STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २९, शुक्रबार

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् ।

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन् ।

Categorized in

सानोठिमीमा नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २८, बिहिबार

काठमाडौँ - सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

यस्तै आ.व. २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रुपमा न्युनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ.व. २०८०/८१ को लागि नवीकरण गर्न आएमा नविकरण गरिदिने गरी बाधा अड्चन फुकाउने आदेश जारी गर्ने निर्णय भएको बताइन् ।

बैठकले पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स.वडा नम्बर २ स्थित ८९० वर्गमिटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्री शर्माका अनुसार सरकारले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसिचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृति गर्ने समेत निर्णय भएको छ ।

यस्तै बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ ।

यस्तै सरकारले गुजरातमा भारत लगायत विश्वका अन्य विकसित र विवकशील मुलुकहरुको समूह (जी२०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. पकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि मोटा धान प्रति क्विन्टल ३ हजार १९८ र मध्यम धान प्रति क्विन्टल, ३ हजार ३ सय ६२ न्युनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

Categorized in

ललिता निवास अतिक्रमित जग्गाका संरचनाहरु अन्यौलमा

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २८, बिहिबार

काठमाडौँ - बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गामा तारबार गर्ने महानगरको निर्णयले त्यहाँ प्रक्रिया पुरा गरेरै स्थापित गरिएका संरचनाहरु के होलान् भन्नेमा अन्यौलता थियो । अनधिकृत संरचना भत्काउन र खाली गर्न काठमाडौँ महानगरले गत आइतबार १ हप्ताको अल्टिमेटम दिएको थियो । महानगरको अल्टिमेटम सकिँदा उक्त क्षेत्रमा अवस्थित केहि संरचनाहरु हटाइएका छन् भने केहि खाली हुने क्रममा छन् । प्रक्रियागत रुपमा बनेका संरचनालाई भने महानगरले अहिले नचलाउने भएको छ ।

ललिता निवासमा अवस्थित बालुवाटार आवासको मुलगेटमा एउटा ठुलो कागजी बोर्ड बनाइएको छ । उक्त बोर्डमा सो आवास भित्र बनेका सम्पुर्ण घरहरु वैधानिक ढंगबाट काठमाडाँै महानगरको स्वीकृति लिएर बनाईएको प्रमाण दिने अनुमति पत्रहरु टाँसिएका छन् । शर्मिला शाक्य बज्राचार्य, सरिता मानन्धर, रेनुका बज्राचार्य, धर्मशोभा शाक्य, वीरमान ताम्राकार, महेश राजा तुलाधर र सन्ध्या शाक्य गरी ७ जना घरबेटीले आफ्नो फोटो अंकित भवन निर्माण अनुमति पत्र टाँस गरी महानगरलाई सचेत गराएका छन् । ललिता निवासको सरकारी जग्गा किर्ते गरी निजीकरण गरिएको पाइएपछि काठमाडौँ महानगरपालीकाले स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भएको अधिकार प्रयोग गर्दै उक्त क्षेत्र संरक्षणका लागि तारबार गर्ने निर्णय गरेको थियो ।

तारबारका लागि पटक पटक महानगर प्रहरी उक्त क्षेत्रमा प्रवेश गर्न थालेपछि बालुवाटार आवासका घरधनीले आफु सुरक्षित हुनका लागि विगतमा महानगरबाटै अनुमति लिएको प्रमाण मुलगेटमा टाँसेका हुन् । गत आइतबार सो क्षेत्रमा तारबार गर्नका लागि महानगरले नगर प्रहरी पठाएपछि त्यहाँ बनेका वैधानिक र स्थायी संरचनाहरु के हुने भन्ने अन्यौलता रहेको थियो । तर आफैँले निर्माण स्वीकृति दिएर कर लिँदै आएको संरचना खाली गराउने खहरेजस्तो निर्णयबाट महानगर ब्याक भएको छ । नियमसंगत ढंगबाट बनेका संरचनाहरुलाई अहिले नचलाउने, यदि सरकारले नै उक्त जग्गाहरु गलत ढंगबाट व्यक्तिको नाममा गरेको प्रमाणित गरेको खण्डमा महानगरले त्यसलाई खाली गराउने छ ।

महानगरको निर्देशनपछि उक्त क्षेत्रमा अवस्थित अस्थाई संरचना भने धमाधम हटाईएको छ । राष्ट्रबैंकको निर्माण सामाग्रीदेखि अस्थाई नर्सरी, भाटभटेनीको स्टोर रुम खाली हुँदै गएको छ । अब केहिदिनमै उक्त क्षेत्रमा तारबार गर्ने महानगरको तयारी छ । यता स्थाई संरचनामा महानगरपछि हटेपछि बालुवाटार आवासका घरबेटीलाई भने हाइसञ्चो भएको छ । महानगर अब उक्त विवादित जग्गामा बनेका आवासहरु के हुने भन्नेमा सरकारको निर्णयको पर्खाइमा छ । तर सरकारी तहकै संलग्नता रहेका कारण त्यहाँ निर्मित संरचनाहरुमा महानगरको तागत नचल्ने निश्चितजस्तै छ ।

Categorized in

साउन १ देखि काठमाडौँका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २६, मंगलबार

काठमाडौं - आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।

पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् ।

सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो । आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए।

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हुँदा यस किसिमको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ ।

एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः सुरु गर्न लागिएको बताइएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ ।

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।

Categorized in

ढलमा सेफ्टी ट्याङ्‍की मिसाउनेलाई ५० हजार जरिवाना तिराइयो

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २४, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्‍की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ ।

महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो ।

महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ही नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको उनले बताए ।

Categorized in

काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा बस्नेत

Janjati Khabar | २०८० आषाढ २०, बुधबार

गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव हुनुभएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सिडियोका रुपमा काम गरिसक्नुभएको छ ।

यस्तै उहाँले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसक्नुभएको छ ।

Categorized in

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

Janjati Khabar | २०८० आषाढ १८, सोमबार

पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो । आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उहाँको भनाइ थियो । ढुङ्गेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन् । “पुलका लागि आधा फलाम ठड्याएर अलपत्र छोड्दा पैदल यात्रु हिँड्दा समस्यामा पर्न थालेका हुन्”, उहाँले भन्नुभयो । महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ । पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ । “हाइटेन्सन लाइन हटाउन महानगरपालिकाले पैसा दिन्छु भनिरहँदा नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छैन”, उहाँले भन्नुभयो । मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ । वर्षौंदेखि अलपत्र बनेको पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मैना भण्डारीले गुनासो गर्नुभयो । “नियमित काम गरे एक हप्तामा सकिने यस्ता काममा वर्षौं बित्दासमेत सरोकारवाला निकायको ध्यान नजानु दुःखद् हो”, उहाँले भन्नुभयो, “पुल समयमै सम्पन्न भए पैदल यात्रुका कारण हुने सवारी जाम केही भएपनि व्यवस्थित हुने थियो ।”

 

Categorized in

इच्छुमती सफाइ सुरु

Janjati Khabar | २०८० आषाढ १५, शुक्रबार

काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने  इच्छुमती ९टुकुचा० नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो ।
सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चाररचार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि रू १० लाख बजेट विनियोजन गरिएको छ ।

Categorized in

भक्तपुरमा ‘रोजगार मेला’

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १४, बिहिबार

मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ ।

 नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

 पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यही असार १६ गते मध्यपुरथिमि नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुने मेलामा स्थानीय नागरिकलाई तत्कालै रोजगार उपलब्ध गराउने र आफ्नो सीपलाई पहिचान गर्न नसकेका युवालाई उपयुक्त मार्ग निर्देशन गर्न परामर्श सेवा दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्षजनशक्तिको खोजीमा रहेका रोजगारदाता र उपयुक्त रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै ठाउँमा ल्याई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने, विद्यालय तहको पढाइ सकेर अब के गर्ने भनेर अन्योल भएका र लक्ष्य पहिचान गर्न नसकेका युवा विद्यार्थीलाई उपयुक्त मार्ग निर्देशन गर्ने उद्देश्यले नगरपालिकाले रोजगार मेला आयोजना गर्न लागेको हो ।”

नगरपालिका भित्र भविष्य खोज्दै गरेका विद्यार्थी तथा युवालाई लक्षित गरी मेला आयोजना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “आगामी शिक्षा के लिने, आफ्नो सीप पहिचान कसरी गर्ने, कुन सीप लिने, हातमा सीप भएकाहरुले के गर्नेलगायत विषयमा परामर्श दिँदै उनीहरुको वृत्ति विकासमा टेवा पुर्‍याउन मेलाले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

मेलामा युवा विद्यार्थीलाई वृत्ति विकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेला सुरु हुनुपूर्व प्याब्सनलगायत केही संस्थाले कोटा तोकेर रोजगारीको सुनिश्चितता गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मेलामा विभिन्न उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीका १६, मध्यपुरथिमि नगरपालिकाबाट तीन, प्राविधिक शिक्षालयबाट नौ, स्थानीय उत्पादन ९मध्यपुर माक्स मेकिङ र हस्तकला० बाट दुई, होटल व्यवसायी दुई, अस्पताल दुई, बैंक तथा वित्तीय संस्था एक, वल्र्डलिङको एक, ईन्स्योर परियोजनाको एक गरी कूल ३७ वटा स्टल राखिने जानकारी दिनुभयो ।

“एक दिनका लागि आयेजित मेलामा करिब पाँच हजारले सहभागिता जनाउने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । मेलाबाट कम्तीमा दुई हजार युवाले वृत्तिपरामर्श सेवा प्राप्त गर्ने, स्थानीयस्तरमा रहेका उद्योग तथा व्यवसाय एवं रोजगारदातामार्फत दुई सय भन्दा बढी युवाले रोजगारी पाउने अपेक्षा गरिएको उपप्रमुख श्रेष्ठको भनाइ थियो ।
मेला आयोजना मूलसमारोह समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले रोजगारदाता कम्पनीले मेलामै अन्तरवार्ता लिई रोजगारीको सुनिश्चितता गर्ने, उद्यम व्यवसाय सुरु गर्न चाहनेका लागि उपयुक्त परामर्श दिने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदानप्रदान गरिने बताउनुभयो ।

Categorized in

बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १२, मंगलबार

काठमाडौं - उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नु/नगराउनु यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिइएको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बतााए ।

उनले भने, “प्रमुख शाहलाई नागरिक उड्डयन प्राधिकरणको स्पष्टीकरण माग गर्ने निर्णयलाई यसअघि कार्यान्वयन नगर्नु/नगराउनु यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको हो ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायतका सामग्री नियन्त्रणमा लिएको थियो । प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

यसअघि यही असार ७ गते उक्त मुद्दामा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले नागरिक उड्डयन प्राधिकरणको पत्र कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो ।

Categorized in

Pages