उपत्यका मेयर्स फोरममा महर्जन चयन
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार
काठमाडाैँ - उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।
काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरू रहने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । उनीहरू क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुन् ।
फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।
बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।
Categorized inआज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदै
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार
काठमाडौं - ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ ।
दिउँसो ४ बजेपछि मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताए ।
बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत सम्भार गरेर रंगरोगन गरिनेछ ।
यसपालि रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८ गते रथारोहण गरेर ११ गतेदेखि रथयात्रा शुरु हुनेछ । रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ ।
महास्नान गरेपछि बेलुकी साइत पुजा गरिने बाराही नाइके दिल कुमार बाराहीले बताए । आज साइत पुजा गरेर शनिबार पुल्चोकमा रथ बनाउन शुरु हुने बाराहीले जानकारी दिए ।
यस्तै, दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथारोहण गरिँदैछ । हरेक वर्ष दोलखाको मच्छिन्द्रनाथलाई चैत शुक्ल पूर्णिमाका दिन महास्नान गरेर प्रतिपदाका दिन रथारोहण गरिन्छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई पिगला टोलमा बनाएको रथमा रथारोहण गरेर भोलिदेखि दोलखामा मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ ।
उकालो, ओरालो, सिंढीमा पनि तानिनुपर्ने भएकोले दोलखाको रातो मच्छिन्द्रनाथको रथमा विशेष खालको पाँग्रा राखिएको हुन्छ । जात्राको क्रममा मुख्य आकर्षण टसिचा टोलबाट थापन बुद्धस्तुपासम्मको रथयात्रालाई मानिन्छ ।
यो रथयात्राको क्रममा ६० डिग्रीको उकालो तान्नु पर्ने भएकोले रथयात्राको क्रममा यसलाई विशेष दिनको रुपमा मानिएको हो ।
यसवर्ष आउँदो २८ गतेका दिन रथलाई टसिचा टोलबाट थापन बुद्धस्तुपासम्म तानिनेछ । बैशाख १ गते पिगला टोलबाट डोकलुगटोलमा मूर्तिलाई भित्र्याएसँगै जात्रा सकिनेछ ।
बिहीबार पिगला टोलमा मच्छिन्द्रनाथलाई दुधमा डुबाएर महास्नान गरिएसँगै जात्रा शुरु भएको होे ।
Categorized inदरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
Janjati Khabar | २०७९ चैत्र २३, बिहिबार
काठमाडौँ, ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल भानु माध्यमिक विद्यालय मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ ।
कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो । त्यति मात्रै होइन एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिनुभयो ।
शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालमा तलका कक्षमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन् । काठमाडौँको मुटुमा रहेको ऐतिहासिक धरोहर यस विद्यालयमा आगामी शैक्षिक सत्रका लागि विद्यालयले यही चैत १७ देखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको थियो ।
नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी विद्यालयको छ । उक्त परीक्षाका लागि अनिवार्य पाँच विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिकको ९अध्ययनरत० कक्षाको पाठ्क्रममा आधारित रहेर प्रत्येक विषयबाट २०÷२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने पनि प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
स्तरमापन गर्दा पास भएका जतिलाई विद्यार्थीलाई भर्ना लिनुपर्छ । “छनोट गरेर भर्ना गर्दा पनि कक्षा ७ देखि ९ सम्म विद्यार्थीलाई एउटै कक्षालाई तीन सेक्सनमा विभाजन गर्नुपर्ने देखिन्छ”, प्रधानाध्यापक पौडेलले भन्नुभयो ।
नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ ज्ना मात्र विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । गोर्खा भूकम्पकले पूर्णरूपमा क्षति भएकोे यस विद्यालयमा ३० शिक्षक कार्यरत छन् ।
“कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ”, प्रधानाध्यापक पौडेलले भन्नुभयो । एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था छ ।
ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ ।
विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । यस विद्यालयमा निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर ‘फाइन आर्ट’ कक्षा सञ्चालन गर्ने तयारी समेत रहेको छ ।
आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित रहेका छन् । नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् ।
भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गर्नुभएपछि पुनःसञ्चालनमा आएको हो ।
विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । सुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्की ९माटो र चुनबाट बनेको निर्माण सामग्री० को प्रयोग भए पनि अहिले आधुनिक निर्माण सामग्रीले बनेको छ ।
हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमूना विद्यालयका रूपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको प्रमुख प्रमुख सुवेदीले बताउनुभयो ।
मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने
Janjati Khabar | २०७९ चैत्र २३, बिहिबार
मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुनेभएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस वर्ष नगरपालिका स्वयंले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता श्री श्री श्री विष्णुवीर धिमे बाजा खलःको संयोजनमा हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा उपत्यकाका ३२ धिमे खलः वा पुचः सहभागी हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक एवं वडा नं ४ का वडा सदस्य मदन ख्या श्रेष्ठले बताउनुभयो ।
“मध्यपुर थिमिको बिस्काः जात्रामा विभिन्न देवी देवताका ३२ खटको जात्रा हुने गर्दछ । त्यसैको प्रतीक धिमे बाजा प्रतियोगितामा ३२ खलः तथा पुचःको सहभागिता गराउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । प्रतियोगितामा ३० खलः तथा पुचःले नाम दर्ता गरिसकेको जानकारी दिँदै उहाँले इमेलबाट पनि दर्ता गर्न सकिने व्यवस्था भएकाले अन्तिमसम्म लक्ष्यअनुसार ३२ वा सोभन्दा बढी खलः तथा पुचःको सहभागिता हुन सक्ने बताउनुभयो ।
प्रतियोगितामा उपत्यकाका भक्तपुर, चाँगुनारायण, बालाजु, ठेचो, गोकर्ण, धर्मस्थली, बज्रबाराही, कीर्तिपुरलगायतका स्थानका धिमे खलः तथा पुचःले नाम दर्ता गरिसकेको संयोजक श्रेष्ठले बताउनुभयो । एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे दुई, भुस्या दुई र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच वाद्यवाधकको सहभागिता हुनेछ । प्रत्येक सहभागी टोलीलाई पाँच मिनेटको समय दिइने र सहभागी टोलीले पाँच मिनेटको समय बढीभित्र प्रस्तुती टुङ्ग्याउनुपर्नेछ ।
प्रतियोगितामा चार जनाको निर्णायक टोली रहनेछ । निर्णायक मण्डलले प्रस्तोता टोलीको अनुशासन, समयको परिपालना, वेशभूषा, रचनाको छनोट, एक आपसमा तालमेल, प्रष्टता, बोल, ताल र लय हाउभाउको आधारमा अङ्क प्रदान गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार स्वरुप नगद रु पाँच हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख दिने निर्णय गरेको जानकारी दिँदै संयोजक श्रेष्ठले नपुग रकम आयोजक समितिमा रहेका पदाधिकारी र अन्य इच्छुक दाताले दिने स्वेच्छिक सहयोगले परिपूर्ति गरिने बताउनुभयो । प्रतियोगिताका लागि विगतमा जस्तो आर्थिक सहयोग सङ्कलनका लागि कुनै सङ्घ संस्थासँग अनुरोध नगर्ने तर स्वेच्छाले दिन आए लिने नीति बनाएका उल्लेख गर्दै उहाँले भन्नुभयो, “सोहीअनुसार दातामध्ये कसैले शिल्ड सहयोग गर्ने, कसैले मेडल सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।”
प्रतियोगितालाई सफल बनाउन मूल आयोजक समिति, प्रचारप्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापनलगायतका विभिन्न समिति तथा उपसमिति गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमि उपत्यकाकै सबैभन्दा धेरै धिमे खलः भएको क्षेत्र हो । यहाँको बिस्काः जात्रामा एक साथ हजारौँको सङ्ख्यामा धिमे बाजा बज्ने गर्दछ । यहाँको मूर्तअमूर्त कला संस्कृतिको जगेर्ना गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्नुका साथै बिस्काः जात्राको छुट्टै रौनक बढाउन धिमे बाजा प्रतियोगिता आयोजना गरिएको श्री श्री श्री विष्णुवीर धिमे खलःका अध्यक्ष इन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदीप जामन श्रेष्ठ र वडा नं ४ का वडा सदस्य उमेश श्रेष्ठले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिताको विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो । – रासस
पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण गर्दै थिमिको धिमे खलः
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २२, बुधबार
मध्यपुर थिमिको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम हालै समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक प्रशिक्षण भने तीन महिना मात्र दिइएको हो ।
कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । एक फरक सन्दर्भमा भक्तपुरको जुजु धौ, लोकल रक्सी, चिउरा, तोरीको तेल लगायतलाई वैध बनाएर स्थानिय युवाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृतिलाई आर्थिक पाटोसँग जोड्नुपर्नेमा जोड दिए । मूर्त र अमूर्त सम्पदालाई पर्यटन तथा कला प्रर्दशनीमार्फत व्यावसायिकरण गर्ने र गराउने क्षेत्रमा नगरपालिका सहकार्य गर्न तयार रहेको जनाए ।
मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति मुख्य बाजा गुरु र कृष्ण प्रजापति सहायक गुरु रहेको बाजा प्रशिक्षणलाई औपचारिक कार्यक्रमकाबीच समापन गरिएको छ । नेवार संस्कार बमोजिम नासःद्यः अर्थात नाट्यश्वरलाई आह्वान गरी पूजाविधि गरेपछि प्रशिक्षार्थीहरु अनिवार्य रुपमा दिक्षित हुनुपर्ने प्रावधान रहेको बताइन्छ । सो आधारले पनि सुरुमा तीन दर्जन प्रशिक्षार्थीहरु सहभागी रहेपनि औपचारिक प्रशिक्षण समापन कार्यक्रममा २५ जना प्रशिक्षार्थीहरु दिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाए ।
‘हामीले पूर्खाको नासोको रुपमा रहेको अमूर्त सम्पदालाई सन्ततिमा पुस्तान्तरण गरेका छौं । खुसीको कुरो औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा १३ वर्षे किशोरदेखि दुई जना महिलाहरु पनि सहभागी छन् ।’ कार्यक्रम संयोजक प्रजापतिले बताए ।
हुनपनि केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ । पाचो धिमे खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षण कार्यक्रममा तिलश्मी र चन्द्रलक्ष्मी प्रजापतिको उपस्थितिले अन्य महिलाहरु समेत हौसिएका छन् । तिलश्मी प्रजापति धिमे बाजाकी कलाकार मात्र नभएर यसअघि नै व्यावसायिक बांसुरी बाधन हुन् । उनले थुप्रै डबलीमा आफुलाई कुशल बांसुरी बाधकको रुपमा प्रस्तुत गरिसकेकी छन् ।
कार्यक्रममा वाग्मती प्रदेशसभाकी सांसद माननीय धनेश्वरी प्रजापति, मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति, निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, गुंला बाजा तथा भैलः नाचका गुरुहरु, जनप्रतिनिधि, संस्कृतिप्र्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।
औपचारिक समापन कार्यक्रम अघि बाजा प्रशिक्षण लिएका युवाहरुलाई चपाचोस्थित गणेश मन्दिर अगाडि सामुहिक सगुन (मंका सगं) दिइएको थियो । सगुन कार्यक्रम पश्चात् सामुहिक बाजा प्रदर्शनी समेत देखाइएको थियो । नेवार संस्कारमा शुभकार्यको थालनी गर्न पञ्चतत्वसहितको सगुन दिने परम्परा रहेको छ । दहि, उसिनेको अण्डा, रक्सी, माछा लगायतका खाद्य बस्तु सम्मिलित गरेर सगुन दिने परम्परा रहेको छ । धिमे बाजा प्रशिक्षण कार्यक्रमको ६ महिनासम्म भिमसेन प्रजापतिले ठाउँ उपलब्ध गराएका थिए ।
Categorized inकाठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २१, मंगलबार
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ ।
अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । उनी धरान पुगेर आक्रोश पोखेका थिए । तर यसपटक भने दुवै मेयरबीच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौ महानगरपालिकामा भेट भएको हो ।
धरान उपमहानरको समस्याको पोको बोकेर काठमाडौं आएका बेला बालेन र हर्कराजबीच मंगलबार भेटवार्ता भएको हो । गत वैशाखको स्थानीय तहको निर्वाचनपछि बालेन र हर्कराजबीच पहिलोपटक भेटवार्ता भएको हो । हर्कले काठमाडौंका मेयरसँग भेटघाटसँगै रमाइलो कुराकानी भएको जानकारी दिए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर धरान नगरको समस्या समाधान गर्न माग गरेका छन् ।
Categorized inकाठमाडौंमा मेलम्चीको पानी हिउँदमा मात्रै किन ?
