न सडक तथा क्षेत्रमा ती बत्तीहरु जडान गरिएको सांसद मानन्धरले बताएका छन् ।
Categorized in
क्षेत्रपाटी चिकित्सालयमा सेनिटाइजर बुथ
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार
काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारी तथा निजी क्षेत्रहरुबाट विविध उपायहरु अपनाइरहेका छन् ।
यसैक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा पनि कोरोना संक्रमण रोकथामको लागि चिकित्सालय प्रवेशद्वारमा सेनिटाइजर बुथ राखिएको छ ।
चिकित्सालयमा आउने बिरामी तथा चिकित्सकहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त सेनिटाइजर बुथ राखिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जनजाति खबरलाई जानकारी गराउनुभएको छ ।
उक्त सेनिटाइजर बुथका लागि दाताहरु अंजन अग्रवाल, राजेन्द्र गौतम, अमित पोद्दार, भुवन रोक्का, पवन अग्रवाल र रोजन शाहीले सहयोग गरेका छन् ।
Categorized in
भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १२, शुक्रबार
दाङ–देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिनुभयो । वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरीे सात दिनको म्याद थप गरेको पनि श्रेष्तेदार गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार अदालतले आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सक्ने छ । वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र वन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटकपटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ । यसअघि लकडाउनका समयमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई म्याद थपका लागि अदालतमा पेश गर्दा कोरोना भाइरस परीक्षणको रिपोर्ट माग गरिएको थियो । वन कार्यालयले लकडाउनका अवधिमा १३ घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । सो अवधिमा चारचार ट्राक्टर र मोटरसाइकल, दुई थान बन्दूक, गोलीबारुद, गुलेली र मटे्ङ्ग्रा बरामद गरिएको बताइएको छ ।
Categorized in
क्षेत्रपाटी चिकित्सालयलाई पिपिई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बच्न क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सकहरुको लागि सासा बेंक्वेटको आर्थिक सहयोगमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सहयोग दिइएको छ ।
सोनाम ब्राण्डले निर्माण गरेको २० वटा पिपिईलाई त्यही ब्राण्डका प्रमुख टासी शेर्पाले चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
वैशाख १० गते बुधबार चिकित्सालयमा आयोजिक एक कार्यक्रममा उक्त पिपिई हस्तान्तरण गरिएको थियो ।
गुणस्तरीय एवं धेरै परिमाणको सहयोग गरेकाले डा. श्रेष्ठले सासा बेंक्वेट एवं सोनाम ब्राण्ड परिवारलाई धन्यवाद दिएका थिए ।
योबाहेक चिकित्सालयको लागि अहिलेको समय अत्यावश्यक रहेको भाइजर सहयोगको निम्ति पनि डा. श्रेष्ठले सोनाम ब्राण्डलाई अनुरोध गरेका थिए । डा. श्रेष्ठको अनुरोधमा ब्राण्ड प्रमुख शेर्पाले केही दिनमै भाइजर सहयोग गरिदिने बचन दिएका थिए ।
Categorized in
राहतको लागि कीर्तिपुर उद्योग वाणिज्यको ५ लाख बढीको सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं– कीर्तिपुर उद्योग वाणिज्य संघले कीर्तिपुर नगरपालिकालाई राहत वितरणको लागि ५ लाखबराबर खाद्यान्न वितरण गर्ने भएको छ ।
लकडाउनको समयमा नगरबासीलाई राहत दिन संघले उक्त खाद्यान्न सहयोग गर्न लागेको हो ।
वैशाख १० गते दिउँसो कीर्तिपुर नगरपालिकाको भवनमा खाद्यान्न हस्तान्तरणको कार्यक्रम रहेको संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् ।
