सार्वजनिक यातायात सुधार गर्दै कामपा
Janjati Khabar | २०८२ माघ २६, सोमबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि बढाइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन । तर, हामीले यो लक्ष्य हासिल नगरी हुँदैन ।” भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्नका लागि योजनासहित चरणबद्ध रुपमा अघि बढ्नुपर्छ ।
यसअघि साझा यातायातका अधिकारीसँग ललितपुरको पाटन अस्पतालदेखि अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र, भएको भेटका क्रममा एउटा अस्पतालदेखि अर्को अस्पतालसम्म जोड्ने तथा कलङ्कीदेखि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म रात्रिकालीन विद्युतीय बस सञ्चालन सम्भावनाका विषयमा कुराकानी भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
पूर्वाधार सुधार गरेर वातावरणमैत्री, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन गर्ने, व्यवस्थापन गर्ने योजनालाई कामपाले महत्त्वका साथ अघि बढाएको बताइएको छ । सूचना प्रविधिमा आधारित नगदविहीन ९क्यासलेस० एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउने, बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकल यात्रीमैत्री सडक निर्माण तथा व्यवस्थापन सार्वजनिक यातायात व्यवस्थापनका कोणबाट सामना गर्नुपर्ने चुनौती हुन् ।
सार्वजनिक यातायातसँग सम्बन्धित विवरण सङ्कलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ मलमा यातायात सेवाको उपलब्ध बढाउने, यसबापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो सञ्चालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेजस्ता काम गर्नुपर्ने देखिन्छ । यी कामहरू तहगत सरकार, निजी साझेदार तथा समुदाय स्तरसम्ममा गर्नुपर्ने कामपाको भनाइ छ ।
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
Janjati Khabar | २०८२ माघ २२, बिहिबार
भोजपुर, यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।
पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यकपर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए ।
यहाँ उत्पादित कांसका भाँडाकुँडा तथा अन्य सामग्री जिल्लासँगै तराईका विभिन्न सहरमा पुग्ने गर्थे । तर, आवश्यक कोइला, कच्चापदार्थको अभाव, लागत वृद्धि र पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा पछिल्लो समय टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासी विनोद ताम्राकारले बताउनुभयो ।
यहाँका घरेलु उद्योग सञ्चालकको सबैभन्दा ठूलो समस्या कोइला अभाव नै भएको उहाँको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला बजारमा सहज रूपमा नपाइने भएपछि आफैँले रुख काटेर कोइला बनाउनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।
“कांसको काम सुरु गरेदेखि अन्त्यसम्म कोइला अनिवार्य पर्छ”, उहाँले भन्नुभयो, “अहिले कोइला पाउन निकै कठिन छ, कोइलाको अभावकै कारण धेरै कालीगढ पेसा छाड्न बाध्य भएका छन् ।”
दसकौँ अघि सयौँको सङ्ख्यामा सञ्चालनमा रहेका धातु उद्योग अहिले आएर पाँच वटामा मात्र सीमित भएका छन् । कोइला मात्र होइन, मैनलगायत अन्य स्थानीय कच्चापदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन बन्दै गएको अर्का स्थानीय सुरजबहादुर उदासले बताउनुभयो ।
“कोइलाबिना कांसको काम सम्भव नै हुँदैन”, उहाँले भन्नुभयो, “कांस पगाल्न, मैन पगाल्न सबैमा कोइला चाहिन्छ, अहिलेको अवस्थामा कोइलाको कारणले पेसा जोगाउने कि छाड्ने भन्ने अवस्थामा पुगेका छौँ ।”
स्थानीयका अनुसार राणा तथा पञ्चायती शासनकालमा विशेष प्रसिद्धि कमाएको टक्सारको धातु उद्योगले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो । तर, पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चापदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण यो परम्परागत उद्योग क्रमशः धराशायी बन्दै गएको छ ।
