महानगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना विरुद्ध लड्ने संकल्प
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
विजयरत्न असंबरे -
काठमाडौँ महानगरपालिकाले आज सातौं नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरको समग्र विकासको योजना अगाडी सारेको छ भने अहिले विश्वव्यापी महामारी को रुप लिएको कोभिड–१९ को विरुद्ध लड्न आवश्यक योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।
‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’ यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको कुरा सातौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सो नीति तथा कार्यक्रममा महानगरपालिका को भाषिक नीति , सन्चार नीति तथा आर्थिक नीतिबारे पनि प्रकाश पारिएको थियो ।
Categorized in
भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।
सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताउनुहुन्छ । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाइँ शुरु गरेको जानकारी दिनुभयो । लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उहाको भनाइ छ ।
जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष सिमखेतमा जेठमै रोपाइँ भयो, कुलो नलाग्ने र आकाशेपानीको भर पर्नुपर्ने खेतमा पनि पानी भरिएका छन्, ढिला बीउ राख्नेहरुले छोटो बीउ रोप्न थालेका छन्, धेरैले रोपाइँ सकिसके, बाँकी भएकालाई पनि रोपाइँको चटारो छ ।” सूर्यविनायक नगरपालिका–८ सिपाडोलका श्यामलाल श्रेष्ठले सिपाडोल क्षेत्रका किसानलाई रोपाइँको चटारो परेको छ भन्दै रोपाइँमा खेताला नपाउँदा अझै ढिला भएको बताउनुभयो ।
यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउनुहुन्छ । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।
कोरोनाको त्रासलाई छिचोल्दै किसानले रोपाइँ गरेका हुन् । चानपा–८ सुडालका किसान रामप्यारी कार्कीले वर्ष दिनभरि खान धान फलाउने बेलामा कोरोनासँग डराएर खेती बाँझै राख्न नहुने बताउँदै कोरोनाको डरलाई हटाए्र खेतमा काममा सबै व्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले यस वर्ष रोपाइँलाई धेरै सजिलो बनायो, वर्षा पनि जेठमै शुरु भयो, जेठमै आली लाएर खेतभरि पानी जमाउन पाइयो, सबै बन्द भएकाले घरभरि भएका मानिस पनि रोपाइँमा जान पाए, रोपाइँमा यस वर्ष लकडाउनले सजिलो बनायो ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाइँ सकिन लागेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष नगरपालिकाले धानको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको र मल पनि समयमै विभिन्न निकायले वितरण गरेकाले सहज र छिटो रोपाइँ सकिन लागेको छ ।
सूर्यविनायक नगरपालिकाका प्रम्ुख वासुदेव थापाले पनि सूर्यविनायकका सबै क्षेत्रमा रोपाइँ सकिन लागेको बताउनुभयो । यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै मनसुन सक्रिय हुनुअघि नै रोपाइँ सक्नु किसानका लागि खुशीको कुरा भएको बताउनुभयो । भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका अधिकांश क्षेत्रमा पनि रोपाइँ सकिन लागेको छ ।
रासस
Categorized in
भक्तपुरमा प्रहरीसहित तीनजनामा कोरोना पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
काठमाडाैं - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।
Categorized in
टोखाका ११ वटै वडामा चीनबाट ल्याएको स्वास्थ्य सामग्री वितरण
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
काठमाडाैं - टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिनुभयो । चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालार्ई विभिन्न किसिमका माक्स ३० हजार थान, थर्मल गन ३०० थान, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तीन हजार थान, मेडिकल आइसोलेसन चश्मा तीन हजार थान, पञ्जा पाँच हजार थान, मेडिकल जुत्ता तीन हजार थान र स्यानेटाइजर सहयोग गरेको छ ।
उक्त सामग्रीको मूल्य रु एक करोड ८६ लाख रकम बराबर रहेको छ । टोखा नगरपालिकाले कोरोना रोग फैलन नदिन चेकजाँचलाई समेत बढाएको छ । टोखाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ ।
उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ ।
रासस
Categorized in
कामपा १५ वडास्थित बिष्णुमति क्रसिङ्ग ब्रिजको शिलान्यास सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
काठमाडाैं - काठमाडाैं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं-१५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठबाट शिलान्यास भएकाे छ ।
बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६/७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७/- र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१/- योगदान भएको छ। यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२/११ भएकोमा यो आ व २०७६/७७ मा बिनियोजित रकममा नपुग रकम क्रमागत योजनामा आ व २०७७ /७८ को बजेट बाट बिनियोजन गरी पुरा गर्ने जनाइएकाे छ ।
सांसद जीवनराम श्रेष्ठले काठमाडौं पैडल हिड्ने यात्रुमैत्री सडक र सहर बिकासको आबश्यकता रहेको हुँदा यो बृज निर्माणको योजना राखेको बताउनुभयो। साे ठाउँमा अत्यधिक संख्यामा पैडल यात्रुको चाप भएको र समय समयमा दुर्घटना भइरहने हुनाले ब्रिज निर्माणपछि दुर्घटना कम हुने विश्वास लिएकाे सांसद श्रेष्ठले बताएका छन् । ब्रिजबाट कामपा १५ र १९ का स्थानीय बासिन्दा र स्कुलका विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने पनि उनले बताएका छन् ।
कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मनराजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजका उपभोक्ता समितिका अध्यक्ष अमृतरत्न डंगाेल, सचिव राकेशमान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।
Categorized in
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३, बुधबार
काठमाडौँ, ३ असार - खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।” सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उहाँको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उहाँको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताउनुभयो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।” मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताउनुभयो । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उहाँको भनाइ छ । खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पुर्याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पुर्याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो ।
मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताउनुभयो । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उहाँले बताउनुभयो । त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ । विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उहाँको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ ।
मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ । मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठूला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ । यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।
एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताउनुभयो । तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिनुभयो । त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न हाल प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना सम्पन्न गर्न बजेट विनियोजन भएको छ । मन्त्रालयले खानेपानी सेवा नपुगेका बस्ती तथ्याङ्क सङ्कलन गरी खानेपानी सरसफाइ स्वच्छता अभियान वास योजना तयार गर्ने उहाँले बताउनुभयो ।
रासस
Categorized in
गुठी आन्दोलनको सम्झनामा असार ४ गते तस्बिर प्रदर्शनी र दीप प्रज्ज्वलन
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडौं – सरकारले ल्याएको गुठी विधयेकविरुद्ध भएको आन्दोलन असार ४ गते एक वर्ष पूरा हुँदैछ । गुठी आन्दोलन भएको वर्षदिनको सम्झनामा राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सो दिन तस्बिर प्रदर्शनी र बेलुका दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ ।
