STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १८, सोमबार

संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ । एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा काठमाडौंमा आयोजित समारोहमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी-शान्तिको धुन’को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

कोइरालाले नेपाल टेलिकमले संगीत क्षेत्रमा सहकार्य गरेकोमा प्रशंसा गर्दै सरकारी तथा सार्वजनिक संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले ‘लैजाचरी-शान्तिको धुन’ लाई सन्देशमूलक तथा समयसापेक्ष सिर्जना भएको बताउनुभयो । समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र सद्भाव फैलाउन यस्ता सिर्जनाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले आफू पनि सिर्जनात्मक लेखनमार्फत समाजसँग जोडिने प्रयासमा रहेको बताउनुभयो ।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व लागेको बताउनुभयो । संगीतको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै उहाँले नेपाल टेलिकम सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा निरन्तर सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । समाज, राष्ट्र र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले निरन्तर सिर्जना गर्दै आएको बताउँदै उहाँले शान्ति, सहअस्तित्व र मानवीय मूल्यको पक्षमा कला र संगीतलाई समर्पित गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मनमाया पंगेनी नेपाली संगीत क्षेत्रमा सामाजिक चेतना, सांस्कृतिक मूल्य र मानवीय संवेदनालाई गीतमार्फत अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित हुनुहुन्छ । उहाँका ‘सप्तरंगी फूल हौ तिमी’, ‘नारी शक्ति’ र ‘स्वर्ग जस्तो यो धर्तीलाई’ लगायतका गीतले लोकप्रियता हासिल गरिसकेका छन् । उहाँले निजामती सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मनमाया पंगेनीकै रहेको छ । कमल सौरागले संगीत संयोजन गर्नुभएको हो भने राजकुमार बगरले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हाल्नुभएको छ ।

कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले संगीतमार्फत विश्वलाई जोड्ने अभियानलाई संस्थागत रूपमा अघि बढाइएको जिकिर गर्नुभयो । उहाँले दुई वर्षअघि सुरु गरिएको ‘दृश्यमा नेपाल’ अभियानको सफलतापछि त्यसैको निरन्तरतास्वरूप ‘विश्व शान्तिका लागि संगीत 

एभरेस्ट ग्यालरीको अवधारणामा निर्माण गरिएको ‘लैजाचरी-शान्तिको धुन’ भिडियो सार्वजनिक कार्यक्रममा नेपाल सरकार तथा सार्वजनिक सेवाका बहालवाला र सेवा निवृत्त उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लगानी बोर्डका सहसचिव हेमराज तामाङ, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, प्रबन्धक डा. शालिग्राम पराजुली, नेपाल आयल निगमकी उपनिर्देशक इन्दु शर्मा, रेडियो नेपालका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराई, पूर्व एआईजी टेक तामाङ, पूर्व एआईजी माधवप्रसाद नेपाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गीतकार-संगीतकार राजकुमार बगर तथा शिव भट्टराई लगायतको उपस्थिति थियो । कार्यक्रममा माधव खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गर्नुभएको छ । कार्यक्रममा बालकलाकार श्रीनिधि कठायतले प्रस्तुत गरेको बालगीतले समारोहलाई थप संगीतमय बनाएको थियो । कार्यक्रमको अध्यक्षता पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतले गर्नुभएको थियो । समारोहमा गीत तथा भिडियो निर्माणसँग आबद्ध कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

एभरेस्ट ग्यालरीका निर्देशक तथा गीतकार डिबी खड्काले ‘लैजाचरी-शान्तिको धुन’ केवल एउटा गीत वा भिडियो मात्र नभई संगीतमार्फत विश्व शान्ति, मानवता, सहअस्तित्व र सकारात्मक चेतनाको सन्देश फैलाउने दीर्घकालीन अभियानको प्रारम्भ भएको बताउनुभयो ।

Categorized in साहित्य-कला