दुर्गालाल श्रेष्ठको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार
काठमाडौं – जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन मनाउने क्रममा उनको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।
जनजाति खबर, नेवाः अनलाइन न्युज र नेवाः युट्युबले भोलि साउन ३ गते सो म्युजिक भिडियो सार्वजनिक गर्न लागेको हो ।
शनिवाः दिउँसो ४ बजे एक सांगीतिक कार्यक्रमको बीच सो म्युजिक भिडियो सार्वजनिक हुन लागेको हो ।
सो कभर गीतमा निभाः डंगोलले आवाज दिनुभएको छ भने यचु शाक्यको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन यौवन शाक्यले गरेका छन् भने यसमा सिनेमाटोग्राफी पुष्पले गरेका छन् ।
नवप्रतिभाको सांगीतिक कार्यक्रम पनि
म्युजिक भिडियो सार्वजनिक हुने कार्यक्रममा ६ जना नयाँ प्रतिभाहरुले पनि सांगीतिक प्रस्तुति दिनेभएका छन् ।
‘माया रे रतन’ कभर गीत प्रतियोगिताका विजयी ती नवप्रतिभाहरुले सोही कार्यक्रममा गीत प्रस्तुत गरी मनोरञ्जन दिने पनि जनाइएको छ ।
Categorized in
उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
काठमाडौँ, : काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको हो ।
ती तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ । केही दिन यता बाहिर जिल्लामा सङ्क्रमण दर घटे पनि उपत्यकामा सङ्क्रमित बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो ।
‘‘हामीले उपत्यकामा समुदायस्तरमा नै सङ्क्रमण छ वा छैन भनेर पाँच हजार व्यक्तिमा परीक्षण गरेका थियौँ’’ उहाँले भन्नुभयो, ‘‘तर चार हजारको नतिजा आउँदा तीन जनामा मात्र सङ्क्रमण देखियो । यसले उपत्यकाको समुदायमा सङ्क्रमण छैन भन्ने देखाउँछ ।’’ उहाँले अहिलेको नतिजाले उपत्यकाको समुदायमा सङ्क्रमण नआउने भन्ने नमिल्ने भन्दै सचेत रहन सबैमा आग्रह गर्नुभयो ।
गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरेको थियो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो ।
अहिलेसम्म उपत्यकामा ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्र काठमाडौँ जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना भाइरस सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको छ । सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गरिरहेको छ ।
नेपालमा अहिलेसम्म तीन लाख तीन हजार ८१० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २४९ जना सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
Categorized in
नेपाल मेडिकल कलेजमा तालाबन्दी
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
शङ्खरापुर : नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।
युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।
युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ । महामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन । छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग छ ।”
Categorized in
आजबाट साझा यातायात सञ्चालन हुने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
काठमाडौँ - सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो ।
पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताउनुभयो । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उहाँका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ । उहाँले भन्नुभयो, “बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ ।”
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताउनुभयो । सरकारले तोकेअनुसार नै भाडा लिइनेछ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा शुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै शुरु गरिएको हो ।
उहाँले भन्नुभयो, “आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।” विसं २०१९ सालबाट बस सेवा शुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण विसं २०६४ मा अवरुद्ध सेवा विसं २०७० मा पुनः स्थापित भएको हो । काठमाडौँ उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौँ उपत्यकामा अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।
Categorized in
भक्तपुरमा यस वर्ष गथांमुगल (घण्टाकर्ण) र गाईजात्रा नमनाइने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
