काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण प्रारम्भ्
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक १५, शनिबार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयाेजित काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण शुक्रवार रसियन हाउस काठमाडौंमा प्रारम्भ भएको छ ।कूटनीतिक प्रतिनिधि, संस्कृतिकर्मी तथा चलचित्रप्रेमीहरूको उपस्थितिमा प्रारम्भ भएको महोत्सवले हरर फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको गरिमामय उपस्थिति रहेको थियो । प्रमुख अतिथि पण्डितसहित अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पण्डितले नेपालमा विधागत फिल्मको प्रवर्द्धन र यसको भावी विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउन नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान तथा रसियन हाउसबीचको सहकार्यलाई अझ गहिरो बनाउने प्रतिवद्धता जनाइनु ।
महोत्सव निर्देशक रशिक पाठकले दर्शक, महोत्सवका साझेदार तथा प्रवर्द्धकहरूप्रति आभार व्यक्त गरे । उनले यस वर्षदेखि प्रारम्भ गरिएको दर्शक सहभागिताको नयाँ पहलबारे पनि जानकारी गराए । यस अन्तर्गत दर्शकले मतपेटिकामार्फत प्रत्यक्ष मत खसालेर दर्शक रोजाइ विजेता छनोटमा सहभागी हुन सक्नेछन् ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सञ्चालित महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका छन् ।
उद्घाटन समारोहपछि दिउँसो १:१५ बजे लेबनानी निर्देशक नादिम ताबेतद्वारा निर्देशित इन दिस डार्कनेस आई सी यूको प्रदर्शनसँगै महोत्सवका स्क्रिनिङहरू प्रारम्भ भएका थिए । ८५ मिनेट अवधिको यो अरबी भाषाको अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो ।
कात्तिक १५ गते (नोभेम्बर १) सम्म चल्ने महोत्सवमा आगामी दुई दिन नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रहरू प्रदर्शन हुनेछन् । अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्रको उपस्थिति सुदृढ बनाउँदै फिल्मकर्मी तथा फिल्मप्रेमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
Categorized in सिनेमा

