चैत्यदेवीसहित पाँच साधकहरू अभिनन्दित हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण १८, सोमबार
साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ ।
यसरी अभिनन्दन गरिन लागेकाहरुमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा योगदान गर्नु भएबापत वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार, नेपाली साहित्यमा योगदान गर्नु भएबापत वरिष्ठ कवि ज्ञान उदास, नेपाली कलाक्षेत्रमा योगदान गर्नु भएबापत वरिष्ठ कलाकारद्वय चैत्यदेवी सििंह र सन्तोष पन्तलाई अभिनन्दन गरिने भएको हो ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सो अभिनन्दनका लागि वरिष्ठ साहित्यकारहरू प्रमोद प्रधान संयोजक र नरेन्द्रबहादुर श्रेष्ठ र श्रीओम श्रेष्ठ "रोदन" सदस्य रहेको सिफारिस समिति बनेको थियो ।
वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमानसिंह मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, लोकेन्द्रबहादुर चन्द, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गम, डा. जगमान गुरुङ, गीता केशरी, मदनदास श्रेष्ठ, मोहन सिटौला, मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी. आर. उपाध्याय, पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, भुवन चन्द, मुकेश मल्ल, वसन्त श्रेष्ठ, पूर्व अध्यक्षहरू भवानी यघिमिरे, नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ लगायतको अभिनन्दन गरिसकेको छ ।
Categorized in राष्ट्रिय

