नेपाल ऊल हाउसमा ५ रुपैयाँमै मास्क
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार
काठमाडौं– काठमाडौं भोटाहिटीस्थित नेपाल ऊल हाउसले ५ रुपैयाँमा मास्क बिक्री गरिरहेको छ ।
कोरोना भाइरसको कारण बजारमा मास्क अभाव भइरहेको र पाएका माक्स पनि महँगोमा किन्नुपर्ने अवस्था रहेकोले आफूसँग स्टक रहेको मास्कलाई सस्तोमै बेचिरहेको ऊल हाउसका प्रोप्राइटर एवं समाजसेवी ज्ञानेन्द्र तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् ।
तुलाधरका अनुसार आफ्नो लागत नै प्रतिमास्क ९ रुपैयाँ रहे पनि बजारमा मास्कको अभाव रहेको तथा कालोबजारी बढिरहेकोले आफूले सस्तोमा मास्क बिक्री गरेको जानकारी दिएका छन् ।
भोटाहिटीमा रहेको ऊनको लागि प्रख्यात नेपाल ऊल हाउसले पाँच दिनभित्र २० हजार मास्क बिक्री गरिसकेको जानकारी दिएका छन् ।
Categorized in
काठमाडौं महानगरको आकस्मिक बैठक, भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार
काठमाडौं– विश्व्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्व नियन्त्रणको लागि काठमाडौं महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बिहीबार (चैत ६ गते) दिउँसो बसेको छ ।
नेपाल सरकारले बुधबार कोरोना भाइरस पूर्व नियन्त्रणका लागि गरेका विविध निर्णयपछि महानगरको उक्त बोर्ड बैठक बसेको हो । महानगरबासीलाई यस भाइरसबाट बचाउने विभिन्न उपाय अपनाउन अनुरोध गर्नको लागि उक्त बैठक बसेको हो ।
उक्त आकस्मिक बैठकले महानगरबासीलाई भीडभाडमा नजान र भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न तथा काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिलाई सार्वजनिक सभा, भोजमा नजाने अनुरोधसहितको निर्णय गरेको छ । यसैगरी, बोर्डले काठमाडौंभित्रका जात्रापर्वहरु विधिअनुरुप मात्र मनाउन पनि सार्वजनिक अनुरोध गरेको छ ।
Categorized in
सत्यमोहन लोकसाहित्य भवनको जग शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार
काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित लोकसाहित्य भवनको जग शिलान्यास सम्पन्न भएको छ ।
सत्यमोहन जोशीको घरलाई नै पुनर्निर्माण गरी लोकसाहित्य भवन बनाउन लागिएको हो ।
चैत ६ गते बिहीबार सम्पन्न शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोक साहित्य परिषदका अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधरले जग पूजा गरेकी थिइन् । जगपूजामा स्वयं सत्यमोहन जोशीलगायत मेयर महर्जन, ईन्जिनियर राजदास श्रेष्ठ सम्मिलित थिए ।
लोकसाहित्य भवनको अनुमानित बजेट १ करोड ५० लाख रहेको छ । नेपालका लोक साहित्य संरक्षणको लागि उक्त भवनको निर्माण हुन लागेको हो ।
भवन निर्माणको लागि ३ नम्बर प्रदेशका सांसद कृष्णलाल महर्जनले आफ्नो सांसद कोषबाट ५० लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी उक्त कार्यक्रममा ई. राजदास श्रेष्ठले ५० हजार, समाजसेवी मोतिशान्ति शाक्यले २५ हजार तथा प्रेमशान्ति तुलाधरले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । अतिथिहरुलाई ई. श्रेष्ठले फूलमाला पहिर्याएर सहयोग गरेका थिए ।
कार्यक्रममा नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Categorized in
ईन्द्रजात्राको लागि गणेश र भैरव फेरिने
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार
काठमाडौं– ईन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै गणेश र भैरवको पनि रथयात्रा हुँदै आएको छ । यसपटकको ईन्द्रजात्रामा भने नयाँ गणेश र भैरव छानिने तयारी भइरहेको छ ।
वर्तमान गणेश र भैरव छानिएकाहरुको उमेर १४ वर्ष पुगिसकेकाले नयाँ गणेश र भैरव छानिन लागेको हो ।
ईन्द्रजात्रा व्यवस्थापन समितिले दिएको जानकारीअनुसार नयाँ गणेश र भैरव छान्नको लागि सम्बन्धित निकाय र गुठीसँग छलफल भइसकेको छ ।
पचाङ्ग निर्णायक समितिले गणेश र भैरव फेर्नको लागि साइत हेर्ने भएको छ भने गुठी संस्थानले पनि यसको लागि छलफलको तयारी गरिरहेको छ ।
