STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार

काठमाडौँ : पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । यही असार २० गते शनिबार क्षमा पूजा गरी आजदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । आज मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीसँग छलफल पनि गरेको छ । मन्दिर पुनःनिर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराएको विभागका सीडीई सम्पत घिमिरेले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वमा विभागले मन्दिर पुनःनिर्माणको प्राविधिक रेखदेख गर्नेछ । उपभोक्ता समिति र विभागबीच भएको सम्झौतानुसार समितिले एक वर्ष अर्थात २०७८ असार १५ गतेभित्र रु तीन करोड आठ लाख लागतमा मन्दिरको पुनःनिर्माण गर्नुपर्नेछ । सम्झौतापछि उपभोक्ता समितिले रु ४० लाख पेश्की लिएको विभागले जनाएको छ । यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनानुसार मन्दिरको काम अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत गर्न लागिएको हो । मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपालिका एवं सम्बन्धित वडाका प्रतिनिधि, विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ । गत पुस १४ गते सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिसहितको बैठकले मन्दिरको बाँकी पुनःनिर्माण उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो । उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा सकारात्मक परिणाम आएका छन् । रानी पोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनःनिर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।
Categorized in

तिलगङ्गाको बस्ती हटाइँदै

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारवाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ । विसं २०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उहाँले सुनाउनुभयो । तिलगङ्गामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पु¥याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामङ्गलमा जग्गा विकास गरी बस्ने व्यवस्था मिलाइएको थियो । तिलगङ्गाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी शुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ ।
Categorized in

मच्छिन्द्रनाथको रथारोहण असार २४ गते

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।” सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिनुभयो । जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लािगसकेको छैन । हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडांैका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । दैनिक पाँच सय दर्शनार्थी हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथको दैनिक करीब पाँच सय दर्शनार्थीले गर्ने गरेका छन् । युगौँदेखि चल्दै आएको रथयात्रा यस वर्ष कोभिड–१९ ले सामान्य हुने अनुमान गरिए पनि रोगभन्दा संस्कृति ठूलो भन्ने मान्यताका साथ भक्तजन दर्शनमा आउने गरेका पानेजु पूर्णराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म दर्शन गर्न आउने मानिसको भीड सधैँ हुन्छ । यसमा पनि शनिबार र अन्य बिदाको दिन झन् यसभन्दा बढी नै हुन्छन् । ” कोरानाका कारण सामाजिक दूरी कायम गरी भक्तजनलाई मच्छिन्द्रनाथको दर्शन गर्न दिने व्यवस्था मिलाइएको शाक्यले जानकारी दिनुभयो ।
Categorized in

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ। यस्तै आइतबार थप २९२ जनामा कोरोना संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो। १३२ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

ढलमा देखिएको भाइरसले संक्रमण नसार्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ। प्रवक्ता डा. जागेश्वर गौतमले हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भन्दै आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको तथ्य नभएको बताए। उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए। डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए। त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ। यसबाट संक्रमण अरूमा नसर्ने भएपनि सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने मन्त्रालयको सुझाव छ। एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।
Categorized in

रोपाइँ गर्न गएका स्थानीयमाथि प्रहरीको लाठी रअश्रुग्यास

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २०, शनिबार

खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध स्थानीय आन्दोलित


ललितपुर - ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसानमाथि प्रहरी ज्यादती भएकाे छ । स्थानीयमाथि प्रहरीले लाठी बर्साउनुकाे साथै केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले लामाे समयदेखि विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् । उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो । थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ । काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी छ। तर स्थानीयवासीले भने विकासका नाममा सांस्कृतिक सहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरूको आन्दोलनमा नेवा: सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् । उनले खोकनाका किसान र बासिन्दामाथि अन्याय भएको भन्दै विकासका नाममा खोकनाको अस्तित्व मेट्ने गरी भइरहेका कामको विरोध जारी राखिने बताए । ‘हामी खोकना बचाउन अन्तिमसम्म लडिरन्छौं, सीमा रक्षा गर्न नसक्ने सरकारले देशका गरिब जनताको भूमि लुट्न पाउँदैन,’ श्रेष्ठ भन्छन् ।
Categorized in

वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर (WNO NCC)को अध्यक्षको राजीनामा प्रकरण फिर्ता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २०, शनिबार