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १९, आइतबार
काठमाडौं - तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।
तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए।
वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्याङ्कन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।
आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए।
विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो ।
दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले बताए।
अहिले हेडवक्र्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवक्र्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए। पहिलेको जस्तो बनाउन झण्डै रू एक अर्ब लाग्ने देखिएको छ ।
हेडवक्र्स कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए। दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ ।
उनले भने, “एडिबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ ।” मेलम्चीको पानी काठमाडौँमा गत मङ्सिरदेखि पुनःवितरण सुरु गरिएको थियो ।
Categorized inकाठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १५, बुधबार
नेपाली नयाँ बर्षालाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको सर्वविदितै छ ।
गत बर्षको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देशसंगै यस बर्ष बैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको छ । ओशो महोत्सव ओशो तपोवनको प्रस्तुतिमा हुन लागेको छ भने यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।
बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सन्स्क्रितीका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहनेछन् ।
यस पटक ओशो महोत्सव संगीतको महोत्सव हुनेछ । ओशो महोत्सव ध्यान र साधनाको महोत्सव हुनेछ । ओशो महोत्सव अध्ययनको महोत्सव हुनेछ । ओशो महोत्सव स्वाद र हाँस्यको महोत्सव हुनेछ । किनकी एक दिने ओशो महोत्सब ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।
विहान ९ बजेबाट ओशो महोत्सव को मुख्य कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्नेछन । देशका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणज्यूबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तरराष्ट्रिय स्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुनेछ । चर्चित सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिने छ । यस पटक कुटुम्बले अहिले सम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्नेछ, जुन एतिहासीक हुने दावी अायोजकले गरेकोछ ।
ओशो महोत्सवमा हुने फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सवमा लिन सकिनेछ ।
शारिरीक तथा मानसिक तनाव, हताशा र विशादको कारणले दिननुदिन बिग्रिदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक सम्रिद्व मनुष्य निर्माणमा यो महोत्सबले अहम् भूमिका खेल्न सक्नेछ । आफ्नो ब्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला महोत्सवमा सिक्न पाईनेछ ।
महोत्सबमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौ कलाकार, संचारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुनेछन् ।
ओशो महोत्सबको महोत्सब पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सव को मिडिया संयोजनको रुपमा चलचित्र पत्रकार संघ नेपालले गर्ने कुरा ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी गराएका छन् ।
Categorized inपशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १५, बुधबार
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो ।
कोषले भनेको छ, ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान तीन महिनासम्म निरन्तर चल्नेछ ।
शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चल्ने यस अभियानमा सहभागी हुन समेत कोषले सबैलाई अनुरोध गरेको छ ।
Categorized inकाठमाडौंमा पुराना पैसाको प्रदर्शनी
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १४, मंगलबार
काठमाडौं -काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ स्थापनाको २० वर्ष पुगेको अवसरमा पुरानो पैसा प्रदर्शनीमा राखिएको हो।
नेपाल, भारत लगायतका देशका सिक्का र नोट प्रदर्शनीमा राखिएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार प्रदर्शनीको अवलोकन गर्दै यस किसिमको असल कार्यका लागि आयोजकहरुलाई धन्यबाद दिए।
आयोजक मञ्जित मल्लले आगामी दिनमा पुराना पैसाको प्रदर्शनीलाई प्रदेशस्तरमा लैजाने तयारी भइरहेको जानकारी दिए।
सोमबारदेखि सुरू भएको यो प्रदर्शनी बुधबारसम्म चल्नेछ। नेपाल कला परिषद् बबरमहलमा बिहान १० बजेदेखि ६ बजेसम्म हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यबस्था छ।
Categorized in

