अमेरिकाकाे न्यूजर्सीमा आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण १, शुक्रबार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) न्यू जर्सी च्याप्टरको आयोजनामा अमेरिकाको न्यू जर्सीस्थित प्रिन्स्टन बुद्ध विहारमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, कला प्रदर्शनी, कविता तथा साहित्यिक कार्यक्रम–२०२६ भव्य, ऐतिहासिक र सभ्य वातावरणमा सम्पन्न भएको छ।
INAS New Jersey की अध्यक्ष कबिना महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विविध साहित्यिक एवं सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकास्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी रहेका थिए भने INAS America का अध्यक्ष सृजन ताम्राकार, FONNJ का संस्थापक अध्यक्ष डा. तुलसी महर्जन तथा ARC Nepal का अध्यक्ष राजेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
महासचिव पूजा कर्माचार्यले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाद्वारा राष्ट्रिय गान, स्वागत नृत्य, सिम्रिक गिरीको सांगीतिक प्रस्तुति, विभिन्न स्रष्टाहरूको कविता वाचन, बिशाखा बस्नेतद्वारा माटो कला प्रदर्शन, प्रतीक्षा थकालीद्वारा पुस्तक प्रदर्शनी तथा एन्रिका बडेद्वारा आदिकवि भानुभक्त आचार्यको जीवनयात्रामाथि मल्टिमिडिया प्रस्तुति गरिएको थियो।
यसै कार्यक्रमको अर्को विशेष आकर्षण न्युयोर्कमा कार्यरत नेपाली कलाकार हृदय तुलाधरको मौलिक नेपाली चित्रकलाको प्रदर्शनी रह्यो। प्रदर्शनीमा नेपालका संस्कृति, सम्पदा, परम्परा र नेपाली जीवनशैली झल्किने उत्कृष्ट चित्रहरू राखिएका थिए, जसले कार्यक्रमस्थलमा उपस्थित कला पारखी, साहित्यकार तथा दर्शकहरूको विशेष ध्यान आकर्षित गर्यो। उहाँका चित्रकलाको मौलिकता, कलात्मक प्रस्तुति र नेपालीपनको भावलाई उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।
कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा भावी पुस्तासम्म यसको महत्व पुर्याउने विषयमा विशेष जोड दिइएको थियो। सहभागीहरूले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानलाई भावी पुस्तासम्म पुर्याउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथि, कलाकार, साहित्यकार, चित्रकार, स्वयंसेवक, प्रायोजक, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण सहभागीप्रति आयोजक INAS New Jersey ले हार्दिक आभार व्यक्त गरेको छ। साथै पर्दापछाडि रहेर निरन्तर योगदान दिने कार्यसमिति, स्वयंसेवक र सहयोगीहरूको समर्पणले कार्यक्रमलाई ऐतिहासिक, अविस्मरणीय र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
Categorized in अन्तर्राष्ट्रिय

