बुढानिलकण्ठ नगरपालिकामा निःशुल्क खाना स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार
विजयरत्न असंबरे
बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा कोरोना कहरले दैनिक खान नपाएका पिडितलाई दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले नियमित खाना खुवाउँदै आइरहेका थिए ।
यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका थिए । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस महान् कार्यका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउने सबैलार्ई शिवले धन्यवाद दिएका छन् ।
यो कार्यका लागि उनलाई अर्जुन गिरी, सगुन श्रेष्ठ, टोनी उदास, राजु लामा, सुमन सुनुवार, गणेश ठकुरी, सन्तोष तामाङ, विनोदकुमार दास, अर्जुन लुइटेल, सुमन तमाङ कुमार लामा, सुनु लामा, किरण लामालगायतले सहयोग पुर्याएको शिवले जानकारी गराए भने हाललाई यो कार्यक्रम स्थगन भए पनि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शिवको विचार छ । बुढानिलकण्ठ मन्दिर परिसरमा यदि स्थान उपलब्ध भएमा भण्डाराको रुपमा आउँदा दिनमा पनि यसले निरन्तरता पाउनले उनले बताए ।
Categorized in
सार्वजनिक जग्गा संरक्षण गर्न पार्क निर्माण गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरपालिका भित्रका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवद्र्धनलगायलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ ।
ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । योजना अनुसार महानगरपालिकाले वडा–१५ मा शहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै र धोवि खोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ । वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुःननिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ । महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले जानकारी दिएको छ ।
महानगरपालिकाले दिएको जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिडी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ । त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड, वडा नम्बर –३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।
महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महाननगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ । यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ । केही नगरसभा सदस्यहरुले यी योजनाहरुमा केही रकम थप गर्नुपर्नेलगायतका माग राखेका थिए । मेयर शाक्यले पनि सिलिङमा तलमाथि नपर्ने गरी सकेसम्म नगरसभा सदस्यहरुका माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ । त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क त्यस्तै टुसाल पार्क निर्माणको काम पनि महानगरपालिकाले सम्पन्न गरेको छ । विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।
त्यसैगरी महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य सुरु गरिसकेको छ ।
Categorized in
उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार
काठमाडौँ - काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ ।
यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम÷चौपायाबाट पाँच दुर्घटना भएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । “तीव्र गति, मादक पदार्थ सेवन, गाडी तन्दुरुस्त अवस्थामा नराख्ने प्रवृत्तिका कारण पनि बढी दुर्घटना हुने गरेको छ,”उहाँ भन्नुहुन्छ ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी रहेका छन् । महाशाखाका अनुसार आव २०७६/७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएको छ । जसमा १७ देखि ३५ वर्षका ९४ जना रहेका छन् ।
यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना रहेका छन् । उपत्यकामा गत आव २०७५÷७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । आव २०७६÷७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल/स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।
