काष्ठमण्डपमा धुरी राखियो, पुनःनिर्माण ७० प्रतिशत सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार
काठमाडौँ - ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो ।
पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण/पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । विसं २०७५ वैशाखबाट पुनःनिर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्नुभयो ।
उहाँले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिनुभयो । “सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु ५० लाख, दोस्रो र तेस्रो चरणमा रु पाँच–पाँच करोड दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो ।
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।
Categorized in
मतयाः पर्व स्थगन गर्न अनुरोध
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार
ललितपुर : गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।
गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतयाः, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछाैं ।”
यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गर्नुभयो ।
Categorized in
धमाधम उद्यान निर्माण गर्दै कामपा
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार
काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताउनुभयो । उहाँले बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट विनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो हुँदैन भन्नुभयो । उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकाले थिति बसाउनमै समय लागेको जनाउनुभयो । उहाँले १८ वर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो नभएकोले चर्चा गर्नुभयो । उद्यान निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नं ३, बूढानीलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिकाको वडा नं ४ को सिमानामा छ । यहाँ उद्यान बनाउने करिब रु दुई करोड ५० लाखको लागत अनुमान गरिएको वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य छ । बाँकी दोस्रो चरणमा काम गरिनेछ । कामपा शहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । “भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ”, डिजाइन टिमका इञ्जीनियर नीलिमा थापा श्रेष्ठले भन्नुभयो, “पहिलोपटक म त्यहाँ पुग्दा चराहरुको चिरकिर आवाज, रुखकिरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इकोपार्क राखेका हौँ ।” उद्यानमा किरियापुत्री भवन पनि बन्नेछ । जीवनमा सबैभन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकाले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको कामपाको भनाइ छ ।
Categorized in
रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न (तस्बिर सहित)
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार
ललितपुर : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो ।
लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उहाँलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो । रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिनुभयो ।
वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा रहेको भाष्करप्रसाद अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँलाई पुल्चोकबाट गाःबहाल हिँडाउनुपूर्व र त्यहाँबाट अन्य स्थानमा हिँडाउनुपूर्व पनि मृदङ्ग भजन पाठ गर्नुपर्ने हुन्छ ।” मच्छिन्द्रनाथलाई हरिहरका अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको अमात्यले जानकारी दिनुभयो ।
करुणावतारलाई रथारोहण गराउन लादा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए । रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको, यो साइतमा रथारोहण नगरिएन तत्काकालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउनु नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने ज्योतिषी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरमा रहेका धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाको पहलमा रथारोहण सम्पन्न गरियो ।”
लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोलले बताउनुभयो । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यसपटकको रथारोहणमा कोभिड–१९ सङ्क्रमणको बेवास्ता गरी हजाराँै मानिस रथारोहणमा उपस्थित भएका थिए । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
तस्बिरहरु : पुष्प महर्जन, अमन महर्जन
Categorized in
सिंहदरबारको मुल गेटको स्वरुप फेरियो
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ गर्दा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकिए पछि ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरवारको कुरुप गेटमा ठोकिए ।
‘गाडी मैले चलाइरहेको थिएँ । सचिवज्यु र म एउटै गाडीमा थियौँ । प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेटनै झारले ढम्म ढाकेको र भूँईभरी लेउ देखेपछि मैले सचिवज्युलाई देखाउँदै भने–यहाँ सिंहदरबार प्रशासनको ध्यान नपुगे जस्तो छ । यो काठमाडौँ महानगरपालिकाले नै सफा गर्दा हुन्न,’ सहसचिव ज्ञवालीले सचिव अर्यालसँग भएको सम्वाद स्मरण गराउँदै भन्नुभयो, ‘सचिवज्युबाट सकारात्मक सन्देश प्राप्त भएपछि मैले नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सचिवज्युको आदेश सुनाए । त्यसपछि उहाँसहितको टोली खटिएर महानगरपालिकाले सरसफाइ गरेको हो ।’
निर्देशन लगत्तै वातावरण व्यवस्थापन बिभागका करीब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडीको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गर्ने काम गरे । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो । त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो । त्यसपछि सिंहदरबारको मुलढोका एकैछिनमा सुन्दर देखियो ।
सामान्य भन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौदर्य विग्रिने गरेको ज्ञवालीको भनाई छ । ‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले केही समय अघि सिंहदरबार नजिकै माइतिघर मण्डलामा ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको छ ।’
ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । ‘यो सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्छ । हामी निरन्तरता दिन तयार छौँ ।’
Categorized in
चन्द्रागिरिमा ‘एक घर, एक धारा’
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ९, शुक्रबार
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।
ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई मनोसामाजिक परामर्श तथा सीपमूलक तालीम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख प्रमुख घनश्याम गिरील बताउनुभयोे । नगरपालिकाभित्र ज्येष्ठ नागरिक भवन निर्माण भइसकेको र ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनाको कार्यलाई समेत निरन्तरता दिइरहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्ता निःशुल्क गर्नुका साथै अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने नीति लिएको छ । यातायात कम्पनीको सहकार्यमा ज्येष्ठ नागरिकको लागि अधिकतम विशेष सहुलियत दरमा यातायात सुविधा उपलब्ध गराउन लाग्नुका साथै नगरपालिकाभित्रको सार्वजनिक पूर्वाधार अपाङ्गमैत्री बनाउन विशेष जोड दिने नगरपालिकाले जनाएको छ ।
दिगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ । नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि आर्थिक वर्ष २०७७÷०७८ मा उक्त नीति अवलम्वन गरेको हो ।सरकारले लिएको शून्य फोहर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारेको छ ।
जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ । यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ । उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ ।
मुख्य राजमार्ग र मुख्य चोकमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । नदी, खोला, सार्वजनिकस्थल, बाटो आदिलाई सबै प्रकारका फोहरमैला निषेधित क्षेत्र कायम गर्ने र सार्वजनिकस्थलमा प्रदूषण गर्ने कार्यलाई निषेधित गर्दै कानूनी दायरामा ल्याइने नगरपालिकाले जनाएको छ ।
बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनालाई चन्द्रागिरि नगरपालिकाभित्र विस्तार गर्नसमेत नगरपालिकाले पहल गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र विधिवत्रुपमा दर्ता भएका गैरनाफामूलक सञ्चालित खानेपानी उपभोक्ता समितिलाई प्राविधिक सहयोग नगरपालिकाबाट उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । खानेपानी उपभोक्ता समिति, खानेपानी व्यवसाय र पानी ट्याङ्कर व्यवसायलाई खानेपानी व्यवस्थापन ऐन बनाई सो ऐनअनुसार दर्ता, सञ्चालन, नियमन र कारवाही गरिने नगरपालिकाले जनाएको छ ।
Categorized in
सार्वजनिक सवारी त चले, यात्रु भएनन्
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ९, शुक्रबार
काठमाडौँ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।
केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन ।
बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थे । सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु देखियो । अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो ।
सरकारले झण्डै चार महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दी बुधबारदेखि सकियो । बन्दाबन्दीकै अवधिमा लागू निजी सवारी साधनमा जोर/बिजोर प्रणाली हटाइएसँगै सडकमा निजी सवारी साधन बढ्न थालेको हो । सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिइएको महाशाखाका प्रवक्ता दानदेव गौतमले जानकारी दिए । उपत्यकाभर ती दुई दिनमा झण्डै ३१ सवारी साधनलाई ‘होल्ड’ गरिएको हो । उनले भने, “स्वास्थ्य सावधान नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने गरिएको छ ।”
बिहीबार मात्रै स्वास्थ्य सावधान नअपनाएकोमा १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो । सरकारले कोभिड–१९ को जोखिम मध्यनजर गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्ने निर्णय गरे पनि यी सवारी साधनले त्योभन्दा बढी राखेको पाइएको प्रवक्ता गौतमले बताए । कतिपय सवारी साधनमा चालक र सहचालकले माक्स, पञ्जा, भाजरलगायतका सुरक्षा सामग्रीको प्रयोग नगरेको पाइएकाले होल्ड गरिएको हो । उनले भने, “ट्राफिक प्रहरीले सकेसम्म सम्झाउने र नमानेको अवस्थामा मात्रै होल्ड गरेको छ ।”
उपत्यकामा चक्रपथ र चक्रपथभित्रका सडकमा अधिकांश सवारी साधनमा यात्रु कम देखिए पनि उपत्यका नजिकका बस्ती(काँठ क्षेत्र) सम्म जाने बसमा यात्रु बढी राखेको देखिन्थ्यो । बस, माइक्रोलगायतका सवारी साधन ज्यादै कम सङ्ख्यामा चलेकाले चढ्न बाध्य भएको यात्रुको भनाइ छ । प्रवक्ता गौतमले भने ट्राफिक प्रहरीले अनुगमन गरिरहेको र क्षताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा कारवाही गरिएको बताए ।
केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादूर हमाल, यातायात व्यवसायी र मजदूर सङ्गठन र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखसमेत सहभागी भएर बैठक भएको थियो । बैठकमा स्थानीय तहले आआफ्नो क्षेत्रमा बस रोक्ने ठाउँमा पानी र साबुनको व्यवस्था गर्ने सहमति भएको थियो । त्यसो त कतिपय स्थानमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कोभिड–१९ को जोखिम शुरु भएदेखि नै साबुनपानीको व्यवस्था गरेको थियो । अहिले कतिपय पालिकाले थप स्थानमा साबुनपानी व्यवस्थापन गर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले ठाउँठाउँमा स्यानेटाइजरको व्यवस्था गर्ने जनाएको छ ।
सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको निर्णय गरेको झण्डै दुई साता पछि यातायात व्यवसायले सवारी साधन सञ्चालन गरेका थिए । त्यसो त गत सातादेखि नै सरकार लगानीको साझा यातायातसँगै मयूर यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका कम्पनीले सवारी साधन चलाउन शुरु गरिसकेका थिए । सरकारले निर्णय गरे पनि यात्रु र चालकको स्वास्थ्यको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै व्यवसायी महासङ्घको आह्वानमा अधिकांश कम्पनीले सवारी साधन सडकमा निकालेका थिएनन् ।
