‘छकः छं न्हिलाः क्यं’’ नेवाः म्युजिक भिडियोको प्रिमियर सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक ११, मंगलबार
‘‘छकः छं न्हिलाः क्यं’’ नेवाः म्युजिक भिडियोको सोमबार थिमिको रक क्यबमा विमोचन गरिएको छ ।काेजाग्रत पूर्णिमाकाे अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ गायक, संगीतकार तथा कुशल गिटारवादक मदन सिंह नेपालीसहित नेवाः भाषाका म्युजिक भिडियोका पहिलो निर्देशक तथा वरिष्ठ सिने पत्रकार विजय रत्न असबरे प्रमुख अतिथि रहनुका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अमुना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मध्यपुर सञ्चार समाजका अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल श्रेष्ठ, थेम्मृङ मासिकका सम्पादक तथा वरिष्ठ पत्रकार बाबुकाजी श्रेष्ठ, थेम्मृङ मासिकका प्रधान सम्पादक राजेन्द्र श्रेष्ठ, झी मे हालेवा पुचःका अध्यक्ष प्रमोद श्रेष्ठ र पलिष्था पुचः, थिमिका संस्थापक अध्यक्ष सम्झना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य विमोचित गीतकी गायिका कृष्णा श्रेष्ठले व्यक्त गरेकी थिइन्।
‘छकः छं न्हिलाः क्यं’ गीतमा कृष्णा श्रेष्ठ र चनेलाल मानन्धरको स्वर रहेको छ। गीतको संगीत, शब्द तथा निर्देशन अमृत रत्न शाक्यले गरेका हुन्। गीतको एरेन्ज, रेकर्डिङ, छायांकन तथा सम्पादन बुद्ध सायमिले गरेका छन्। म्युजिक भिडियोमा लिला जोशी, चनेलाल मानन्धरका साथै चण्डिका बाडेघजू, निमा प्रजापति र रोमी कर्माचार्यको अभिनय रहेको छ।
कार्यक्रममा अमृत रत्न शाक्यले विमोचित गीतको विषयमा जानकारी गराएका थिए। त्यसपछि प्रमुख अतिथि द्वय मदनसिंह नेपाली र विजय रत्न असंबरेले ल्यापटपमार्फत म्युजिक भिडियोको विमोचन गरेका थिए।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिअन्तर्गत ‘झीगु मध्यपुर’ गीत प्रस्तुत गरिएको थियो। उक्त गीत गायक–गायिकाले यसअघि नै विमोचन गरिसकेका थिए भने यसको छायांकन सुरेश श्रेष्ठले गरेका थिए।
कार्यक्रमको अन्त्यमा विमोचित गीतका गायक चनेलाल मानन्धरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।
नेवाः भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले तयार पारिएको यस म्युजिक भिडियोले नेवाः सांगीतिक सिर्जनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
Categorized in राष्ट्रिय

