‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका गाेप्य दृश्यहरु बाहिरिए पछि विवाद
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन २८, बुधबार
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका विभिन्न चल अचल दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति निर्माण कम्पनीले गम्भीर आपत्ति जनाएको छ ।
चलचित्र निर्माणका क्रममा खिचिएका दृश्यहरू ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) चलचित्रको प्रचारप्रसार, कथावस्तुको गोपनीयता र निर्माण पक्षको व्यावसायिक रणनीतिसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । निर्माण पक्षको अनुमतिबिना यस्ता दृश्यहरू रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा विभिन्न डिजिटल माध्यममा प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पु¥याउनुका साथै सिर्जनात्मक कार्य र प्रतिलिपि अधिकारको समेत उल्लङ्घन हुन जान्छ ।
कसैको अधिकारप्राप्त सृजना बिनाअनुमती प्रकाशन, प्रशारण गरिनु नेपालको प्रचलित कानुन अन्तर्गत आपराधिक र दण्डनीय कार्य हो । ‘प्रतिलिपि अधिकार ऐन २०५९’ तथा नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार चलचित्र र त्यससँग सम्बन्धित संरक्षित सामग्रीको अनधिकृत प्रयोगको प्रकृति, सामग्रीमाथिको अधिकार र प्रयोगको अवस्थाअनुसार कानुनी कारबाहीको विषयसमेत बन्न सक्ने भएकाले यसप्रति सचेत रहन सम्बन्धित सम्पूर्णमा निर्माण कम्पनीले आग्रह गरेकाे छ ।
निर्माण कम्पनीले ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यममा सार्वजनिक नगर्न, अनधिकृत रूपमा सार्वजनिक गरिएका दृश्यहरू तत्काल हटाउन र आगामी दिनमा यस्ता सामग्री पुनः अपलोड वा प्रसारण नगर्न सबैलाई आग्रह गरेकाे छ ।
चलचित्र निर्माण एउटा सामूहिक सिर्जनात्मक प्रयास हो । यसको संरक्षण र प्रवद्र्धनमा दर्शक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सकारात्मक सहयोगको अपेक्षासहित चलचित्र ‘बाटुलो जून’को आधिकारिक सामग्री निर्माण पक्षले सार्वजनिक गर्ने माध्यमबाटै प्राप्त गरी सहयोग गरिदिनुहुन अनुरोध गरेकाे हाे। चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री सार्वजनिक गर्ने, प्रचारप्रसारको समय र स्वरूप निर्धारण गर्ने तथा चलचित्रको सिर्जनात्मक पक्षको संरक्षण गर्ने अधिकारप्रति सनराइज पिक्चर्स प्राली प्रतिबद्ध छ । चलचित्र ‘बाटुलो जून’ यही कार्तिक २६ गते रिलिज हुने भएको छ ।
Categorized in सिनेमा