‘गुठी आन्दोलनको मर्म पूरा हुन बाँकी छ, हाम्रो खबरदारी निरन्तर छ’ भन्ने नारा बोकी संघर्ष समितिले असार ४ गते दिउँसो १ः३० बजे माइतीमण्डलमा तस्बिर प्रदर्शनीको आयोजना गर्दैछ ।
असार ४ गते नै बेलुका ७ः३० बजे माइतीमण्डलमा जम्मा भई दीप प्रज्ज्वलन गर्ने कार्यक्रम पनि संघर्ष समितिले राखेको छ । आफ्नो एकता प्रदर्शन गरी सरकारलाई खबरदारी गर्न आ–आफ्ना घर, चोक, ननि, विहार, मन्दिर आदि स्थानमा दीप प्रज्ज्वलन गर्न पनि समितिले सर्वसाधारण सबैमा आह्वान गरेको छ ।
कोरोना महामारीको जोखिम विचार गर्दै तय गरिएका दुवै कार्यक्रममा सामाजिक दुरी कायम गर्न र सचेत रहन पनि समितिले अनुरोध गरेको छ ।
स्मरणीय छ, गुठी आन्दोलनकै कारण गत वर्ष असार १० गते आधिकारिक गुठीक विधयेक फिर्ता लिन सरकार बाध्य बनेको थियो । आन्दोलनकै कारण सम्पदा पुनःनिर्माूण र सांस्कृतिक गुठीको क्षेत्रमा पहिलेभन्दा बढी सक्रियता र बजेट विनियोजन पनि भएको समितिले जनाएको छ ।
Categorized in
भक्तपुरमा विद्यार्थीलाई निःशुल्क पुस्तक
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
भक्तपुर, २ असार - भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरले विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएकाे छ ।
विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गरिएकाे हाे ।
तस्बिर : रत्न श्रेष्ठ/रासस
Categorized in
नेवाः जागरण मञ्चले गरे नेवार क्षेत्रका विभिन्न व्यक्तिलाई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडौं – नेवाः जागरण मञ्चले लकडाउनको समय नेवार क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । साथै, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएको ‘आमा घर’लाई पनि सहयोग गरेको छ ।
मञ्चले दिएको जानकारीअनुसार लकडाउनको समय समस्यामा रहेका नेवार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा नेवार आन्दोलनमा सक्रिय सहभागिता जनाउने बुंगमतीका पाँचजनालाई सहयोग गरेको छ ।
यसैगरी, काठमाडौंकाका चार जना लेखक, टोखाका मजदुरी गर्ने दुईजना, कीर्तिपुरका एक महिला एकजना, मनमैजुमा दैनिक ज्यालादारी काम गर्ने दुईजना र काठमाडौंका लकडाउनअघि बेरोजगार बनेका चारजनालाई मञ्चले सहयोग गरेको छ ।
मञ्जले विभिन्न खाद्यसामग्री र नगद सहयोग गरेको हो ।
यसैगरी, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएका ‘आमा घर’ र माताीर्थको वृद्धाश्रमलाई पनि मञ्चले आर्थिक सहयोग गरेको छ ।
नेवाः जागरण मञ्चले अति विपन्न अवस्थामा रहेका नेवार क्षेत्रका व्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै जाने जानकारी दिएको छ भने सहयोग आवश्यक पर्नेलाई सहयोग गर्नुपरे मञ्चमा सुचना दिन पनि अनुरोध गरेको छ ।
Categorized in
गुथि विधयेकको उपलब्धि विषयक संवाद र भर्चुअल गोष्ठी हुँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडौं – सरकारले ल्याएको गुथि विधयेक विरुद्ध आन्दोलन भएको असार ४ गते एक वर्ष पूरा हुँदैछ । आन्दोलनको सम्झना र एक वर्ष अवधिमा यसबाट प्राप्त उपलब्धि विषयक संवाद र भर्चुअल विचार गोष्ठी हुनेभएको छ ।
गुथि विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले असार ४ गते दिउँसो ४ बजे भर्चुअल विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
सो विचार गोष्ठीमा नेवार अगुवा मल्ल के. सुन्दर तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गुथि विधेयकको आन्दोलनलाई लिएर आ–आफ्ना विचार राख्ने भएको छ ।
समितिले सो गोष्ठीमा सहभागी हुन सबैमा अनुरोध पनि गरेको छ ।
यसैगरी, नेवाः जागरण मञ्चको अनुरोधमा गुथि आन्दोलनको सम्झना र उपलब्धि विषयक एक संवाद कार्यक्रम हुने भएको छ ।
असार ३ गते दिउँसो ४ बजे सो संवादको प्रत्यक्ष प्रशारण नेवाः युट्युबको फेसबुक पेजबाट हुँदैछ ।
यस संवादमा गुथि विधयेक विरुद्ध आन्दोलनका संयोजक नेवार अगुवा डा. महेशमान श्रेष्ठ, नेवार अगुवा मल्ल के. सुन्दर र उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मिले आन्दोलनलाई लिएर आ–आफ्ना राख्ने भएका छन् ।
सो संवाद कार्यक्रमलाई पवित्र कसाःले संचालन गर्दैछन् ।
Categorized in
Pages