STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

कपनको सडक र पसल बर्सेनि डुबानमा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

date_line: शङ्खरापुर, ७ साउन (रासस) : news_content: बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ । सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् । चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् । आजभोलिको समयमा त सडकमा पर्ने ढलको जताततैबाट पानी बग्ने गरेको छ । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत दुर्घटनामा पर्ने गरेका छन् । घुडाँसम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्दै गरेका कपन सरस्वतीनगर बस्ने रामप्रसाद दुलाल भन्नुहुन्छ, “यस्ता समस्या हामीले वर्षौँदेखि खेप्दै आएका छौँ । धेरैपटक यहाँको स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग मर्मत तथा स्तरोन्नतिको माग नराखेको पनि होइन तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्ति रहेको देखियो ।” ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यहाँको सडक हुँदै मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेहरुलाई त निकै समस्या छ । कपन मिलनचोक बस्ने नवीनप्रकाश कोइराला सडकमा बगेको पानी देखाउँदै आक्रोशसहितको कोइरालाले प्रश्न गर्नुभयो, “हेर्नुस् त यो सडक हो कि खोला हो ? यहाँ यात्रा कसरी गर्ने ? पैदल जाने त झन् सम्भावना नै छैन । यसरी कहिलेसम्म सहने ? कपनवासीको भोट पाएर विकास गर्छु भन्ने नेता अहिले कुन दुलोमा छन् ?” कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका स्थानीयवासी आजित बनेका छन् । कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशेधारा पुग्ने सडकको दयनीय अवस्थाका कारण तरकारी व्यवसाय नै चौपट भएको भन्दै व्यापारीको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर सुविधा दिनुपर्ने माग छ तर जनप्रतिनिधि तथा ठेकेदार कम्पन्नीले भने विभिन्न कारण देखाउँदै स्थानीयवासीको मागको बेवास्ता गर्दै आएका छन् । सरकारले सडक निर्माण सम्पन्नका लागि उपयुक्त निर्णयका साथ निर्माणकार्य अगाडि नबढाउने हो भने यहाँका स्थानीयवासीले अझै केही वर्ष अहिलेकै अवस्थाको सडक व्यहोर्नुपर्ने स्थिति छ ।
Categorized in

समृद्धिकालागि प्रभावकारी काम गर्नु होस् - कामनपा प्रमुख शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

