टोखामा बन्याे १७ शैय्याको ‘आइसोलेसन सेन्टर’
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार
काठमाडौँ – टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ ।
कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको शनिबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड–१९ का विरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएका छन्, ती विरामीको उचित व्यवस्थापन तथा उपचारका लागि आइसोलेसन सेन्टर स्थापना गरेका हौँ ।”
नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन सेन्टर स्थापना गर्ने भएपछि शुक्रबार एक सूचना जारी गरी अहिलेसम्म प्रदान गर्दै आएको सेवा भदौ ८ गतेदेखि वडा नं २ को परिसरमा रहेको आकस्मिक (इमर्जेन्सी) भवनबाट सञ्चालन गर्ने जानकारी गराएको थियो । यसअघि सो केन्द्रबाट विरामी जाँच, परिवार नियोजन, गर्भवती जाँच, क्षयरोग उपचार सेवा प्रदान गर्दै आएको थियो ।
केहीदिन अघि उपत्यकाका नगरपालिका प्रमुखको बैठकले उपत्यकामा पाँच हजार शय्या क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय अनुसार टोखा नगरपालिकाले पनि आइसोलेसन सेन्टर विस्तार गरेको हो । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले अहिले १७ शय्या क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिएपनि आगामी दिनमा बिरामीको चापलाई हेरेर १०० शय्यासम्म पुर्याउने जानकारी दिनुभयो ।
यो नगरपालिकामा हालसम्म ९२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले चाँडै नै अन्य वडामा समेत आइसोलेसन सेन्टर विस्तार गर्दै जाने बताइएको छ ।
Categorized in
आइतबार काठमाडाैंका यी स्थानमा विद्युत लाइन काटिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार
काठमाडौँ – नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।
तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।
Categorized in
भक्तपुरमा सप्तर्षि मन्दिरको प्राणप्रतिष्ठा
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार
भक्तपुर – हिन्दू महिलाको महान् चाड हरितालिका तीज र ऋषिपञ्चमीका अवसरमा सूर्यविनायक नगरपालिकाको धार्मिकस्थल अनन्तलिंगेश्वर मन्दिर परिसरमा नवनिर्मित सप्तऋषि मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।
तीज पर्वमा व्रतालु महिलाले ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजार्चना गर्ने विशेष दिनलाई मध्यनजर गरी अनन्तलिंगेश्वर महादेव मन्दिरको अनन्त कुण्डसँगै नवनिर्मित सप्तऋषि मन्दिरको शनिबार विधिवत् प्राण प्रतिष्ठा गरिएको हो । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतका पहलमा आएको बजेटले दुई साताभित्र सप्तऋषि मन्दिरको निर्माण गरी उहाँकै उपस्थितिमा मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो ।
स्थानीयवासी महिलाले सप्तऋषिको मन्दिर नहुँदा पूजा गर्न समस्या परेको बताएपछि भोलि ऋषि पञ्चमीमा महिलालाई सप्तऋषिको पूजा गर्न सहज होस् भनेर छिटो मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरिएको नेकपा केन्द्रीय सदस्य बस्नेतले बताउनुभयो । धार्मिक महत्व रहेको प्रसिद्ध अनन्तलिंगेश्वर महादेव मन्दिर परिसरमा स्थानीयवासीको मागअनुसार केही दिनअघि अनन्त कुण्ड, मन्दिर जाने फलामे पुल र सिँढीलगायत संरचना निर्माण गरिएको छ ।
महामारीका रूपमा फैलिदै गएको कोरोना सङ्क्रमण रोक्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण सीमित व्यक्तिको सहभागितामा सामाजिक दूरी कायम राख्दै अनौपचारिक रुपमा मन्दिरको प्राणप्रतिष्ठा गरिएको सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।
Categorized in
निषेधाज्ञा उल्लङ्घन गर्नेमा मोटरसाइकल बढी
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन् । जम्मा ३५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ ।
पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर गुडेको थियो । आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ । त्यसमा ५३० मोटरसाइकल छन् ।
“पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ”, ढकालले रासससँग भन्नुभयो, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो ।”
उहाँले पहिलो दिनभन्दा आज भने शहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताउनुभयो । त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उहाँले बताउनुभयो । त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।
स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले रु पाँच सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ । यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौँ उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको छ । यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ ।
उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन् । उपत्यकामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेपछि उक्त आदेश जारी गरिएको छ । पछिल्लो समय उपत्यका कोरोनाको उच्च जोखिममा छ ।
Categorized in
पाटन अस्पतालमा थप दुई संक्रमितको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
