पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार
काठमाडौँ - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ।
महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी गरेका हुन्। यस सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ।
आइतबार जारी सूचनामा लेखिएको छ, ‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१ /११ /१२ गतेदेखि २०८१/११/१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्णरूपमा रोक लगाइएको छ। कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।’
चार किल्लामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भाग तोकिएको छ।
Categorized inमहाशिवरात्रिको ट्राफिक व्यवस्थापन : यी स्थानमा पार्किङ
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार
काठमाडौं - महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको तयारी गरिएको जनाएको छ ।
दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइनेछ ।
यस्तै, पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ ।
विभिन्न नाका भई भित्रने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
धेरै टाढाबाट आउने भक्तजनको सुविधाका निम्ति निर्बाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उक्त कार्यालयले जनाएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्र त्यहाँ सवारी आवागमन निषेध गरिनेछ । र, वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्था गरिनेछ । त्यसका निम्ति करिडोर र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने स्थितिमा ‘डाइभर्सन’ गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।
त्यस दिन अर्थात् फागुन १४ गते तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्वेश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भएको अवस्थामा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर, मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफलचौरबाट जयवागेश्वरीतर्फका रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।
सम्भावित सवारीसाधनको चोरी नियन्त्रण र निगरानीका निम्ति सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ ।
शिवरात्रि अवधिभर भक्तजनको सहज आवागमनका निम्ति प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिने कार्यालयले जनाएको छ । आवश्यकताअनुसार थप प्रहरी समेत खटाइनेछ ।
“महाशिवरात्रिको अवधिभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरूलाई निर्बाध रूपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न हामी पूर्ण रूपमा समर्पित भई खटिनेछौँ,” ट्राफिक प्रहरीका प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले भने ।
शिवरात्रिका अवसरमा अरू शिवालयमा हुन सक्ने भीडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरी खटाइने प्रवक्ता राउतले जानकारी दिए ।

शनिबारदेखि स्वयम्भू महोत्सव हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण ८, बिहिबार
काठमाडौं महानगरपालिका वडा १५ को आयोजना मा फागुन १० गते शनिबारदेखि १७ गते शनिबारसम्म आयोजना हुनेस्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोलले वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गर्न लागेको कुरा बिहिवार आयोजित प्रेस सम्मेलनमा बताएका छन् ।
‘सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो। यो पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको छ,’ उनले भने।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना रहेको उनले बताए। प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ।
वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन गरिनेछ । यस्तै मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन्। रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन्।
‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ।
महोत्सवमा स्थानीय सहभागिता गर्न वडाले वडास्तरीय छलफल आयोजना गरिसकेको छ। यस्तै महोत्सव प्रवर्धनका लागि साइकल ¥यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ। अहिले स्थानीयहरु महोत्सवमा प्रदर्शन गर्ने सामान तथा वस्तु व्यवस्थापन गर्न र सांस्कृतिक कार्यक्रमको अभ्यास गर्नमा व्यस्त छन्।