विजयरत्न असंबरे


काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘महानगरबासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध बिकास गर्दै र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं ।’ ‘यहाँका अधिकांश कर्मचारी क्षमतावान हुनुहुन्छ । त्यसैले महानगरको समृद्धिका लागि त्यो क्षमताको उपयोग गरौं,’ प्रमुख शाक्यले भन्नुभयो, ‘मलाई नीति चित्त बुझेन, कार्यक्रम चित्त बुझेन, म यो काम गर्दिन भन्ने छुट कर्मचारीलाई हुँँदैन । सार्वजनिक सेवा प्रवाह गर्दा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नुहोला ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति बिकास, पदोन्नतिजस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण केही महिना काममा अवरोध भएको भन्दै त्यसअघिका परिणाम के थिए ? कार्यक्रम सञ्चालन गर्दा, कसले कति लाभ पाए ? त्यसको पनि लेखाजोखा हुनुपर्नेमा जोड दिनुभयो । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । त्यसैगरी सहसचिव राजेश्वर ज्ञवालीले सामुहिक हितका काम गर्न नेतृत्वको निर्णय गर्ने क्षमता आवश्यक पर्नेमा जोड दिनुभयो । बिभागीय प्रमुखहरुलाई कार्यक्रम सञ्चालन गर्दा पद्धति, चुनौती, खर्च र लाभ बिश्लेषण गर्न आग्रह गर्नुभयो । बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जनाले प्रस्तुतिकरण गर्नुभएको थियो । समीक्षा कार्यक्रममा आगामी दिनमा महानगरले गर्ने खर्चबाट स्थानीयमा प्राप्त भएको लाभलाई प्रगति सूचकको मुख्य बुँदाका रुपमा राख्ने, आन्तरिक तथा वाह्य समन्वय र सूचना प्रणालीमा सुधार गरेर काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी संरचना बनाउने कुरामा जोड दिएको छ । स्मार्ट शासन/प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास जस्ता विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । महानगरपालिकाले सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । सामाजिक बिकास बिभाग, प्रशासन बिभाग, सम्पदा तथा पर्यटन बिभाग, सहरी पूर्वाधार बिकास बिभाग, बित्त बिभाग, सहरी शुशासन बिभाग, वातावरण व्यवस्थापन बिभाग, सूचना प्रबिधि बिभाग, भवन इजाजत बिभाग, बिपद् व्यवस्थापन बिभाग, सहकारी बिभाग, शिक्षा बिभाग, कृषि बिभागले प्रगति समिक्षा प्रस्तुत गरेका थिए । त्यसैगरी कानून महाशाखा, अन्तरराष्ट्रिय सम्बन्ध र मेयरको सचिवालय , सार्वजनिक निजी साझेदारी इकाइ, आन्तरिक लेखा परीक्षण शाखा, नगर प्रहरी महाशाखा, मनोहरा जग्गा बिकास आयोजना, चमती नयाँबजार जग्गा बिकास आयोजना, खरिद इकाइ, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम, पशु महाशा, सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखाको तर्फबाट वार्षिक प्रगति समिक्षा प्रस्तुत भएको थियो । त्यसैगरी भैरव बोगटीले संघ प्रदेश संसद बिकास कोष र दीपक अधिकारी — महालेखाबाट प्राप्त प्रतिवेदनको समिक्षा गर्नुभएको थियो ।
Categorized in

टोखामा पहिरोमा पुरिएर जुम्ल्याहाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ६, मंगलबार

काठमाडौं – काठमाडौंको टोखामा पहिरोमा पुरिएर  जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।  टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । डीएसपी रोशन खड्काका अनुसार मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय सचिन राना र सन्धा रानाको मृत्यु भएको हो । उनीहरू दुबै ३ वर्षका थिए । 
Categorized in

ढल निकास नहुँदा काठमाडाैंका सडक जलमग्न

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ६, मंगलबार

काठमाडौँ :  नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । ढल जाम हुनेलगायत समस्या आउँदा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ । उहाँले भन्नुभयो, “अहिले पनि समस्या देखिएका ठाउँमा केयुकेएलले खुलाइरहेको छ ।” ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवा प्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् । ललितपुर, गाबहालका राकेश श्रेष्ठ यस क्षेत्रमा वर्षेनी पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताउनुभयो । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले चिन्ने ललितपुर महानगरपालिका हो तर उसले आफ्नो क्षेत्र हैन भन्दै टार्ने गरेको छ ।” ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो । ढल निर्माणका काम विभिन्न निकायले गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा यही मन्त्रालयलाई सोधिने उहाँले बताउनुभयो । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइका दक्ष जनशक्ति हाम्रो मन्त्रालयमा रहेको र लाइन मिनिष्ट्री भएकाले सल्लाहमा काम गर्नुपर्ने हो ।” विगतमा सडक विभागले धेरै स्थानमा ढल बनाए पनि समन्वय नहुँदा समस्या आउने गरेको थियो । अहिले काठमाडौँका कतिपय स्थानमा समन्वयमा निर्माण भइरहेको र ती स्थानमा पानी जम्ने समस्या नभएको प्रवक्ता शाक्यको जिकिर छ । यस वर्ष पुतलीसडक, त्रिपुरेश्वरलगायत स्थानमा आपसी समन्वयमा ढल निर्माण भएको थियो । उहाँले भन्नुभयो, “गत वर्षहरुमा बढी गुनासो आउने गरे पनि यस वर्ष गुनासो आइरहेको छैन ।” कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटर सडकसम्म सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन । ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । अहिले काठमाडौँका मुख्य सडकमा ढल भए पनि आवश्यकताभन्दा कम आकारका भएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजीकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानी उपत्यकामा आएपछि ढलको समस्या अझै बढ्न सक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ । उहाँले भन्नुभयो, “यसका लागि सबै क्षेत्र समेटेर गुरुयोजना नै चाहिन्छ ।” पानीको व्यवस्थापनका लागि केयुकेएल, आयोजना कार्यान्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । वाग्मती र त्यसका सहायक नदीमा कतै एकीकृत वाग्मती सभ्यता विकास आयोजना र कतै आयोजना कार्यान्वयन निर्देशनालयले ढल निर्माण गरिरहेका छन् ।
Categorized in

