STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

अब कामपा सेवा एकै स्थानबाट

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो । आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो । ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि रु करिब रु २९ लाख खर्च गरिरहेको छ ।
Categorized in

राजधानीमै सुध्रिएनन् स्थानीय तहका सडक

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १४, बुधबार

काठमाडौँ : जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको कार्यालय छ । थली कागेश्वरी मनोहराको सिंहदरबार हो । यहाँका मूल सडक, भित्री सडक सबै रोपाइँ गर्न तयार पारिएका खेतका गराजस्ता देखिन्छन् । सडक बनाउन नगरपालिकाका र वडा कार्यालयमा जतिपटक अनुरोध गरे पनि काम हुन नसकेको स्थानीयवासी पूर्ण श्रेष्ठको गुनासो छ । “वर्षा लागेपछि घरअघि पानीको दह जम्छ, हिउँद शुरु भएपछि धुलोले घरअघि केही देखिँदैन, स्थानीय सरकार बन्नुअघि पनि हाम्रो दैनिकी वर्षामा हिलो र हिउँदमा धुलो खाएर बित्थ्यो, अहिले पनि त्यसरी नै बितेको छ, जतिसुकै तहका सरकार बने पनि हाम्रो दैनिकीमा कुनै सुधार हुन सकेको छैन”, उहाँले भन्नुभयो । नगर कार्यपालिकाको कार्यालयअघि थलीचौरस्थित मिलनचोकबाट मूलपानी जाने भित्री सडकमा गत आवमा बजेट पनि विनियोजन भएको थियो । सडक दायाँबायाँ पर्खाल बनाए पनि सडक बीच भागमा केही गरिएको छैन । पर्खाल बनाए पनि वर्षे व्यवस्थित हुन नसकेको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको योजनामा काम हुँदा सडकमा सूचना पाटीसमेत नराखिएका के काम कति दूरीमा गरिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सोमबहादुर तामाङले बताउनुभयो । जेठको अन्तिम हप्ता यो सडकमा पहिलो लेभलको ग्राभेल हालिएको थियो । त्यसपछि वर्षा हुन थालेकाले काम अघि बढ्न सकेको छैन । थली क्षेत्रका अन्य भित्री सडकको अवस्था पनि दयनीय छ । थलीचोकबाट सिम्खडागाउँ हुँदै वाग्मती नदीतिर निस्कने सडकमा पनि हिलो र पोखरीले हिँड्न नसकिने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । यस्तो सडकमा सवारी गुडाउन समस्या छ । सवारी गुड्दा हिलोले दायाँबायाँ हिँड्नेलाई निथ्रुक्कै भिजाउँछ । दायाँबायाँका घरमा पनि हिलो छ्यापिने गरी सवारी गुड्ने गरेको छ । केन्द्र रहेको नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी स्थानीय सरकारका तर्फबाट सकेसम्म भित्री सडकमा ग्राभेल हाल्ने, पोखरी पुर्ने काम भइरहेको बताउनुहुन्छ । “गुनासो गर्नेले स्थानीय सरकारको स्रोत, साधन एवं अधिकारले कति गर्न सकिन्छ भन्ने पनि बुझ्नुप¥यो, सकेसम्म भित्रका सबै सडकलाई हिँड्डुल गर्न सकिने बनाउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो । जोरपाटी–थली–साँखु मूल सडकसमेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको छ वर्षसम्म पनि सडक अलपत्र छ । ठाउँठाउँमा ठूला पोखरी जम्दा सवारी चलाउन असहज भएको चालक श्याम तामाङको गुनासो छ । डाँछीको ब्रह्मखेलको मूल सडकमा बनेको पोखरीले सवारी चलाउन डराउनुपर्ने परिस्थिति आएको उहाँले बताउनुभयो ।
Categorized in

काठमाडौँमै पहिराको जोखिम, शङ्खरापुरको ८ घर उच्च जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १४, बुधबार

