हलिं नेवाः गुथिले कथा लेखन गोष्ठी गर्दै
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – हलिं नेवाः गुथि (विश्व नेवाः गुथि)ले नेपालभाषाका साहित्यकारहरुलाई तथा पाठकलाई लक्षित गरी कथा लेखन गोष्ठी आयोजना गर्दैछ ।
भदौ ३० गते मंगलबार बेलुका ६ बजेदेखि ८ बजेसम्म उक्त कथालेखन गोष्ठी हुँदैछ ।
जूम एपमा हुने उक्त गोष्ठीका मुख्य वक्ता एवं प्रशिक्षक डा. ज्योति तुलाधर रहनुहुन्छ । प्रशिक्षकले तुलाधरले कथा साहित्यबारे तथा कथा लेखन विषयमा प्रशिक्षण दिनुहुनेछ ।
Categorized in
बुंगःद्यः बुंगमति भित्र्याउने साइत नै गलत !
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।
भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उहाँले बताउनुभयो । भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उहाँको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।
ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहितालगायत ग्रन्थमा उल्लेख भएपनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउनुहुन्छ । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभएपनि सामान्य रुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उहाँले जानकारी दिनुभयो । तिथिको हिसाबले भदौ २० गते शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउनुहुन्छ । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरुको भनाइपछि भदौ २९ गते सोमबारको साइत दिइएको छ ।
‘सीमित समयको उत्तम साइत’
किन आइतबारकै साइत रथ तान्न, भदौ २६ र २९ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले भदौ २२ गतेदेखि असोज १ गतेभित्र रातो मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत दिनुपर्ने भएकाले भदौ २९ गतेको साइत दिइएको बताउनुभयो । ज्योतिष शास्त्रको ग्रन्थ मुहूर्त चिन्तामणि अनुसार सबैभन्दा उपयुक्त साइत दिएको पनि उहाँले बताउनुभयो । भदौ २६ गते साइत दिएको भए आफैँले बिरोध गर्ने ज्योतिषी पूर्णमङ्गलको भनाइ थियो ।
पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा विगत ५० वर्ष अघिदेखि भने न्यउत र बखुम्बहाल टोलको प्रतिनिधित्व हुन सकेको छैन । हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जनामात्र साइत निकाल्न सहभागी हुने गर्नुभएको छ ।
असोज २ गतेदेखि अधिकमास लाग्ने भएकाले सीमित समयभित्रबाट राम्रो साइत निकाल्नुपर्दा भदौ २९ गतेको साइत निस्किएको ज्योतिषी कीर्तिकिरण बताउनुहुन्छ । सोमबार बिहान १०ः५ देखि १०ः२० भित्रमा रातो मच्छिन्द्रनाथालाई बुङ्मतीतिर लैजाने साइत दिइएको उहाँले बताउनुभयो । प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो ।
रातो मच्छिन्द्रनाथको रथ तान्न र बुङ्मती भित्र्याउने साइत दिने फरक नियम छ भने त्यो सार्वजनिक गर्नसमेत ज्योतिष शास्त्रीले माग गरेका छन् । साइत निकाल्न सहभागी हुने गर्नुभएका दुवै ज्योतिषीले दिनुभएको जानकारीअनुसार पुर्खाले बनाइदिएको निश्चित सूत्रलाई आधार मानी ज्योतिष शास्त्रको सिद्धान्तअनुसार नै साइत दिइने गरेको छ ।रासस
Categorized in
काठमाडौंका मेयर कोरोना संक्रमणमुक्त
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।
गत भदौ १५ गते शाक्यमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
शाक्यको दोस्रो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षणको लागि शनिबार दिइएको स्वाबको रिपोर्ट आज नेगेटिभ आएको हो ।
उहाँ केही दिन आराम गरेपछि काममा फर्किनुहुने महानगरपालिका सचिवालयले जनाएको छ ।
Categorized in