स्थानीयवासीले टक्सारको ऐतिहासिक पहिचान जोगाउन कोइला आपूर्तिमा सहजीकरण, परम्परागत उद्योग प्रवद्र्धनका कार्यक्रम र कालीगढलाई लक्षित राहत तथा प्रोत्साहनका नीति आवश्यक रहेको बताउँदै आएका छन् ।
सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना
Janjati Khabar – Janjati Khabar | २०८२ माघ २२, बिहिबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२,१०,१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।”
कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ । “उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ”, सूचनामा उल्लेख छ ।
नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं ३१ स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ स्थित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी वडा नं २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ मा रहेको ग्रेट गङ्गासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।
लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फछ्र्यौट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर सो प्रक्रिया अगाडि बढाएको हो ।
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’
Janjati Khabar | २०८२ माघ १७, शनिबार
काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो ।
यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा न्यानो हुन थालेको सङ्केतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा एउटा यस्तो धार्मिक र रहस्यमयी घटना सम्पन्न हुन्छ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ ।
स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख ‘अघोर’ को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराइने यो ‘छाया दर्शन’ पर्व नेपालको मौलिक तान्त्रिक पद्धतिको एक अनुपम नमुना भएको संस्कृतिविद् श्रीकृष्ण डङ्गोल बताउनुहुन्छ ।
अघोर मुखको तेज र ‘सेफ्टी फिल्टर’ का रूपमा छाया दर्शन पर्वलाई मानिँदै आएको छ । पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको मुख ‘अघोर’ स्वरूप हो, जसलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ । शास्त्र र जनश्रुतिअनुसार अघोर मुखको तेज र ऊर्जा यति प्रखर हुन्छ कि सामान्य मानव आँखाले त्यसलाई सिधै हेर्न कठिन हुन्छ ।
वास्तुशास्त्रमा पनि पशुपतिको दक्षिण दिशालाई यम र संहारको दिशा मानिने हुनाले त्यसतर्फ घरजग्गा हुनुलाई भारी ऊर्जाको क्षेत्र मानिन्छ । यही प्रचण्ड ऊर्जालाई ‘शीतल’ र भक्तहरूका लागि दर्शनयोग्य बनाउन प्राचीनकालदेखि नै भगवान्को त्यो दिव्य स्वरूपलाई जलमा प्रतिविम्बित गराउने विधि बसालिएको उहाँले बताउनुभयो । यो वैज्ञानिक विधि हो, जसरी हामी सूर्यको कडा तेजलाई सीधा नहेरी पानी वा ऐनाका माध्यमबाट ‘रिफ्लेक्सन’ गराएर हेर्छौं । जलतत्वले अग्नि समान तेजस्वी ऊर्जालाई सोसेर सौम्य बनाउने हुनाले यसलाई एकप्रकारको ‘आध्यात्मिक सेफ्टी फिल्टर’ मानिन्छ ।
रानी भव लक्ष्मीको सङ्कल्प र ‘तिकिन्छा’ ९कुसुम० को शिल्पकलाका रुपमा पनि यो पर्वलाई लिने गरिएको छ । यो परम्पराको ऐतिहासिक कडी सुवर्णपुर अर्थात् प्राचीन काठमाडौँको एक समृद्ध हिस्साकी रानी भव लक्ष्मीसँग जोडिएको छ । उहाँले देवाधीदेवको शिरमा आकर्षक कुसुम फूल चढाउने सङ्कल्प गर्नुभएको थियो । नेपाल भाषामा ‘तिकिन्छा’ भनिने कुसुम फूलको गोलाकार बनावटमा पगरी आकारको मुकुट बनाएर भगवान्लाई अर्पण गर्ने चलन चल्यो ।तिकिन्छाको विशिष्ट बनावट हुन्छ । यो केबल एउटा फूल मात्र होइन, यो एक विशिष्ट शिल्पकला पनि भएको संस्कृतिविद् डङ्गोलको भनाइ छ । तिकिन्छा तीन तहको गोलाकार गुम्बज आकारको हुन्छ । यो बाँसबाट नभई बेतबाट निर्माण गरिन्छ । बेतको संरचनामाथि कपडाले ढाकेर प्राकृतिक रङले विभिन्न आकृति बनाई यसलाई बलियो र चिल्लो बनाइन्छ ।