Categorized inनगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ६, मंगलबार
भक्तपुर- भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरूलगायत जनप्रतिनिधिहरूको बैठकले तीनै तहका सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको भन्दै उनले त्यसका लागि नियमित छलफल आवश्यक रहेकामा जोड दिए ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सकिने औँल्याए। उनले सहकार्य र समन्वयका आधारमा भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारको सहयोग रहने बताए । उनले पर्यद्धन प्रवर्द्धनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्नुका साथै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनको धुवाँ प्रदूषण परीक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, उपत्यकाका अस्पाललजन्य फोहरमैला व्यवस्थापन गर्नेलगायत निर्णय बैठकले गरेको छ ।
प्रदेश सरकार र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाट र अन्तरतह समन्वयसम्बन्धी विषयमा छलफल गर्नुका साथै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्नेबारे सहमति भएको थियो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमका माध्यमबाट चिनाउने अवसर पाएको चर्चा गर्दै समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी दिए । उनले मेयर्स फोरमलगायत प्रदेश सरकारलाई निमन्त्रणा दिँदै भ्रमण वर्ष सफल पार्न सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरे ।
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई बागमती प्रदेशका साथै मुलुकको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउन पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गरे ।
मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो । बैठकमा चाँगुनारायण नगरपालिकाको बृहत रूपमा तयार पारिएको वृत्तचित्र प्रर्दशन गरिनुका साथै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोललाई पहिलो पटक बैठकमा स्वागत गरिएको थियो ।
Categorized inरलिशा शाक्य मिस नेवाः , लूनिभा मानन्धर फस्ट रनरअप व लुमना महर्जन सेकेण्ड रनरअप घोषणा
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ५, सोमबार
मिस नेवाः नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् । नेप्लिज फेसन होमले काठमाडौंमा आयोजना गरेको फिनालेमा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।
उपाधिबापत उनले एक लाख रुपैयाँ नगद सहित विभिन्न उपहारपनि प्राप्त गरेकी छिन् । आइतवार प्रज्ञा प्रतिष्ठानको हलमा नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो ।
प्रलिशाले शीर्ष पुरस्कारसँगै मिस बेष्ट नेपालभाषाको सहविधा पनि हात पारिन् । चन्द्रागिरी नगरपालिकाकी लूनिभा मानन्धर फस्ट रनरअप र काठडमाडौंकी लुमना महर्जन सेकेण्ड रनरअप घोषित भए ।
श्रद्धा महर्जन मिस ट्यालेन्टका साथै सोसल वोयरफेर सेकेण्ड रनरअप भइन भने मिस ट्यालेन्ट फष्ट रनरअप अनुश्री शाक्य भइन भने मिस ट्यालेन्ट सेकेण्ड रनरअप श्रृया मानन्धरले जितिन् । सोसल वोयरफेर एम्वेस्डर चिफ रोनिसा महर्जनले हात पारिन् । सोसल वोयरफेर एम्वेस्डर फष्ट रनरअप डिनिसा डंगोल भइन भने मिस डिसिप्लेन प्रशिद्धि शाक्य, पपुलर च्वाइस अल्पा महर्जन, बेष्ट ड्रेस प्राश्ना श्रेष्ठ, मिस कल्चर रितिसा बज्राचार्य, कन्फिड्न्ट संस्कृति श्रेष्ठ, पर्सालिति सुभेक्षा श्रेष्ठ, बेष्ट हेयर रिम्शा श्रेष्ठ, स्कीन रिमुना बज्राचार्य, फोटोजेनिक कुन्ता श्रेष्ठ, स्माइल अनुसा बज्राचार्य, चार्मिङ सुवास्ना श्रेष्ठ र फेन्डसिप रिजु शाक्य विजेता घोषित भए ।
फिनालेकी प्रमुख अतिथि माननीय पशुपति शमशेर राणाले पानसमा दीप प्रज्वलन गरी सुरु गर्नुभएको कार्यक्रममा विशेष अतिथि ललितपुर महानगरपालिका १६ वडाका वडाअध्यक्ष निर्मलरत्नज शाक्य, अतिथिमा वल्ड नेवाः अर्गनाजेशन नेपाः च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल टेलिभिमका मेनेजर गंगासागर मतान्छे हुनुहुन्थो । २० जना प्रतिस्पर्धीहरुको प्रतिभालाई निर्णायकका रुपमा रहनुभएका दिब्यालक्ष्मी बज्राचार्य, लक्ष्मण महर्जन, मणिश्रीरत्न बज्राचार्य, अजरमान जोशी, जिवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, डा. शिक्षिता श्रेष्ठ र मिस नेवाः ११३४ अलिशा बज्राचार्यले मुल्याङ्कन गर्नुभएको थियो ।
रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको मुख्य संयोजन, मिस नेवाः ११४३ सकिना महर्जनको संयोजन र सोसल वेलयफेर अम्वास्टर तिमिला महर्जनको सहसंयोजकत्वमा सम्पन्न भएको हो ।
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १, बिहिबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
कामपाका प्रमुख शाहले सूचीकृत एक सय २५ जना मेलमिलापकर्तालाई शपथ गराउनुभएको थियो । मेलमिलाप प्रवद्र्धनमा कामपाले निर्माण गरेको म्युजिक भिडियो समेत सार्वजनिक भएको थियो । कामपाले २०७९ चैत १५ र १६ गते काठमाडौँमा न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव, सिकाइ र भोगाइ आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले ‘११ बुँदे काठमाडौँ घोषणा’ जारी गरेको थियो ।
न्यायिक समितिका पदाधिकारीहरुका बीचमा क्षेत्राधिकार, समितिको भूमिका, समितिसम्बद्ध कानुनका विषयमा थप स्पष्ट हुने अपेक्षा राखेर आयोजना गरिएको सम्मेलनमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियालगायत विषयमा प्रस्तीितकरण, टिप्पणी, अनुभव प्रस्तुतिसहित अन्तरक्रियात्मक संवाद भएको थियो ।
न्यायिक समितिको दिशालाई निर्देशित गर्न सम्मेलनले देखाएको बाटो र प्रक्रियासम्बन्धी निचोडलाई दिग्दर्शनमा समेटिएको छ । यसले भौगोलिक, सामाजिक, आर्थिक विविधताका बिचमा समितिले अवलम्बन गर्नुपर्ने साझा मार्ग निर्देशित गर्नेछ । यसलाई सबै स्थानीय तहमा पुर्याइनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रियाबाट स्थानीय तहको न्यायिक समितिले काम गर्छ । कानुनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त प्रचलित ऐन कानुनको मूल्यमान्यता समितिका मार्ग हुन् ।
यसअन्तर्गत कामपाको न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरुपण गरेको छ । कूल छ सय आठ वटा विवाद निरुपण हुँदा तीन सय २६ वटा विवादमा निर्णय भएको छ भने एक सय ४१ विवाद मेलमिलापको माध्यमबाट समाधान भएको छ ।
महानगरपालिकाले अहिलेसम्म ५२ हजार सात सय ४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिसकेको छ । चालु आर्थिक वर्षको यस अवधिमा मात्र छ हजार आठ सय ४७ जनाले सेवा प्राप्त गरेको कामपाको भनाइ छ ।
Categorized inकीर्तिपुरको १ र १० वडामा प्रत्येक शनिवार “नेवाः उत्सव” : उत्सव पहिचानयोग्य होस्
Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ माघ २९, मंगलबार
हाल, प्रत्येक शनिबार कीर्तिपुर नगरपालिकाको १० वडाभित्र पर्ने चिथु–इताछेँ टोलको सडक, जुन सडकलाई सम्पदामार्गको रुपमा पहिचान दिइएको छ, त्यहाँ कीर्तिपुर गाईड एशोसिएसनको आह्वानमा प्रत्येक शनिवार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म नेवाः उत्सवको रुपमा मनाइँदै आइरहेको छ र गएको शनिबारबाट उक्त नेवाः उत्सवले तेस्रो हप्ता पार गरिसकेको छ । कीर्तिपुर गाईड एशोसिएसनको यो एक उदाहरणीय पाईला हो ।
गएको शनिबारदेखि उक्त सम्पदामार्गभित्र पर्ने कीर्तिपुर नगरपालिका १ वडाले पनि बाघभैरव–लायकू टोलसम्म नेवाः उत्सवलाई श्रीगणेश गरेको छ । यो पनि एक सकारात्मक पक्ष हो ।

नेवाः उत्सवमा सहभागी हुने कीर्तिपुर नगरभित्रका र वाहिरका जनसमुदायहरुले मात्र खाने स्टलहरु मात्र देखियो, कीर्तिपुरको पहिचान, उक्त सम्पदामार्गको पहिचानरुपी केही दृष्यहरु देखिएन भनी आ–आफ्ना गुनासाहरु पनि पोखेका छन् । यस विषयमा कीर्तिपुर गाईड एशोसिएसनका सम्बन्धित सदस्यहरुले नेवाः उत्सव मात्र सुरुवात भएको र डमीको रुपमा प्रयोगात्मक उत्सवको रुपमा थालिएको जानकारी दिँदै भोलिका दिनमा कीर्तिपुर नगरको पहिचान दिने विभिन्न दृष्यहरु समावेश गर्ने जानकारी दिएका छन् ।
वास्तवमा भन्नु पर्दा, कुनै पनि उत्सव महोत्सवमा पहिलो प्राथमिकता भनेको उक्त उत्सव एवं महोत्सवको पहिचान हो । स्थान विशेष, कला–संस्कृति–संगीत विशेष, रहनसहन–परम्पराको ऐतिहासिकता विशेषलाई पहिलो प्राथमिकतामा राखी उत्सव एवं महोत्सवको आयोजना गर्नुपर्ने आधारहरु हुन् । खाद्य पदार्थ भनेको दोस्रो प्राथमिकतामा पर्ने आधारहरु हुन् ।

