relans
ni new 83
nib 2082 5

अग्रज कलाकर्मि पवन जोशीको निर्देशननेपालभाषाको गीत ‘मतिना जुल व नाप’ को छायाङ्कन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर १३, शनिबार

नेपालको नाट्य  कला क्षेत्रका अग्रज कलाकर्मि पवन जाेशीकाे निर्देशनमा  सामाजिक यथार्थ, मानवीय संवेदना र जीवनका दुःखान्त घटनाक्रमलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको नेपालभाषाको गीत ‘मतिना जुल व नाप’ को म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ।

 शनिबार सम्पन्न याे छायाङ्कन अग्रज कलाकार तथा निर्देशक पवन जोशीको १३२औँ निर्देशनमा गरिएको हो। समाजमा विद्यमान दुःखान्त घटनाक्रमलाई गीत तथा दृश्यका माध्यमबाट उजागर गर्ने प्रयास यस गीतमा गरिएको निर्माण पक्षले जनाएको छ।

गीतका शब्द पवन जोशी स्वयंले रचना गरेका हुन् भने सङ्गीत तथा सङ्गीत संयोजन अनिल तुलाधरको रहेको छ। गायक विजय के. मानन्धरको स्वर रहेको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ अन्नपूर्ण स्टुडियोमा विजय मास्केले गरेका हुन्।

म्युजिक भिडियोमा गायक तथा नायक विजय के. मानन्धर, ज्यापुनी इन्दु र आयुष तामाङलगायत कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। साथै दर्जनौँ कलाकारको जीवन्त अभिनयले भिडियोलाई थप प्रभावकारी बनाएको निर्माण पक्षको भनाइ छ।

प्राविधिक पक्षतर्फ शृङ्गारमा मिरा डंगोल, सहछायाङ्कनमा भेष महर्जन तथा छायाङ्कन, सम्पादन र रङ संयोजनमा अमर चित्रकारले जिम्मेवारी सम्हालेका छन्।

गीतको विषयवस्तु र अभिनय अनुभवबारे कलाकारहरूले सामाजिक घटनाको वास्तविकता गीतका शब्दमा अनुभूत गर्न पाएको प्रतिक्रिया दिएका छन्। गीतले आफूलाई भावनात्मक रूपमा छोएको र अभिनयका क्रममा आँखाबाट वास्तविक आँसु नै झरेको उनीहरूको अनुभव छ।

गायक, नायक तथा निर्माता विजय के. मानन्धरले म्युजिक भिडियो यथाशीघ्र तयार गरी युट्युब च्यानलमार्फत दर्शकमाझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। उनले भिडियो हेरेर प्रतिक्रिया, सुझाव तथा हौसला प्रदान गरिदिन दर्शकसँग आग्रहसमेत गरेका छन्।

नेपालभाषाको गीत–सङ्गीतमार्फत सामाजिक यथार्थ, मौलिक संस्कृति र मानवीय संवेदनालाई उजागर गर्ने यस प्रयासले स्थानीय भाषा तथा कलाको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Categorized in साहित्य-कला
ppp 2