भक्तपुर - भक्तपुर नगरपालिकाले यसवर्ष जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने भएको छ ।
भक्तपुर नगर कार्यपालिकाको बैठक र सरोकारवालासँगको छलफलले जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
साउन कृष्ण चतुदर्शीका दिन मनाउने गथांमुगः अर्थात घन्टाकर्ण पर्व यसवर्ष साउन ४ गते परेको छ । यो पर्वमा नर्कट तथा छ्वालीबाट बनाइएका घण्टाकर्ण अर्थात गथाःमुगलाई भक्तपुरमा रहेका नेवार बस्तीबाट सर्वसाधारणले बाजागाजासहित प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ ।
त्यसैगरी भाद्र शुक्ल प्रतिपदाको दिनबाट शुरु भई आठ दिन मनाइने गाईजात्रा पर्वलाई पनि औपचारिकतामा मात्रै सीमित गर्ने र घिन्ताङघिसी नाच देखाउन नपाइने, अन्य प्रस्तुतिहरु गर्न नपाइने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । यसवर्ष गाईजात्रा साउन २० गतेदेखि २७ गतेसम्म परेको छ ।
गाईजात्रामा वर्षभरिका मृतकहरुको सम्झनामा गाईको प्रतीकस्वरुप माटोको गाई, डोकसाँ र ताहामचासँगै लठ्ठी जुधाएर मौलिक रुपमा मनाइने घिन्ताङघिसी नाच उपत्यकामध्ये भक्तपुरको प्रमुख विशेषता हो ।
गाईजात्रामा हास्यव्यङ्ग्य, घोचपेच, देवी नाच, भैरव नाच, लुसी नाच, माक प्याखँ (बाँदर नाच), नागांचा प्याखँ, मयूर नाच, ख्याक नाच, खिचा प्याखँ, भालु प्याखँ, सिंहसिंहनी नाच, कचामचा नाच, धागो काट्ने नाच, सिलु वनेगु प्याखँजस्ता अनेकौँ सांस्कृतिक महत्वको नाच प्रर्दशन गर्ने गरिन्छ ।
फाइल तस्बिर
Categorized in
काठमाण्डौं महानगरपालिकाका सम्पदा निर्माण र पुर्ननिर्माण तिब्र गतिमा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
विजयरत्न असंबरे
कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच पनि एकमतभई अगाडि बढ्न थालेका छन् ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९०भन्दा बढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संर्वद्धनलाई प्राथमिकतामा राखेको छ । यसले महानगरपालिकाले सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकतामा राखेको संकेत गर्छ । आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा–२२ मा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः (नाट्यश्वर) को द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित हुनुभएको थियो । उपप्रमुख खड्गीले थुपै्र सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको पनि जानकारी दिनुभयो । क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुर्ननिर्माण गर्न त्यहाँ रहेका सामान सार्नु पर्ने र द्यःछेँ समेत भत्काउनु पर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नु पर्ने परम्परा अनुसार उक्त पूजा गरी पुर्ननिर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिनुभयो ।
पुरात्वात्विक तथा अभिलेखको संरक्षण गर्ने काम नाट्यश्वर गुठीले गर्दै आएको छ । ‘काठमाडौँ महानगरपालिकाले यो मन्दिरको पुर्ननिर्माणका लागि लाग्ने सम्पूर्ण आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ गुठीका अध्यक्ष महर्जनले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यज्युले गुठीले संरक्षण गरिरहेको गुठीघरमा रहेका पुरात्वात्विक महत्वका र अभिलेखको संरक्षण गर्न हामीलाई आग्रह गर्नुभएको छ ।’ क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य, उपप्रमुख खड्की, वडाध्यक्ष चिनकाजी महर्जन, गुठीका सदस्यलगायतको उपस्थिति थियो । मन्दिर आगामी आर्थिक वर्षको असोज मसान्तसम्ममा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नासःद्यः पुर्ननिर्माणका लागि करीब १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।
चालु आबमा निर्माण/पुर्ननिर्माण सम्पन्न सम्पदा काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कीर्तिपुण्य महाविहार दुगुद्यः, दुर्गा विनायक मन्दिर, मुगःद्यः, वलाछेँ त्वाःछेँ, स्वयम्भू स्तुप भजनघर लगायतका पुनःनिर्माण सम्पन्न गरिसकेको छ । त्यसैगरी सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, दीप्याखं (देवीनाच) द्यँःछेँ, कोटेश्वर महादेवस्थानमा भगवती मन्दिर, जनबहाः दिगीछेँ, किलाघः त्वाःछेँ, न्हय्मू त्वाःछें, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा निर्माणको कामलाई पनि पूर्णता दिएको छ । टेबहालस्थित क्वाःपाःद्यःछेँ, क्वहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, परम्परागत लाय्कूसाः गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन आदिको पुनःनिर्माण कार्य अघि बढिरहेको महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत बाजा सिकाउने गुरुलाई सम्मान गर्ने, ऐतिहासिक सोह्रखुट्टे पाटी पुनस्र्थापना गर्ने जस्ता कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजना अन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्य पनि महानगरले गरेको छ ।
Categorized in
बौद्ध क्षेत्रको सडक एक वर्ष नपुग्दै भत्कन थाले
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।
काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उहाँले बताउनुभयो । सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो ।
चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला शुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरेपनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ ।
यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको पर्यटन व्यवसायी निमा लामाले बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं. ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ ।
टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताउनुभयो । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ ।
हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानी समेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ । महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताउनुभयो । निर्माण व्यवसायीलाई सडकका विषयमा जानकारी गराउन पटकपटक स्थानीय सरकारका तर्फबाट सम्पर्क गर्दा समेत फोन नउठाउने गरेको गुनासो समेत उहाँले गर्नुभयो ।
हायात होटलको अघिको सडकमा विगतदेखि नै भित्रबाट आउने पानीका कारण सडक बिग्रने गरेको वडा कार्यालयले जनाएको छ । यो समस्या समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरे पनि होटलले टेरेको छैन । वार्षिक रुपमा नेपाल आउने लाखौँ पर्यटक बौद्ध क्षेत्रमा घुम्न जाने गरेका छन् । सडकमा होटल एवं अन्यत्रका बाटाबाट लगाइने पानीका कारण खाल्डा खुल्डी भई पानी जम्ने गरेको छ । आरुबारी, तीनचुल र महाँकाल क्षेत्रको वर्षाद्को भेल बौद्धको मूल सडकमा झर्छ ।
काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले पाँच वर्ष अघि गरेको ठेक्का अनुसार यहाँको सडक बिस्तार भएको हो । निर्धारित समयमा ‘साइट क्लियर’, पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्ने लगायत समस्याका कारण काम सम्पन्न हुन सकेको थिएन । तेस्रो पटक थपेको यो सडकको म्याद पनि गत चैतमै सकिएको छ । बन्दाबन्दीमा म्याद सकिएका आयोजनालाई छ महिना थप्ने निर्देशानुसार असोजसम्म बढाउन लागिएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । “करिब पाँच किमी यो सडकमा आसफाल्ट गर्न बाँकी छ, हायात अघि र विभिन्न स्थानमा बाटोबाट पानी आउने ठाउँमा खाल्डा खुल्डी भएको छ, हायातको पर्खालबाट सडकमा पानी खस्ने प्वाल बनाइएको रहेछ, सडक सुधारका लागि यो समस्या समाधान गर्न पहल गरेका छौँ”, उहाँले भन्नुभयो ।
सडकमा निर्माण व्यवसायीले काम गर्दा कतै पनि आयोजनाले सूचनापाटी समेत नराखेकाले सडक निर्माण सम्बन्धी वास्तविक जानकारी पाउनबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । आयोजनाका अनुसार रु ३५ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको सडकमा ८० प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको छ । कात्तिकसम्ममा सडकको काम सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
यस सम्बन्धमा प्रतिक्रियाका लागि युनाइटेड बिल्डर्सका प्रबन्ध निर्देशक सुकुन्तलाल हिराचन र हायात रिजेन्सी होटललाई पटक पटक सम्पर्क गरे पनि फोन उठेन ।
Categorized in
लकडाउनपछि रेबिजविरुद्धको खोप लगाउने बढे
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ।
सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”
कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।”
अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् । अस्पतालले भने आवश्यक भए÷नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक श्यया पनि बढाइरहेको जनाइएको छ ।
Categorized in
उपत्यकामा केही बसहरु सञ्चालनमा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडौँ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल सकारात्मक दिशामा छ, हामी सबै सवारीसाधन चलाउनुपर्छ भन्नेमा छौँ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासङ्घ र मजदूर सङ्गठनसँगको छलफल अघि बढाइरहेको छ । सोमबार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासङ्घसँगै मजदूर सङ्गठनसँग छलफल गर्नुभएको थियो । आज पनि विभागमा व्यवसायी, मजदूर सङ्गठनसँगै स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ ।
अहिले महासङ्घले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासङ्घका महासचिव सिटौलाले बताउनुभयो । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।
लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साबुन पानीको व्यवस्था भएका ठाउँमा मात्रै रोकिन्छ, यात्रु पहिलेभन्दा केही दूरीसम्म हिँड्नुपर्ने हुनसक्छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि आज निर्णय गरेर बिहीबारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताउनुभयो । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उहाँको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ । सवारीसाधन एकै पटक ठूलो सङ्ख्यामा सडकमा आए पनि यात्रु कम हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।”
सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदूर व्यवसायी सङ्गठनले तीनलाई फर्काउन विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरुलाई फर्काइने महानिर्देशक हमालले बताउनुभयो । सार्वजनिक सवारीसाधन सङ्क्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् । गत साता ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चालक सडकमा आएका थिए । अहिले उनीहरु नै जोर बिजोरमा सञ्चालन गर्न माग गरिरहेका छन् । अहिले जिल्लाभित्र सञ्चालन गर्ने भनिए पनि सङ्क्रमण कम भएमा प्रदेशभित्र विस्तार गर्न सकिन्छ ।
Categorized in
खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर निर्माण गरिँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडौं - पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए ।
काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर बनाउने काम अघि बढाइएको उनले बताए ।
उपत्यकामा आगामी दिनमा संक्रमणको अवस्था हेरेर आइसोलेशन बेड संख्या थप गरेर करिब तीन हजारसम्म पुर्याउने योजना छ । संक्रमित बढ्न सक्ने देखिएपछि कोभिड अस्पतालहरुले धान्न नसक्ने भन्दै सरकारले आइसोलेशन सेन्टर बनाएको हो । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टरमा आवश्यकता परेको खण्डमा जुनसुकै बेला लक्षणविहीन कोरोना संक्रमितलाई राख्न सकिन्छ ।
लक्षण भएका कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने छ भने लक्षणविहीन संक्रमितलाई आइसोलेशनमा राखिने प्रवक्ता डाक्टर गौतम बताउँछन् । मापदण्डअनुसार लक्षणविहीन कोरोना संक्रमित आफ्नो इच्छा अनुसार घरमा बस्न समेत पाउनेछन् ।
हाल पनि खरिपाटीमा हवाई उडानमार्फ्त स्वादेश आएकालाई राखिएको छ । यसअघि चीनमा कोरोना संक्रमणले महामारीको रुप लिएपछि गत फागुन ४ गते १ सय ८५ नेपाली विद्यार्थीलाई ऊहानबाट स्वदेश ल्याएपछि खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो ।
काठमाडौं भक्तपुर र ललितपुरमा भेटिएका कोरोना संक्रमितलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल ललितपुर, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार हुँदै आएको छ ।
मंगलबार ११६ सङ्क्रमित थपिए
पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन÷तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई सङ्क्रमित फेला परेका छन् ।
यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज देखिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३२८ रहेका छन् । कुल सङ्क्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उहाँले जानकारी दिनुभयो ।
Categorized in
Pages