STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

टुकुचा खाेलामा महानगरको कदम सही : बालेन्द्र शाह

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २४, आइतबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् ।

उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै उनले महानगरको कदम सही थियो भन्ने पुष्टि भएको दाबी गरे ।

मेयर शाहले लेखेका छन् -‘केहीदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । ‘

शाहले थप लेखेका छन्-‘नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’

यस फैसलाबाट पनि टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको उनको जिकिर छ ।

Categorized in

भाषा निभा प्रेमबहादुर कंसाकारको जन्मजयन्ती सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १८, सोमबार

भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सवको अवसरमा विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम गरीएको छ ।

प्रजातन्त्र सेनानी ,भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्म जयन्ती को कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेपाली तथा नेपालभाषा विभाग  र सुकुन्दा साहित्य पाला को संयुक्त आयोजनामा अाइतबार क्याम्पस सभाहलमा सम्पन्न भएको हो ।

सुकुन्दा साहित्य पालाका संचिव  रिदेन महर्जनको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले प्रेमबहादुर कंसाकारको तस्बिरमा माल्यार्पण गर्नुका साथै  पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम सुभारम्भ गरेका थिए ।

नेपालभाषा क्षेत्रका जाज्वल्यमान तारा बहुमुखि प्रतिभाका धनी प्रेम बहादुर कंसाकार जस्ता थुप्रै महान व्यक्तित्वहरुको जन्म जयन्ती मनाउनु पर्नेमा जाेड दिदै त्यस्ता व्यक्तित्वहरुका को कृतिहरु प्रकाशनमा ल्याउन प्रोत्साहित गर्न यस्ता कार्यक्रम गरेको बताउँदै  सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले सम्पुर्ण अतिथिहरुलाई कार्यक्रममा स्वागत गरेका थिए ।

सो कार्यक्रममा अतिथि प्रा. डा चन्द्रमान बज्राचार्यले प्रेम बहादुर कंसाकारको  जीवनीकाेबारे चर्चा गरेका थिए ।

अतिथीहरू जनगायक चन्द्रबहादुर श्रेष्ठ (माईला दाई) ले जनताकाे गीत ‘चिलाख च्याका’ र  लोक कवि राजभाई जकःमिले भाषा निभा प्रेम बहादुर कंसाकार जीवनीमा अाधारित कविता वाचन गरेका थिए ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भूतपुर्व विद्यार्थी  नेपालभाषा केन्द्रियको शिक्षक  शरद कसाःले प्रेम बहादुर कंसाकारले स्थापना गरेको आशा सफू कुथि रहेसम्म प्रेम बहादुर कसांकार अमर रहने बताए । 

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदनसेन बज्राचार्यले तत्कालिन २०१९ सालमा राजा महेन्द्र समक्ष भाषिक समानताका लागि केदारमान व्यथित,  सत्यमोहन जोशी मिलेर बिन्ति पत्र बुझाएको स्मरण गर्दै भाषा, साहित्य तथा अनुसन्धानमा प्राचिन ग्रन्थ संरक्षण समेत उल्लेखनिय भूमिका खेलेको चर्चा गरे ।

प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले महान व्यक्तित्वको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिंदै  यस्ता कार्यक्रमहरु गर्न र नेपालभाषा प्रबर्द्वन  गर्न आफू हरदम तयार रहेको जनाए भने अतिथी नेवाः देय् दबु अध्यक्ष पवित्र बज्राचार्य,नेपाली तथा नेपालभाषा केन्द्रिय विभागका  सभापति डा. विष्णु ज्ञवाली, नेपालका पहिलो ट्राफिक इन्जिनियर शान्त वीर सिंह तुलाधर , सहायक क्याम्पस प्रमुख प्रमिला बिदारी, बरिष्ठ पत्रकार नरेश वीर शाक्य अतिथिकाे रूपमा उपस्थिति रहेको थियो ।

Categorized in

काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १५, शुक्रबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘कामपाको वाह्य विज्ञापन नियमन निर्देशिका–२०७९’ मा यस सम्बन्धी व्यवस्था गरिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

अधिकारी आचार्यका अनुसार निर्देशिकामा विज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठनलगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, विज्ञापन करसम्बन्धी व्यवस्था, स्थानान्तरणसम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, बाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवद्र्धन, प्रोत्साहनलगायत प्रबन्ध छन् ।

निर्देशिकाको प्रतिकूल हुने गरी निषेधित स्थानमा राखे रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । कामपा क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टास्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, व्यानर टास्ने माध्यमलाई अनुमति दिइने छैन ।