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पुर्याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिनुभयो । पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ । 

८ घर जाेखिममा

काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिनुभयो । जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणका लागि पहलकदमी चाल्नुपर्ने उहाँले बताउनुभयो । सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दङ्गालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गर्नुभयो । उहाँका अनुसार जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्छ । अनि मात्र क्षतिबाट बच्न सकिने उहाँको भनाइ छ ।

फाइल तस्बिर

Categorized in

काठमाडौं महानगरका सबै विद्यालयमा अब संस्कृति र पहिचान सिकाउने पाठ्यक्रम राखिने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

विजयरत्न असंबरे -


काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै नीजि र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ । काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ । अब यी सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ । ‘पाठ्यक्रममा स्थानीय भाषा नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भन्नुभयो, ‘ पाठ्यक्रम समितिका अर्का सदस्य वरुणप्रसाद वैद्यले पाठ्यक्रम नेपालभाषामा तयार गरिएको भए पनि यसको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताउनुभयो । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उहाँले जानकारी दिनुभयो । ‘यो विषय पढाउन हामी शिक्षकहरूलाई एउटा तालिम पनि दिन्छौं । तालिम पाए पछि जुनसुकै शिक्षकले पनि सजिलै पढाउन सकिन्छ,’ वैद्यले बताउनुभयो । काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले काठमाडौंको कला, संस्कृति, सम्पदा संरक्षण गर्ने उद्देश्यले यो पाठ्यक्रम ल्याएको जानकारी दिनुभयो उहाँले यो कामपाको नीतिगत निर्णय भएको भन्दै सामुदायिक र नीजि विद्यालय सबैसँग छलफल गरी अप्ठ्यारो नहुने गरी अघि बढ्ने बताउनुभयो । स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको चर्चित सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताउनुभयो । नोवेल एकेडमीका को–अर्डिनेटर शोभाकर भण्डारीले विद्यालयमा अहिले पनि काठमाडौंको जात्रा, पर्वहरू बारे पढाइ नै रहेको बताउनुभयो ।
Categorized in

आज मीननाथको रथारोहण

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

विजयरत्न असंबरे ः


वर्षेनी बछलाथ्व प्रतिपदा (वैशाख शुक्लपक्ष प्रतिपदा)बाट विश्वकैै सबैभन्दा लामो जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सुरु हुन्छ । तर यस वर्ष विश्वभरि फैलिएको कोरोना रोगको महामारी र यसको नियन्त्रणको लागि लगाइएको लकडाउनले अन्य जात्रा र पर्वसरह यस जात्रालाई असर पारेको कारण बल्ल यो जात्रा सुरु हुन लागेको छ । चार महिने लामो लकडाउनपछि साउन १० गते ललितपुरको पूल्चोकमा रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यसको चार दिनपछि परम्परागत रुपमा मीननाथलाई रथारोहण गराइन्छ । यही परम्पराअनुसार आज साँझ पाटनको टंगल बहालबाहिर निर्माण गरिएको रथमा मीननाथलाई रथारोहण गराइने मीननाथका पुजारी गुरुजु लालककाको रुपमा प्रख्यात मिमराज शाक्यले जनाएका छन् । मीननाथको रथ ३२ हातको हुने र रातो मछिन्द्रनाथको रथभन्दा अलि सानो हुने यस रथमा मछिन्द्रनाथको रथमा जस्तै चार भैरवको प्रतीकस्वरुप चारवटा पाङ्ग्रा, पाङग्राको बीचमा नागको प्रतीकको रुपमा काठको घःमा रहन्छ । रथको सबैभन्दा माथि बाय्म्वः राखेर रथ निर्माण भएपछि हरियो लःसि राखी ध्वजा, पताकाबाट सजाइन्छ । मीननाथलाई चुकबाःद्यः, जटाधारी पद्मपाणी लोकेश्वर र धर्मराज पनि भन्ने चलन छ । परम्पराअनुसार मछिन्द्रनाथलाई वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइन्छ भने चतुर्थीमा मीननाथलाई रथारोहण गराई पुल्चोकको रथमा विराजमान मछिन्द्रनाथलाई स्वागत गर्नजाने भनी रथ तानेर पुल्चोक पुर्याइने चलन छ । यसरी मीननाथकै रथ तानी बाटो हेर्न नगएसम्म रातो मछिन्द्रनाथको रथ तानिँदैन । रातो मछिन्द्रनाथको जति महत्व छ त्यति नै मीननाथको महत्व पनि रहेको यसले देखाउँछ । तर यस वर्ष मीननाथको रथारोहण भए पनि रथायात्राको टुंगो लागेको छैन । सरकारले जारी लकडाउनलाई खुकुलो पारे पनि कोरोना संक्रमणको जोखिम रहिरहेकोले रथयात्राको मिति तोकिएको छैन । भदौ १ गते पछि सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रमा राखिएको लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना भएकोले मीननाथको यात्रा पनि त्यसपछि सुचारु हुने सम्बन्धित सूत्र जनाउँछ ।
Categorized in

काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने निश्चित

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार

विजयरत्न असंबरे


काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्ने निश्चित भएको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज भाडा सम्झौता आफूले नै पाउनुपर्ने माग गर्दै २०७७ असार २२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त प्रा.लि.ले दायर गरेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले असार २३ मा पहिलो अन्तरिम आदेश जारी गरेपछि सम्झौता हुन सकेको थिएन । एक पक्षीय सुनुवाइका आधारमा जारी भएको अल्पकालिन आदेशलाई निरन्तरता दिनुपर्ने , नपर्ने सम्बन्धमा मुद्धाका सबै पक्षहरुलाई सुनुवाइका लागि २०७७ असार ३० गते पेशी तोकिएको थियो । उक्त दिन कज लिष्टको ‘ज’ नम्बरमा राखिएका कारण पालो नआएका कारण सुनुवाई हुन सकेको थिएन । अर्को सुनुवाइका लागि २०७७ साउन ११ गते का दिन आइत बार पेसी तोकिएको थियो । साे दिन न्यायाधीश अनिल कुमार सिन्हा र पूर्व महान्यायधिवक्ता समेत रहनु भएका न्यायाधीश हरि फुयाँलको संयुक्त इजलासको ‘क’ नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको थियो र दिनभरी भएको बहसले साँझ अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै अब महानगरपालिकालाई सम्झौता प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । काठमाडौँ महानगरपालिकाका तर्फबाट कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, अधिवक्ता टिकाराम भट्राई, र काठमाडौँ महानगरपालिकाका कानुन महाशाखा प्रमुख बसन्त आचार्यले बहस गर्नुभएको थियो । यो फैसलासँगै अब छिट्टै छुट्टाछुट्टै घर भाडामा लिएर विभिन्न ११ ठाउँबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजाको एकै छानामुनीबाट सेवा दिने छ । २०५० साल असार ३ गते तत्कालिन राजदरबारका तर्फबाट राजकीय सम्पत्ति कोष विभागका तत्कालिन सह–सचिव शंकरराज विष्ट र काठमाडौँ महानगरपालिका वडा–७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो । सुवासराज काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रा.लि. मा हस्तान्तरण भएपछि पुनः २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम सो करारनामामा उल्लेखित जग्गा र त्यहाँ निर्माण भएको भवनको स्वामित्व नेपाल ट्रष्टमा हस्तान्तरण भएको हुँदा २०५० साल असार २ को करारनामाको अधिनमा रही पुनः करारनामा सम्पन्न भएको कुरा सम्बन्धित पक्षले जानकारीका गराएको छ भने यही आधारमा अब काठमाण्डौं महानगरपालिका को कार्यालय सर्ने बाटो खुलेको हुनाले अब उचित समय हेरेर कार्यालय सर्ने निश्चित भएको हो ।
Categorized in

