STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडौँ – उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । बिहीबार मात्र उपत्यकामा ८७ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७०० मा सङ्क्रमण देखिएको छ । अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० शय्यामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ । यस्तै पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शय्या भरिएर थप १२ शय्या पनि सङ्क्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पाटनमा भर्ना गरिएका सङ्क्रमित प्रायः लक्षण भएका छन् । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शय्या अभाव हुन थालेको छ । कूल ५० शय्यामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटरमध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि अब लक्षण भएका सङ्क्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताउनुभयो । “उपत्यकामा सङ्क्रमित दैनिक बढिरहेका छन् । ती सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अब लक्षण देखिएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने हो ।” उहाँले लक्षण नभएका सङ्क्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताउनुभयो । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउनेजस्ता लक्षण भएका सङ्क्रमित देखिन थालेका छन् । अस्पतालमा भर्ना भएका ३३ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएका छन् । यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको बताउनुभयो । उहाँका अनुसार वीरमा अहिले १५ सङ्क्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ । “पहिले हामीलाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनिएको थिएन । त्यसैले हामीले सङ्क्रमितका उपचारको व्यवस्था गर्नका लागि तयारी गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “तर अहिले मन्त्रालयले नै निर्देशन दिएपछि हामी उपचारको व्यवस्था गर्न जुटेका छाँै ।” त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ । “हाम्रो अस्पताल कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनेर तोकिएको अस्पताल होइन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले धेरै सङ्क्रमित राख्ने सक्ने अवस्था छैन । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न निर्देशन दिए भने हामी तयारी गर्दछौँ ।”
Categorized in

विद्यालय सञ्चालन तयारी अन्योलमा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडौँ – राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् । कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण बनेन । भदौदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण नदेखिएको अभिभावकको गुनासो छ । कागेश्वरीको ४ नं वडाका अभिभावक श्यामचन्द्र पुडासैनी विद्यालयमा बालबालिका पठाउन सक्ने वातावरण नदेखिएको बताउनुहुन्छ । शिक्षा मन्त्रालयले साउन दोस्रो साता भदौदेखि विद्यालय सञ्चालन गर्ने गरी तयारी गरेको सूचना सार्वजनिक गरेकामा साउन तेस्रो साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आह्वान गरेसँगै अन्योल बढेको उहाँले बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय गरी साउन १८ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय नगर शिक्षा समितिको बैठकबाट गरेको थियो । नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल संस्थागत एवं सामुदायिक विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको बताउनुहुन्छ । शङ्खरापुर नगरपालिका शिक्षा शाखाप्रमुख बोधराज निरौलाले केन्द्रीय तहबाट विद्यालय खोल्ने सम्बन्धमा फरक फरक पत्र आएकाले स्थानीय तहबाट कुनै निर्णय नभएको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सयौँ विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो । बूढानीलकण्ठ नगरपालिकाले पनि यसअघि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेकामा राजधानीमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अन्योल भएको छ । नगरपालिकाको शिक्षा शाखाप्रमुख जगन्नाथ उपाध्याय मन्त्रालयबाट साउन १२ गते भएको परिपत्र अनुसार भदौ १ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेकामा पछिल्लोपटक नगर क्षेत्रमै सङ्क्रमण बढ्न थालेकाले अन्योल देखिएको बताउनुहुन्छ । स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने दायित्व स्थानीय तहमा छ । यस क्षेत्रका स्थानीय तहले विद्यालय सञ्चालनका लागि तयारी गरे पनि कोरोनाका बिरामी बढेसँगै अन्योल देखिएको भन्दै केन्द्रीय तहबाट छिटो निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।
Categorized in

बागलुङमा नेवार समुदायका जात्रा स्थगन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