सङ्घीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकूल असर हुने विज्ञापन गर्न पाइँदैन । विज्ञापन राख्ने ठाउँ १२ फिटभन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, बाहिरी रुपमा रङ रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा विज्ञापन बोर्ड राख्न पाइँदैन ।

पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कूटनीतिक क्षेत्रमा र त्यसको एक सय मिटरभित्रको दुरीमा बोर्ड राख्न पाइँदैन ।

विज्ञापन गर्न नमिल्ले विषयहरुमा प्रयोग गर्न निषेध गरेका वस्तु, पदार्थ तथा सेवा, कामपाको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयवस्तु रहेका छन् । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिको विज्ञापन गर्न पाइँदैन ।

Categorized in

बालाजुको कोतः धुकु आयल स्टोरमा शिलबन्दी

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १४, बिहिबार

काठमाडौ - काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकाले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्ग्लोले बेरेर लगाइएको तालामा शिल गरिएको छ ।

नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा यो पनि थियो । ती पम्पहरुका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको छ । ट्राफिक व्यवस्थापनलाई असहज बनाएका छन् ।

पेट्रोलियम पदार्थको विक्री क्षेत्र, विक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ ।

नमूना पम्प बिक्रेताको विक्री स्थलमा जग्गाको क्षेत्रफल तराई र भित्री मधेश बाहेकका क्षेत्र १ विगाहा (तेह्र रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी हुनु पर्छ । राजमार्ग वा अन्य सडकबाट करिव ५ सय मिटर भित्रको जग्गामा नमूना पम्प विक्रेताको विक्री स्थल निर्माण गर्दा १० मिटरको पहुँच मार्ग आवश्यक पर्छ ।

विक्री स्थलको ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्ड एप्रोच रोडको कालोपत्र वा कङ्क्रिट ढलान भएको, ढुङ्गा छापेको, सिमेन्ट जोडाई भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ्ग टायलबाट बनेको हुनुपर्छ । विक्री स्थलको कम्पाउण्डभित्र एप्रोच रोड, ट्याङ्क फार्म, विक्री कक्ष, पार्किङ्ग एरिया बाहेक सवारी साधन आवत जावतमा बाधा नपर्ने गरी हरियाली कायम गरेको हुनुपर्छ ।

विक्री स्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाई भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग एरिया ढाक्ने गरी कम्तीमा १२ मिटर × १२ मिटरको क्यानोपी हुनुपर्छ । विक्री स्थलमा पुरुषको हकमा न्यूनतम २ वटा ट्वाइलेटसहितको ६ वटा युरिनल र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्छ । पावर व्याकअपको व्यवस्था हुनुपर्छ । कार्यालय, विक्री कक्ष, स्वस्थ्यकर पिउने पानी वा ट्युवेल व्यवस्था हुनुपर्छ । बिजुलीको तार कन्सिल वायरिङ्ग भएको हुनुपर्छ । विक्री स्थल कम्पाउण्डभित्र पानी निकासको लागि उचित ड्रेनेजको व्यवस्था गरेको चाहिन्छ ।

नयाँ डिस्पेन्सिङ्ग पम्प जडान गर्नुपर्छ । पम्प परिसरमा पेट्रोलियम पदार्थ सञ्चय गर्दा एउटै पेट्रोलियम पदार्थको एउटा मात्र स्टोरेज ट्याङ्क भएमा १ वा १ भन्दा बढी डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन जोड्ने व्यवस्था हुनुपर्छ । एउटै पेट्रोलियम पदार्थको स्टोरेज ट्याङ्की एउटा भन्दा बढी भएमा अलग अलग अलग डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन भएको हुनुपर्छ । एकै किसिमको पेट्रोलियम पदार्थको सञ्चय गर्दा ट्याङ्कीहरु बीच इन्टरकनेक्सन जोड्न नसकिने व्यवस्था हुनुपर्छ ।

विक्री स्थलको कम्पाउण्डभित्र अग्नि सुरक्षाका लागि प्रणाली हुनुपर्छ । यससँगै विक्री स्थलमा रहेको अण्डरग्राउण्ड भण्डारण, यसको क्षमता र सङ्ख्या, पाइप लाइन र फिटिङ्गसको नक्साङ्गन, पेट्रोलियम पदार्थको मौज्दात विवरण सर्वसाधारणले देख्ने गरी विक्री स्थलमा राख्नुपर्छ ।

