उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड निर्माणको तयारी
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार
विजयरत्न असंबरे –
उपत्यकामा संघीय सरकार र स्थानीय तहले एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदाय स्तर मै कोभिड—१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको हो भने उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच आज भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ एकीकृत आइसोलेसन निर्माणमा केन्द्रित रहेको बताइएको छ ।
रक्षा मन्त्रालयमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गर्दै उपत्यकाकामा तिव्र गतिका साथ एकीकृत आइसोलेसन निर्माणमा गर्नुपर्नेमा जोड दिनु भएको थियो भने नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जारी निषेधाज्ञाको पूर्ण सदुपयोग गर्दै उपत्यकामा गुणस्तरीय एकीकृत क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको कुरा बताउनु भयो ।
उहाँले उपत्यका नगरपालिका फोरमको सुझावपछि सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेसन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधी भित्रै आइसोलेसन निर्माण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो ।
छलफलमा क्वारेन्टिनस्थल र आइसोलेसन निर्माणका लागि स्थानीय तहले स्थान तोक्न समन्वय गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार छलफलमा मन्त्री पोखरेल र ढकालले उपत्यकामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नियन्त्रण र रोकथामका लागि संघीय, प्रदेश र स्थानीय तहको समन्वय अत्यावश्यक भएको बताउनुभएको थियो । सरकारले क्वारेन्टिनस्थल र आइसोलेसन राख्दा प्रति व्यक्ति १ सय ७५ रुपैयाँ मात्रै खर्च गर्ने मापदण्ड बनाएको भन्दै त्यसमा थप गरी कम्तीमा पाँच सय पुर्याउन मेयर फोरमका पदाधिकारीले माग गरेको र दुबै मन्त्री सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पनि उपत्यकामा एकीकृत क्वारेन्टिनस्थल र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो ।
उहाँले अस्पताल र आइसोलेसन गरी करीब १० हजार बेड निर्माण गर्न सक्ने हो भने काठमाडौँ उपत्यका भित्र कोभिड–१९ विरुद्ध लड्न सकिने अनुमान गर्नुभयो । सरकारले भदौ ४ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टिनको प्रवन्ध तथा व्यवस्थापन गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिसकेको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६,००० आइसोलेसन बेडको प्रबन्ध गर्ने ।
आवश्यकतानुसार थप गर्दै जाने पनि निर्णय पनि सरकारले गरेको छ । उपत्यका नगरपालिका फोरमको बैठकले पनि उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्ने तयारी समेत गरेको छ । बैठकमा उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र गृहसचिव महेश्वर न्यौपाने पनि सहभागी हुुनुहुन्थ्यो ।
Categorized in
मध्यपुर थिमिमा कोरोना संक्रमितको मृत्युपछि अस्पताल बन्द
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार
भक्तपुर – कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउनुभयो ।
अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो ।”
कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियोे भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
अहिलेसम्म भक्तपृुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा १५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरीसहित ३९ मा सङ्क्रमित रहेका छन् ।
भक्तपुरमा समुदायस्तर मै कोरोना सङ्क्रमण फैलिदै गएको र मृतकको सङ्ख्यासमेत बढ्दै गएको भन्दै प्रत्येक नगरपालिकाले प्रत्येक घरको कम्तीमा एकजनाको पीसीआर गर्नुपर्ने स्थानीयले माग गरेका छन् । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले भने सङ्क्रमण रोक्न पीसीआर परीक्षण बढाउने र अन्य उपायहरु अबलम्बन गर्ने गरी तयारी गरेको जनाएको छ ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका भित्र सङ्क्रमण फैलिदै गएपछि नगरपालिका क्षेत्रभित्र तीन दिनभित्र २००० जनाको पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने, निषेधाज्ञा पूर्ण रुपमा लागू गराउने, क्वारेन्टिन, आइसोलेशनको शै्यया विस्तार गर्ने कार्यमा लागिरहेको जानकारी दिनुभयो । यता सूर्यविनायक नगरपालिकाले पनि पीसीआर परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक वडामा स्वाब सङ्कलनको अभियान नै सञ्चालन गरेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । सङ्क्रमण नियन्त्रणका लागि योजना बनाएर अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
Categorized in
उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ ।
काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो ।
चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार÷पाँच महिनामा यसको डिजाइन तयार गरिसक्ने छ । डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ । सोही अनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो ।
“यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत निर्माण शुरु हुनेछ”, महानिर्देशक शर्मा भन्नुभयो, “चालु आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य शुरु हुनेछ ।” चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ । आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ ।
चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उहाँले बताउनुभयो । अहिले आठ लेनको सडक छ भने बीचमा मुख्य चार लेन छ । चार लेनको सीधा सडकमा हिड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ । “उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुनेछन् ।”
चक्रपथ आठ लेनको भएपनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ । कलङ्की चोकमा अण्डरपास निर्माण गरिएका कारण जाम घटेपनि ग्वार्को, सातदोबाटा र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ । सोही समस्यालाई मध्यनजगर गर्दै मुख्य लेनमा आउजाउँका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ । डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुनेछ ।
यसको निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने महानिर्देश शर्माको भनाइ छ । नेपाली निर्माण व्यवसायीलाई नै यसको निर्माणको जिम्मेवारी दिइने उहाँले बताउनुभयो । “विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ”, उहाँले भन्नुभयो, “उहाँहरुले नै गर्न सक्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”
अबको केही वर्षमा नै उपत्यकाको विभिन्न स्थानमा ‘फ्लाइओभर’को निर्माण हुनेछ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर निर्माण भएको छैन् । अब निर्माण हुने फ्लाइओभरमध्ये केही वैदेशिक लगानीमा त केही नेपाल सरकारको लगानीमा हुनेछ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा नेपाल, चक्रपथमा चीन र कोटेश्वर, वानेश्वर तथा थानकोटमा जापान सरकारको सहयोगमा फ्लाइओभर निर्माण हुन लागेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा झण्डै आठवटा फ्लाइओभर हुनेछ ।
काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप सबैभन्दा बढी हुने स्थानमा वानेश्वर र जडिबुटी चोक छन् । यी दुबै स्थानमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाएको महानिर्देशक शर्माको भनाइ छ । यस बारे जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक पटक छलफल गरिरहेको छ ।
बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।
त्यस्तै, नेपालको सडक यातायातको इतिहासमा पहिलो पटक आधुनिक सुरुङमार्ग निर्माणसँगै ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सुरुङमार्ग निर्माण गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत बर्ष सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गर्नुभएको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ । बिसं. २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रुपमा कलङ्की चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु र महाराजगञ्जलगायत चोकमा ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण गरिने भएको छ । रासस
Categorized in
काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडौँ – काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन् । अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत २०७५ साल कात्तिक २२ गतेदेखि भएको हो । निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ ।
भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम अहिले तीव्ररुपमा भइरहेको हो । तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका पालामा एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको इतिहास छ । निर्माणका क्रममा अहिले प्रयोग गरिएका केही काठ पुरानै र केही टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । अहिले छानामा प्रयोग हुने काठको आवश्यकता परेकाले धनगढीबाट ल्याउने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
हाल पहिलो तलामा प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ र एउटा पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर पारदर्शीरुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ ।
Categorized in
ललितपुरकी एक वृद्धाकाे काेराेनाबाट पाटन अस्पतालमा मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
ललितपुर – ललितपुर निवासी एकजना ६५ वर्षीया महिलाकाे कोरोना संक्रमितबाट पाटन अस्पतालमा मृत्यु भएको छ।
आईसीयुमा उपचाररत उनकाे बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ।
Categorized in
‘सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी’
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडौँ – संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताउनुभयो ।
डा. रोहित जिज्ञासुले भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माण उपभोक्ता समितिको सहभागितामा सफल देखिएको धारणा राख्नुभयो । सम्पदा पुनःनिर्माण गर्दा प्राचीन शैली, सामग्री र प्रविधिको प्रयोग गरिरहँदा त्यसलाई भूकम्प प्रतिरोधी बनाउनतिर पर्याप्त ध्यान दिइनुपर्ने उहाँको भनाई थियो ।