ईन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जनजाति खबरलाई दिएको जानकारीअनुसार यही रामनवमीको दिन गणेश र भैरव फेर्नको लागि गुठी संस्थानलाई अनुरोध गरिसकेको छ ।
Categorized in
लगन टोलको शीलखाना अब ‘खुल्ला चौर’ हुने
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार
काठमाडौं– काठमाडौं महानगरपालिका २१ वडास्थित लगनमा रहेको भीमसेन थापाकालीन शीलखाना अब खुल्ला चौरमा परिणत हुनेभएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त शीलखानालाई पूर्णरुपमा भत्काएर खुल्ला चौरमा परिणत गर्न लागिएको हो ।
शीलखाना दरबार हुँदा लगन–यंगालको बाटो नै साँघुरो रहेको थियो भने भूकम्पपछि उक्त बाटोलाई पनि चौडा गरिएको थियो ।
काठमाडौं २१ वडाका वडाध्यक्ष उदयचुडामणि वज्राचार्यले जनजाति खबरलाई जनाएअनुसार उक्त स्थानमा रहेको शीलखाना पूर्णरुपमा हटाएर त्यहाँ खुल्लाचौर र व्यवस्थित पार्क निर्माण हुने भएको छ ।
भीमसेन थापाले आफ्ना भाइ रणवीर थापाको लागि दरबार बनाउन स्थानीय शाक्यहरुको जग्गा अधिकरण गरी लिएका थिए । तर रणवीर थापा ‘स्वामी अभयानन्द’को रुपमा जोगी बनेपछि उक्त दरबारलाई काम नलाग्ने हतियार भण्डार गर्ने शीलखानाको रुपमा प्रयोग गरिएको थियो ।
वडाध्यक्ष शाक्यका अनुसार शीलखाना दरबारभित्र अझै पनि शाक्यहरुले प्रतिष्ठापन गरेका चैत्य रहेका छन् । शीलखाना दरबार करिब ५ रोपनी जग्गामा निर्माण गरिएको थियो ।
Categorized in
स्वयम्भूमा वज्राचार्यहरुको गुठी मनाइयो
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार
काठमाडौं– स्वयम्भूमा काठमाडौंका वज्राचार्यहरुको देय् आचागू (देश आचार्य गुठी) मनाइएको छ ।
चैत ४ गते मंगलबार स्वयम्भू र शान्तिपुरमा राजगुरुजु मञ्जुश्रीरत्न वज्राचार्यले पूजा सम्पन्न गरेका थिए । पूजापछि वज्राचार्य गुरुजुहरुलाई दान पनि दिइएको थियो ।
यसैक्रममा वज्राचार्य संरक्षण गुथिले एउटा सभा आयोजना गरी वज्राचार्य विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । गुथिका महासचिव मुनिन्द्ररत्न वज्राचार्यले संचालन गरेको उक्त सभामा पुरस्कार गुठीका अध्यक्ष गम्भीर वज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष सागरमान वज्राचार्यले मन्तव्य राखेका थिए ।
Categorized in
उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ । जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने भएकाले दुदु च्याँच्याँ नामकरण गरिएको भनाइ छ । देशोद्धार पूजा भनेरसमेत चिनिने जात्राको निम्ता गर्न पशुपतिका भट्टकै नेतृत्वमा पैदल यात्रा गर्नुपर्ने नियम रहेको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । यस वर्ष रामकारान्त भट्टको नेतृत्वमा निमन्त्रणा यात्रा शुरु भएको हो । आजदेखि १२ दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, पिंगलामाई, गुह्येश्वरीलगायत देवीदेवताको रथ निकालिन्छ । देशोद्धार पूजा गरी चैत्र कृष्ण पक्षमा जात्रा चलाउन करिब २०० वर्ष अघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारि तिलगंगाको १३ रोपनी जग्गा राखिदिनुभएको थियो । यही जग्गाको आयस्ताले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको वृहत्तर विकासका लागि विसं २०७२ यो ठाउँ अधिग्रहण गरिएको हो । जग्गा अधिग्रहण गरी मोहीलाई मुआब्जा दिए पनि निजी गुठीलाई नदिएको काठमाडौँ महानगरपालिका–८ का पूर्ववडाध्यक्ष रहनुभएका गुठियार सुवर्ण वैद्यले बताउनुभयो । जात्रा चलाउने स्रोत नदिएर कोषले संस्कृति मास्न खोजेको उहाँको आरोप छ । जग्गाका मोहीलाई मुआब्जा दिएर जग्गा धनीलाई कोषले अन्याय गरेको उहाँले बताउनुभयो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा भने यस वर्ष जात्रा चलाउन विगत वर्षभन्दा १५ प्रतिशत बढी अर्थात् रु ३२ लाख ७१ हजार दिइएको बताउनुहुन्छ । पशुपतिमा यो जात्रा शुरु भएपछि नै उपत्यकामा घोडेजात्रा, विस्केट जात्रा, सिथि नख, सेतो र रातो मच्छेन्द्रनाथलगायत जात्रा शुरु हुने प्राचीन परम्परा रहेको छ । नक्साल भगवती र वत्सलेश्वरी दिदीबहिनी भएकाले दुवैको भेट गराउने अवसरका रुपा यो जात्रालाई लिने गरिएको छ । –––