काठमाडौं र ललितपुर महानगरपालिकाभित्र ७५० वर्ग मिटर वा १ रोपनी ८ आना जग्गाको क्षेत्रफल भए पम्प सञ्चालन गर्न पाइन्छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।

सवारी साधन पार्किङ्गको सुविधा, शौचालय, प्राथमिक उपचार, अग्नि सुरक्षा लगायतका प्रणाली अनिवार्य छन् । राजधानी सहर काठमाडौंमा नमूना पम्प र काठमाडौंका लागि तोकिएका मापदण्डबमोजिमका पेट्रोलियम पदार्थ विक्री स्थलको सङ्ख्या कति होलान्, मापदण्ड नपुगेको भए पुर्‍याउन कस्ता योजना बनाएका होलान्, जनचासोको विषय बनेको छ ।

Categorized in

अक्षय त्रितीया पर्व मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १०, आइतबार

बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।   सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो ।

यस पर्वमा सर्वत ख्वाइँदा  अक्षय ९कहिल्यै नास नहुने० पुण्यप्राप्त हुने मैथिल ९मिथिलाका बासिन्दा०को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउनुहुन्छ ।
यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि  मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण ९सुन०, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास–२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।

यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा  शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जाँै र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र  परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।

Categorized in

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ८, शुक्रबार

काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिए।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Categorized in

काठमाडौँ महानगरद्वारा वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ८, शुक्रबार

काठमाडौँ– वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।

समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय उक्त सञ्जाल गठन गरेको हो ।

सञ्जालमा १० वटा वडामध्ये वडा नं १६ बाट दुई र बाँकी वडाबाट एक-एक जना सहभागी गराइएको उक्त विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन् भने सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहीरा डङ्गोल, कमल काफ्ले र गौरी देवकोटा छन् ।

स्टेट अफ ग्लोबल एअरले सन् २०२० गरेको अध्ययनअनुसार विश्वमा श्वासप्रश्वासका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत र इस्केमिक हृदय रोगका कारण २० प्रतिशत मानिसको मृत्यु  हुने गरेको छ ।

वायु प्रदूषणकै कारण यस्ता समस्या बल्झिएको र  यसै कारण २० प्रतिशत नवजात शिशुको पनि मृत्यु हुनाका साथै मानिसको औसत आयु पनि घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूलाठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोगमा  जिम्मेवार छैनन्,  व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारणले पनि प्रदूषण बढाउन सहयोग गरेको बताइएको छ ।

नागरिक समाज सञ्जालले के गर्छ ?

उक्त सञ्जालले फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन सहजीकरण गर्न, विशेष सरसफाइ अभियान सञ्चालन गर्न र  घरभित्रको प्रदूषण कम गर्न घरघरमा गएर सचेतना फैलाउने काम गर्छ ।

यसैगरी वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिने, संरचना निर्माणमा थप छलफल गर्ने, सामाजिक जबाफदेहीताका काम गर्ने गर्छ ।

साझेदार सङ्घसंस्थाहरूले अहिले कामपासहित ललितपुर महानगरपालिका, चन्द्रागिरि, चाँगुनारायण र शङ्खरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिसकेका छन् ।

Categorized in

सिंहदरबारभित्रको फोहोर नउठेपछि काठमाडौं महानगरविरुद्ध सर्वाेच्चमा रिट

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ४, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् ।

दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता श्रेष्ठले भनेका छन् ।

काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको असहयोगपछि सिंहदरबारको कुनै पनि फोहोर नउठाउने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । गएको ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर व्यवस्थापन हुने सकेको छैन ।

Categorized in

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ३, आइतबार

काठमाडौं - हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।

यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता सहर छ । चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको बैंकक रहेको छ ।

हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

उपत्यकाको मौसम धुम्म

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । डढेलोका कारण अहिले काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।

भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ ।

यस्तै, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक एक्यूआई झण्डै दुई सय पुगेको छ ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।

एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । वायु प्रदूषण बढ्नुमा मौसमी अवस्थासँगै डढेलो मुख्य कारण रहेको वातावरण विज्ञहरु बताउँछन् । डढेलोका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । बिहानैदेखि धेरै ठाउँको मौसम धुम्म भएको छ ।

Categorized in

काठमाडौँ महानगरसँग संवाद गर्न सरकारलाई महामन्त्री थापाको सुझाव

Janjati Khabar | २०७९ चैत्र २७, सोमबार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो ।

 “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्  जायज माग पूरा गरियोस्”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गर्नुभयो ।

 काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उहाँले भन्नुभयो, “स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।”













Categorized in

Pages