महाबौद्धका ५ ब्यापारीमा संक्रमण • ३ वटा पसल सिल

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार

काठमाडाैं - काठमाडौंको व्यस्त बजार महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै  ३ वटा पसल सिल गरिएको छ । उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे । गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।
Categorized in

साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

काठमाडौँ : साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ । अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो । विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए । अन्य सबै क्षेत्र खुला भए पनि वैदिक सनातन धर्मावलम्बीले साउन महिनामा आस्थाका साथ पूजा आराधना गर्ने देशभरका शिवालय बन्द गरिएकामा ती संस्थाको आपत्ति थियो । पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डन यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताउनुहुन्छ । भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला भक्तजन आफैँ सतर्क भएर केही दिन मन्दिर नजाने क्रम विगतमा हुन्थ्यो । यसपटक चैत ११ गतेदेखि सरकारले निषेधाज्ञा नै जारी गरेर नजान आह्वान गरेको छ । कोरोनाले रौद्र रूप लिए नेपालको अवस्थाले थेग्न नसक्ने भएकाले केही समयका लागि मन्दिर बन्द गर्नु नै उपयुक्त हुने उहाँले बताउनुभयो ।
Categorized in

काठमाडाैं असनका २ जनामा काेराेना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

काठमाडौं । शुक्रवार कोरोना पुष्टि भएका काठमाडौंका १६ जना मध्य दुई जना काठमाडौंकै अति ब्यस्त र भिडभाड हुने क्षेत्र असनमा पसल गर्दै आएका महिला र पुरुष भएको खुलेको छ । उनीहरु असनका ब्यापारी हुन् । भारतवाट केही दिन अघि मात्र फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको हो । भारतवाट आएपछि पनि सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई परिवारमा घुमिल भएर बसेका उनीहरुका परिवारका सदस्यलाई समेत कोरोनाको लक्षण देखिन थालेपछि परिक्षण गराइएको थियो । भारतवाट फर्किएकी महिलाका परिवारका सदस्यमा रुघा खोकी ज्वरो लगायतका लक्षण देखिएपछि पिसिआर परिक्षण गराउँदा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको थियो । महिलाको परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो । यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिए पछि स्वास्थ्य जाँच गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले घटनाको पुष्टि गरेका छन् ।
Categorized in

विश्व नेवार बालप्रतिभा पुरस्कार सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