वागमती किनारमा गुर्जो रोपियाे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २७, शनिबार
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी हुनुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको छ । अधिकारसम्पन्न वाग्मतीको कार्यालयमा पनि उहाँले बिरुवा उपलब्ध गराउनुभएको सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।
राजलवटले नै उपलब्ध गराउनुभएको एक हजार गुर्जोको बिरुवा वाग्मतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उहाँले जानकारी दिनुभयो । घरघरमा गुर्जोको बिरुवा पु¥याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमित रुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउनुहुन्छ । गुर्जोका नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उहाँले जानकारी दिनुभयो ।
मधुमेह रोगबाट पीडित भएकाले नियमित रुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउनुहुन्छ । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ ।
रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउनुहुन्छ । गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ । डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ ।
Categorized in
अभियन्ताहरुको रिहाइको खुशीयालीमा मंगलबजारमा आज दीप प्रज्ज्वलन गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार
काठमाडौं – बुंगःद्यःको रथयात्राको क्रममा पक्राउ परेका सम्पूर्ण सम्पदा अभियन्ताहरुको रिहाइपछि त्यसको खुशियाली मनाउन आज शुक्रबार पाटन दरबार स्क्वायरमा साँझ ६ बजे दीप प्रज्ज्वलन कार्यक्रम राखिएको छ ।
नेवार समुदाय एकताबद्ध भएर विभिन्न कार्यक्रमबाट दबाब दिएपश्चात् सम्पदा अभियन्ताहरु सबैलाई राज्यले हिजो साँझ रिहा गरेका थिए ।
सम्पूर्ण अभियन्ताहरुको रिहाइ गराउन सफल भएकोले नेवार समुदायले आज स्वतःस्फूर्त रुपमा पाटन मंगलबजारमा जम्मा भएर दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ । दीप प्रज्ज्वलन कार्यक्रममा अभियन्ताहरुको रिहाइको लागि आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद दिने कार्यक्रम पनि रहेको छ ।
सो दीप प्रज्ज्वलन कार्यक्रममा सम्पूर्ण सम्पदा तथा संस्कृतिप्रेमीका साथै सम्पूर्ण नेवार समुदायको उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरिएको छ ।
Categorized in
फुटपाथ पसल राख्नु कामपाको नीतिविपरीत, अटेर गरी राखे कारबाही हुने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाको निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसँगै फुटपाथका पसल तथा ठेलागाडाहरु खोल्ने निर्णय गरेकोमा उपत्यकाबासीले सो निर्णयमा आपत्ति जनाएका छन् ।
काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष एवं सम्पदा विभागका संयोजक न्हुच्छेकाजि महर्जनले बिहीबार उक्त निर्णय सच्याउने माग गर्दै प्रेस विज्ञप्ति निकालेका छन् ।
महर्जनले जारी गरेको विज्ञप्तिमा काठमाडौं महानगरपालिकाको नीतिनियमअनुरुप फुटपाथ पसल राख्नु र ठेलागाडाको व्यापार गर्नु निषेध गरिएकाले १८ वडाभित्र फुटपाथ पसल नराख्न सबैमा आह्वान पनि गरेका छन् । उनको आह्वानलाई उपेक्षा गरी फुटपाथ पसल राखेमा वा ठेलागाडा पसल राखेमा कारबाही हुने समेत महर्जनले जनाएका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका २७ वडाका वडासदस्य नरेश महर्जनले पनि सामाजिक संजालमार्फत् २७ वडाभित्र फुटपाथ पसल र ठेलागाडा व्यवसाय नराख्न अपिल गरिसकेका छन् ।
Categorized in
सम्पदा अभियन्ताहरु सबैलाई रिहा गरियो
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार
काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा समातिएका सबैलाई राज्यले रिहा गरेको छ ।
सम्पदा अभियन्ताहरु यादवलाल कायस्थ, असोज महर्जनलगायत सबैलाई अहिले साँझ ७ बजे रिहा गरिएको हो । यसअघि समातिएकाहरुमध्ये ९ जनालाई छोडिसकेको थियो ।
हिरासतमा रहेकाहरुको रिहाइको लागि ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेवार अगुवा मल्ल के. सुन्दर, बागमती प्रदेशका सांसद राजकाजी महर्जनलगायत विभिन्न संघसंस्थाहरुल लामो समयअघिदेखि प्रयास गरिरहेका थिए ।
योबाहेक पाटन, काठमाडौं, हरिसिद्धि, खोकना, बुंगमति, लुँभु, साँगालगायत पनौतीसम्मका स्थानीयहरुले उनीहरुको रिहाइको लागि दबाबमुलक प्रदर्शनहरु गरेका थिए ।
सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले जनजातिखबरका संवाददातासँग कुराकानी गर्दै सम्पदा अभियन्ताहरुको रिहाइको लागि सहयोग गरिदिनुहुने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
तस्बिर साैजन्य : वीरेन्द्र शाक्य/विजयरत्न असंबरे
Categorized in
काठमाडौंका ४९५ सहित उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, कुल संक्रमित ५० हजार नाघ्याे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
बुधबार मात्रै ४६४ जनामा संक्रमण देखिएको थियो।
काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।
यसैगरी पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार मात्रै ५ जनाको मृत्यु भएको छ भने याेसँगै नेपालमा कोरोनाबाट हालसम्म ३१७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो ७१ प्रतिशत हो।
Categorized in
हिरासतमा रहेकाको रिहाइ माग्दै लुभु र साँगामा प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार
काठमाडौं – बुंगःद्यः जात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको अविलम्ब रिहाइ माग्दै लुभु र साँगामा स्थानीयले प्रदर्शन गरेको छ ।
ललितपुरको लुभुमा स्थानीयहरुले स्वतःस्फूर्त रुपमा हिरासतमा रहेकाहरुको रिहाइ माग्दै प्रदर्शन गरेका हुन् ।
[caption id="attachment_38290" align="alignnone" width="901"]

लुभुका स्थानीयकाे प्रदर्शन[/caption]
यसैगरी, साँगा, काभ्रेका स्थानीयहरुले पनि हिरासतमा रहेकाको रिहाइ माग्दै साँगामा प्रदर्शन गरेका छन् ।
दुवै प्रदर्शनमा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनमा राज्यको दमनको नीति बन्द हुनुपर्ने, पक्राउ परेकाको अविलम्ब रिहाइ हुनुपर्ने जस्ता माग सहितका पम्प्लेट प्रदर्शन गरेका थिए ।
तस्बिर सौजन्य : योगेश श्रेष्ठ/नेवाः म्हसीका फेसबुक
Categorized in
हिरासतमा रहेकाकाे रिहाइ माग्दै थसिमा प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार
काठमाडौं – बुंगःद्यः जात्राको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकालाई अविलम्ब रिहा गराउन थसिमा स्थानीयले प्रदर्शन गरेका छन् ।
नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको महालक्ष्मी नगर समिति थसि कचाको आयोजनामा बुधबार बिहान उक्त प्रदर्शन भएको थियो ।
प्रदर्शनमा थसिका स्थानीय वृद्धवृद्धा तथा युवायुवतीहरुको उल्लेख सहभागिता रहेको थियो ।
हिरासतमा रहेकाहरुलाई अविलम्ब रिहाइको माग गर्दै ठाउँ ठाउँमा जनस्तरबाट प्रदर्शनहरु भइरहेका छन् ।
ललितपुरका अशोजकुमार महर्जन, रविन शाक्य, नरेश शाक्य, अनिल खड्गी, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला र काठमाडौंका यादवलाल कायस्थ अहिले पनि हिरासतमै रहेका छन् ।
तस्बिर साैजन्य : नरेशकुमार ताम्रकार
Categorized in
Pages