Categorized in
आवासक्षेत्रमा शवदाह गृह बन्न लागेकोले स्थानीय विराेधमा
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काठमाडौं– ललितपुर शंखमूलको आवासक्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयबासी संघर्षमा उत्रिएका छन् ।
विरोधको क्रममा स्थानीयले सोमबार (चैत ३ गते) ललितपुर महानगरपालिका ११ नं. वडा कार्यालय घेराउ गरी नाराबाजी गरेका थिए ।
वागमती फाँटमा जग्गा एकीकरण आयोजनाअन्तर्गत कित्ता नम्बर १०५७ मा पर्ने एक रोपनी तीन आना जग्गामा शवदाह गृह बनाइन लागेको हो ।
स्थानीयसँग सरसल्लाह नगरी आवास क्षेत्रभित्र शवदाह बनाउन लागिएको भन्दै विरोधमा उत्रिएको मणिडोल टोल सुधार समितिका अध्यक्ष राजेन्द्र तण्डुकारले बताएका छन् ।
सो स्थानमा तत्कालीन उपत्यका नगर विकास प्राधिकरणबाट आवास क्षेत्र बनाउने योजना थियो । अहिले बाक्लो बस्ती भइसकेकोले शवदाह बनाउन नहुने स्थानीयको माग छ । शवदाह गृह बनेको खण्डमा वातावरणीय प्रभाव पर्ने अध्यक्ष तण्डुकारले बताएका छन् ।
यसअघि शवदाह गृहको विरोधमा स्थानीयले माघ २५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेको थियो ।
“शवदाह गृहको लागि लिन खोजिएको जग्गाको क्षेत्रफल पनि पर्याप्त छैन,” स्थानीयवासी विपिन महर्जनले भन्छन्, “अन्तिम संस्कारको अन्त्येष्टी, श्रद्धाञ्जलि, कपाल मुन्दन, शववाहन, किरियापुत्री आदिको लागि कम्तीमा १० रोपनी जग्गा चाहिन्छ । एक रोपनी जग्गामा शवदाह गृह कसरी बन्छ ?”
शवदाह गृह बनेपछि परम्परागत मसानघाट र यससँग सम्बन्धित संस्कार पनि लोप हुने स्थानीयबासी बताउँछन् । नगर विकासले बस्ती बसाउने योजना ल्याएको ठाउँलाई शवदाह गृह बनाएर मसानघाटमा परिणत गराउन नदिने अडान स्थानीयबासीको छ ।
विद्युतीय शवदाह गृह सुरुमा राम्ररी चले पनि बिस्तारै यसले बस्तीको वातावरण दूषित बनाउने स्थानीयको भनाइ छ । ११ वडाका वडाध्यक्ष इन्द्रमान महर्जनले शवदाहका लागि वडाबाट सिफारिस नभएकोले आफूलाई यसबारे थाहा नभएको बताएका छन् ।
महानगरको बोर्ड बैठकले गत साउन २३ मा शवदाह गृह बनाउने निर्णय गरेको थियो । महानगरपालिका मेयर चिरीबाबु महर्जनले विद्युतीय प्रविधिको शहदाहमा खुला दाहसंस्कारजस्तो प्रदूषण नहुने भएकाले स्थानीयलाई चिन्तित नहुन आग्रह गरेका थिए ।
Categorized in
पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ । सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । “परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ”, उहाँले भन्नुभयो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
Categorized in
सय वर्षअघिको ल्हासा पुस्तकमा
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काठमाडौं– सय वर्षअघिको ल्हासा (तिब्बत)बारे लेखिएको पुस्तक शनिबार (चैत २ गते) प्रकाशनमा आएको छ ।
नेपाल स्काउटका गुरु जगतवीरसिंह कंसाकारले नेपालभाषामा लेखेको ‘सच्छिदँ न्ह्यःया ल्हासा’ (सय वर्षअघिको ल्हासा) पुस्तकको प्रमुख अतिथि हितकरवीरसिंह कंसाकार, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य र समाजसेवी पूर्णवीरसिंह कंसाकारले संयुक्त रुपमा विमोचन गरेका थिए ।
पुस्तकबारे बोद्धविद्वान एवं साहित्यकार लोचनतारा तुलाधरले समीक्षा गरेका थिए । नेपाल र ल्हासाको घनिष्टता देखाइएको यस पुस्तकले नेपाल–चीनबीचको सम्बन्धलाई घनिष्ठ बनाउन मद्दत गर्ने विचार तुलाधरले राखेका थिए ।
पूर्णवीरसिंह कंसाकारको सभापतित्वमा भएको कार्यक्रममा नविना श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरुलगायत रीना बनिया र लेखक जगतवीरसिंह कंसाकारले आ–आफ्नो मन्तव्य दिएका थिए ।
मछिन्द्र रोभर रेन्जर स्काउट क्यूको आयोजनामा काठमाडौं मासंगल्लीस्थित प्रदीप्त पुस्तकालयमा उक्त कार्यक्रम भएको थियो । मछिन्द्र क्लबका अध्यक्ष प्रबोध कंसाकारले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
सुगतरत्न सिन्दुराकारको सहयोगमा
Categorized in
Pages