STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

विष्णुमती किनारमा बनिरहेकाे फिल्टर प्लान्टकाे सूचना माग्दै स्थानीयवासी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौँ – राजधानीको मध्यभागमा रहेको विष्णुमती किनारमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको ‘फिल्टर प्लान्ट’ आयोजनाले सूचना पाटी नराखेपछि स्थानीयवासी सूचना माग्न सम्बन्धित कार्यालय पुगेका छन् । राजधानीको मुटुमै अपारदर्शीरुपमा योजना सञ्चालन भइरहेको र त्यससम्बन्धी जानकारी स्थानीयवासी एवं वडा कार्यालयलाई समेत नभएको समाचार राससमार्फत यही साउन २१ गते सार्वजनिक भएको थियो । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलेसमेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा ‘फिल्टर प्लान्ट’ निर्माण भइरहेको छ । निर्माणस्थलमा स्थानीयवासीलाई जानकारी दिन राखिनुपर्ने सूचना पाटीसमेत छैन । निर्माणस्थलमा सूचना पाटी नराखिँदा के बनाउन लागिएको हो भन्ने स्पष्ट नभएपछि स्थानीयवासीले पटकपटक सरोकार भएका निकाय बोलाएर छलफल कार्यक्रमसमेत आयोजना गरे । यति गर्दा पनि जानकारी हुन सकेन । कुन कार्यालयको योजना भन्नेसमेत थाहा नभई अन्योलमा भएका बेला राससको समाचार पढेर कार्यालय थाहा पाएपछि स्थानीयवासीसँग सल्लाह गरी बिहीबार सूचना मागको निवेदन दर्ता गरिएको १९ नं वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले राससलाई जानकारी दिनुभयो । “उपभोक्ता समितिमार्फत ९० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण भएको भनिए पनि आयोजनास्थलमा सूचना पाटी नभएको र मञ्चले सार्वजनिकरुपमा छलफल कार्यक्रम आयोजना गरी पदाधिकारीलाई जानकारी दिने गरी बोलाउँदासमेत नआएपछि वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं ५ भक्तपुरमा कति बजेटमा, के काम गर्न लागेको लगायत आयोजनासम्बन्धी जानकारी सूचनाको हकसम्बन्धी २०६४ अनुसार माग गरिएको हो”, उहाँले भन्नुभयो । वडामा आएको योजनाका बारेमा वडा कार्यालयलगायत तीनै तहका जनप्रतिनिधिले अनुगमन गरेर गुणस्तरीय एवं पारदर्शी काम गराउनुपर्नेमा त्यस्तो हुन नसकेको स्थानीयवासीको गुनासो छ । आयोजनाका विषयका थाहा भएका जनप्रतिनिधि नै स्थानीयवासीलाई जानकारी नदिन लागेपछि मञ्चको अग्रसरतामा अध्यक्ष खड्गीले सूचना माग गर्नुभएको हो । वडाध्यक्ष शशिलाल श्रेष्ठ प्रदेशको बजेट भएकाले वडालेसमेत विस्तृतरुपमा जानकारी पाउन नसकेको बताउनुहुन्छ । चालू आवमा महानगरले त्यो आयोजनाका लागि रु ३० लाख बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो । दमैचाघाट उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेको आयोजनाका बारेमा छलफल गर्न असार तेस्रो साता मञ्चले कङ्केश्वरी मन्दिरको सभाहलमा आयोजना गरेको कार्यक्रममा समितिका पदाधिकारी एवं सदस्य उपस्थित भएनन् । आयोजना कार्यान्वयन गर्ने समितिका पदाधिकारी स्थानीयवासीलाई जानकारी गराउन उपस्थित नहुँदा विषयको गम्भीरतालाई आशङ्कित बनाएकाले सूचना माग गर्नुपरेको मञ्चले जनाएको छ । सुशासन ऐन २०६४ मा पाँच लाखभन्दा बढीका आयोजना सञ्चालन गर्दा कहिले शुरु भएर कहिले अन्त्य हुने, लागत, निर्माण व्यवसायी वा उपभोक्ता समितिका विषयमा जानकारी दिन सूचना पाटी (होर्डिङ बोर्ड) राख्ने व्यवस्था गरिए पनि राजधानीकै मुटुमा पालना हुन सकेको छैन । मञ्चले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखालाई पनि यस विषयमा ध्यानाकर्षण गराएको थियो । मञ्चको ध्यानाकर्षणपछि लिमिटेडलेसमेत समितिलाई पत्राचार गरेको थियो । लिमिटेडले मञ्चलाई फिल्टर प्लान्टबाट उत्पादित पानी प्रशोधन गर्दा पनि पिउनयोग्य नहुने भनी प्राविधिक प्रतिवेदन दिएको प्रवक्ता प्रकाश राईले बताउनुभयो । “त्यहाँको पानीमा धमिलोपना (टर्विडिटी) ६४.६, आइरन ६.३ र एमोनिया ५८ प्रतिशत छ, यी तीन वटा प्यारामिटरका कारण पानी पिउन सकिँदैन, घरायसी प्रयोजनका लागि उपयोग गर्न सकिने प्रतिवेदन दिएको हो, प्रशोधनबाट आइरन र धमिलोपना मापदण्डमा ल्याउन सकिने भए पनि एमोनिया भने घटाउन सकिँदैन”, उहाँले भन्नुभयो । आयोजनाले महानगरका वडा नं १५, १७, १८, १९ र २० को अधिकांश क्षेत्रलाई समेट्ने जनाइएको छ । यो क्षेत्रमा धाराको पानी पु¥याउन नसकिएको लिमिटेडको स्वीकारोक्ति छ । महानगरपालिकाको वडा नं १९ मा आठ वटा ढुङ्गेधारा भए पनि हाल दुई वटामा मात्र पानी आउने गरेको वडासदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । मरुहिटी र बञ्जाहिटीमा मात्र पानी आउने गरेको उहाँले सुनाउनुभयो । आयोजना सञ्चालन गरेको खानेपानी तथा सरसफाइ डिभिजन नंं ५ भक्तपुरका इञ्जिनीयर कुलप्रसाद शर्माले असार ३ गते रु ४० लाखमा सम्झौता भई फिल्टर प्लान्टको काम गरिएको बताउनुभयो । तीमध्ये रु २० लाख भने फ्रिज भएको उहाँले जानकारी दिनुभयो । वडा नागरिक मञ्चबाट सूचना माग भएपछि तीन चार दिनमै आयोजनासम्बन्धी सम्पूर्ण जानकारी दिने प्रतिबद्धता कार्यालय जनाएको अध्यक्ष खड्गीले बताउनुभयो । त्यो ठाउँमा खानेपानी आयोजना उपयुक्त छैनभन्दा भन्दै केही राजनीतिक व्यक्तिको दबाबमा आयोजनामा बजेट विनियोजन भएको इञ्जिनीयर शर्माले मञ्चका पदाधिकारीलाई जानकारी दिनुभएको छ । आयोजनाका लागि परामर्शदाता कम्पनीसमेत नियुक्त गरिएको सूचना प्राप्त भएकाले थप खोजी भइरहेको मञ्चले जनाएको छ । अपारदर्शिताको यो नमूनालाई उजागर गरी छोड्ने स्थानीयवासीको प्रतिबद्धता छ । रासस
Categorized in