खोकनाको संस्कृति रक्षा गर्न बागमति प्रदेश संसदमा सांसदहरुको माग

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ६, मंगलबार

विजयरत्न असंबरे


बागमति प्रदेशको हाल चलिरहेको अधिवेशनमा सांसदहरुले ललितपुरको खोकनामा विकासको नाममा भईरहेको ऐतिहासिक र साँस्कृतिक महत्व भएका स्थानिय संस्कृति र सम्पदा विनाश कार्य तत्काल रोक्नु पर्ने माग गरेका छन् । साँस्कृतिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको शहर खोकनालाई केन्द्रित गरी हाल भई रहेको फास्ट ट्रायक निर्माण कार्य लगायत काठमाण्डौं उपत्यका बाहिरी चक्रपथ निर्माण कार्य , बागमति करीडोर निर्माण कार्य , पेट्रोलियम पाइप लाइन र १३३ के भि प्रसारण लाइनको विस्तार कार्यले एकातिरबाट हेर्दा विकास भईरहेको जस्तो देखिए पनि वास्तवमा खोकना र त्यसको वरिपरी रहेको धार्मिक , ऐतिहासिक र साँस्कृतिक महत्वका सम्पदाहरुको अस्तित्व नै विनाश हुँदै जाने देखिएकोले तत्काल त्यस्तो कार्य रोक्नु पर्ने आवाज संसदमा उठेको छ । यसरी खोकनालाई केन्द्रित गरेर भौतिक संरचनाहरु निर्माण कार्य रोक्नु पर्ने कुरामा आवाज उठाउने सांसदहरुमा सांसद माननीय विजया के सी ले बिकासको नाउँमा उर्बर उब्जाउ भुमि नष्ट गर्न नहुने राय राखेका थिए । तसर्थ अहिले यस सन्दर्भमा भईरहेको आन्दोलनलाई उचित सम्बोधन हुनु पर्ने राय सांसदहरुको रहेको थियो । यसरी खोकनाको पक्षमा आवाज उठाउने सांसदहरुमा माननीय राजकाजी महर्जनले पनि यस किसिमको भौतिक संरचना खोकनामा निर्माण गर्दा दश हजार रोपनी उब्जाउ जमीन नष्ट हुने खतरा औंल्याएका थिए भने सांसद माननीय शोभा शाक्यले देशमा विकास कार्य हुनु जरुरी छ तर विकास गर्ने भन्दै खोकना लगायतका स्थानमा रहेको सम्पदा र संस्कृतिको विनाश गर्ने काम तुरुन्त बन्द गर्नु पर्ने माग राखेका थिए । सरकारले कुनै पनि भौतिक संरचना निर्माण गर्न स्थानियको जग्गा अधिग्रहण गर्दा सरोकारवाला जग्गा पक्षसंग छलफल नै एकतर्फी हचुवा निर्णय गरी मुआब्जा कायम गरेको कुराको पनि विरोध गरिएको थियो । तसर्थ जनताको उचित मागको तत्काल सम्बोधन गर्न पनि सांसद शोभा शाक्य लगायतका सांसदहरुले आवाज उठाएका थिए ।
Categorized in

हनुमन्ते खोलामा बाढीले भक्तपुरकाे बराह क्षेत्र डुबानमा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ५, सोमबार

काठमाडौं । भक्तपुरकाे हनुमन्ते खोलामा आएको बाढीले साे क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण आएकाे बाढीका कारण बराह क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले दिएकाे जानकारीअनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए । यसका साथै करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।
Categorized in