अहिलेका लागि मर्मत भएका सवारी साधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ । सरकारले साउन भर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारी साधन चलाउन पाउने निर्णय गरेको छ । महासङ्घले सबै रुट खुल्ला गर्नुपर्ने यातायात व्यवस्था विभागमा भनिरहेका नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले भने “कोह व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नुहुँदैन ।”
यातायात व्यवस्था विभाग, व्यवसाय र मजदूरबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो । यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानेटाइजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको थियो ।
Categorized in
नेपालभाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ९, शुक्रबार
काठमाडौं – नेपालभाषाका साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेवाः हलिं गुथिले आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालभाषामा लेखिएका साहित्यिक रचनाहरुको अन्तर्राष्ट्रिय भाषाबाट पाठ हुने भएको छ ।
यही भदौ १ गते सोमवाः साँझको ६ बजे सो सम्मेलन हुन गइरहेको गुथिले जानकारी दिएको छ ।
साहित्य सम्मेलनमा पाठ भएका रचनाका साहित्यकारहरुलाई ई–प्रमाणपत्र पनि दिइने भएको छ भने पाठ भएका रचनाहरुको संकलन गरी ई–पुस्तक प्रकाशन गर्ने जानकारी पनि आयोजक गुथिले दिएको छ ।
सम्मेलनको लागि गुथिले साहित्यिक रचनाको आह्वान गरेको छ । गुथिले यही साउन १५ गतेसम्म आफ्ना रचना समवोश गर्न नेपालभाषाका साहित्यकाररुमा अनुरोध गरेको छ । गुथिका केन्द्रीय सदस्यहरुको मेसेन्जर वा ईमेलमा साहित्यिक रचना पठाउन सकिने जानकारी गुथिले दिएको छ ।
Categorized in
बुंगद्यः अर्थात मच्छिन्द्रनाथको रथारोहण १० गते नै हुने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार
विजयरत्न असंबरे
सहकालका प्रतिक स्वरुप प्राचीन कालदेखि आराध्य देवका रुपमा पुजिंदै आएका बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथारोहण बेला बेलामा तय हुँदै स्थगित गर्दै आएको र पछिल्लो समयमा श्रावण १० गते तय गरिएको थियो भने त्यो पनि स्थगित गरिएको सुचना जारी भएकोमा अन्ततः साउन १० गते नै गर्ने सम्बन्धित गुथियार र सरोकारवालाहरुले विस्तृत छलफल पश्चात निर्णय गरेको छ ।
रथारोहणका लागि तयारी रहेको अवस्थामा साउन ७ गते गुथि संस्थानको तर्फबाट हाललाई स्थगित गर्न सूचना जारी गरेको थियो भने त्यसपछि नेवाः समुदायका गुथियारहरुबीच ब्यापक छलफल पछि साउन ८ गते विहिवारको दिनमा जनस्तरवाट सो निर्णय गरेको हो ।
विहिवार नै रातो मच्छिन्द्रनाथका पान्जुहरुको नेतृत्वमा रातो मच्छिन्द्रनाथका ज्योतिष खलःका प्रतिनिधि, बाराही गुथिका प्रतिनिधि लगायत सरोकारवाला गुथियार र विभिन्न ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको थियो ।
सो क्रममा सिडियोले समुदायको कुरामा आफूले पनि साथ दिने बताएपछि ललितपुर महानगरपालिकाको कार्यालय मा गुथियार र सरोकारवालाहरु पुगेका थिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, ज्यातिष खलकका दैवज्ञ जोतिष कीर्तिमदन जोशी, कपिल गुर्जु, बाराही गुथिका दिल कुमार बाराही लगायतका पाँच दर्जन भन्दा बढि सहभागी भएका थिए ।
सो क्रममा अब साउन १० गते नै रथारोहण गर्ने एक मतले निर्णय गरेको हो । भोली ९ गतेको दिनमा जात्रा के कसरी गर्ने भन्ने व्यवस्थापनको सवाललाई लिएर जिल्ला प्रशासन कार्यालयमा जानकारी र छलफलमा गर्न सम्बन्धित ब्यक्तिहरु जाने भएका छन् ।
यस अघि पनि बैशाख १२ गते र असार २४ गते पनि रथारोहणका लागि साइत दिइसकेको अवस्थामा लकडाउनका कारण स्थागित गरेको थियो भने अब आउँदो शनिवार १० गते भने रथारोहण गर्ने निश्चित भएको छ भने यहि आशयको निर्णय गुथि संस्थान ले श्रावण ६ गते पत्र जारी गरेको थियो भने ७ गते फेरी रथारोहण स्थगित गरेको सुचना जारी गरेको थियो ।
Categorized in
व्यक्तिले कब्जा गरेका सबै जग्गा फिर्ता लिएर पार्क निर्माण गर्नेछौं : मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।
उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि सम्बोधन गर्दै नेपालले पुष्पलाल को सम्झनामा उहाँकै ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप काठमाडौँ महानगरपालिका अघि बढेको स्मरण गराउनुभयो ।