जोखिम नियन्त्रणको लागि कीर्तिपुरका पसलहरु बन्द गरियाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुरभित्रका व्यापार, व्यवसाय पनि बन्द भएका छन् । कीर्तिपुर नगरपालिकाया पदाधिकारी, जनप्रतिनिधि एवं सुरक्षा निकायद्वारा बिहीबार संयुक्त रुपमा बजारको अनुगमन गरी खोलिएका रेष्टुरेन्ट, चियापसल एवं ठूला किरानापसलहरु बन्द गराएका थिए । कीर्तिपुर अस्पलतामा कोरोना भाइरसबाट संक्रमित भेटिएपछि व्यवसायहरु बन्द गर्न लगाएका हुन् । संक्रमण नियन्त्रणको लागि केन्द्रीय सरकारले स्थानीय सरकारलाई जिम्मा दिइसकेपछि कीर्तिपुर नगरपालिकाले उक्त कदम चालेको हो । अहिले बन्द गराएका पसल तथा रेष्टुरेन्टहरु ७ दिनको लागि बन्द रहने निर्णय पनि स्थानीय सरकारले गरेको छ । यसैगरी, किराना पसलहरु बिहान १० बजेसम्म र दिउँसो ४ बजेपछि खोल्न, भौतिक दूरी कायम गर्न, सुरक्षाका उपायहरु अपनाउन तथा नजिकिँदै गरेको तीज पर्वलाई मध्यनजर गर्दै भिडभाड र सामूहिक नाचगान नगर्न र नगराउन नगरपालिको सबै वडाबासीमा अनुरोध पनि गरेको छ । जोखिम नियन्त्रणका लागि शुक्रबार कीर्तिपुरका २, ४ र ६ वडाका केही ठाउँ सिल गरिएका छन् भने चोभारस्थित आदिनाथको मन्दिर पनि शुक्रबार देखि बन्द गराएको छ ।
Categorized in

ईन्द्रचोकदेखि जुद्धशालिकसम्मका पसलहरु एक साता बन्द हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं – काठमाडौं महानगरपालिका २४ वडाले काठमाडौंको जुद्धशालिकदेखि ईन्द्रचोकसम्मका पसलहरु एक हप्ताको लागि बन्द गर्न अनुरोध गरेको छ । कामपा २४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार एक सुचना प्रकाशित गरी सो क्षेत्रमा एक साताको लागि पसलहरु बन्द गर्न अनुरोध गरेका छन् । सो क्षेत्रमा कोरोना संक्रमित भेटिएकाले जोखिम नियन्त्रणको लागि पसलहरु बन्द गर्न अनुरोध गरिएको वडाध्यक्ष श्रेष्ठले जनाएका छन् । सो क्षेत्रमा रहेको एउटा सुनचाँदी पसलका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि यसअघि कामपा १२, १४, २१, २२, २५ र २७ वडाले पनि आफ्ना क्षेत्रहरुका पसलहरु बन्द गर्दैै आइरहेको छ ।
Categorized in

काठमाडौंको कुलेश्वर र बल्खु सिल गर्ने तयारीमा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

काठमाडौं – काठमाडौंमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । विशेषगरी बाहिरी जिल्लाबाट काठमाडौं भित्रिनेहरुबाट कोरोना संक्रमण बढिरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वर, बल्खु इलाकामा फलफूल व्यापार गर्ने व्यापारीहरुमा कोरोना संक्रमण बढेसँगै सो इलाका सिल गर्न लागिएको थाहा हुन आएको छ । कुलेश्वर इलाकामा बुधबार एकै दिन २९ जना कोरोना संक्रमित भेटिएका थिए । यसैगरी बिहीबार सो क्षेत्रमा १० जना कोरोना संक्रमित देखिएको वडा कार्यालयले जनाएको छ । सो क्षेत्रमा फलफूल व्यवसाय गर्ने व्यवसायीमा कोरोना संक्रमण देखिएको हो । अहिले उक्त क्षेत्र गर्ने तयारीमा १४ वडा कार्यालय रहेको जनाइएको छ । अहिले त्यहाँबा बाटा तथा गल्लीहरु पूर्ण रुपमा बन्द गरिएका छन् भने पसलहरु पनि पूर्ण रुपमा बन्द गराएका छन् । त्यस इलाकामा भेटिएका संक्रमितहरु अहिले टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएका छन् ।
Categorized in

कुशेऔंशीमा गोकर्णेश्वर मन्दिर नखुल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

काठमाडौँ – भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन अगामी भदौ ३ गते बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले बाबुको मुख हेर्ने दिन, हरितालिका ९तीज० र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो । पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न चैत ११ गतेदेखि नै बन्द गरिएपछि साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ । बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्र कृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो । यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगयासमेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्ययुगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वका साथ पुजिन्छ । शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहनुभएका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताउनुभयो । गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ । कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।
Categorized in

काठमाडाैं उपत्यका आवतजावत पूर्णरुपमा बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणकाे जोखिम बढ्न थालेपछि उपत्यका आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वरा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए। यसैगरी गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो। यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्रमण देखिएपछि प्रवेशमा नाकामा कडाइ गरिएको छ। अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।
Categorized in

साँखुमा तीन कोरोना सङ्क्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडौँ – शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।
Categorized in

यस वर्ष इन्द्रजात्रामा भीडभाड हुन नदिने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो । इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उहाँको भनाइ छ । यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७.०७ बजे र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ । फाइल तस्बिर
Categorized in

किस्टमा थप एकजनाकाे काेराेनाबाट मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडौं – ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । यसअघि साेही अस्पतालमा टेकुकी एक वृद्धाकाे काेराेनाबाट मृत्यु भएकाे हाे । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे ५ । दम तथा मुटु रोगी ती वृद्ध गत साउन २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजेमात्र आएको हो।
Categorized in

कीर्तिपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

ललेन्द्र शाक्य
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको सम्पूर्ण संस्थापक पदाधिकारीहरुलाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना आदान प्रदान कार्यक्रम भर्खरै सम्पन्न भयो । साथै उक्त कार्यक्रममा संघको प्रारम्भिक साधारण सभा पनि सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठसहित नेपाल उद्योग वाणिज्य संघ काठमाडौका उपाध्यक्ष राजेन्द्र शेरचन बिशेष अतिथिका रुपमा उपस्थिति हुनुभएको थियो । सोहि कार्यक्रममा अतिथिका रुपमा बाघभैरव ज्येष्ठ नागरिक संघका अध्यक्ष निलकण्ठ अमात्य, कीर्तिपुर नगरपालिका राजश्व बिभागका प्रमुख नरेन्द्र महर्जन, नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् पि.एम. कन्स्ट्रक्सनका अध्यक्ष कृष्णप्रसाद महर्जन, मनकामना क्राफ्ट एण्ड क्रियसनका प्रबन्ध निर्देशक निरज कुमार श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक पदाधिकारीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा कीर्तिपुर नगरपालिकाका राजश्व प्रमुख नरेन्द्र महर्जनले अब कीर्तिपुरका सम्पूर्ण ब्यापारीहरुलाई संगठित बनाई भावी कार्य योजना बनाई राजश्व वृद्धिदर बढाउनको निम्ति वाणिज्य संघको मुख्य भूमिका हुनुपर्नेमा जोड दिनुभयो । सोहि प्रारम्भिक सभामा आफनो बिचार राख्ने क्रममा प्रमुख अतिथि दिनेश श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न तयार भएको र ब्यापारीहरुको हक हितको लागि सधैं सरकारलाई झकझकाईरहने कुरामा बिश्वस्त गराउनुभयो । बाघ भैरव जेष्ठ नागरिक संघका अध्यक्ष एवम् कीर्तिपुर नगर उद्योग वाणिज्य संघका सल्लाहकार निलकण्ठ अमात्यले कीर्तिपुर सोभिनियरको यस ऐतिहासिक नगरको पहिचानका लागि बिशेष पहल गरेर कीर्तिपुर नगरपालिकासंग सहकार्य गरि नेवाः अय्लाः, रातो छ्याङ साथै विभिन्न हस्तकलाका सामानहरुलाई बिदेशमा निर्यात गरे मात्रै हाम्रो अर्थतन्त्रको बिकास हुने कुरा स्मरण गराउनु भयो । कार्यक्रममा संघका सस्थापक सदस्य सबिता महर्जनले स्वागत गर्नुभएको थियो भने महर्जन कीर्तिपुर होजियारीका प्रोपाईटर पनि हुनुहुन्छ । यस्तै उक्त बधाई तथा शुभकामना कार्यक्रम कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न भएकोथियो । अध्यक्ष शाक्यले सबै ब्यापारीहरूसंग सहकार्य गरेर नेपाल सरकारसंग समन्वयात्मक भूमिकाका साथ नौलो कार्य योजना बनाएर खाका तयार गरी नगरपालिकासंग नीति निर्माण बनाउने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघका सम्पूर्ण संस्थापक पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत बिशेष अतिथिहरु लगायत सम्पूर्ण कार्यसमितिको पदाधिकारीहरुलाई हार्दिक धन्यबाद दिएर कार्यक्रम समापन गरिएको थियो ।
Categorized in

Pages