उपत्यकामा बिहान र बेलुकाको समय भन्दा दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको छ । उपत्यकामा आव २०७६/७७ मा दुर्घटना भएका नौ हजार ४६१ सवारी साधनमध्ये दिउँसोको समयमा बढी दुर्घटना भएको देखिन्छ ।
बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म तीन हजार ७८६ दुर्घटना भएका छन् । यस्तै, बिहान ६ बजेदेखि १२ बजेसम्म दुई हजार ९०६, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म दुई हजार २८५ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ४८४ दुर्घटना भएका छन् । महाशाखा प्रमुख ढकाल दिउँसोको समयमा सडकमा अत्याधिक सवारीसाधन निस्कने र तीव्र गतिका साथ चलाउने कारण बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ ।
उपत्यकामा एक ट्राफिक प्रहरीले एक हजार २८४ सवारी साधन व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी एक हजार ८७ रहेपनि हाल एक हजार ४०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई रहेको छ । यस्तै, उपत्यकामा दुई हजार ८३ किलोमिटर सडक छ । यातायात व्यवस्था विभागका अनुसार आव २०७६/७७ को कात्तिक मसान्तसम्म वाग्मती अञ्चलमा १३ लाख ९६ हजार ५५० सवारीसाधन दर्ता भएका छन् । जसमध्ये नौ लाखको हाराहारीमा उपत्यकामा सञ्चालित छन् । यस्तै, देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन रहेका छन् ।
Categorized in
नेपालभाषा मंकाः खलःको नाममा जग्गा दर्ता सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार
नेपालभाषा मंकाः खलःले किनिराखेको र तथा कविकेशरी चित्तधर हृदयले दान दिएको जग्गा अन्ततः नेपालभाषा मंकाः खलःकै नाममा संस्थागत रुपमा दर्ता भएको छ ।
मंगलबार मालपोत कार्यालयमा नेपालभाषा मंकाः खलःको नाममा संस्थागत रुपमा सो जग्गा नामसारी गरिएको छ ।
नेपालभाषा मंकाः खलकले आफ्नै हलसहितको भवन निर्माणको लागि सो जग्गा किनेको थियो । आजभन्दा तीन दशकअघि मंकाः खलकले वर्षेनी योमरि पूर्णिमाको दिन त्यःछिंत्यःबाट संकलित रकमबाट सो जग्गा किनेको थियो । साथै उक्त जग्गासँगै रहेको अर्को जग्गा कविकेशरी चित्तधर हृदयले मंकाः खलकलाई दान दिएका थिए । यी दुवै जग्गा गरी मंकाः खलःसँग अहिले २६ आना (८४२ वर्गमिटर) जग्गा दर्ता रहेको छ । काठमाडौं महानगरपालिका १५ वडा होटल वज्र पछाडि सो जग्गा रहेको छ ।
नेपालभाषा मंकाः खलकले विधिवत रुपमा दर्ता नभएकोले त्योबेला मंकाः खलःका तत्कालीन पदाधिकारीहरु अध्यक्ष पद्मरत्न तुलाधर, उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, सचिव मल्ल के. सुन्दर र कोषाध्यक्ष काजिलाल श्रेष्ठको नाममा जग्गा दर्ता गरिएको थियो । मंगलबार काठमाडौं कलंकीस्थित मालपोत कार्यालय पुगी दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, दिवंगत पद्मरत्न तुलाधरकी जहान निलशोभा तुलाधर र दिवंगत काजिलाल श्रेष्ठका छोरा प्रवीणलाल श्रेष्ठले सहर्ष सो जग्गा नेपालभाषा मंकाः खलःको नाममा पास गरेका थिए ।
जग्गा पासको लागि मंकाः खलःका वर्तमान पदाधिकारीहरु, सहयोगी समुहसहित संघीय सांसद कृष्णगोपाल श्रेष्ठ पनि मालपोत कार्यालय उपस्थित भएका थिए ।
जग्गा पासको लागि आवश्यक करिब ४० लाख बराबरको रकम नेपाल सरकारबाट अनुदानस्वरुप प्राप्त भएको हो ।
एक वर्षअघिमात्र जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नेपालभाषा मंकाः खलः विधिवत रुपमा दर्ता भएको थियो । संस्था दर्ता पछि सो जग्गामा मंकाः खलःको भवन निर्माणको कार्य सुरु भइसकेको छ । भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाबाट ५ करोडको बजेट व्यवस्था भएको छ भने महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास समेत गरिसकेका छन् । अब दुई वर्षभित्र भवन ििनर्माण सम्पन्न गरी मेयर शाक्यबाटै उद्घाटन गर्ने लक्ष्य लिइएको छ ।
नेपालभाषा मंकाः खलःको भवनमा वृहत् हललगायत विभिन्न कार्यालय र पार्किङको लागि समेत ठाउँ रहनेछ ।
Categorized in
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार
ललितपुर : जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो ।
यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पनि बढ्दै गएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।
केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो । “हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ”, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले रासससँग भन्नुभयो ।
Categorized in
प्रहरी दमनविरुद्ध आज खोकना बन्द
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार
काठमाडौं – ऐतिहासिक व सांस्कृतिक नेवाः बस्ती खोकनामा भएको प्रहरी दमनविरुद्ध मंगलबार खोकना बन्द गरिएको छ ।
खोकनाका स्थानीयले आफ्नै भूमिमा रोपाइँ गर्न खोज्ना सुडोलमा शनिबार प्रहरीले बल प्रयोग गरेका थिए । प्रहरीको उक्त दमनविरुद्ध खोकना बन्द गरिएको हो ।
सरकारले खोकनाको सुडोलबाट फास्ट ट्र्याकको नाममा जग्गा अधिकरण गर्न लागेको हो भने खोकनाबासीले यसको निरन्तर विरोध गर्दै आइरहेका छन् ।
आदिवासी, सामाजिक र सांस्कृतिक स्थानमा विकास निर्माणको कार्य गर्नुअघि स्थानीयको समर्थन र इच्छा आवश्यक रहने अन्तर्राष्ट्रिय कानुन र मान्यता रहिआएको छ ।
Categorized in
उपत्यकामा समुदायस्तरमा काेराेना परीक्षण हुने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार
काठमाडौं - सोमबार मात्र काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं उपत्यकामा काेराेना संक्रमण बढिरहेकाे यसले पुष्टि गर्दछ । अझ डरलाग्दाे त ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ र उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।यसले समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । त्यसैले समुदाय स्तरमा कोभिड-१९ परीक्षण गर्न थालिएको छ ।
मन्त्रालयको एक अधिकारीका अनुसार काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउन मन्त्रीस्तरीय छलफल भएको थियो, जसमा मन्त्रालयका विज्ञहरूका साथै इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर वासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा र कोभिड अस्पतालका प्रतिनिधि उपस्थित थिए ।
विज्ञहरूले क्यान्सर, दम, निमोनिया, मधुमेहजस्ता दीर्घरोग लागेका मानिसहरू, शल्यक्रियाका लागि अस्पताल पुग्नेहरूका साथै संक्रमित भेटिएको क्षेत्रमा बसोबास गर्नेहरूको पीसीआर विधिबाट टेस्ट गर्नुपर्नेमा जोड दिएका थिए ।
यसकाे लागि उपत्यकाको १० ठाउँका सर्वसाधारणको थ्रोट स्वाब पनि संकलन भइसकेको छ ।
तीनकुने र नख्खु क्षेत्रमा संकलन गरिएको २२८ वटा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ठाउँको रिपोर्ट आउन भने बाँकी रहेको छ । शंखमुल, कपन, मैतीदेवी, कोटेश्वर, खुशीबुँ, कागेश्वरी, बोडे, टोखा क्षेत्रबाट पनि स्वाब संकलन गरिएको छ ।
जनस्वास्थ्य विज्ञहरूले केही पहिलादेखि नै समुदायस्तरमा संक्रमण खोज्नुपर्ने बताउँदै आएका थिए । मृत्यु भइसकेपछि कोरोना पुष्टि भएका वा संक्रमण पुष्टि भएका केसहरूको संक्रमण स्रोत नै पत्ता नलागेपछि जनस्वास्थ्य विज्ञहरूले उपत्यका जोखिम बढेको भन्दै परीक्षणमा जोड दिँदै आएको थियो ।
Categorized in
काठमाडौँ महानगरपालिका सबै ए डिभिजन फुटबल टिमलाई १० लाख सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन फुटबल क्लबलाई आज सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यको हातबाट प्रति क्लब रु १० लाख नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।
महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरुमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्गदी क्लब रहेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो ।
प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, बि डिभिजनका टिमलाई लाई रु तीन लाख र सी डिभिजनका क्लबलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सुरुमा टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्ने विषयमा छलफल भएको भन्दै पछि धरहरा निर्माणको काम अघि बढाउँदा त्यहाँका निर्माण सामाग्री राख्नु पर्ने भएकाले तत्कालका लागि व्यवस्थित गर्न सम्भव नभएको बताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्दै मछिन्द्र क्लबका अध्यक्ष प्रबोध बीर सिंह कंसाकार ले पनि खेल बिकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली,सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापालगायतको उपस्थिति रहेको थियो ।
Categorized in