त्यसैले अबका आउने प्रत्येक शनिबारको नेवाः उत्सवमा कीर्तिपुर गाइड एशोसिएसनले उत्सवमा सहभागी हुने सम्पूर्णलाई हेर्ने माध्यमलाई पहिलो प्राथमिकतामा राखी, खाने आधारलाई दोस्रो प्राथमिकतामा राखी नेवाः उत्सवलाई कीर्तिपुर नगर एवं सम्पदामार्गभित्र लुकेका पहिचानलाई उजागर गरी पहिचानयोग्य नेवाः उत्सवको रुपमा रुपान्तरण गरिने छ भन्ने आशा गर्दछौं ।
पहिचानयोग्य नेवाः उत्सव आकर्षक एवं उत्कृष्ट पार्नको लागि कीर्तिपुर नगरपालिका एवं सम्बन्धित वडाबाट कीर्तिपुर गाइड एशोसिएसनलाई पूर्णरुपमा आर्थिक तथा भौतिक सहयोगको खाँचो पर्छ नै । नेवाः उत्सव सफल हुनु भनेकै नगरपालिका र सम्बन्धित वडाको गौरवको विषय हुन्छ नै । यस्मा दुईमत छैन ।
Categorized inनगदेशमा १२ वर्षपछि ऐतिहासिक पुलिकिसी जात्रा
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २८, सोमबार
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा गएराति नै सम्पन्न भएको छ ।
हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।
जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्रांगणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायत टोलमा परिक्रमा गरी मनाइएको हो ।
श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए ।
यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपमा प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा सवार गराई टोलटोलमा पुर्याइ जात्रा चलाइएको हो ।
राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेको र भोज खुवाउँदा धरै खर्च हुने भएपछि जात्रा रोकिएको स्थानीयको भनाइ छ ।
यसवर्ष समितिको छलफलबाट एलिसलाई राजकुमारको रुपमा प्रस्तुत गरिएको हो । जात्रा सुरु हुनुअगाडि आइतबार साँझ नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरमा स्थानीयलाई भोज खुवाएपछि पुलुकिसी जात्रा सुरु भएको थियो ।
राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । यसपर्व मनाउनेक्रममा सुयोग्य बरबधुको मनोकांक्षा राख्दै युवापिँढीहरुले पनि व्रत बस्ने परम्परा रहेको छ ।
नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले काठमाडौं र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनउने गरिए पनि नगदेशमा भने स्वस्थानी व्रत कथामा आधारित रहेर यो जात्रा मनाउने गरिन्छ । रासस
Categorized inकाठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २३, बुधबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् ।
जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित तीन सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
उनका अनुसार सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन कामपाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा मापदण्ड विपरीत भएका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सुझाव दिइएको उनले बताइन् ।
प्रदूषण नियन्त्रणका लागि गत पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित सञ्चालन भइरहेको प्रमुख राईले उल्लेख गरिन् । उक्त कार्यक्रमबाट सुधारको मौका दिँदा मापदण्ड पूरा नभएका सवारीसाधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मका कारबाहीको तयारी भइरहेको उाले जानकारी दिइन् ।
‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ ।
परीक्षणका क्रममा मापदण्ड विपरीत पाइएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान बोक्ने ट्रकलगायत रहेका विभागले जनाएको छ ।
परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनःपरीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको प्रमुख राईले बताइन् । कामपाको वातावरण व्यवस्थापन विभागले सङ्घीय सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र कामपाको नगर प्रहरी बलसँगको सहकार्यमा सवारी जाँचको काम गरिरहेको छ ।
Categorized inशहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्य : सुनिता डंगोल
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १६, बुधबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।
सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् ।
उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने पनि बताइन् ।
‘शहीदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रूपमा शहीदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।
माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।
Categorized in

