STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

विकास प्राधिकरण खारेज हुनुपर्छ : उपत्यकाका मेयरहरु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २६, सोमबार

काठमाडौं - उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्नु अघि फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सहरी विकास राज्यमन्त्री मानन्धरसँग छलफल गरेको थियो । २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर लगाएको ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै नगरपालिका फोरमले पटक–पटक खारेजीको माग गर्दै आएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण २०६८ मा पहिलो संशोधन भएको थियो । २०७६ साल बैशाख २५ गते फोरमका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न चौथो विस्तारित बैठकले पनि तत्काल प्राधिकरण खारेजीको माग गरेको थियो । ‘प्राधिकरण २०४५ सालमा गठन भएको संस्था हो । यो संस्था राजा विरेन्द्रले जारी गरेको पञ्चायती अवशेषको ऐनमा टेकेर बसिरहेको छ । यसको जग नै बलियो छैन,’ फोरमका सचिव श्रेष्ठले भने, ‘प्राधिकरण मुलुकमा गाउँपञ्चायत रहँदा स्थापना भएको संस्था हो । अहिले गाविस हुँदै स्थानीय सरकार बनिसकेको अवस्थामा र वर्तमान संविधानले समेत नचिनेको संस्था राखिराख्न उचित छैन ।’ उनले उपत्यकाको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिकसँगै मानिसको चेतनामा पनि व्यापक परिवर्तन भैसकेको वर्तमान अवस्थामा प्राधिकरणको कुनै औचित्य नरहेकाले खारेजीको अर्को विकल्प नभएको पनि बताए । ‘नेपालमा पञ्चायती व्यवस्था हटेर बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल स्थापना भएको छ । तर, अहिले उपत्यकामा नयाँ शहर निर्माणका लागि त्यही पञ्चायती अवशेषको ऐनमा टेकेको उपत्यका प्राधिकरणलाई अघि सार्न खोजिएको छ । यसमा पुर्नविचार गर्नुपर्छ । हामीले सहरी विकास मन्त्री र राज्यमन्त्री दुबै जनालाई यही आग्रह गरेका छौँ,’ श्रेष्ठले भने, ‘यसमा पुर्नविचार नगर्ने हो भने उपत्यकाका सबै नगरपालिकाको असहयोग रहन्छ ।’ उपत्यकाका संघीय र प्रदेश सांसदहरुसँगै विज्ञहरुसँग पनि यस विषयमा छलफल गरेर त्यसको निष्कर्षसहित प्रधानमन्त्रीलाई भेट्नेसम्मको तयारीमा उपत्यका नगरपालिका फोरम रहेको श्रेष्ठले जानकारी दिए । ‘स्थानीय तहका निर्णय नमान्ने, स्थानीय तहका आयोजनामा सहयोग गर्ने, जनप्रतिनिधिलाई निर्देशन दिने, नगरसभाले गरेका निर्णय बिरुद्ध अदालतमा मुद्दा दायर गर्न जाने जस्ता कार्यमा प्राधिकरण लागिरहेको छ,’ उनले भने, ‘अधिकार क्षेत्रबाहिर गएर स्थानीय तहको अधिकार प्रयोगमा समेत बाधा पुर्याइरहेको यो संस्था खारेजी बाहेक अरु कुनै विकल्प छैन ।’ उनले नगरपालिका र उपत्यका प्राधिकरणको काम, कर्तव्य र अधिकार ९० प्रतिशत भन्दा माथि मिल्दोजुल्दो रहेको भन्दै संघीय संरचना अनुसारको स्थानीय सरकारलाई बाइपास गरेर प्राधिकरणलाई अघि सार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने दाबी गरे । ‘उपत्यकाका १८ वटा नगरपालिकाका मेयरको पनि मेयर हुँ भन्ने भ्रम प्राधिकरणको नेतृत्वमा छ,’ उनले भने, ‘त्यही अनुसारको गतिविधिमा नेतृत्व लागेको छ । यो संघीयताको मर्म विपरित छ । त्यसैले संविधानले नचिनेको यो संस्था खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
Categorized in

आमा घरलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २६, सोमबार

विजयरत्न असंबरे


विश्वभर छरिएर विभिन्न यद्यममा लागिरहेका नेवार हरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएकोआमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट यसरी सहयोग गरिएको हो । अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमा घरकी संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आमा घरको लागि भन्दै अमेरिकाको मेरिल्यान्डमा बसिरहेका सुमन कुमार सिंह (सुमन नेवाः)ले प्रदान गरेको एक हजार डलर (नेपाली रुपियां करिब १ लाख २० हजार रुपैयाँ) आइतबार आमा घरका संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरियो । नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन र कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले आमा घरकी संचालक श्रेष्ठलाई हस्तान्तरण गरे । आमा घरकी संचालक समाजसेवी श्रेष्ठले अर्गनाइजेसन र सुमन नेवाःप्रति कृतज्ञता पोख्दै कोरोना महामारीको अवस्थामा पनि आफुले असहाय वृद्धवृद्धाहरुलाई सेवा गर्दै आएको बताउनुभयो । बाटोमा अलपत्र परेका वृद्धवृद्धालाई प्रहरीले आमा घर ल्याइ छोडिदिने र उनीहरुलाई १४ दिनसम्म अलग्गै कोठामा राखेर हेरविचार गर्दै आमा घरमै आश्रय दिइरहेको श्रेष्ठले जानकारी गराउनुभयो । सहयोग रकम हस्तान्तरणको अवसरमा नेपाल च्याप्टरका रत्नकाजी महर्जन लुनिभा र सुदय शिलाकार लगायतको उपस्थिति रहेको थियो ।
Categorized in