टेकु अस्पतालमा कोरोना परीक्षण गराउनेको भीड • नियन्त्रण गर्न हम्मेहम्मे
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
काठमाडौँ - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।
काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।” अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको जनाइएको छ ।
अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आश्यकको मात्रै परीक्षण गरिरहेको छ । अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ ।
अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । बन्दाबन्दी हुनासाथ काठमाडौँ उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् । कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ ।
बन्दाबन्दीमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ । अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डा भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट आउने सबै जोखिममा नभएकाले हामीले आवश्यकको मात्रै गरिरहेका छौँ ।”
कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ । अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, हिस्ट्रि जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ । व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ ।
सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको उहाँले बताउनुभयो । अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ । उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ । उहाँले भन्नुभयो, “परीक्षण गर्नु पर्दैन भनेकाहरु कर्मचारीलाई धम्की दिने गर्छन् ।”
दैनिक २८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्काे दिनमा रिपोर्ट दिने गरेको उहाँले जानकारी दिनुभयो । सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । उहाँले भन्नुभयो, “गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।”
अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ । परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरेको छ । उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी नगरेको उहाँको आरोप छ । सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन । उहाँले भन्नुभयो, “एउटा राम्रो क्वारेन्टिनसमेत व्यवस्था भएको पाइँदैन ।”
अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ ।
Categorized in
सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
काठमाडौँ - हरिसिद्धि बस्दै आउनुभएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण धेरैले मोटरसाइकल वा गाडी रोक्नै खोज्दैनन् ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण लामो समय थुनिएको पसल अहिले खोल्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा सार्वजनिक सवारीसाधन पर्याप्त चल्ने हुँदा गाह्रो नभए पनि अहिले उहाँलाई आफ्नो निजी सवारीसाधन आवश्यकता महसुस भएको छ । सामान्य अवस्थामा पसलमा उहाँ र श्रीमती बस्ने गर्नुभएको थियो । अहिले व्यापार कम भएकाले उहाँ मात्रै जानुहुन्छ । पाँच वर्ष पहिले नाकाबन्दीका समयमा पनि सार्वजनिक सवारीसाधन चढ्नै मुस्किल थियो । तर त्यतिबेला जो कोहीले रोक्ने गरेको उहाँले बताउनुभयो । अहिले आफूलाई पनि कोरोना लागेका मान्छे हो कि भन्ने आफैँलाई पनि डर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हत्तपत्त कसैले रोक्नै नखोज्ने भएकाले हिँडेरै आउने जाने गरेको छु ।”
महेशजस्तै सार्वजनिक सवारीसाधन नचल्दा जोरपाटीकी अञ्जना सुवेदीलाई पनि गाह्रो भएको छ । अनामनगरस्थित एउटा निजी कम्पनीमा कार्यरत उहाँ सामान्य अवस्थामा माइक्रोमा आउने जाने गर्नुभएको थियो । अहिले बिहान श्रीमान्सँग आउने र फर्कदा चाबहिलमा रहेको श्रीमान्को कार्यालयसम्म हिँडेरै जानुहुन्छ । आफ्नो ५ बजे र श्रीमान्को ६ः३० मा छुट्ने भएकाले बस्नुभन्दा हिँडेरै जाने गरेको उहाँले बताउनुभयो । कार्यालय नजाँदा तलब काटिने भएकाले आवतजावत गाह्रो भए पनि दैनिक कार्यालय जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनाको तलब आएन, अहिले पनि काम नगरे के खानु छ र ?”