प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौदर्यीकरण गरेर अघि बढ्ने बताउनुभयो । वडावडामा भएका यस्ता कार्यमा काठमाडौँ महानगरपालिकाको निरन्तर सहयोग र सहकार्य रहने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौँ ।’ सातौँ नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौदर्यीकरण गरेर हरियाली प्रवद्र्धन गरी पार्क निर्माण गर्न एकमुष्ठ बजेट विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो । विगतमा सयौँ रोपनी जग्गा व्यक्तिले आफ्नो जग्गा भित्र पारेको र लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो ।
उहाँले जहाँ सार्वजनिक जग्गा छ त्यहाँ हरियाली प्रवद्र्धन गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको बताउनुभयो । महानगर क्षेत्र भित्रका मूर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनको कामलाई काठमाडौँ महानगरपालिकाले तिव्र रुपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो । ‘अभियन्ताप्रति सम्मान छ । तर, कतिपय अवस्थामा व्यवसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुर्ननिर्माणमा समस्या आउने गरेका छन्,’ उहाँले भन्नुभयो । शाक्यले काठमाडौँ महानगरपालिकाको जिम्मामा रहेका धेरै सडक निर्माण सम्पन्न भएको बताउनुभयो ।
‘धेरै सडक मेलम्ची खानेपानीले विगारेका छन्,’ उहाँले भन्नुभयो, ‘मेलम्चीले विगारेका सडकको पनि हमीले गाली खानु परेको छ । हामी ती सडक पनि बनाइरहेका छौँ ।’ पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक भएको उहाँले दाबी गर्नुभयो । राजनीतिक आस्थाका नाममा भ्रम फैलाउने काम भयो प्रमुख शाक्यले राजनीतिक आस्थाका नाममा केहीले भ्रम फैलाउने काम गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘केहीले राजनीतिक आस्थाका नाममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मेरो बिचमा पनि असमझदारी फैलाउने काम गरे,’ मञ्चमा बस्नुभएका नेता नेपालप्रति संकेत गर्दै मेयर शाक्यले भन्नुभयो, ‘मैले पार्टीका नेता मात्रै होइन, कुनै पनि कार्यकर्ता, मतदाता र महानगरवासीको शीर झुकाउने गरी काम गर्ने छैन । सम्पूर्ण महानगरवासीको शीर उचो बनाउने गरी हामी काम गर्छौ ।’
मिशन चलाउनेहरुका लागि स्वेतपत्र जारी गर्न तयार छु प्रमुख शाक्यले आफू कुनै पार्टीबाट मेयरको उम्मेदवार बने पनि निर्वाचित भएपछि महानगरवासी सबैको मेयर भएको भन्दै महानगरवासीको हितलाई सर्वोपरी ठानी काम गरिरहेको बताउनुभयो । ‘केही युवाले मेरो र पार्टीका वरिष्ठ नेताका बीचमा विवाद ल्याउन केही मिशन पनि चलाए । सबैले बुझेपछि आफैँ सेलाएर गए,’ उहाँले भन्नुभयो, ‘मिशन चलाउनेहरुलाई हामीले सहयोग गर्न आवश्यक छैन र गर्दैनौँ पनि ।’
उहाँले न्युरोडको महर्जन कम्प्लेक्स, रानीपोखरी, टुँडिखेललगायतका सन्दर्भमा पनि केहीले भ्रम पैदा गर्ने काम गरेको र आफूलाई वद्नाम गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘केहीले मिशनकै रुपमा मेयरले टुँडिखेल बेचेर खायो भन्दै भ्रम फैलाउने काम गरे,’ उहाँले भन्नुभयो, ‘पूर्वमन्त्री भिमसेनदास प्रधान जसले आफू मन्त्री हुँदा सिन्को भाँञ्चुु भएन । उहाँले नै केही युवालाई अघि सारेर अभियान चलाउनुभयो । नेताका घर–दैलोसम्म युवा पठाएर भ्रम फैलाउने काम गर्नुभयो ।’ मेयर शाक्यले आफूले गरेका कामको स्वेतपत्र जारी गर्न तयार रहेको चुनौति समेत दिनुभयो दिनुभयो ।
मेयर शाक्यले दरबार हाइस्कुल चार तलाको निर्माण भएको नदेख्नेहरुले अन्य ठाउँमा सम्पदा मिचियो भन्दै कराउने कुरा सान्दर्भिक नभएको बताउनुभयो । उहाँले सम्पदा बचाउने नाममा व्यवसायिक नबन्न पनि सुझाव दिनुभयो । कार्यक्रममा प्रदेश सांसद वसन्त मानन्धर, वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलगायतले पनि सम्वोधन गर्नुभएको थियो । २०५१ साल अघिसम्म सुकुम्वासी बस्ती रहेको त्यहाँ सुरुमा वृक्षारोपन गरिएको थियो । वडाध्यक्ष महर्जनका अनुसार २०६५ सालमा त्यहाँ पुष्पलालको शालिक निर्माण गरिएको थियो । अहिले मायादेवी र सिदार्थ गौतमको समेत मुर्ति स्थापना गरेर विष्णुमतिको समेत सौदर्यीकरण गरिएको छ ।
Categorized in
Pages