विजयरत्न असंबरे


वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा दिनुभएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरे पछी राजीनामा फिर्ता लिनु भएको छ । कोरोना महामारीले सम्पूर्ण विश्व नै आक्रान्त रहेको परिस्थितिलाई ध्यानमा राखेर संस्थागत हितका निम्ति बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि राजीनामा दिनुभएका अध्यक्ष शाक्यले आउँदो अधिवेशनसम्मका लागि जिम्मेवार बहन गर्न तयार भएका हुन् । नेपाल च्याप्टरको बुधबार काठमाडौंमा आकस्मिक बैठक बसेको थियो । बैठकमा सल्लाहकारहरु डा. सुमित्रा मानन्धर , पुष्करभक्त माथेमाको पनि उपस्तिथि रहेको थियो । छलफलका क्रममा नेपाल च्याप्टरका सचिवालय पदाधिकारीहरु महासचिव रश्मिला प्रजापति, सचिव महर्जन रत्न , कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ , सह- कोषाध्यक्ष सुदय सिलाकार , सदस्यहरु अन्जना ताम्राकार , शान्ति वैद्य , कस्तुरी श्रेष्ठ लगायतले यस अवस्थामा अध्यक्षको राजीनामा संस्था हितमा नहुने भएको कारण राजीनामा नगर्न र आउँदो अधिवेशनसम्म सोही पदमा रहि कार्य गर्न अध्यक्ष शाक्य सुरेनलाई अनुरोध गरेका थिए । केही दिनअगाडि मात्र अध्यक्ष शाक्य सुरेनले स्वास्थ्यको कारण देखाइ अध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो भने सचिवालयको मतलाई कदर गर्दै अध्यक्ष शाक्यले राजीनामा फिर्ता लिनु भई सो पदमा रहेर अधिवेशनसम्म कार्य गरि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरेसँगै त्यस च्याप्टरको राजीनामा विवाद टुंगिएको छ ।
Categorized in

जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बन्यो ललितपुरको वडा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

विजयरत्न असंबरे


ललितपुर महानगरपालिका– ३ वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको छ । ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइए पछी ललितपुरको वडा नं ३ जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको हो । वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ । जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्रको बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ । ‘देशभरमा यस्तो जेट मेसिन सञ्चालन गर्ने पहिलो वडा हुनुपर्दछ । महानगरपालिकाले मात्र जेट मेसिन खरिद गर्ने गरेकोमा यहाँ त वडाले मेशिन सञ्चालन गरेको छ ।’ मेशिनको शुभारम्भ गर्दै ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले भन्नुभयो । यस कार्यले अरु वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । वडाले उच्चत्तम प्रविधियुक्त मेसिन सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट प्रविधिले नै जनतालाई गुणस्तरीय सेवा दिन सकिने धारणा राख्नुभयो । यस अघि शव बाहन सञ्चालन गरेको वडाले अब ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क विधुतीय गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
Categorized in

साँखुको क्वारेन्टिनमा नै छैन झुल र बत्ती

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनु भएका रमेश अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै पिसिआर परीक्षण गर्न माग गरेका छन् । उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दा समेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागिएको गुनासो गरेका छन् । बत्ती नहुँदा सम्र्पकविहीन हुनुपरेको समस्या त छँदैछ, विनापरीक्षण घर पठाउन लागिएकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रहसमेत गरेका छन् ।
Categorized in

