STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महाबाैद्वमा पन्चदान र सम्यकदान पर्व मनाइने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण ११, सोमबार

हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते गुरु पुर्णिामा काे दिन काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।

गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएका थिए । उनीहरूले कार्यक्रमको सफल व्यवस्थापनका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाबाैद्ध महाविहारका महास्थविर संघरत्न शाक्यका अनुसार काठमाडौंका विभिन्न महाविहार, बहाः र बहीःमा रहेका ८५ जना शाक्य स्थवीर, थायपा, दिपंकर तथागत बुद्ध तथा जीवित देवता श्रीगणेश र श्रीभैरवलाई विराजमान गराई पञ्चदान प्रदान गरिनेछ ।

कार्यक्रमअन्तर्गत बिहान ७ बजेदेखि दिपंकर बुद्धहरूको आसन ग्रहण गराइनेछ भने बिहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान कार्यक्रम सञ्चालन हुनेछ । त्यसपछि अपराह्न १२ः३० बजे महाबौद्धबाट सुरु हुने शोभायात्रा असन, त्योड, इनबहाल, कमलाक्षी, भोटाहिटी हुँदै असन डबलीसम्म पुग्नेछ । त्यसपछि विशेष पूजा सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

काठमाडौंमा शाक्य समुदायका शान्तिघट चैत्य बज्रधातु महाविहार (ठँहिटी), रत्नमण्डल महाविहार (नघःबहाः), अशोक चैत्य महाविहार (असंबहाः), महावुद्ध महाविहार (महाबौद्ध), धर्मचक्र महाविहार (चधंबहाः), रत्नाकर महाविहार (कोँसावहाः), कीर्तिपुण्य महाविहार (कोहिटीबहाः), धर्माकर महाविहार (तोंवहाः, यंगाल), विक्रमशील महाविहार (ओमबहाल) तथा कीर्तिपुण्य भुवनसुन्दर महाविहार (लगनटोल) रहेका छन् ।

यसैगरी शाक्य र बज्राचार्य समुदायका संयुक्त महाविहारमा इतुम्बहालस्थित केशचन्द्र पारावर्त महाविहार, जनबहालको कनकचैत्य महाविहार, बसन्तपुरको श्रीखण्डतरमूल महाविहार, मखन बहाल, लगंवहाःको कीर्तिपुण्य महाविहार तथा ओमबहालको ब्रह्मचक्र महाविहार रहेका छन् ।

महानगरभित्र चाःवही, कोटु चाःवही, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुसी वही, मरु वही, मखं वही, गण वही, त्वाःकं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही र नःवहीसहित १६ वटा बही रहेको उल्लेख गरिएको छ ।

 

सम्यक महादान स्वयम्भू क्षेत्रमा आयोजना हुने परम्परागत बौद्ध धार्मिक महोत्सव हो । यसको पछिल्लो आयोजना २०६० सालमा भएको थियो । त्यसयता महादान हुन नसकेकाले प्रत्येक १२ वर्षमा आयोजना गर्नुपर्ने यस परम्पराको स्मरण गराउने उद्देश्यले यस वर्ष दिपंकर बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Categorized in उपत्यका