जवाफदेही प्रशासनका लागि युवाहरुले आवाज उठाए • आजै कार्य समितीको छनौट पनि सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

विजयरत्न असंबरे


राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको शनिबार पुल्चोकमा सम्पन्न चौथों वार्षिक साधारण सभामा युवा अधिकारको विषयमा सचेतना बढाउँदै सार्वजनिक प्रशासनिक प्रति जवाफदेही बनाउने दिशामा महत्वपूर्ण काम भएको कुरा बताइएको छ । शाखाले ललितपुरको विशिष्ट परिवेशमा धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा सक्रिय युवावर्ग संगठित गरी सो दिशामा लक्षित गराउन आफ्नो पैरवी र कार्यक्रमले टेवा पु¥याएको नीष्कर्ष निकालेको छ । शाखाले ललितपुरमा कार्यरत करिब २ सय युवा सम्बद्ध संघसंस्थाहरु कार्यप्रकृति, संस्थागत क्रियाशील, चुनौती बारे विस्तृत अध्ययन गरेको आधारमा सो निष्कर्ष निकालिएको हो। गैर राजनीतिक क्षेत्रमा कार्यरत ती युवावर्गसम्बद्ध संघसंस्थालाई सामाजिक क्षेत्रमा क्रियाशील गराउने हो सामाजिक परिर्वतन धेरै टाढाको विषय नभएको ललितपुर क्षेत्र नं १ का सांसद् नवराज सिलवालले बताउनुभयो । सो अवसरमा शाखाका अध्यक्ष राजेश बज्राचार्यले महासंघले युवा अधिकारलाई ललितपुरको परिवेशमा ठोस कार्यान्वयन गर्दै स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी प्रशासन जवाफदेही बनाउँदै गर्दै आएको सहकार्यले प्रशासनमा युवावर्गको पहुँच केही हदसम्म बढेको बताउनुभयो । स्थानीय तहबाट हुने सेवा प्रवाह र अन्य कार्यमा ललितपुरका युवावर्गको रचनात्मक सहभागिताका लागि शाखाले निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो।भूकम्प पीडितहरुको सावर्जनिक सुनवाई, युवा लक्षित बजेटको सदुपयोग बारे चरणबद्ध गोष्ठी, युवाअधिकारबारे पैरवीकै माध्यमले युवा अधिकार, स्थानीय सरोकार र सेवा विस्तारको नारालाई चरितार्थ गरेको पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ । सो अवसरमा पूर्व प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जवाफदेही प्रहरी प्रशासन र प्रहरी मेरो साथीको मर्मलाई व्यावहारिक रुप दिन निर्वाह गरेको भूमिका सराहना गर्नुभयो । ललितपुरको प्रहरी प्रमुख हुँदा प्रहरी मेरो साथीको मर्मलाई कार्यरुप मार्फत सम्प्रेषण गर्न शाखा मार्फत युवाहरुको धेरै सक्रियता रहेको कुरा पनि उहाँ ले स्मरण गर्नु भयो । सोही वार्षिक सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा प्रणीता शाक्य, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा प्रत्येक शाक्य, सह–सचिवहरुमा सुवास बरार्इँली र सनिल डंगोल, सह–कोषाध्यक्षद्वयमा अनिस महर्जन र सायरा महर्जन रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोहण महर्जन, सदिका महर्जन रहनुभएको छ । महासंघका केन्द्रीय अध्यक्ष सुजन घलेको उपस्थितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शाखाका निर्वतमान अध्यक्ष राजेश बज्राचार्यले पद हस्तान्तरण गर्दै शपथ ग्रहण गराउनुभयो ।
Categorized in

गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

Categorized in

काठमाडौँमा खानेपानी धारा मिटरको अङ्क ग्राहक आफैँले टिपाउन सक्ने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

Categorized in

आज गथा‌ंमुगः (घण्टाकर्ण) पर्व मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउँछन् । यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् ।
Categorized in

Pages