‘खुुकुलो’ लकडाउनबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

काठमाडौँ : काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नुहुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घच्घच्याइरहेका थिए । अहिले रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न यहाँका धार्मिक सङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् । गुठी संस्थान ललितपुर शाखाले बन्दाबन्दी पहिले नै रथ निर्माणका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको थियो । त्यही सामग्रीबाट अहिले सामाजिक दूरी कायम गरी यही असार १० बाट रथ निर्माणको काम थालिएको शाखाका प्रमुख राजन भुजुले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुर महानगरपालिका, ज्यापु समाज, रथ निर्माणसँग सम्बन्धित व्यक्ति, धार्मिक सङ्घसंस्था र मच्छिन्द्रनाथका पुजारीले पटकपटक आग्रह गरेपछि यस कामलाई अघि बढाएका हाँै ।” रथ निर्माणमा संलग्न हुने व्यक्ति र समुदायको स्वास्थ्यमा ध्यान राखिएको उहाँले बताउनुभयो । अहिले मिननाथको रथ निर्माणका लागि धमा बनाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “एकादशीको दिनबाट मीननाथको रथ निर्माण कार्य शुरु भइसकेको छ ।” वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि सो दिन गर्न नसकिएकाले राम्रो दिन हेरेर रथारोहण गर्न लागिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । गत १० गते रथ बनाउन लागिएकामा दुई सातामा सकिएपछि यही असार २४ गते रथारोहण गर्ने तयारी गरिएको छ । साइत गइसकेकाले पनि विधिपूर्वक अर्काे साइत हेर्नेभन्दा पनि राम्रो दिनमा गर्न लागिएको हो । जात्राका अवधिमा विधिपूर्वक मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेरिन्छ । यो पटक त्यसरी हेर्नु नपर्ने उहाँको भनाइ छ । जात्राका विधि पु¥याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समयमा भीड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै भएर गर्न सकिन्छ ।” बन्दाबन्दी खुकुलो भएपछि जात्रा चलाउने योजना अघि बढाएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । जात्राको तयारीमा लाग्ने व्यक्तिको स्वास्थ्यलाई ख्याल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँहरुलाई आवश्यक मास्क र स्यानिटाइजर प्रदान गरिरहेका छाँै, कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेका छौँ ।” जीवनको सातदशक नाघेका कपिल बज्राचार्य मूल पुजारीका रुपमा रहनुभएको छ । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उहाँको मन दुखेको थियो । उहाँले २२÷२३ वर्षको उमेरदेखि नै मच्छिन्द्रनाथको पुजारीका रूपमा देवताको सेवा गर्दै आउनुभएको छ । विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उहाँको अनुभव छ । अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हँुदैन ।” विगत २० वर्षअघिदेखि मच्छिन्द्रनाथ रथ निर्माणमा लागि परेका हाल ८३ वर्षीय आशालाल महर्जनले यस वर्ष कोरोनाका कारण समयमै जात्रा मनाउन नपाउँदा नरमाइलो लागेको बताउनुभयो । ढिलै भए पनि जात्राको तयारी शुरु भएकाले उहाँ दङ्ग हुनुहुन्छ । बन्दाबन्दी खुकुलो भएसँगै रथ निर्माण थालिएकामा उहाँ आफूले सक्दो सहयोग गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “अहिले रथ निर्माणमा लागि परेका युवालाई परेको काम सिकाउने गरेको छु ।” चारदशक पहिलेदेखि सो काममा लागि परेका ८१ वर्षीय सिद्धिबहादुर महर्जनले रथ निर्माणको काम अघि बढेसँगै संस्कार र संस्कृति अघि बढ्ने भएकाले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रथ निर्माणमा लागेका युवालाई राम्रोसँग काम गर्न प्रेरणा दिइरहेका छाँै ।” दुईदशक पहिलेदेखि यससँग सम्बन्धित काम गर्दै आउनुभएका ५६ वर्षीय रामेश्वर महर्जन ढिलै भए पनि जात्राको तयारी भएकामा खुशी हुनुहुन्छ । उहाँ हजुरबुवाले रथ निर्माण गरेकाले त्यतिबेलाबाटै काम सिक्नुभएको थियो । रथ बनाउन १२ जना ञँवाल, ३० जना सहायक ञँवाल र २४ जना गुठियार सहभागी हुने ७० वर्षीय ञँवाल सूर्यमान डङ्गोलले बताउनुभयो । रथ निर्माण झण्डै १५ दिनमा सकिने अनुमान गरिन्छ । उहाँले भन्नुभयो, “अहिले दिनहुँ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम भइरहेको छ ।” रातो मच्छिन्द्रनाथको रथारोहण वैशाखमै हुन नसकेपछि अहिले देवतालाई तःबहालस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा राखिएको छ । रातो मच्छिन्द्रनाथलाई रथारोहण गर्नुअघि दशकर्म सकिएको छ । तबहालमा रहँदा दशकर्म सकाएर वर्षेनी वैशाख शुक्ल प्रतिपदाका दिन बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराइन्थ्यो । यस वर्ष कोभिड–१९ को सङ्क्रमण कम गर्न सरकारले जारी राखेको बन्दबन्दीले रथारोहण र रथयात्रा हुन सकेको थिएन । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पर्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनलाई मनाउन सकिने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्रसमेत मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए । सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरू बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो । समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नून थियो भनी जानकारी दिइयो । नूनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए । मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । भक्तपुरका राजा र काठमाडौँका गुरुले मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथ यात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितका नाममा रथ तान्ने गर्दछन् । पहिले पहिले जात्रामा उपत्यकाका तीनै जिल्लावासीको संलग्नता हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाःबहालबाट सुन्धारासम्म काठमाडौँवासीको । निकै पहिलेदेखि नै भक्तपुरवासी र काठमाडौँवासीले रथ तान्न आउन छाडिसकेका छन् । सुन्धाराबाट लगनखेलसम्म पाटनवासीले तान्ने गरेका थिए । एकदशकयता रथ तान्ने काम ज्यापु समाज यलले गर्दै आएको छ । रथयात्रा पुल्चोकबाट शुरु भई गाःबहाल, मङ्गलबजार, थट्टीटोल, लगनखेल हुँदै जावलाखेल पु¥याइन्छ । जावलाखेल पु¥याएको चौथो दिन साइतअनुसार भोटो देखाउने जात्रा हुन्छ । राष्ट्रप्रमुख समक्ष भोटो देखाउने कार्य सम्पन्न भएपछि जात्रा पनि सकिएको मानिन्छ । रासस
Categorized in

कोरोना सङ्क्रमण पुष्टि भएसँगै ललितपुर गोदावरीका बजार तथा पसल बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

ललितपुर : गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भन्नुभयो, “सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हाँै ।” कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ ।
Categorized in

Pages