बागलुङ– कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्र्यौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुपर्यो ।” नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे । लाखेनाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइएको थियो । गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तःहामचा निकाल्नैपर्ने परम्परा भएकाले रोक्न नसकिएको नेपालभाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । लाखेलगायत थोरै कलाकार भए पुग्ने नाच देखाउने सोच बनाइए पनि कोरोना सङ्क्रमणको जोखिम थप बढेकाले स्थगन गर्नु नै उचित भएको उहाँको भनाइ छ । समाज र खलः भएर परम्परागत नाचको संरक्षण गर्दै आएका छन् । स्थिति ठिकठाक हुन्थ्यो भने अहिले बागलुङ बजारमा जात्राको रौनक छाउँथ्यो । तीन सय वर्षअघि भक्तपुरबाट आउँदासँगै ल्याएको जात्राको परम्परालाई नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउनुहुन्छ । जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको उहाँको भनाइ छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार समुदायका अगुवा बताउँछन् । यसै त परम्परा जोगाउनै मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ । पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने समाजका सचिव शाक्यले बताउनुभयो ।
Categorized in

घरजग्गा सम्बन्धि सबै कार्य सहज बनाउन कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार

विजयरत्न असंबरे


विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ पुगेर भू सेवा सम्बन्धि काम गर्न सेवाग्राहीहरू पुग्नु पर्ने बाध्यता रहँदै आएको थियो भने अबदेखि लेखापढी कहाँ जान नपर्ने गरी किर्तिपुर नगरपालिकाले त्यस्ता सबै कार्यहरु कीर्तिपुर नगरपालिकामा अब भू-सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुद्दबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई एक कार्यक्रम बीच हस्तान्तरण गर्नुभयो । मालपोत नियमावली, २०३६ नियम २३ क बमोजिम भू–सेवा केन्द्र सञ्चालन गर्न कीर्तिपुर नगरपालिकालाई यो अनुमति पत्र दिइएको हो भने मालपोत कार्यालय कलंकीमा भू-सम्बन्धी घर/जग्गा पास, नामसारी, फुकुवा आदि कामहरू गर्न हाल सबै ईन्टरनेटबाट हुने भएकोले त्यस्ता कामहरू सजिलो गर्नका लागि स्थानीय सरकार (नगरपालिका)मा यस्तो सेवा सञ्चालन गर्न लागेको हो । यसका लागि सेवाग्राहीले आफूलाई चाहिने सेवाको लागि नगरपालिकामा निवेदन दिनु पर्नेछ र सोको आधारमा निश्चित शुल्क लिई नगरपालिकाले सबै विवरण भरेर त्यसको प्रिन्ट (टाेकन) उपलब्ध गराइनेछ । सोही प्रिन्ट (टाेकन) लिएर सोझै मालपोत कार्यालय कलंकीमा गइ आफ्नो काम सम्पन्न गर्न सकिनेछ । यस भन्दा पहिले यस्ता कामहरू गर्न विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ सेवाग्राहीहरू पुग्ने गर्दथ्यो भने अबदेखि लेखापढीकहाँ जान नपर्ने भएकोले सेवाग्राहीहरूको समय र पैसा समेत बचत हुने कुरा बताइएको छ । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्का, नि.प्र.प्र.अ. टंकलाल गैरे, ले.अ.(कलंकी मालपोत) तारा प्र. पोखरेल, क.अ. (कलंकी मालपोत) केशव खतिवडा, ले.अ.(की.न.पा.) मित्र प्रसाद घिमिरे, शा.अ. (की.न.पा.) जनक थापा, ई. (नक्सा शाखा, की.न.पा.) सुरज ओझा, सु.प्र.अ.(की.न.पा.) परशुराम चौलागाई तथा ना.सु.(की.न.पा.) दिलमाया कुँवर आदिको उपस्थिति रहेको थियो ।
Categorized in

विवाद सल्टन बाँकी विष्णुमती पुल : न भत्काइयाे न नयाँ स‌ंचालनमै ल्याइयाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार

काठमाडौँ – निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो । विसं २०७१ असारमा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री कम गुणस्तरको पाइएको सडक विभागले जनाएको छ । डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन भनी विसंं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि पनि निर्माण व्यवसायीका तर्फबाट कुनै पहल नभएपछि ठेक्का तोडिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रुटि सच्याउन वास्ता नगरेपछि गत पुसमा ठेक्का तोडिएको हो ।” पुल निर्माण गर्ने आयोजनाको कार्यालय खारेजी भएपछि सडक विभागमा हस्तान्तरण भएको थियो । परामर्शदाताले पुलमा रहेका त्रुटि औँल्याएपछि सच्याउन भनिए पनि त्यसमा निर्माण व्यवसायीले चासो नदेखाएको हो । पुल निरीक्षणका क्रममा त्रुटि पाइएकाले सवारी साधन सञ्चालन गर्न दिन नसकिएको शर्माको भनाइ छ । कानूनी प्रक्रियामा रहेकाले तत्काल पुल सञ्चालन हुन नसक्ने जनाइएको छ । उहाँले भन्नुभयो, “त्यहाँ रहेका समस्या हटाएर मात्रै सञ्चालन गर्न सकिनेछ ।” विभागले सो पुलमा भेटिएका त्रुटि सच्याउन व्यवसायीलाई एक वर्ष पहिले भनेको विभागका पुल महाशाखा प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताउनुभयो । निर्माण व्यवसायीले भने आफूले गरेको कामको भुक्तानी पाउनुपर्ने माग गरेको छ । सो पुलमा थप अध्ययन गरेर आवश्यक भएमा भत्काउनुपर्ने हुन सक्ने उहाँले बताउनुभयो । बस्ती नजीक रहेको पुल भएकाले भत्काउन पनि सहज नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सवारी चाप हुने ठाउँ भएकाले त्यो पुल भत्काउँदा पनि क्षति हुन नदिने कुरालाई ध्यान दिइनुपर्छ ।” पुलको बीचको खण्ड (मिडल स्पान) तीन सय मिटरमा समस्या रहेको पाइएको विभागले जनाएको छ । ठेक्का सम्झौता अन्त्य भएपछि निर्माण व्यवसायीले कुनै त्रुटि नभएको भनी बिल भुक्तानीका लागि जिकिर गरेको थियो । विभागको कानून महाशाखाअन्तर्गत मध्यस्तता प्रक्रिया चलिरहेको छ । पुलको स्वीकृत ड्रइङअनुसार पुलको लम्बाइ ६० मिटर हुनुपर्ने उल्लेख छ । तीन स्पानमध्ये बीचको ३० मिटर, दायाँ १० मिटर र बायाँ २० मिटर हुने उल्लेख छ । पुलको सब–स्ट्रक्चरसम्मको भुक्तानी भने भइसकेको विभागले जनाएको छ । सोही निर्माण कम्पनीले निर्माण गरेका तीनकुनेस्थित वाग्मती पुल र त्यसको दुवैमा निर्माणका क्रममा त्रुटि पाइएपछि सडक विभागले गत वर्ष नै ठेक्का सम्झौता तोडेको हो । तीनकुनेस्थित पुलको अदालती प्रक्रियासमेत सकिएकाले नयाँ ठेक्कामार्फत निर्माण गरिने निर्णय भइसकेको छ । टेकु पुलको भने विवाद सल्टन बाँकी भएकाले न त निर्माण भएको पुल सञ्चालनमा आउन सकेको छ न भत्काएर नयाँ निर्माणबारे नै निर्णय हुन सकेको छ ।
Categorized in

कीर्तिपुर प्रहरी वृत्तको बोर्डमा रञ्जना लिपि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार

काठमाडौं – जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा महानगरी प्रहरी वृत्त कीर्तिपुर कार्यालयमा रञ्जना लिपि समावेश बोर्ड राखिएको छ । कीर्तिपुर महानगरीय प्रहरी वृत्तमा प्रमुखको रुपमा डिएसपी रुकेश तण्डुकार आएपछि नेपालको मौलिक लिपि रञ्जना लिपि समावेश भएको बोर्ड राखिएको हो । नेपालको परिचय र गौरव बोकेको रञ्जना लिपिको प्रयोग गरिएकोमा तण्डुकारले स्थानीयको शुभकामना पाइरहेका छन् । सन् १९४९ जुलाई २२ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिन नेपालको मौलिक लिपिको रुपमा रञ्जना लिपिलाई दर्ता गराएका थिए । यसै लिपिको आधारमा सन् १९५५ डिसेम्बर १४ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो ।
Categorized in