जनजातिखबर संवाददाता


काठमाडौं – वल्र्ड नेवाः अर्गनाइजेशनको आयोजनामा भएको बालप्रतिभा प्रतियोगिताका विजयी बालबालिकाहरुको नाम घोषणा गरिएको छ । ग्लोबल नेवाः चिल्ड्रेन्स टेलेण्ट नाम दिइएकोे बालप्रतिभा खोज्ने प्रतियोगितामा ४९ विधा समावेश थियो । ६ वर्षमुनिका ६ वटा र ६ वर्षमाथिका ४३ विधा समाविष्ट प्रतियोगितामा एकजना सहभागीले एकभन्दा बढी विधामा आफ्नो प्रतिभा देखाउन सक्दथ्यो । यस विधामा सजगता मानन्धर, सिम्रिक श्रेष्ठ, संकिपा श्रेष्ठ, लुँस्वां मानन्धर र सुविजा मानन्धरले एकभन्दा बढी विधामा प्रतिभा देखाएका थिए । युट्युबबाट देखाइएको प्रतियोगितामा विजयी हुनेको नाम गत शनिबार बेलुका ७ः४५ बजे सुरु भएको एक भर्चुअल कार्यक्रममा घोषणा गरिएको थियो । वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम जूम एपबाट भएको थियो । कार्यक्रमलाई आयोजकको फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । ६ वर्षमाथिका तीनजना र ६ वर्ष मुनिका तीनजना अनि सामाजिक सञ्जाल पुरस्कार चारजनासहित कुल १० जना विजयी बालबालिकाको नाम घोषणा गरिएको थियो । सामाजिक सञ्जालतर्फको पुरस्कारको घोषणा प्रवीण शाक्यले गरेका थिए । यसमा प्रथम हुने पल्पसा प्रधानलाई पाँच हजार बराबरको नेवाः नखः न्युयोर्क पुरस्कार परेको थियो । यसैगरी दोस्रो हुने प्रथम श्रेष्ठलाई तीन हजार बराबरको न्यू न्युजिल्याण्ड पुरस्कार, तेस्रो हुने नेरिश महर्जनलाई दुई हजार बराबरको क्यालिफोर्निया युएस पुरस्कार र सान्त्वना पुरस्कार प्राप्त गर्ने आयुष्का जोशीलाई एक हजार बराबरको लिस्बन पोर्चुल पुरस्कार दिने घोषणा भएको थियो । सामाजिक सञ्जालबाट प्राप्त भ्युज र लाइकको आधारमा सो पुरस्कार घोषणा गरिएको हो भने प्रतिभाको आधारमा पुरस्कार घोषणाको लागि नेपालभाषाका प्रथम सिने पत्रकार एवं नेवाः अनलाइन न्युजका संरक्षक विजयरत्न असंबरे, लोकप्रिय गायिका सरिष्मा अमात्य र लोकप्रिय चित्रकार एवं सञ्चारकर्मी योंग पिकासो अजय देसार निर्णायकको रुपमा रहेका थिए । सो विधामा ६ वर्षमुनि प्रतियोगीमध्ये संकिपा श्रेष्ठलाई लुमन्ति रेष्टुरेन्ट आयरल्याण्ड पुरस्कार, आर्जल डंगोललाई एअर जोन ट्राभेल मेरील्याण्ड पुरस्कार, आरिया महर्जनलाई एमएम ईन्टरनेशनल ब्रसेल्स पुरस्कार दिइएको थियो । यसैगरी ६ वर्षमाथिका प्रतियोगीमध्ये सजगता मानन्धरलाई नेवाः पुचः आयरल्याण्ड पुरस्कार, सिम्रिक श्रेष्ठलाई नेवाः विज्ञान पुरस्कार र सुबिना, स्वजला, एन्जेला र आर्शमाको टिमलाई माउण्ड एभरेष्ट रेष्टुराँ मेरिल्याण्ड पुरस्कार दिने घोषणा गरिएको थियो । यी ६ वटै पुरस्कार प्रति व्यक्ति पाँच हजार नगदको हो । प्रतियोगितामा सहभागी अन्य सबैलाई सान्त्वना पुरस्कारको रुपमा प्रतिव्यक्ति एक हजार नगदको पुरस्कार दिइएको बालप्रतिभा प्रतियोगिताका संयोजक दिपेश शाक्यले जानकारी दिएका छन् । वल्र्ड नेवाः अर्गनाइजेशनका रश्मिला प्रजापतिले सञ्चालन गरेको सो भर्चुअल कार्यक्रममा पुरस्कार घोषणा कार्यक्रममा कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन मुख्य अतिथिको रुपमा उपस्थित थिए । साथै, सांसद राजेन्द्र श्रेष्ठ, नेवार अगुवा मल्ल के. सुन्दर, ज्यापु महागुथिका अध्यक्ष राजभाइ जकःमि, नेवाः देय् दबूका नरेश ताम्राकार, लोकप्रिय कलाकार नगीना जोशी, वल्र्ड नेवाः अर्गनाइजेशनका संस्थापक सदस्य दया शाक्य विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा आयोजकका तर्फबाट कृष्ण चखँले धन्यवाद ज्ञापन गरेका थिए ।
Categorized in

Pages