सुन्दरको सेवा आजबाट, साझा साउन १ देखि चल्ने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३०, मंगलबार
काठमाडौं- सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।
सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ ।
राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।
सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो ।
सुन्दरको सेवा आजबाट
केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज (मंगलबार) बाट बस सेवा सुरु गर्ने जनाएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ ।
सुन्दरका चार वटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ । सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुई वटा विद्युतीय बसले सेवा दिनेछन् ।
साझा यातायात साउन १ देखि चल्ने
यसैगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि साझा यातायातका बस अझै ग्यारेजमै थन्किएका छन् ।
अब साउन १ गतेदेखि बस चलाउने तयारी गरेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले जानकारी दिए ।
‘अहिले सामान्य गाडी मर्मतको कामसँगै सुरक्षा सावधानीका विषयमा तयारी भइरहेको छ’, पाण्डेले भने, ‘यात्रु र कर्मचारीको सुरक्षाको विषयमा हामी संवेदनशील छौँ ।’
साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको सङ्ख्या बढाउने उहाँले बताए ।
साझाले कोरोना भाइरसको सङ्क्रमणअघि लामो दुरीमा समेत सेवा दिँदै आएको थियो । तर सरकारले अनुमति दिएका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ ।
Categorized in
काठमाडौंमा चल्याे मयूर यातायात
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार
काठमाडौं - तीन महिना बढी लामाे लकडाउनपछि काठमाडाैंमा सार्वजनिक यातायात चल्न सुरु भएकाे छ । यसक्रममा काठमाडौंमा मयूर यातायातले यात्रु सेवा थालेको छ ।
सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको मयुर यातायातले जानकारी दिएकाे छ ।
लकडाउनपछि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।
कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाउन मानेका छैनन् ।
Categorized in
टुकुचा खोलाको व्यवस्थापन गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार
काठमाडौँ : सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।
मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ । आज शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले टुकुचा खोला आसपासको अनुगमनका क्रममा शहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताउनुभएको हो ।
छ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि यो आवमा रु २० करोड खर्च गरिने मन्त्री मानन्धरले बताउनुभएको छ । सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले शहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताउनुभयो । उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षको अन्त्यसम्म टुकुचाको रुप फेरिने दाबी गर्नुभयो ।
अनुगमनमा अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँबायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको जानकारी दिनुभयो । ढकालले डिपिआर निर्माणको काम थालनी गर्न लागिएकोसमेत बताउनुभयो । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौँको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
Categorized in
टोखा नगरपालिकाकाे बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार
काठमाडौँ : टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनका लागि रु १४ करोड १५ लाख रहेको छ ।
नगरपालिकाले कोरोना नियन्त्रणका लागि रु दुई करोड र विपद् व्यवस्थापनका लागि रु एक करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । “विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना नियन्त्रण र विभिन्न समयमा हुने विपद्लाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका हौँ”, उहाँले भन्नुभयो ।
यस्तै मर्मतसम्भारका लागि रु ९५ लाख, खेलकूद विकासका लागि रु ५० लाख, वन वातावरण तथा सरसफाइ कोषका लागि रु ४० लाख, स्वास्थ्य उपचारका लागि रु १५ लाख, संस्कृति संरक्षणका लागि रु २५ लाख, जनशक्ति विकासका लागि रु पाँच लाख, सार्वजनिक जग्गा संरक्षणका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी नगर कृषिको विकासका लागि रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले सङ्घ र प्रदेशबाट सञ्चालित आयोजनाको समपूरक बजेटका लागि रु आठ करोड, महानगर साझेदारी कार्यक्रमका लागि रु दुई करोड, आधारभूत परीक्षा सञ्चालन शुल्क रु १० लाख, नगरस्तरीय ६०÷४० योजना कार्यक्रमका लागि रु सात करोड विनियोजन गरेको हो ।