ललितपुर – पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।
केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड(१९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ । ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको अस्पतालको भनाइ छ ।
Categorized in
होम आइसोलेसनमा बस्नेलाई टाेखा नगरपालिकाले दैनिक ३ सय ५० दिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
काठमाडौं – टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३ सय ५० रुपियाँ उपलब्ध गराउने भएको छ ।
सन्तुलित भोजनबापत उक्त रकम दिइने नगरपालिकाले जनाएकाे छ । टाेखामा कोरोना संक्रमितहरू हरेक दिन बढिरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले सो निर्णय गरेको हो ।
संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टाइनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिसमा सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५० रुपियाँ उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
सो नगरमा अहिलेसम्म ७७ जना कोरोना संक्रमितहरू भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् ।
Categorized in
उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता यदवका अनुसार बिहीबार काठमाडौंका सडकमा निषेधाज्ञा उल्लंघन गर्दै हिँडेका ५ सय ८१ जनालाई होल्ड गराइएको छ । यसैगरी, ललितपुरमा १ हजार २ सय १० जनालाई होल्ड गराइएको छ भने भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको छ । यसरी होल्ड गराइएका सबैलाई साँझसम्म सचेत गराएर छाडिएको यादवले जानकारी दिए ।
ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका २ हजार ९ सय २ सवारी साधनलाई बिहीबार सडकमै होल्ड गराएको छ । राजधानी दैनिकबाट
Categorized in
कोरोनाको कारणले सन्चार क्षेत्रमा पारेको प्रभाव र समाधानबारे अन्तरक्रिया
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना मा काेभिड- १९ को जाेखिम, सञ्चार गृह र सञ्चारकर्मिमा परेको प्रभाव न्यूनीकरणको उपाय विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यको सभापतित्वमा भएको सो अनलाइन सम्मेलनको सहजीकरण दबुका सचिव के के मानन्धरले गर्नु भएको सो कार्यक्रममा दबुका महा सचिव सुनिल महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
संचार क्षेत्रमा कोभिड १९ र लकडाउनको प्रभावबारे बृहत छलफल गरी त्यसको प्रभाव न्युनिकरण कसरी गर्ने विषयमा एक प्रतिवेदन तयार पार्ने उद्देश्यले सम्पन्न सो अनलाइन सम्मेलनमा दबुका सल्लाहकार वरिष्ठ सन्चारकर्मिहरु रमेशकाजी स्थापित , पुष्कर माथेमा , राजु शाक्य , सुरेश किरण मानन्धर र विजयरत्न असंबरे , दबुका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन लगायत सुनसरीका भोजराज प्रधान , काभ्रेका विजय कर्माचार्य , चितवनका ईश्वर जोशी , भक्तपुरका रामगोपाल तमखु , दबुको सचिवालयका पदाधिकारीहरु , केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो भने सहभागीहरुले सन्चार गृहका समस्या न्यूनीकरण गर्ने , सञ्चारकर्मिहरुका लागि राहत काेष स्थापना , सञ्चारकर्मिहरुका अवस्था हेरेर स्वास्थ्य सुरक्षाको प्रबन्ध व्यवस्थापनको पहल गर्ने , सञ्चारकर्मिहरुका लागि विपद् व्यवस्थापन क्षमता अभिवृद्धि तालिकाको आयोजना गर्नु पर्ने सुझाव दिएका थिए ।
आजको अन्तरक्रिया बाट प्राप्त सुझावहरुलाई दबूको केन्द्रीय कार्यसमितिमा छलफलमा राखिने र त्यसलाई कार्यान्वयन गर्न का लागि दबुले प्रयास गर्ने कुरा दबुका अध्यक्ष एवं आजको अन्तरक्रिया कार्यक्रम का सभापतित सुरजबीर बज्राचार्यले बताउनु भयो ।
आजको अन्तरक्रिया कार्यक्रम मा दबुका वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभयो ।
Categorized in
निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् ।
निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ । चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलहरु पनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यान्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा ६९८ मोटरसाइकल र १९५ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरेको हो । होल्ड गरिएका सवारी साधनलाई साँझ ८ बजेपछि मात्रै छाडिने महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए ।
Categorized in
उपत्यकामा आजदेखि निषेधाज्ञा : के गर्न हुने र के गर्नु नहुने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
काठमाडौँ – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।
सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।
कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।
के गर्न हुने र के गर्नु नहुने
अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।
कोभिड१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।
सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।
कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ ।
परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।
शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।
Categorized in
Pages