काठमाडौंका सम्पर्ण तार भूमिगत गरिने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडौं - अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहे पनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरिसकेको छ । सार्वजनिक खरिदको प्रतिस्पर्धामा सबैभन्दा कम रकम कबोल गरेको भारतको एल एन्ड टी कन्स्ट्रक्सनलाई ठेक्का दिन लागिएको हो । यो कम्पनीले काठमाडौंका महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र बाहेकका क्षेत्रमा तार भूमिगत गर्नेछ । कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा एलएन्डटीले तार जमिनमुनि बिछ्याउने ठेक्का पाउने निर्देशनालयले जनाएको छ । करिब ५ अर्ब ४० करोडको लागतमा यो काम सम्पन्न हुनेछ । यो कामका लागि केईआई इन्डिया र टेबा कर्पोरेसनले पनि बोलपत्र हालेको थियो । तर, उनीहरुभन्दा कम कबोल गर्ने एलएन्टीले यो कामको लागि ठेक्का पाउन लागेको हो । प्राधिकरणले पहिलो चरण अन्तरगतको दुई किलोमिटर सडक क्षेत्रमा तार बिछ्याउने काम गरिसकेको छ । यसमा तारको लम्बाइका हिसाबले करिब २० किलोमिटर बराबर हो । यो परियोजनाको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । पहिलो चरणको काम सन् २०२१ अक्टोबरसम्म सक्नेगरी भारतको केईआई कम्पनीसँग ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा तोकिएको क्षेत्रमा तार बिछ्याउन सात अर्ब खर्च गरिँदैछ । प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्ऽअन्तर्गतका क्षेत्रमा हुन लागेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्जलगायतका क्षेत्रमा तार भूमिगत गरिँदैछ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइनेछ । आयोजनाअन्तर्गत ११ हजार भोल्टेजको करिब चार सय ५० किलोमिटर र चार सय भोल्टेजको करिब आठ सय किलोमिटर तार भूमिगत गरिनेछ । यसै क्षेत्रमा करिब चार सय ५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोर्ट टर्मिनल युनिट पनि जोडिँदैछ । त्यसलाई नियन्त्रण गर्न स्युचाटारमा वितरण नियन्त्रण कक्ष पनि बनाइनेछ । यो प्रणाली जडान भएपछि विद्युत् वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।  
Categorized in

काठमाडौंको ह्याम्समा दुईजना कोरोना संक्रमितकाे उपचार शुरु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार

काठमाडौं - काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको छ। अस्पतालले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेको अस्पतालले जनाएकाे छ। अहिले अस्पतालमा कास्कीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ। गुल्मी चद्रकोटका ७७ वर्षीय एक पुरूष पिसाब पोल्ने उपचारका लागि मंगलबार ह्याम्स अस्पताल आएका थिए। पिसाबको चेकजाँच पछि बाहिरबाट आएकाले कोरोना परीक्षणका लागि पीसीआर गरियो। उनको शुक्रबार कोरोना पोजिटिभ आयो। डाक्टर शर्माका अनुसार मंगलबारकै दिन कास्कीका ६० वर्षीय पुरूष बेहोस भएर हेलिकोप्टरकार्फत उपचारका लागि ह्याम्स अस्पताल गएका थिए। कास्कीका ती पुरुषलाई शुरुमा रुघाखोकी, ज्वरो केही पनि थिएन्। उनलाई भेन्टिलेटरमै राखेर उपचार गरियो। कोरोना चेकजाँच गर्दा शुक्रबार उनलाई पनि कोरोना पोजिटिभ देखियो। शुरुका दिनमा भन्दा अहिले सुधार हुँदै गएको जनाइएकाे छ। उनले सरकारी अस्पतालमा उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा विरामी र आफन्त नमानेकाले अस्पतालकै आइसीयुमा राखेर उपचार भइरहेकाे छ ।
Categorized in

ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं – नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन आज ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)लाई ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको छ । लकडाउनको समय धार्मिक परम्पराले निरन्तरता नपाइरहेको अवस्थामा शुक्रबार ललितपुरको मंगलबजार दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखियो । सिंहासन र पौभाको प्रदर्शनसँगै कात्ति डबलीमा दाफा भजन गाउने परम्परालाई पनि निरन्तरता दिइएको कात्ति नाच व्यवस्थापन समितिका सञ्जय शर्मा राजोपाध्यायले जनजाति खबरलाई जानकारी दिएका छन् । दाफा भजनमा मल्ल राजा सिद्धिनरसिंह मल्लद्वारा रचित ३१ वटा भजन गाउने परम्परा रहिआएको छ । कृष्णलीलासँग सम्बन्धित मेघमल्हार रागमा गाइने यी भजनसहितको पौभा पनि प्रदर्शनमा राखिएकाे हो । योसँगै सिद्धिनरसिंह मल्लया छोरा राजा श्रीनिवास मल्ललाई दान दिइएको सिंहासन पनि दरबार क्षेत्र परिसरमा प्रदर्शनमा राखिने परम्परा रहिआएको छ । पाटन ओकुबहालस्थित जोथाजु शाक्यले सम्यक महादान पर्वको अवसरमा सो सिंहासन राजा श्रीनिवास मल्ललाई दानमा दिएका थिए ।
Categorized in

कर तिर्ने म्याद बढाउन युवा उद्यमीहरुको आह्वान

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

विजयरत्न असंबरे


देशव्यापि जारी रहेको लकडाउनको अवधि झनझन थपिंदै गए पछी देश अार्थिक मन्दीतिर लाग्ने सम्भावना बढ्दै गएकोले यसलाई दृष्टिगत गरी सरकारले उद्योगी र आम ब्यापारीहरुका लागि राहतको प्याकेजकाे माग गर्दै सरकारले जारी गरेको कर तिर्ने म्याद ३ महिना दिनु पर्छ भन्दै माग राखी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । ललितपुरको मंगलबजार स्थित मंगः हिति परिसरमा आज शुक्रबार दिउँसो सम्पन्न सो सचेतना कार्यक्रम ललितपुरका स्थानिय उद्यमशील युवाहरुले स्वतःस्फुर्त रुपमा सम्पन्न भएको थियो । सरकारको विरोध स्वरुप सम्पन्न सो सचेतना कार्यक्रम कोरोना महामारीका कारण सिंगो देश लकडाउन हुँदा पनि सरकारले कर तिर्नुपर्ने आदेश जारी गरेकोले सो आदेशको विरोध गर्न आयोजना गरेको कुरा सो कार्यक्रममा सहभागी एक युवा उद्यमी पृथबिन्दु महर्जन ले बताएकी छिन् । उद्यमी महर्जन का अनुसार कर भुक्तान गर्ने म्याद पहिले जेक २५ गते भनिएकोमा त्यसको सर्वत्र विरोध भएको थियो भने अहिले त्यो म्याद असार १५ पुर्याएको भएतापनि अहिले अार्थिक कारोबार शुन्य अवस्थामा रहेकोले त्यो अवधि पनि प्रयाप्त छैन भन्ने देखिन्छ । सो सचेतना कार्यक्रम मा सहभागीहरुले कर तिर्ने अवधि कम्तिमा तीन महिना हुनु पर्ने रहेको छ ।
Categorized in

यी हुन् उपत्यकाका होल्डिङ सेन्टर जहाँ विदेशबाट आएकालाई राखिन्छ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडाैं - विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक/एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ । एक अधिकृतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्ओणाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ । काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसलाई तयार गरिएको छ । भक्तपुरको सूर्यविनयामा इम्पेरियल पार्टी प्यालेस र ठिमीमा हेरिटेज पार्टी प्यालेस तयारी अवस्थामा राखिएको छ । ललितपुरको धोविघाटमा सिद्धार्थ कलेज, महालक्ष्मीस्थानमा डिलाइट पार्टी भेन्यू र खरिवोटमा मण्डला पार्टी भेन्यू तयार गरिएको छ । काठमाडौंको मिराकल र ललितपुरको सिद्धार्थ कलेजलाई रिजर्भका रुपमा तयार गरिएको जनाइएको छ ।
Categorized in

बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खोल्ने व्यवसायीहरुकाे निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार

काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने जनाइएको छ । सरकारले जेठ ३२ सम्म लकडाउन घोषणा गरेको छ । पसल व्यवसाय खाेल्दा राज्यबाट बन्द गर्न दबाब आएमा राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने व्यवसायीहरुकाे माग छ । यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् ।

पर्सामा पनि शुक्रबारदेखि व्यवसाय संचालनमा आउने

पर्सामा शुुक्रबारदेखि जोररबिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न पाउने भएको छ । लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोररबिजोर प्रणाली गतेअनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए । यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने बस्नेतले बताए ।  
Categorized in

मैतीदेवीका पसलहरु दिउँसो १ बजेसम्म खोल्ने सहमति

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार

काठमाडौं – व्यापारीहरुको विरोधपछि मैतीदेवका पसलहरु बिहीबारदेखि दिउँसो १ बजेसम्म खोल्न मौखिक रूपमा सहमति भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए । विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन् । दिउँसो १ बजेसम्म पसल खोल्ने दिने विषयमा कुनै लिखित सम्झौता भने नभएको जनाइएको छ ।
Categorized in

काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार

काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना र स्वास्थ्यकर्मी २ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।
Categorized in

Pages