चामल, दाल, तेल, नुनजस्ता खाद्यान्न नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै शाक्यले नगरका प्रहरीलाई साबुन र मास्क पनि वितरण गर्न लागिएको बताएकी छिन् ।
यसैगरी, लकडाउनको समय नगरका असहायक, दीनदुःखी एवं दैनिक ज्याला मजदुरी गर्ने मजदुरवर्गलाई बिहान बेलुका खाना खुवाउन कीर्तिपुर नगर युवा समितिलाई खाद्यान्न हस्तान्तरण पनि गरिने शाक्यले जानकारी दिएकी छिन् ।
वाणिज्य संघले १३ जनाको तदर्थ समिति गठन गरी राहतको लागि सहयोग गरिने संघका अध्यक्ष शाक्यले बताएकी छिन् ।
Categorized in
लकडाउन पालना गराउन स्थानीयको बैठक
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ८, सोमबार
राजीव राजोपाध्याय
काठमाडौं– काठमाडौं महानगरपालिका २७ र १८ वडाका स्थानीयबीच सोमबार साँझ इतुंबहालमा सामाजिक दूरी कायम गरी एक बैठक बसेको छ ।
कामपा २५, २७, १८ र २४ वडाका वडाध्यक्षहरु तथा जनसेवा प्रहरी वृतका सुरक्षा निकायको उपस्थिति रहेको बैठकमा आफ्नो टोलमा लकडाउनको पूर्ण पालनाको निम्ति अभियान सञ्चालन गर्ने र तरकारी पसललाई तोकिएको समयमा मात्र व्यवस्थित रुपमा खोल्न दिने विषयमा छलफल भएको थियो ।
टोलमा मानिसहरुको जम्मा भइरहेको र जुनसुकै समय पनि तरकारी बजार खुल्ला हुने भएकोले कोरोना संक्रमणको डर रहेको र यसले स्थानीयबासी असुरक्षित बनिरहेको महसुस गरी उक्त बैठक बसेको थियो ।
Categorized in
नागरिक दैनिकको समाचारप्रति खेद प्रकट
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार
काठमाडौं– नागरिक दैनिक र नागरिक अनलाइनमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारप्रति कीर्तिपुरको तःननि दाफा खलःले ध्यानाकर्षण जनाएको छ ।
शुक्रबार उक्त खलःले एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरको मानमर्दन गर्ने, जातीय द्वन्द्व बढाउन सहयोग गर्ने तथा पत्रकारिताको आचारसंहिताविपरीत आएको नागरिक दैनिक र अनलाइनको उक्त समाचारप्रति खेद प्रकट गरेको छ ।
चैत ११ गतेदेखि नेपाल सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी चैत २६ गते गर्भवती महिलासहित तीनजनाको परिवार जाजरकोटबाट कोहलपुर हुँदै कीर्तिपुरको तःननि टोलमा घरधनीलाई समेत थाहा नदिई बस्न आएको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारको नियमविपरीत एक पालिकाबाट अर्को पालिकामा आवतजावतमा रोक लगाएको नियमलाई बेवास्ता गरी आएकाले स्थानीय कोरोना भाइरस संक्रमणको त्रासमा रहनुपरेको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनको नियमअनुरुप बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न लगेको घटनालाई गर्भवतीमाथिको दुव्र्यवहार र डेरा निकाला जस्ता भ्रामक समाचारको रुपमा प्रकाशित भएकोले यसले समाजमा सद्भावमा खलल पुग्ने, घृणा उत्पन्न हुने एवं जातीय विद्वेष समेत निम्त्याउन सक्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैले यस्ता समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्य बुझेर मात्र प्रकाशन गर्न सम्पूर्ण संचार माध्यमलाई अनुरोध पनि गरेको छ ।
Categorized in
भक्तपुर छिर्ने सवारीसाधनलाई निसङ्क्रमण गर्न शुरु
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार
कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको र केही दिनभित्रै अरनिको राजमार्गकै वैकल्पिक सडकअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडक तथा भक्तपुर–काठमाडौँ पुरानो बाटोको पेप्सीकोला नाका भएर मध्यपुरथिमि प्रवेश गर्ने सवारीसाधनलाई नाकामा निसङ्क्रमण गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । प्रत्येक नाकामा सम्बन्धित नगरपालिकाले निसङ्क्रमण गर्ने व्यवस्था गर्ने गरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सहयोग र समन्वय गरेका छन् । सवारीसाधनलाई निसङ्क्रमण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको छ । रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुर प्रवेश गर्ने जडीबुटी र साँगा नाकामा तीन तीन जना स्वयंसेवक परिचालन गरी सवारीसधानको भित्र र बाहिर जीवाणुनाषक स्प्रे गरेर सवारीसाधनलाई जीवाणुमुक्त बनाउने काम गरेको जानकारी दिनुभयो । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले पनि पेप्सीकोला नाका र नाला नाकाबाट भित्रिने सवारीसाधनलाई निसङ्क्रमण गर्ने तयारी गरेका छन् । रेडक्रसले केही दिनमै यी दुई नाकामा पनि निसङ्क्रमण गर्न शुरु गर्ने सभापति थापाले जानकारी दिनुभयो ।
Categorized in
‘कीर्तिपुरमा राहतको लागि संघ तथा प्रदेशबाट सहयोग आएन’
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ४, बिहिबार
कीर्तिपुर – कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले राहत वितरण गर्नको लागि संघीय सरकार र प्रदेश सरकारबाट कुनै राहत सामग्री सहयोग नआएको जानकारी दिएका छन् । कीर्तिपुर नगरपालिकाले आफ्नै कोष गठन गरी तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण भइरहेको जानकारी पनि दिएका छन् ।
कीर्तिपुर नगरपालिकाले प्रत्येक वडाबाट विपन्न तथा मजदुरवर्गको लागि राहत वितरण गरिरहेको छ । उपमेयर रिजाल राहत वितरण सर्वदलीय अनुगमन समितिका संयोजक पनि हुन् ।
लकडाउनको समय वितरण गरेको राहत, त्यसको उपलब्धि र विविध गतिविधिको जानकारी दिन वैशाख ३ गते बुधबार एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
कीर्तिपुर नगरपालिकाले नगरभित्र कोही पनि खान नपाउने स्थितिमा नपुगोस् भन्ने उद्देश्य लिई काम गरिरहेको पनि उपमेयरले सम्मेलनमा जानकारी दिएका छन् । बहालमा बस्ने वा स्थानीय जोसुकै भए पनि नगरबासीलाई सेवा दिन नगरपालिका तयारी अवस्थामा रहेको जानकारी उनले पत्रकार सम्मेलनमा दिएका थिए ।
कीर्तिपुर नगर अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित रहे पनि ढुक्क नै हुनुपर्ने स्थिति नरहेकोले सम्पूर्ण नगरबासीलाई लकडाउनको पालना गर्न पनि पत्रकार सम्मेलनमा आह्वान गरिएको थियो ।
पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तमान श्रेष्ठले कीर्तिपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसन वार्डबारे जानकारी दिएका थिए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उक्त वार्ड निर्माण भएको र अहिले आठजना क्वारेन्टाइनमा रहेकोमा चारजनामा कुनै लक्षण नभेटिएकोले घर पठाइएको जानकारी श्रेष्ठले दिएका थिए । अहिले जाजरकोटका चारजना क्वारेन्टाइनमा रहेको उनले बताए ।
श्रेष्ठले चैत ३० गतेसम्म कीर्तिपुरमा विदेशबाट आएका ५२ जना आएकोमा हाल त्यो संख्या ६७ पुगेको जानकारी दिए । हालसालै विदेशबाट फर्किएकालाई दुईजना स्वास्थ्यकर्मीको उपस्थितिमा परीक्षण गराउने जानकारी दिँदै श्रेष्ठले अरु कोही विदेशबाट फर्किएको भए त्यसको जानकारी नगरपालिका वा वडामा दिन पनि आह्वान गरेका थिए ।
पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष, नगरपालिकाको स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समितिका प्रमुख हर्ष महर्जन, ९ वडाका वडाध्यक्ष एवं कीर्तिपुर विपद् व्यवस्थापन समितिका प्रमुख गंगाराम महर्जनलगायत विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Categorized in
Pages