गत चैतदेखि जारी बन्दाबन्दी खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा अधिकांश कार्यालय र पसल खुलेका छन् । तर यातायातका साधन सहजरुपमा नचल्दा उपत्यकावासीलाई ओहोरदोहोरमा कठिनाइ भएको छ । आफ्नो निजी सवारीसाधन नभएर सार्वजनिक यातायातमै भर परेका नागरिक अहिले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कतिपय घण्टौँ हिँडेर गन्तव्य पुग्छन् । कतिपयले अरुसँग लिफ्ट माग्छन् । यातायातका साधन नचल्द कतिपय अहिले पनि काममा जान नसकेर घरमै बस्न बाध्य भएका छन् ।
यातायात क्षेत्रका अभियानकर्मी राम थापा सरकारले कि पहिलेजस्तै बन्दाबन्दी जारी राख्नुपर्ने कि निजी जस्तै सार्वजनिक यातायात खुला गर्नुपर्ने बताउनुभयो । सार्वजनिक यातायातका साधन नचल्दा उपत्यकामा मध्यम र निम्न वर्गका मानिसले कष्टकर यात्रा गर्नुपरेको उहाँले बताउनुभयो । यात्रुलाई समस्या हुँदाहुँदै पनि सरकारले पर्याप्त तयारी गरेर मात्रै सवारीसाधन खुलाउनुपर्ने उहाँको भनाइ छ । सरकारले व्यवसायीको दबाबमा अरु व्यवसाय खोल्ने र यातायात व्यवसायीको दबाबकै कारणले मात्रै तयारी नगरी सार्वजनिक यातायात खुलाउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सार्वजनिक यातायात खुलाउँदा आमनागरिकको स्वास्थ्यमा असर पुग्छ पुग्दैन विचार गरेर र सावधानी अपनाएर खोल्नुपर्छ ।”
सार्वजनिक यातायात सञ्चालन नहुँदा एकातिर व्यवसायी, यातायातका कर्मचारी र आश्रित परिवारलाई आर्थिक समस्या भएको र अर्कातिर यात्रुलाई गाह्रो भएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । चैत ११ मा सरकारले बन्दाबन्दी जारी गरेसँगै केही मालवाहक सवारीसाधन सञ्चालन भए पनि यात्रुवाहक सवारीसाधन ठप्प छन् । सवारीसाधन तीन महिनाभन्दा बढी समयदेखि थन्किएकाले मर्मतमै धेरै खर्च लाग्ने उहाँले बताउनुभयो । सवारीसाधन नचलेको समयमा बैंक किस्ता, सवारीसाधनका विभिन्न करलगायतमा सहुलियको माग महासङ्घले गर्दै आएको छ । सवारीसाधन ग्यारेजबाट सडकसम्म आउने वातावरण सरकारले बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “हामी पनि सवारीसाधन सधैँ थन्काउन होइन सडकमा गुडाउनै चाहन्छौँ तर त्यसका लागि सरकारले चालक, सहचालकको स्वास्थ्य र हाम्रो लगानीको सुनिश्चित गर्नुपर्छ ।”
यातायात व्यवस्था विभागले स्वास्थ्य सावधानीसहित सार्वजनिक सवारीसाधन सञ्चालनका लागि खाकासहितको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको छ । कार्यविधिमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्नुपर्ने, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायतका विषय समावेश छन् । सवारीसाधन कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भए पनि निर्णयपछि सवारीसाधन सञ्चालनका लागि तयारी अवस्थामा रहन व्यवसायीलाई भनिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्नो सवारीसाधन मर्मत गरेर चल्नसक्ने अवस्थामा राख्नु उहाँहरुको कर्तव्य हो ।”
Categorized in
Pages