ललितपुरको मतयाः (दीपयात्रा) औपचारिकता सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार

काठमाडौं – भाद्र कृष्णपक्ष द्वितीयाको दिन ललितपुरमा हर्षोल्लासका साथ मनाइने मतयाः (दीपयात्रा) यस वर्ष औपचारिकता सीमित भई सकिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले यस वर्षको दीपयात्रा औपचारिकतामा सीमित गरिएको हो । वर्षभरि देहावसान भएकाहरुको नाममा दान धर्म गर्ने परम्परा रहेको दीपयात्रामा देहावसान भएकाका घरका सदस्य र आफन्तलगायत सहभागी हुनेगर्छन् । कोरोना संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष नेकु जात्रा मतयाः केन्द्रीय व्यवस्थापन समितिले एक सुचना निकाली मतयाःलाई परम्परा निर्वाह गर्नमात्र गरिने जानकारी दिएको थियो । बुधबार बिहान रुद्रवर्ण महाविहार ओकुबहालबाट सुरु गरिएको दीपयात्रा औपचारिकता सीमित गरी जम्मा १०० वटा बिहार तथा बहिलको परिक्रमा गरी भिन्छेबहालबाट ओकुबहाल पुगी सम्पन्न गरिएको थियो ।
Categorized in

थिमिकाे नीलबाराही नाच यस वर्ष राति मात्र नचाइने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार

भक्तपुर – मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १०ः बजेदेखि शुरु हुने भएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न वडा नं ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । विगतका वर्षहरुमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयको उपस्थिति पनि कम हुने जानकारी दिनुभयो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो । कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उहाँले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उहाँले आग्रह गर्नुभयो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि शुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलका चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ । बोडेको अखाः द्योछेँबाट शुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा रहेको छ । नाच प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्या, काहा र पाेंगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाः, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाः बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीं बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ । नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात बत्ति पनि निभ्नु हुँदैन भन्ने मान्यता छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । यो नाच यस वर्ष शनिबार विहान सम्पन्न गरिने प्रजापतिले बताउनुभयो । नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेपालभाषामा ‘प्याखं स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतका बाजा बजाइने परम्परा रहेको छ । नेपाल सम्वत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच शुरु गरेकाे वंशावलीमा उल्लेख छ । पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर नीलबाराही जङ्गलमा तान्त्रिक नृत्य सिकाएको जनविश्वास छ । देवी स्वयंले सिकाएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् । नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वं (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ ।
Categorized in

सबै छात्रालाई काठमाण्डौं महानगरपालिकाले अब निःशुल्क स्यानिटरी प्याड

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार

विजयरत्न असंबरे


नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राअरुलाई निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रम काे ज्ञानोदय माध्यामिक विद्यालय बाफलमा मंगलबार एक समारोह बीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नु भयो । सो कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकैबेर ताली बजाए र खुशी साटासाट गरेका थिए । कार्यक्रममै सहभागी सबैजसो छात्राहरुले विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन् भने यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नु नहुने बताउनुभयो । उहाँले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतीलाई अपनाइ रहने हो भने पुस्तौसम्म यस्तै परम्परा रहिरहने बताउनु भयो र उहाँले सामूदायिक विद्यालयहरुलाई सुधारमा ध्यान दिन समेत आग्रह गर्नुभयो । ज्ञानोदय माध्यामिक विद्यालय बाफलका प्रधान अध्यापक नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताउनुभयो । उहाँले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताउनुभयो र त्यसैले उहाँले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताउनुभयो । उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानगरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
Categorized in

भिडका कारण लाइसेन्स वितरण राेकियाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार

काठमाडौँ – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभर्याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् । उहाँले भन्नुभयो, “उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन ।” कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन । अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उहाँको भनाइ छ । नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ । उहाँले भन्नुभयो,“सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो ।”
Categorized in

Pages