नेपाल र चीन बीच चलचित्र आदानप्रदान गर्ने सम्भावना बढ्यो
Janjati Khabar | २०८३ जेठ २२, शुक्रबार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र चिनिया चलचित्र प्रशासन काे आयोजना तथा चिनिया सांस्कृतिक केन्द्र नेपालको तत्वावधानमा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलवारबाट सुरु भएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो ।
ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, विशेष अतिथिहरु नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, नेपालका वरिष्ठ निर्देशक तुलसी घिमिरे अतिथिहरू नेपालका कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नायक प्रमोद अग्रहरीलगायत अन्य चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास राखे । चीनमा नेपाली फिल्म वितरण र प्रदर्शनको पक्षमा सहयोग पुग्ने उनको अपेक्षा छ ।
मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको जिकीर गर्दै भने, ‘चलचित्रले सामाजिक, राजनीतिक र सामाजिक परिवेश बुझ्न सहयोग गर्छ । यसले दुई देशको सम्बन्धमा थप निकटता ल्याउँछ । यस्ता कार्यक्रमको उद्देश्य नै यही हो । यस्ता कार्यक्रमले दुई देशका फिल्मकर्मीबीच व्यवसायिक सहकार्यको बाटो खुलाउने उनले धारणा व्यक्त गरे ।
वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणमा सहयोग र सहकार्यको आवश्यक रहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे । कार्यक्रमको पहिलो फिल्म ‘ट्रयाप्ड’ प्रदर्शन पश्चात निर्देशक झानसँग दर्शक र पत्रकारहरूले अन्तरक्रियासमेत गरे।
निर्देशक झानले आफ्नो किशोर अवस्थाको कालखण्डमा आफूले देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए । उनले भने, ‘त्यो समयमा मैले देखेको र सम्झना भएको विषयहरूलाई फिल्ममा उतारेको छु । तथापि, यो फिल्मको कथा पूर्ण काल्पनिक हो ।’
एक दर्शकले ग्रामिण कथाहरूले प्राथमिकता पाइरहेको नेपाली बजारमा क्राइम थ्रिल्लर जनराको कथा ल्याउनुको उद्देश्यबारे प्रश्न गरेका थिए । निर्देशक झानले जवाफ दिए, ‘नेपाली फिल्मकर्मी पनि मेरा साथीहरू छन् । नेपाली दर्शकले मन पराउने फिल्मको जनराबारे म केही हदसम्म जानकार छु । यो नेपाली दर्शकका लागि फरक स्वाद होइन ।’
एक चिनियाँ दर्शकले आफ्नो भाषाको फिल्म विदेशमा हेर्न पाएकामा खुसी व्यक्ति गरिन् । फिल्मले नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।
काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहिवारसम्म जारी रहनेछ ।
कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो ।
Categorized in सिनेमा

