‘शर्ट भिडिओ च्यालेन्ज’ र ‘नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम’का लागि आवेदन माग
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र २०, शनिबार
आगामी कार्तिक १३ देखि १५ कात्तिक २०८३ सम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ मा प्रदर्शनका लागि काठमाडौं महानगरपालिकाले ‘शर्ट भिडिओ च्यालेन्ज’ र ‘नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम’का लागि आवेदन माग गरेको छ ।
महानगरका अनुसार शर्ट भिडिओ च्यालेन्ज अन्तर्गत १८ देखि ३५ वर्षसम्मका नेपाली नागरिकले ५ मिनेटसम्मको भिडिओ बनाएर सहभागिता जनाउन सक्नेछन् । नेपालको कला, संस्कृति, सम्पदा, खानपान र जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको यस च्यालेन्जमा उत्कृष्ट हुनेले डेढ लाखसम्म नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त प्रतिस्पर्धामा प्रथम हुनेलाई एक लाख ५० हजार, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।
यस्तै नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम अन्तर्गत ३० मिनेटसम्मका मौलिक र समसामयिक नेपाली कथाहरूमा आधारित फिल्महरू पठाउन सकिनेछ ।
१८ वर्षभन्दा माथिका जोकोही नेपाली फिल्मकर्मीले यसमा भाग लिन पाउनेछन् । छनोट भएका फिल्महरूलाई फेस्टिभलमा प्रदर्शनी गरिनेछ र साथै छनोट हुने फिल्महरूले १ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गर्नेछन् ।
पानोरमा शर्ट फिल्मका लागि आवेदन दिने अन्तिम मिति ९ असोज तोकिएको छ भने शर्ट फिल्म च्यालेन्जका लागि १६ असोजको समयसीमा तोकिएको छ ।
यस कार्यक्रममार्फत चलचित्र तथा श्रव्यदृश्य उत्पादनमा सक्रिय निर्माता, विद्यार्थी, कथाकार र कलाकारहरूलाई समेट्ने लक्ष्य राखेको महानगरले जनाएको छ । पानोरमा शर्ट फिल्मका लागि आवेदन दिन चाहनेले यहाँ र शर्ट फिल्म च्यालेन्जका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिन्छ ।
Categorized in सिनेमा