यसैगरी क्रमागत योजनाका लागि रु ४० करोड, सशर्त कार्यक्रमका लागि रु २१ करोड पाँच लाख, पर्यटन बोर्ड र सडक बोर्डका लागि रु २० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ । टोखाले चालू नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको हो ।
नगरपालिकामा प्रदेश सरकार र केन्द्रीय सरकारबाट रु १६ करोड ६१ लाख ९७ हजारको योजना निर्माण हुने भएको छ । नगरपालिकाले आगामी आवका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड, प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु चार करोड, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड खर्च गर्न पाउनेछ ।
यस्तै गरिबसँग विश्वेश्वर कार्यक्रमअन्र्तगत रु सात लाख ७० हजार, समाजकल्याण कार्यक्रमअन्तर्गत रु आठ लाख र पिएलजीएसपी कार्यक्रमअन्तर्गत रु चार लाख खर्च गर्ने जनाएको छ । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, महिला, बालबालिका ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
Categorized in
समुदायमा संक्रमण देखिएपछि ललितपुरको लुभु क्षेत्र सिल
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
ललितपुर– ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण देखिएपछि महालक्ष्मी नगरपालिका सिल गरिएको छ ।
ललितपुरमा एकजना कोरोना संक्रमितले अन्य ११ जनालाई संक्रमित बनाएपछि समुदायमा संक्रमण देखिएको हो ।
महालक्ष्मी नगरपालिकाको ७, ८ र ९ तीनवटा वडा रहेको लुभुलाई सिल गरिको छ ।
बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत एकजना ल्याब प्राविधिकले आफ्नै घरका ९ जना र महालक्ष्मी नपा ८ वडाका वडाध्यक्षका दुईजना छोरासहित ११ जनामा संक्रमण सारेका थिए । वडाध्यक्षका दुवै छोरा डाक्टर हुन् ।
योसँगै ८ वडाका वडाध्यक्षलगात सम्पूर्ण परिवार होम क्वारेन्टाइनमा बसेका छन् ।
Categorized in
थिमिको दुईपोखरीमध्य एउटा पोखरी पुनःनिर्माण सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।
मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिण तर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो ।
थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो । २०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको नगरप्रमुख श्रेष्ठले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो । कूल रु १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६÷७७ मा रु एक करोड २५ लाख र वाग्मती प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदैे दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो ।
पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उहाँले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासेपानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जानकारी दिनुभयो । मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने बताउनुभयो ।
तस्बिर रत्न श्रेष्ठ
Categorized in
पुनर्जीवन पायो निगु पुखुःले
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिण तर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो । थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो । २०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो । कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको नगरप्रमुख श्रेष्ठले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो । कूल रु १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६÷७७ मा रु एक करोड २५ लाख र वाग्मती प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदैे दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो । पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उहाँले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासेपानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जानकारी दिनुभयो । मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने बताउनुभयो ।
Categorized in
कागेश्वरी, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण हुँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
काठमाडौँ : काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनीमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड पुलिङ) आयोजना सञ्चालन गर्न लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
“आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, तीनवटै नगरपालिकाका कानूनी सल्लाहकार सदस्य रहने गरी २० सदस्यीय समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो । समिति संयोजक कागेश्वरी मनोहराका नगरप्रमुख थापा तोकिनुभएको छ । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकताअनुसार उपसमिति गठन गर्ने, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो ।
आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सोको प्रतिवेदन नगर कार्यपालिकासमक्ष पेश गरिने भएको छ । यही असार ५ गते बसेको आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि, २०७६ स्वीकृत गरेको छ । आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । सो रकमलाई तीन नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन, २०७७÷७८ मा उल्लेख गरिएको पनि समितिले जनाएको छ ।
आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययनका लागि प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम परामर्शदाता छनोटको काम अघि बढाउन लागिएको जनाइएको छ । आयोजनाको कार्यालय जोरपाटीमा खोल्न लागिएको छ । आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तरक्रिया सञ्चालन गरिने भएको छ । अन्तरक्रियामार्फत् आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको गोकर्णेश्वरका नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।
एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने प्रारम्भिक अनुमान गरिएको छ । जग्गा एकीकरण गर्दा जग्गाधनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ । हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ ।
Categorized in
नेपालमा पहिलो पटक टेलिभिजन मार्फत नाटक महोत्सव
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
विजयरत्न असंबरे
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा नेपालभाषा एकेदेमिद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकांकी नाटक महोत्सव सम्पन्न गरिएको छ ।
गत असार १६ गते सम्पन्न सो एकांकी महोत्सव मा ८ वटा विभिन्न नाटक सहभागी भएका थिए । कोरोना महामारी को संक्रमण को जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागी बिना टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत नाटक महोत्सव सम्पन्न गरिएको कुरा सो एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दर ले बताएका छन् ।
नेपालभाषा का विभिन्न एकांकीहरु मध्ये नाटककार मीना बज्राचार्य काे लिथु को निर्देशक पवन जोशी , रामकृष्ण धिनाको थ्वपू कर्म को राजेश शाक्य , शशीकला मानन्धर को चन्द्रहार को निर्देशक आर्यम नकःमि , राजेन्द्रकुमार पुताको थौंकन्हे को रवि महर्जन , नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मी को रामकृष्ण खडगीले निर्देशन गरेका थिए भने महोत्सवमा लेखक , निर्देशक सुरेन्द्र तुलाधर को डा कान्छाभाई , लेखक , निर्देशक कृष्ण प्रजापति को बुंख्याचा , लेखक , निर्देशक राजु श्रेष्ठ को तरकारी बन्जा पनि मन्चन गरिएको थियो ।
सो एकांकी महोत्सव मा सहभागी नाटकका कलाकार, लेखक, निर्देशक र सहयाेगीहरूकाे सम्मानमा शनिवार कीर्तिपुरस्थित नेपालभाषा एकेदेमि हलमा अायाेजित कार्यक्रममा आयोजक तर्फबाट धन्यबाद ज्ञापन गर्दै सम्मान गरिएको थियो । आयाेजक नेपालभाषा एकेदेमिका प्राज्ञ एवं नाटक प्रदर्शन अायाेजन समितिका संयाेजक बीरप्रसाद भन्सारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा विशेष अतिथि प्रा. डा. चन्द्रमान वज्राचार्य र वरिष्ठ चलचित्र पत्रकार एवं नेपालभाषा एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले प्रदर्शित नाटकहरूकाे समीक्षा गर्नुभएकाे थियाे ।
नाटक प्रदर्शन समितिका सदस्य एवं वरिष्ठ चलचित्र निर्देशक पवन जाेशीले धन्यवाद ज्ञापन गर्नुभएकाे कार्यक्रम पवित्र कसाःले संचालन गर्नुभएकाे थियाे भने कार्यक्रममा धन्यवाद-पत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
Categorized in
टेकुमा एचआइभीको औषधि नियमित
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार
काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ ।
कोभिड–१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ । एचआइभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो । यो अस्पताल एचआइभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुलाई यहाँ जस्तो सहज नभए पनि अहिलेको अवस्थामा जानैपर्छ ।”
अस्पतालले सेवा अरु अस्पतालमा सारेपछि कतिपयले दुःख मनाउ गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । एचआइभी सङ्क्रमितले सोचेजस्तो सेवा नपाएको भनी गुनासो गर्ने गरेका छन् । उनीहरु एकदेखि दुई महिनामा एक पटक औषधि लिन आउने गरेका हुन् । अस्पतालमै भर्ना हुनुपर्ने गम्भीर बिरामी वीर अस्पताललगायतका अस्पतालमा जाने गरेका छन् । अस्पतालले यो सेवासँगै रेविजविरुद्धको खोप यहीँबाट सञ्चालन गर्दै आएको छ । यो सेवा अरु अस्पतालमा सार्न सहज नभएको भनी यहीँबाट सेवा सञ्चालन भइरहेको हो ।
Categorized in
Pages