भक्तपुरका न्यातपोल, भैरवनाथ र भत्साला गरी तीनवटा मन्दिरको पुनःनिर्माण एवं जीर्णोद्धारको तुलनात्मक अध्ययन गर्नुभएकी शोधार्थी एवं भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी श्रेष्ठले समुदायको सहभागिता हुँदा प्रविधिको हस्तान्तरण हुनुका साथै स्वयम्सेवाको भावना पनि जागृत भएको पाइएको उल्लेख गर्नुभयो । सांस्कृतिक सम्पदा पुनःनिर्माणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ताहरुले समुदायको सहभागिता एवं सक्रियताले प्रभावकारी हुनाका साथै अपनत्व महसुस गरेको पाइएकामा जोड दिनुभएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा राम्रो परिणाम आएको बताउँदै त्यसमा समुदायको सहभागिता र आर्थिक पारदर्शिता कामय गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
परिसंवाद कार्यक्रममा सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताका विभिन्न पक्षमा मनोज सुजी, रिजा जोशी, रुपेश श्रेष्ठ र डा.सविन निङ्लेखुले पनि आफ्नो अध्ययनका निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । उपभोक्ता समितिमार्फत् काम गराउँदा कम खर्चमा काम भएको, पारदर्शिता कायम भएको, गुणस्तरीय काम भएको र स्वामित्वको भावना जागृत भएको निष्कर्ष उहाँहरुले उल्लेख गर्नुभएको थियो ।
परिसंवादको दोस्रो सत्रमा ऐतिहासिक सम्पदा वस्तीको पुनःनिर्माणमाथि अध्ययन गर्नुभएका विपुल रावल, सूर्यभक्त सांघाछे, अदिति ढकाल, डा.पुनम राज्यलक्ष्मी राना, मनोहर राजभण्डारी र रविना शिल्पकारले आफ्नो शोधका निष्कर्ष एवं सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको तेसो सत्रमा भूकम्पप्रभावितको जीविकोपार्जन एवं आर्थिक विकासमाथि छलफल भयो ।
डा.मीनबहादुर पौडेल क्षेत्री, डा.सुरोज पोखरेल र डा.निर्मलकुमार राउतले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्मा र क्यानडाका विज्ञ डा.नाइजल फिसरले टिप्पणी गर्नुभएको थियो ।
Categorized in
उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडौँ – काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ ।
बुधबार दिउँसो उपत्यकाका मुख्यनाकाहरु नागढुङ्गार साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ । नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यस बाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ ।
त्यस्तै अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरणको काम भएको छैन् । उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् ।
यस्तै भक्तपुर तर्फको साँगा नाकामा पनि प्रहरीले कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी साधन कम मात्रामा देखिन्छन् । यस नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ । समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ ।
उपत्यका भित्रपनि अत्यावस्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवाका सवारी साधनभने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएका छन् ।
उपत्यकामा भदाै १७ गते मध्यरातसम्मकाे लागि निषेधाज्ञा बढाइएकाे छ ।
Categorized in
काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म थप
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १०, बुधबार
काठमाडौँ – काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशन बमोजिम आदेश जारी गरिएको हो ।
निषेधाज्ञामा के के गर्न निषेध छ ?
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन समेत सञ्चालन गर्न पाईदैन ।
कोभिड१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् ।
अत्यावश्यक वस्तु वा सेवा अन्र्तगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।
क्ुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाईँदैन । परम्परागत रुपमा र दैनिक रुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईँदैन ।
त्यस्तै फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ्ग सेवालगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने छ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्र्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने छ ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने जनाइएको छ । उपत्यकामा पानी र औषधिजन्य सामग्री बिक्री गर्ने व्यवसाय जुनसुकै बेला पनि खुला रहने तर अन्य खाद्यवस्तु, दुध, तरकारी, फलफूलका व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज बुधबार राति १२ बजे सकिँदै छ ।
Categorized in
आजको कागेश्वरी मेला स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १०, बुधबार
काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।
मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताउनुभयो ।
एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशका मन्त्री फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवको शुरुआत गरिएको छ ।
यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।
कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस वर्ष भने कागेश्वरीमा नित्य पूजा आराधना मात्र गरिने नगरपालिकाले जनाएको छ । कोरोनाबाट बच्न घरघरबाटै कागेश्वरी महादेवको पूजा आराधना गर्न नगरपालिकाले आह्वान गरेको छ । रासस
Categorized in
उपत्यकाकाे निषेधाज्ञा एक साता थप गर्न सिफारिस
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार
काठमाडौँ – काेरोनाकाे जाेखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि गरिएको छ ।
यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।
Categorized in
Pages