पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ४, शुक्रबार
ललितपुर - विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।
उनले भनिन्, “भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ ।”
करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।
भूकम्पले क्षति पुर्याएका केही संरचना पुनर्निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए । उनका अनुसार पाटनदरबारको सबैभन्दा ठुलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।
विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।
Categorized inललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ४, शुक्रबार
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।
बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।
Categorized inभूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डङ्गोल
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २, बुधबार
काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
आज काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताइन् ।
भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठुलो क्षति व्यहोर्नुपर्ने भन्दै उनले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । आफूले गरेका कामहरूको मूल्याङ्कन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
Categorized inढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २, बुधबार
ललितपुर - ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।
राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।
लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना उनले सुनाए । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन् ।
आल्को हिति, कोन्टी हिति, च्यासः हिति, टङ्ग हिति, पुच्व हिति, जावलाखेल हिति, लगनखेल हिति, गइटल हिति र मङ्गल हिति सातौँ शताब्दीमा निर्माण भएका हुन् । मङ्गल हितिमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जनले ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठले बताए ।
ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिति पुनर्निर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।
ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठले घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताए । लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
Categorized inभक्तपुरमा सम्यक महादान पर्व
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १, मंगलबार
भक्तपुर - भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाएका छन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो ।
दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो ।
सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकीर्ति महाविहार (थथुवहि) दूधपाती र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपङ्कर बुद्ध एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दानदाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपङ्करहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजु एवं मुलपूरोहित गुरुजुलाई भक्तपुर जयकीर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात् दूधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
सम्यक महादानमा चतुब्र्रम्ह महाविहार सङ्घका कूलदेवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा छ । यसपछि लहरै मूल दीपङ्कर, बाहाछे दीपङ्कर, झौरबही दीपङ्कर, थथुबही दीपङ्कर र कुथुबहि दीपङ्करलाई भोजन चढाउने गरिन्छ । सँगै क्रमबद्ध रूपमा विराजमान गराइएका चारवटा सम्यक द्यो (सुवर्ण दीपङ्करको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजुहरू त्यससँगै लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा छ ।
सम्यक महादानमा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सक्खर मिलाइ बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ ।
विशेषगरी सम्यक महादान पर्वमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहतलगायत २५ थरि गडागुडीका परिकार दान गरिन्छ । बेथी, मेथी, लट्टेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायत तरकारी दान गरिन्छ । यसैगरी मिठाईमा लड्डु, पुरी, घ्यूचाकु, पञ्च पकुवान, चटामरी, मासको बारा, फलफूलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दूध, दही र भाइमसाला पनि दान गरिन्छ ।
यस्तै, सम्यक महादानमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गहरूलाई धान चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षु शाक्य र बज्राचार्य भन्टेहरूलाई भोजन, अन्न र दक्षिणा दान गरी भव्य रूपमा मनाउँदै आएको स्थानीय बुद्धरत्न शाक्यले बताए ।
उनले भने, “दीपङ्कर बुद्धलाई ठूलो थालमा भोजन चढाइ साथमा एक पाथी सरुवा चामल चढाइन्छ । त्यसपछि स्थानीयले गच्छेअनुसार दीपङ्कर बुद्ध, सम्यक देवता, तथागतलगायतलाई धान, चामल, गहुँ, केराउ, मास, भटमासलगायत गेडागुडी, तिलको खिर, बिस्कुट, विभिन्न थरिका मिठार्ई, मौसमअनुसारको फलफूल, सक्खर, घ्यूतिल मुछेर बनाएको लड्डु, सागपात र दक्षिणा आदि चढाइन्छ ।”
यसरी सम्यक महादान गर्दा दीपङ्कर बुद्धलगायत सम्यक देवताहरूको विधिवत पूजापाठ गरिसकेपछि स्थानीय धर्मगुरु थपाजुलाई पनि सम्यकदान दिने परम्परा छ । त्यसपछि मात्र बौद्ध धर्मालम्बीहरूको पुरोहित, बज्राचार्य, शाक्यवर्गलाई सम्यकदान दिइन्छ । यसरी दान गर्दा स्थानीय भक्तजन क्रमशः लामबद्ध भएर दिइने परम्परा छ । यसरी सम्यकदान दिँदा मनोवाञ्छित फल पाउने धार्मिक विश्वास छ ।
सम्यकदान पर्व बुद्धको पालादेखि चल्दै आएको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणका रूपमा लिच्छवीकालीन धार्मिक राजा वृषदेवको पालामा सुरु भएको हो । काठमाडौँ उपत्यकामा सांंस्कृतिक सम्यकदान पर्व नियमित र ऐच्छिक रूपमा चल्दै आएको छ । काठमाडौँमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भू र ललितपुरमा पाँच वर्षमा एकपटक नागवहालमा सम्यक महादान पर्व मनाइन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन यो सांंस्कृतिक पर्व मनाइन्छ ।
भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत् ७८७ मा सुरु भएको बताइएको छ । भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यको नाममा दीपङ्कर बुद्धलगायत विभिन्न विहारका सङ्घ सदस्यलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित इतिहास रहेको छ ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल संवत् ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरेको इतिहास छ । जयरत्नले सम्यक दानपर्व नियमित रूपमा बर्सेनि आयोजना गर्न करिब तीन सय ६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरिएको थियो । जयरत्नपछि उनका छोरा जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रूपमा सम्यकदान पर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको थियो ।
नेसं १०४४ मा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्य भिक्षु जुजुरत्नले ऐच्छिक सम्यकदान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपङ्कर, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साँगा, थिमि आदि ठाउँमा रहेका दीपङ्कर तथागतहरू समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिए ।
नियमित रूपमा सम्यकदान पर्वका लागि व्यवस्था गरिएको तीन सय ६० रोपनी जग्गामध्ये २० रोपनीमात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचार्यले बताए । बाँकी जग्गा राणा प्रधानमन्त्री जङ्गबहादुरदेखि विभिन्न समयमा अधिकरण गरिएकाले सम्यकदान पर्व सञ्चालन हुने स्थान साँघुरिँदै गएको अध्यक्ष बज्राचार्यले जानकारी दिए । सम्यकदान पर्व सञ्चालन हुने भुइख्य क्षेत्रमा अधिकरण गरी सरकारले हाल भक्तपुर अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालयलगायत सरकारी निकायहरू छन् ।
माघे सङ्क्रान्तिका दिन मनाइने सम्यक महादान पनि भाद्र कृष्ण चर्तुथीमा मनाइने पञ्चदानकै रूपमा लिने स्थानीय बताउँछन् । पञ्चदान पर्वमा भक्तपुर नगरका सबै टोलटोलमा गई भूमिमा उब्जनी हुने पाँच किसिमका वस्तु दान दिइन्छ भने सम्यक महादान पर्वमा भुइख्योमा आई भक्तजनले गच्छेअनुसारको दान दिन्छन् ।
भक्तपुरमा पञ्चदान र सम्यक महादान पर्व बडो धुमधामका साथ मनाइँदै आएको छ । यसरी धुमधामका साथ चाडपर्व मनाउन स्थानीय नेवार समुदाय, बज्राचार्य, शाक्य, मानन्धर आदि हुन् । यो पर्व बौद्ध धर्मका अनुयायीहरूका साथै धार्मिक सहिष्णुता भएका हिन्दू नेवारहरूको समेत उल्लासमय पर्वका रूपमा लिइन्छ ।
सम्यकदान गौतम बुद्धको पालादेखि चलिआएकाले लिनेदिने, भौतिकवादमा विश्वास गर्ने, आधुनिक र सभ्य भनाउँदाहरूलाई मानिसले एकअर्काप्रति दायामाया गर्नुपर्छ, दीनदुःखी र असहायलाई आवश्यक सहयोग गरी उद्धार भावना हुनुपर्ने सन्देश दिइन्छ । प्रत्येक वर्ष सम्यक सङ्घ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहारअन्तर्गतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको अध्यक्ष बज्राचार्यले जानकारी दिए।
Categorized inललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
Janjati Khabar – Janjati Khabar | २०८१ पौष २८, आइतबार
पाटन - ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
नवनिर्मित शवगृह उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए । ‘हरेक किसिमबाट मृत्युु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा पाटन अस्पतालमा समस्या भएको जानकारी पाएपछि हामीले रकम व्यवस्थापन गरेर शव व्यवस्थापन गृह निर्माण गरिदियौँ, यो हाम्रो दायित्व पनि हो, उनले भने ।
कोरोना महाकारीको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर हम्मेहम्मे पर्दा पनि सहयोग गरेर बिरामीको शय्यामा अक्सिजन पुर्याउन व्यवस्थापन गरिएको महानगरप्रमुख महर्जनले स्मरण गरे । उनले जाउलाखेलस्थित सदर चिडियाखाना र पाटन अस्पताल महानगरको गौरव भएको बताउँदै यी दुवै संस्थामा कुनै पनि समस्या आउनासाथ सहयोग गर्न महानगर तयार रहेको बताए ।
अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले कोरोना महामारीदेखि हालसम्म महानगरले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । ‘पाटन अस्पतालले ललितपुर महानगरबाट ठूलो र महत्वपूर्ण सहयोग प्राप्त गरेको छ, यो सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु । पाटन अस्पताल मात्रै नभई मेडिकल विश्वविद्यालय पनि हो, यसको गौरब बचाउनु हामी सबैको दायित्व हो’, उनले भने ।
अस्पतालका निर्देशक प्राध्यापक डा. रवि शाक्यले व्यवस्थित शवगृहको अभावमा लासमाथि लास खप्ट्यार राख्नुपर्ने अवस्था रहेकामा महानगरको सहयोगपछि अब त्यो अवस्था नआउने बताए । अस्पतालका ‘फरेन्सिक’ विज्ञ डा.सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन् ।
‘लासलाई किन राम्रो ठाउँ चाहियो भन्ने गरिन्छ तर त्यसो हैन, मृत्युपछि सम्मान आवश्यक हुन्छ । त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ । अझ विपद्का बेला धेरै लास राख्ने ठाउँको आवश्यकता हुन्छ । यहाँको शवगृहको स्तरोन्नतिले धेरै सहज हुनेछ’ उनले भनिन् ।
महानगरले पाटन अस्पतालसँगको सहकार्यमा बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र सञ्चालन गरिरहेको छ । पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त पाँच ठाउँमा पनि सेवा केन्द्र खोल्ने तयारी गरिरहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् ।
Categorized inचन्द्रागिरि केबलकार अवरुद्ध भएपछि १ हजार यात्रु अलपत्र
Janjati Khabar – Janjati Khabar | २०८१ पौष १६, मंगलबार
काठमाडौं- चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो ।
हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरि हिल्सले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बताए ।
‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि हिल्समा रहेका यात्रुलाई काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएको छ’, उनले भने, ‘केबलकारको सञ्चालन परीक्षण भइरहेको छ ।’
सुवेदीका अनुसार चन्द्रागिरि हिल्समा करिब १ हजार यात्रु रहेका छन् ।
Categorized inभ्वाङ परेको कमलादी सडकखण्ड सञ्चालनमा
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २८, शुक्रबार
काठमाडौं- काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि बिहीबारबाट उक्त खण्डमा सवारिसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् ।
व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए ।
सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डीजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तै अविरल वर्षा, चाडबाड र बाढीले काममा बाधा पुगेको थियो । काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कात्तिक २ गतेबाट काम सुरु भएको थियो ।
राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्त्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केही ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्त्व विभागले समेत कल्भर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो । निर्माण थालेको ४६ दिनमा काम सकिएको डिभिजन प्रमुख भण्डारीले बताए ।
गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो ।
Categorized inविभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २७, बिहिबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।
महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।
दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठीखलका गुरुको सम्मान, शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिहरुलाई त्यसै दिन पुरस्कार वितरण तथा मंसिर २९ गते औपचारिक समारोह आयोजना गरिने छ । उक्त दिन महानगरका सबै वडाको प्रतिनिधित्व हुनेगरी फुड फेस्टिवलको आयोजना गरिएको छ ।
Categorized inविष्णुदेवी अस्पताल २४ सै घण्टा इमर्जेन्सी सेवासहित सुचारु गर्ने कीर्तिपुरका मेयर डंगोलको निर्णय
Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार
कीर्तिपुर नगरका नवनिर्वाचित मेयर कृष्णमान डंगोलद्वारा पदभार ग्रहण,
कीर्तिपुर/गएको मंसीर १६ गतेस्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले शुक्रबार नगरपालिका कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नु अघि शुक्रबार बिहान कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ हलमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।
पदभार ग्रहणका लागि कीर्तिपुर नगरपालिका कार्यालय पुग्नु भएका नवनिर्वाचित मेयर कृष्णमान डंगोललाई नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य सुनिताले स्वागत गर्नुभएको थियो ।
मेयर कृष्णमान डंगोलले पदभार ग्रहण पश्चात् आफ्नो पहिलो निर्णय सार्वजनिक गर्नुभएको थियो । मेयर डंगोलले चुनाव अगाडि विभिन्न संचारमाध्यममा आफू मेयरमा निर्वाचित भए पहिलो कार्य कीर्तिपुरस्थित विष्णुदेवी अस्पताललाई व्यवस्थापनका साथ २४ सै घण्टा आकस्मिक सेवासहित सुचारु गर्ने प्रतिबद्धतालाई प्राथमिकता दिनुभएको भएको छ ।
पदभार ग्रहण पछि आफ्नो पहिलो कार्य एवं पहिलो निर्णय सार्वजनिक गर्दै मेयर डंगोलले “कीर्तिपुर नगरपालिकाको आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यहरुको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन दफा ३ संग सम्बन्धित अनुसूची ४ क आर्थिक वर्ष २०८१–०८२ को पुँजीगत खर्च (योजना तथा कार्यक्रम) अन्तर्गत सामाजिक विकास क्षेत्र ‘आ’ को ‘ग’ मा आन्तरिक तर्फको स्वास्थ्य र अन्य स्वास्थ्य तर्फको विष्णुदेवी अस्पताल संचालन तथा व्यवस्थापनमा रु. १० लाख र किपू नगर अस्पताल भवन निर्माण तथा संचालनमा रु. ३ करोड बजेट विनियोजन भएको छ” भन्ने विवरण सार्वजनिक गर्नुभएको छ ।
नवनिर्वाचित मेयर कृष्णमान डंगोलको निर्णयमा भनिएको छ, “यस कीर्तिपुर नगरपालिका अन्तर्गत संचालित विष्णुदेवी अस्पतालको सेवा सुदृढिकरण गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा हाल तत्कालै २४ घण्टा ईमरजेन्सी सेवाका लागि, पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन औजार उपकरणहरु व्यवस्थापनका लागि उचित व्यवस्थापन गर्नुपर्ने भएकोले यथाशक्य व्यवस्थापन प्रक्रिया अगाडि बढाउनको लागि निर्णयार्थ पेश गर्दछु ।”
यस्तै, निर्णय सार्वजनिक गर्ने क्रममा मेयर डंगोलले भन्नु भएको छ, “नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई सूचना प्रविधिसंग आवद्ध गर्न अनलाईन पेमेन्ट प्रणाली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेर सूचना प्रविधि क्षेत्रमा अध्ययनरत कीर्तिपुरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आवश्यक मापदण्ड निर्माण गर्न उपयुक्त देखी निर्णयार्थ पेश गर्दछु ।”
Categorized in


