STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आर्जनबाट आत्मनिर्भर बन्दै महिला

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ६, बुधबार

महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने हुनुभएको हो । पछिल्लो आफ्नो जिन्दगीप्रति घताने दङ्ग देखिनुहुन्छ । “के फरक छ र रु मान्छे म उही हुँ, तर पछिल्लो एक वर्षयता कमाइको स्रोत बनेपछि खास बनेजस्तो लाग्छ”, घतानेले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “सधैँ अभाव नै अभावमा बितेको पहिलेको जिन्दगी सम्झँदा काममा लाग्न किन ढिला गरिछु भन्ने लाग्छ ।” लगनपूर्वक काममा लाग्ने हो भने राम्रो जिन्दगी आफ्नै हातमा हुने रहेछ भन्ने विश्वास जागेको घताने बताउनुहुन्छ । अब घरप्रयोजनका समान आफ्नै कमाइबाट किन्न÷जोर्न सक्ने भएपछि नयाँ विश्वास जागेको घतानेको भनाइ छ । “पति छुट्टै अटोरिक्सा चलाउनु हुन्छ, म सिटीसफारी चलाउँछु”, प्रत्येक दिन साँझ भेट भएपछि कस्को बढी कमाइ भएछ भनेर थैली खोलेर हेर्छौं, कहिले मेरो बढी हुन्छ, कहिले उहाँको”, घतानेले भन्नुभयो, “मैले सिटीसफारी चलाउन थालेयता श्रीमान्को बाहिरी खर्च घटेको र साँझ समयमै घर आउने बानी पनि बसेको छ ।” शुरुका दिनमा सिटीसफारी चलाउन थाल्दा केही दिन अनौठो लागे पनि आम्दानी राम्रो हुन लागेपछि यसैमा जमिएको घतानेको भनाइ छ । अहिले पति र आफ्नो कमाइले तीनवटा छोराछोरी पढाउन, घर चलाउन भ्याएर पुरानो सरसापट तिरेर केही बचत पनि गर्न भ्याइएको घतानेले बताउनुभयो । घतानेजस्तै बर्दिवास चोकमा ३० जना महिला अब सिटीसफारी र अटोरिक्सा चलाउन थालेका छन् । आम्दानीको निश्चित स्रोत भएपछि घरमा हुने व्यवहारमा समेत फरक पर्न थालेको यस्ता काममा लागेका महिलाको अनुभव छ । “आफ्ना सानातिना आवश्यकताका लागि सासू, ससुरा र श्रीमान्का अघि निन्याउरो मुख लाएर उभिनु पथ्र्यो, कहिले पाइन्थ्यो, कहिले पाँइदैनथ्यो”, पुराना दिन सम्झँदै बर्दिवास–६ कृष्णपुरकी हेमन्ती सुसलिङ भन्नुहुन्छ, “अहिले कुनै नयाँ कामका लागि मबिना घरसल्लाह नै अघि बढ्दैन, सिटीसफारीले आर्थिकरुपमा मात्र नभई मर्यादा पनि बढाएको छ ।” सुसलिङले सिटीसफारी चलाउन थालेका दुई वर्षयता तीनलाख ऋण तिरेर बैंकमा खाता खोलेर केही रकम बचत पनि गर्न थालेको बताउनुभयो । आफ्नो आयस्थाअनुसार दुइटा छोराको लालनपालन र शिक्षादीक्षा पनि राम्रै दिइरहेको सुसलिङको ठम्याइ छ । सङ्गिता र हेमन्तीजस्तै बर्दिवास–२ की रीता विकले पनि सिटीसफारी चलाउन थालेको डेढ वर्ष भएछ । “हुन त म यसअघि जुत्ताचप्पलको सानो पसल चलाउँदै थिएँ, खै के नमिलेर रे’ छ कुनि व्यापार नै चलेन”, रीताले डेढ वर्षअघिको घटना सम्झँदै भन्नुभयो, “पसल नचलेर झोक्राइ रहेका बेला श्रीमान्ले विदेशबाट पैसा पठाइ दिनुभयो, त्यही पैसा सिटीसफारीमा लगाए, पहिले त के गरेँ भनेर डर लागेको थियो, आम्दानी राम्रो हुन लागेपछि श्रीमान् पनि खुशी हुनुभयो ।” अहिले आफ्नो कमाइले घरपरिवार खर्च मज्जाले चलेपछि पतिको कमाइ बचत हुने गरेको रीमाको भनाइ छ । आफ्नै कमाइले ओरपर छरछिमेकको गाह्रो साँघुरो टार्न पाउँदा आनन्द लाग्ने गरेको रीताको अनुभव छ । “हैन, ए रीता आज सा¥है गा¥हो प¥यो, थोरै काम चलाइ देउन नानी भन्दै बाबुआँमा उमेरका