पहिलेपहिले ‘बारा बिस्केट नाइके’ को घरमा बनाएर टोलवासीलाई बाँड्ने चलन पनि थियो । जुन अहिले लोप हुँदै गएको छ । रानीले यस पर्वलाई स्थायित्व दिन नवरत्न जडित हीरामणि र पन्नाको पत्तुका ९कम्मरमा बाँध्ने कपडा० र नेत्र चढाउनुका साथै जात्रा सञ्चालनका लागि जग्गासमेत दान दिएको इतिहास रहेको पशुपति क्षेत्रका स्थानीय वृद्धहरुको भनाइ छ ।
‘तिकिन्छा द्य’ः लाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको सेतुका रुपमा मानिन्छ । माघ शुक्ल चतुर्दशीका दिन बाजागाजासहित नगर परिक्रमा गराई यो प्रतिमालाई पशुपतिनाथको शिरमा विराजमान गराइन्छ । स्थानीय नेवाः समुदायले यसलाई ‘तिकिन्छा द्य’ का रूपमा पुज्ने गर्छन् । यसले शिवलिङ्गको पिँधको ऊर्जालाई ‘छाया’ ९शून्य० र शिरको ऊर्जालाई ‘प्रतिमा’ ९पूर्ण० का रूपमा दर्शन गराउँदै हिन्दू र बौद्ध दर्शनको मिलन गराउँछ । कतिपयले यसलाई ‘पद्मपाणि लोकेश्वर’ को स्वरूपका रूपमा पनि आराधना गर्छन् । जसले काठमाडौँ उपत्यकाको धार्मिक सहिष्णुतालाई पुष्टि गर्दछ ।
छाया दर्शनको विधि र स्थान
यो दर्शन पशुपति मन्दिरको दक्षिणपट्टिको ‘मझेरी’ अर्थात् भण्डारीहरूको मासिक पालो फेरिने र गरगहना राखिने स्थानमा हुने गरेको छ । जल भरिएको सो स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म भगवान्को प्रतिविम्ब हेर्न पाइन्छ । यो ‘छाया दर्शन’ को छ महिनापछि ‘पवित्रारोपण’ हुने गर्दछ । जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्छ ।
यो पर्वको संरक्षणमा चुनौती देखिएको छ । पशुपतिनाथको छाया दर्शन र तिकिन्छा जात्रा केबल एउटा धार्मिक विधिमात्र होइन । यो वनस्पति विज्ञान ९कुसुम फूल०, खगोल विज्ञान ९उत्तरायण र परावर्तन० र राजकीय इतिहासका जीवन्त प्रमाण हुन् । बेतबाट तिकिन्छा बनाउने शिल्प लोप हुँदै जान थालेकाले यो संस्कृति नाशिएला भनी चिन्ताको विषय बनेको छ । पानीमा देखिने त्यो दिव्य छायाले ईश्वरको शक्ति अपार छ र त्यसलाई महसुस गर्न कहिलेकाहीँ विनम्रताका साथ आफ्नो दृष्टिकोण बदल्नुपर्छ भन्ने सिकाउने गर्दछ ।
सुवर्णपुरकी रानीको त्यो सङ्कल्प र कुसुम फूलको त्यो रङ आज पनि पशुपतिनाथको मझेरीमा पानीको छाया बनेर बाँचिरहेको छ । यसलाई जोगाउनु सबैको साझा दायित्व भएको पशुपति क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा र अध्ययन अनुसन्धान गरिरहनुभएका गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछाने बताउनुहुन्छ । पशुपति क्षेत्रमा मनाइने यो पर्वलाई हिउँदको बिदाइ र आध्यात्मिक जागरणका अवसरमा लिने गरिएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा
Janjati Khabar – Janjati Khabar | २०८२ माघ १७, शनिबार
काठमाडौँ, काठमाडौँ महानगरपालिका ९कामपा० ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका र परिवारमा सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । यसैगरी शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकले हाम्रा लागि पनि कोही रहेछन् र पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।”
सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ, भने यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण पनि प्रदान गरिएको छ । कार्यक्रमबारे कामपाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले यो सेवामा औषधि व्यवस्थापन तथा पोषण परामर्श दिनुका साथै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
यसैगरी व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइनुका साथै सङ्कलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने उहाँले बताउनुभयो ।
नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै कामप
Janjati Khabar | २०८२ माघ १२, सोमबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ ।
यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा सङ्ख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्नुहुन्छ, “उमेर समूह, शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरूपता कायम गराउन साटफेर हुन भने सक्छ ।”
यसअन्तर्गत सिंहदरबार भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत थालिएको छ । यस ठाउँमा दुई प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रङ्गरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिनुभयो ।
यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्नेगरी काम गरिने उहाँको भनाइ छ ।
कामपाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरू एक दशमलव पाँच मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् ।
यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य रु १८ हजार ६५५ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडकखण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायत ठाउँमा राखिएका थिए ।
दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरू नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर बबरमहल, कलपोखरीलगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्वानिजमअन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरू माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिने कामपाले जानकारी दिएको छ ।
कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक २८, शुक्रबार
काठमाडौँ महानगरपालिकाले कुमारीवहाल ९कुमारीघर० को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२र८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।
कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिनुभएको छ । बर्खायाममा कुमारीघरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो ।
समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्वविज्ञ पुरुषोत्तम डङ्गोल हुनुहुन्थ्यो । सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य हुनुहुन्थ्यो ।
अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारीघरका नामले चिनिने कुमारीवहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिन कीराले खाएर स–साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिनुभयो ।
बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ फुटेर खसेको छ, आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिङ्गटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् ।
बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १७, सोमबार
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन्। “जेन जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् ।
बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय गरेका छन्। सहयोगीका अनुसार बालेनले “न त नयाँ पार्टी बनाउने, न त कुनै पुरानो दलमा सामेल हुने” छन् । तर उनले संविधानको दायराभित्र रही जेन जी आन्दोलनको एजेन्डा बोकेका पार्टी वा उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।
जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बालेनका केही सल्लाहकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने सम्भावनाबारे छलफल गरेको बताइन्छ। त्यतिबेला रबि लामिछानेले बालेन वा कुलमान घिसिङलाई पार्टी नेतृत्वको जिम्मा दिन सक्ने तयारी गरेका थिए। तर पार्टीभित्रका नेताहरू सोबिता गौतम, डा।स्वर्णिम वाग्ले र दीपक बोहरालगायतले असहमति जनाएपछि विषय अघि बढ्न सकेको थिएन।
पछि घिसिङले पूर्वसांसद सुमना श्रेष्ठसँग मिलेर नयाँ दल गठन गर्ने तयारी थालेका थिए, जसमा बालेन पनि जोडिने हल्ला थियो। बालेनले यसबारेका सबै अफवाह अस्वीकार गर्दै भनेका छन्, “म अहिले कुनै पार्टीमा जाने वा नयाँ दल बनाउने तयारीमा छैन, बरु देश र संविधानको सम्मान गर्दै जेनजी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु।”
संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता विषयमा पनि बालेनको स्पष्ट धारणा रहेको उनका सहयोगीहरूले बताएका छन्। बालेन संविधानका सबै प्रावधानहरूको समर्थन गर्दै स्थानीय तहलाई अझ सशक्त बनाउने पक्षमा रहेका छन्। यदि संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीको पहल गरे, उनले त्यसलाई पनि समर्थन गर्ने अपेक्षा गरिएको छ।
Categorized inनगर प्रमुख डंगोललाई कीर्तिपुरका जेन–जी युवा समूहद्वारा ज्ञापन पत्र हस्तान्तरण
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ कार्तिक २, आइतबार
कीर्तिपुर । शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
आज आइतबार कीर्तिपुरका नगर प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरका जेन–जी समूह कीर्तिपुर युथर्स नेपालद्वारा हस्तान्तरण गरेको ज्ञापन पत्रमा गएको असोज १३ गतेको बैठकमा भएको विषयगत बुँदाहरु नगरपालिकामा पेश गरिएको उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा शहिदका परिवारको अनुसन्धान गरी भौतिक सहयोग गर्ने बुँदामा हाल भएको जेनजी आन्दोलनमा शहिद भएका परिवारबाट कम्तीमा पनि एकजनालाई रोजगारको व्यवस्था साथै परिवारमा रहेका बालबालिकालाई आगामी दिनहरुमा शैक्षिक व्यवस्थापन गरिदिनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै हाल निर्वाचन आयोगद्वारा मतदान कार्ड दर्ता गर्ने खोले संगै यस विषयमा जनचेनताका लागि आह्वान गर्ने विषयमा निर्वाचन आयोगद्वारा मतदान कार्ड दर्ता खोलेसंगै कीर्तिपुर नगरपालिकामा बसोबास गरिरहेका सम्पूर्णमा १६ वर्ष पूरा भएका युवाहरुमा मतदान कार्ड दर्ता गर्नका लागि आह्वान गर्नुपर्ने र हरेक वडा र नगरको सामाजिक संजालद्वारा जनचेतना दिनका लागि अनुरोध गरिएको छ ।
यस्तै वडादेखि नगरस्तरसम्म युवाको सहभागिता हुनुपर्ने बुँदामा युवाहरुको सिप अनुसार स्थानीय सरकारमा संलग्नता हुने पर्ने र सकेसम्म इन्टर्नको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा वडा समितिमा युवाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने र नगरपालिकको योजना निर्माण तथा अनुगमन समितिमा युवाहरुलाई समावेश गर्नुपर्ने साथै सूचना प्रवाहमा सुधार ल्याउनु पर्ने र तालिम एवं क्षमता विकास कार्यक्रमहरुको आयोजना गर्नुपर्ने उल्लेख गर्दै नगर युवा परिषद पुनःगठन गर्नुपर्ने माग पनि समावेश गरिएको छ ।
ज्ञापन पत्रमा मालपोत सम्बन्धी कार्यमा स्थानीय सरकारको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै हाल मालपोत कार्यालय कलंकीबाट प्रकाशित भएको सूचना अनुसार नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्नका लागि आवश्यक कागजातहरु पेश गर्नुपर्नेमा स्थानीय सरकारले यस सम्बन्धी काम तीब्र गतिमा गरिदिनका लागि अनुरोध गरिएको छ ।
Categorized in
काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान
Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २९, बुधबार
काठमाडौं - काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका छन्।
वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१\८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडा अध्यक्ष तिवारीले ४५ लाख रुपैयाँको लागतमा खरिद गरि डिजिटल हाउस नम्बरिङको शुरुवात गरेको जानकारी दिएका छन्।
उनकाअनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए । त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनको लागि एनएफसि चिप्स प्रविधिमा आधारित प्रणालीको शुरुवात गरेको उनको भनाई छ । उनले यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पु¥याउने बताएका छन् ।
जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड राखिएको छ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाएमा क्युआर स्क्यान गरेर लोकेसनमा पुग्न सकिने उनले बताएका छन् ।
६ हजार ८ सय ५० घर संख्या रहेको वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ ।
एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन ।
यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिन्छ ।
Categorized in