छिमेकी आउनुहुन्छ”, प्रशन्न मुद्रामा रीताले भन्नुभयो, “उहाँहरुको खरखाँचोमा आफू सहयोगी बन्न पाउँदा भित्रैदेखि मन आनन्द हुन्छ ।” यो कामले म आफ्नो घरपरिवारमात्र हैन, छरछिमेकको पनि सहयोगी हुँ भन्ने सन्तोष दिने गरेको रीताको थप भनाइ छ । बर्दिवास–२ कै यमकुमारी खपाङ्गीले पनि पछिल्लो एक वर्षयता अटोरिक्सा चलाउन थालेर नयाँ जिन्दगी शुरु भएको अनुभूति गर्नुभएको छ । पछिल्लो एक वर्षयता सिटीसफारी चलाउन थालिकन केही खोज्न कतै धाउनु नपरेको यमकुमारी बताउनुहुन्छ । “पहिले घरको बुहार्तन टार्न सरसापट खोज्न पूरै बस्ती चाहारिन्थ्यो”, पछिल्लो आफ्नो जिन्दगीप्रति गर्व गर्दै खपाङ्गीले भन्नुभयो, “अब त दिन फेरिएको छ, ुसुख सन्तोष मिलेको ठानेकी छु ।” यो पेशाबाट मासिक रु ३०÷३५ हजार कमाइ हुने गरेको यमकुमारी बताउनुहुन्छ । बर्दिवासमा यही वरपरका महिलाले सिटीसफारी र अटोरिक्सा चलाउन थालेपछि देखासिकीबाटै यो काममा लाग्ने महिलाको सङ्ख्या ३० नाघेको छ । घरमा आवश्यकताको कुरा पूर्ति नहुँदा सधैँ रडाको मच्चिने परिवारमा अब पत्नी÷बुहारी आर्जनको काममा लागेपछि प्रेम, सद्भाव र आपसी विश्वास प्रगाढ बन्दै गएको देखिने गरेको बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताउनुहुन्छ । “दिनहुँ कलह मच्चिने घरमा छलफल गराउँदाको हैरान हुन्थ्यो”, प्याकुरेलले भन्नुभयो, “अब त हिजो हात पसार्नेको आफ्नै हातमा दह्रो थैली भएपछि उनकै पो मानदान छ ।” यो पेशा अङ्गालेका महिलाका घरमा उनीहरुप्रतिको सम्मान र वास्ता निकै बढेको प्याकुरेलको अनुभव छ । बस्ती÷बस्तीका गल्लीगल्ली अटोरिक्सा र सिटीसफारी सजिलै पुग्ने भएपछि अहिले बर्दिवासमा यो लोकप्रिय सवारीसाधन बनेको छ । मुख्य चोकबाट बर्दिवासका धार्मिक र पर्यटकीयस्थल घुम्न जानेले यिनै साधन रोज्नुले अटोरिक्सा र सिटीसफारीको चल्ती र महत्व दुवै बढेको बर्दिवासचोककै होटल एभरेष्टका सञ्चालक विष्णु खड्का बताउनुहुन्छ । बर्दिवासका टोरिक्सा र सिटीसफारी धनी नमस्ते नेपाल अटो व्यवसायी सङ्घ, नेपाल स्वरोजगार अटो ब्यवसायी सङ्घ र टुटेश्वरनाथ अटो व्यवसायी सङ्घमा आबद्ध छन् । अटोरिक्सा र सिटीसफारीको रुट र पालो यिनै सङ्घका प्रतिनिधिले मिलाउने गर्छन् । यी सङ्घमा आबद्ध अटोरिक्सा र सिटीसफारीको सङ्ख्या ४०० को हाराहारीमा छ । अहिले कहिलेकाहीँ भाडा दररेटमा यात्रुसँग किचलो हुने गरेको छ । सामान्यतया दुई किलोमिटरसम्मको दूरीमा रु २० र त्यसपछि दूरी बढ्दै जाँदा भाडाको अनुपात बढाउँदै लगिने गरेको नमस्ते नेपाल अटो व्यवसायी सङ्घ बर्दिवासका अध्यक्ष श्याम हमालको भनाइ छ । स्थानीयतहले यसको दररेट बसाई दिएर पार्किङस्थलको व्यवस्था गरिदिए आफूहरुको व्यवसाय फस्टाउने अटोरिक्सा र सिटीसफारी चालक बताउँछन् । पछिल्लो चरणमा खासगरी नयाँ पुस्ताका युवा हलुका सवारीसाधन चलाएर राम्रो आर्जन गर्न लागेका बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । खासगरी अटोरिक्सा र सिटीसफारीमा महिलाले बढाएको चासोले उहाँहरुलाई घरमा सम्मानजनकरुपमा स्थापित गराएको कार्कीको भनाइ छ । नगरपालिकाले यी र यस्तै सीपमूलक तालीम र साधन स्रोत जुटाउन एवं आयआर्जनका काममा लाग्न अभिप्रेरित गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय